मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकामा मोटरसाइकल ट्रकमा ठोकिदा २ जनाको मृत्यु भएको छ ।
असार १४ गते आइतबार राती ८:१५ बजेको समयमा पूर्व पश्चिम राजमार्ग अन्तर्गत मनहरी ९ ज्यामिरेस्थित सडक छेउमा रोकिराखेको ना ५ ख ७४७२ नम्बरको ट्रकमा चितवनबाट हेटौंडातर्फ आउदै गरेको ना ५७ प २३१ नम्बरको मोटरसाइकल ठिक्किदा २ जनाको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा मोटरसाइकल चालक मनहरी ९ का २२ वर्षीय शम्भु गिरी र मोटरसाइकलमा सवार मनहरी ९ कै २१ वर्षीय सुशील गिरी घाइते भएका थिए । घाइते दुबै जनालाई उपचारको लागि चितवन पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले बताए । पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा सुशीलको राती ९:२५ बजे र शम्भुको राती ११: १० बजे डाक्टरले मृत्यु भएको घोषणा गरेको मकवानपुर प्रहरीले जनाएको छ ।
दुर्घटना पश्चात स्थानीयले राजमार्ग अबरोध गरेकोमा ३ घण्टापछि राती ११ बजे सवारी आवागमन सुचारु भएको थियो । ईलाका प्रहरी कार्यालय मनहरीका प्रहरी नायब निरीक्षक जनक तामाङसहितको टोलीले ट्रक र चालक नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

