मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहनागरपालिकामा डेंगुको संक्रमण देखिन थालेको छ । गत जेठ महिनाबाट देखिएको डेंगु संक्रमण साउनमा मात्रै ५ जनामा भएको छ । डेंगुका विरामी बढ्न थालेपछि राेकथाम र नियन्त्रणकाे तयारी उपमहानगरपालिकाले गर्दै छ ।
हाल हेटौंडा उपमहानगरपालिकामा डेंगु संक्रमित ९ जना बिरामी उपचारको क्रममा रहेका उपमहानगरपालिकाले जनाएकाे छ । डेंगु संक्रमणका विमारी बढ्दै जान थालेपछि उपमहानगरपालिकाले यसकाे नियन्त्रण तथा राेगथामकाे लागि भेट्रो निरीक्षक नियुक्त गर्ने तयारी गरेकाे छ । उपमहानगरभित्र डेंगु संक्रमण कम गर्नका लागि कर्मचारी नियुक्त गरेरै काम गर्न लागेको उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिए ।
उपमहानगरले नियुक्त गर्ने भेट्रो निरीक्षक डेंगु संक्रमण गराउने लामखुट्टेकाे सम्भावित बास स्थानको खोजी गर्ने र नष्ट गर्ने कार्यमा मात्र परिचालन हुने बताइएको छ । आइतबार बसेकाे स्थानीय विपद् व्यवस्थापन समितिको बैठकले रोगको संक्रमण नियन्त्रणका लागि भेट्राे निरीक्षक नियुक्त गरेर डेंगु नियन्त्रणमा कार्य गर्ने निर्णय गरेको हो ।
उपमहानगरले डेंगु नियन्त्रणका लागि स्वास्थ्य कार्यालय र नेपाल रेडक्रस सोसाईटी मकवानपुरसँग सहकार्य गरेर नगर क्षेत्रमा अभियान सञ्चालन गर्ने जनाएकाे छ । स्थानीय विपद् समितिकाे बैठकले संक्रमणको आंकलन गरेको स्थान सहित सम्भावित ठाउँहरुमा स्प्रे गर्ने, संक्रमणमा परेका बिरामीको परीक्षणका लागि किट खरिद गर्ने र संक्रमणको खोज र नष्ट गर्नका लागि स्वास्थ्य स्वयंसेवीका सहित टोल बिकास सस्थालाई परिचालन गरिने निर्णय गरेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार गत वर्ष हेटौंडा उपमहानगरपालिकामा मात्रै ४ हजार ३४३ जनामा डेंगु संक्रमण भएकाे थियाे भने मकवानपुर जिल्लामा ५ हजार ८ सय ५९ जना डेंगुका कारण बिरामी परेको थिए ।

