मकवानपुर । गर्मी बढेसँगै बागमती प्रदेशमा डेंगी संक्रमित बिरामीकाे सङ्ख्या बढीरहेकाे तथ्याङ्कले देखाएकाे छ । लार्भा खाेज र नष्ट गर अभियान चालिरहेकाे भएपनि प्रदेशमा डेंगी संक्रमितकाे सङ्ख्या बढीरहेकाे छ हालसम्म बागमती प्रदेशमा ४ जनाकाे ज्यान गुमिसकेकाे छ ।
डेंगीकाे कारण प्रदेशकाे ललितपुर जिल्लाका २ जना तथा धादिङ र मकवानपुरका एक/ एक जनाको डेंगु सङ्क्रमणको कारण ज्यान गएकाे छ । ललितपुर जिल्लाकाे इमाडोलकी ३८ बर्षीया महिला र थैवका ७१ बर्षीय पुरुषको डेंगु सङ्क्रमणको कारण मृत्यु भएको हाे । यता प्रदेशकाे राजधानी मकवानपुर जिल्लाकाे हेटाैंडा उपमहानगरपालिका ४९ वर्षीय पुरुष र चितवन जिल्लाकाे ७२ बर्षीय मिहलाकाे मृत्यु भएकाे छ ।
बागमती प्रदेशकाे स्वास्थ्य मन्त्रालयले महामारीकाे रुपमा संक्रमितकाे संङ्ख्याका नबढाेस् भनेर प्रचार प्रसारलाइ तिव्रता दिएकाे जनाएकाे छ । प्रदेशकाे स्वास्थ्य मन्त्रालयका अनुसार ९ भदौसम्म प्रदेशका १३ जिल्लामा ३ हजार ९२९ जनामा डेंगु सङ्क्रमण पुष्टि भएका छन् ।
स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा.रविन भुसालका अनुसार अहिले पनि लार्भा खाेज र नष्ट गर भन्ने अभियान जारी छ । प्रदेशका १३ जिल्लामा १ जनवरी २०२३ देखि हालसम्म सबैभन्दा बढी धादिङमा डेंगु पुष्टि भएको छ । मन्त्रालयको तथ्याङ्क अनुसार धादिङमा २ हजार ५५३, काठमाडौँमा ४०६, मकवानपुरमा २५५, ललितपुरमा १९४, चितवनमा १७५, भक्तपुरमा १२९, नुवाकोटमा ७९, रामेछापमा ४२, काभ्रेपलान्चोक ३९, सिन्धुलीमा २७, सिन्धुपाल्चोक र दोलखामा १२/१२ जनामा डेंगु पुष्टि भएको छ ।
सबैभन्दा कम रसुवामा ६ जनामा डेंगु पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार जनवरीमा ५७, फेब्रुअरीमा ३०, मार्चमा २९, अप्रिलमा ५२, मेमा २७, जुनमा ११८, जुलाईमा ८६२ र अगस्ट २५ सम्म तीन हजार ९२९ जनामा डेंगु सङ्क्रमण पुष्टि भइसकेको छ ।
पछिल्लो एक साताको तथ्याङ्क अनुसार दोलखा, सिन्धुपाल्चोक र रसुवामा डेंगु सङ्क्रमितको सङ्ख्या स्थित रहेको छ भने धादिङ, काठमाडौँ, भक्तपुर, ललितपुर नुवाकोट, रामेछाप, चितवन, काभ्रेपलान्चोक, सिन्धुली र मकवानपुरमा सङ्क्रमितको सङ्ख्या बढ्दै गएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाउँछ ।
डेंगु सङ्क्रमणबाट आफू र आफ्ना परिवारलाई जोगाउन लामखुट्टेको टोकाइबाट बच्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । सुत्दा झुलको प्रयोग गर्न, लामखुट्टेको टोकाइबाट बचाउने धुप तथा झोलको (रिपेलेन्ट) प्रयोग गर्न, ट्याङ्की र कुलरहरु कम्तीमा हप्तामा एक पटक सरसफाइ, वरपर पानी जम्न नदिने, पुरै बाहुला भएका अथवा लामो बाहुला भएका कपडा लगाउन र डेंगुका कुनै पनि लक्षण देखिएमा उपचारका लागि स्वास्थ्य संस्थामा जानको लागि आग्रह गरिएको हो ।
भदौमा डेंगु सङ्क्रमण भएका बिरामीको सङ्ख्या बढेको छ । स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार सन् २०१९ मा ४ हजार ५४ जना, २०२० मा ८६, २०२१ मा १२८ जनामा डेंगु सङ्क्रमण देखिएको थियो भने सन् २०२२ को जुलाईदेखि २०२३ को जुनसम्म यस प्रदेशमा ४२ हजार ७१४ जनामा डेंगु रोग सङ्क्रमण भएको मन्त्रालयको तथ्याङ्क छ । चालु आर्थिक वर्षमा स्वास्थ्य मन्त्रालयले डेंगु प्रकोप नियन्त्रणका लागि महामारीजन्य रोगहरू नियन्त्रण र रोकथाम गर्न विभिन्न शीर्षकमा तीन करोड १२ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको मन्त्रालयका सूचना अधिकारी डाक्टर भुसालले जानकारी दिए ।
बच्नकाे लागि के गर्ने
डेंगी संक्रमण फैलाउने लामखुट्टेले विशेष गरी बिहान, दिउँसो तथा साँझको समयमा टाेक्छ । यस्ताे बेला टाेक्ने लामखुट्टेको टोकाईबाट डेंगी लाग्न सक्ने भएकाेले विशेक सचेत रहनु पदर्छ ।
यसबाट बच्नको लागि लामखुट्टेबाट बच्न पूरै शरिर ढाक्ने लुगा लगाउने, घर, कार्यस्थल र सार्वजनिक स्थानमा पानी जम्न नदिने, पानी राखेको भाँडालार्ई छोपेर राख्ने, दिउँसो पनि लामखुट्टे भगाउने धूप बालौँ र लामखुट्टेको टोकाईबाट बच्ने मलम लगाउने, घरभित्र लामखुट्टे छिर्न नसक्ने गरी झ्याल ढोकामा जाली वा सुत्ने बेलामा झुल लगाएर सुत्ने, अध्याँरा कुना–काप्चामा किटनाशक औषधि छर्कने, कम्तीमा हप्ताको एक पटक एयर कुलर, पानी ट्यांकी, फूलदानी, गमलामा राखिएका प्लेटहरु राम्ररी सफा गर्ने गर्नुपर्नेमा स्वास्थ्यकर्मीहरुले सल्लाह दिएका छन् ।
स्थानीय तहहरुले लामखुट्टे नियन्त्रणकाे लागि विशेष काम अभियान समयमा नै सुरु गर्नु पर्दछ । लामाखुट्टेकाे टाेकाइबाट बच्नु नै डेंगीकाे संक्रमणबाट बच्ने मुख्य उपाय हाे । विद्यालयहरुले पनि सभावित क्षेत्रमा लार्भा नियन्त्रणकाे लागि औषधिहरु छर्किनु पर्ने स्वास्थकर्मीहरुले पनि सुझाव दिएका छन् ।
मकवानपुर । मकवानपुर जिल्ला हेटौंडा–८ कमानेकी आसमाया देउला हरेक दिन विहान साँढे ३ बजे उठ्छिन् । विहान उठेपछि उनको पहिलो काम सडक बढार्ने हो । साँढे ३ बजेबाट सारा बजार क्षेत्रको सडक बढारेपछि उनी ८ वा ९ बजे घर पुग्छीन् । अनि सुरु हुन्छ उनको घरको सरफसफाई ।
आफू बस्ने घरभन्दा पहिले सडकको सरसफाइमा लाग्ने आसमायाले विगत २९ वर्षदेखि यही काम गर्दै आएकी छिन् । झाडु लिएर सडक बढार्न निस्कने आसमायालाई आफ्नो घरभन्दा प्रिय लाग्छ सफा सडक । “विहान उठेर आफ्नो घरको कोठा र आँगनभन्दा पहिले सडक बढार्छु” आसमायाले भनिन् “आफूले पसिना बगाएको ठाउँको माया लाग्न नि ।” यसैबाट उनको रोजिरोटी चलेको छ ।
छोरो अटो चलाउँछ, परिवारको अरु आम्दानीको स्रोत छैन । सडकको फोहोर सफा गर्ने काममा केही पीडा संगालेकी छिन् उनले । चाडपर्वको समयमा घरमा पाहुना हुन्छन्, आफू बिदा पाइदैन, काममा निस्कनै पर्छ, चाडपर्वको बेलामा शहरमा झन् धेरै फोहोर हुन्छ ।
सडकमा सबैप्रकारको फोहोरहरु भेटिन्छन्, फोहोरमा काम गर्नुपर्दा स्वास्थ्यमा समेत असर पर्ने गरेको बताउँछिन् ३४ वर्षिया अञ्जना देउला । अञ्जना देउला पनि विगत २० वर्षदेखि हेटौंडा बजारको सफाइ कार्यमा लागिरहेकी छिन् । जनशक्तिको अभावमा सफाईको काम असिमित समय हुँदा भने उनीहरुलाई समस्या छ ।
“१० दिन वा २ हप्ताको बिचमा रुघाखोकी, ज्वारोले सताउने गर्छ” अञ्जना भन्छिन् “बिरामी हुँदा पनि औषधि खाने, काममा आउने हो ।” सफाइ कर्मचारी कम भएको कारण बिदा नपाइने उनले बताइन् ।
“हामीले सकि नसकि सफा गरेर अघि बढेको सडकमा पछि फर्केर हेदा व्यापारीहरुले फोहोर थुपारीसक्छन्,यो देख्दा चाँही दिक्क लाग्छ” अर्की सफाइ कर्मचारी शारदा देउलाले भनिन् । आफ्नो जीवनको उर्जावान समय सडक बढारेरै बिताएका उनीहरु आफूले सफा गरेको ठाउँमा अरुले फ्यात्त फोहोर फालिदिंदा धेरै नराम्रो लाग्ने बताउँछन् उनीहरु ।
सबैले आफ्नै मेरो घर आँगन, पिडी जस्तै मानेर सडकलाई सफा राखिदिए बजारको रुप नै अर्कै हुने बताउँछिन् अञ्जना । हेटौंडा ८ कमानेकै शारदा माया देउला पनि वि.स २०५० सालदेखि सफाईको काम गर्दै आउकी छिन् ।
हेटौंडा उपमहानगरपालिकाले बजार क्षेत्रमा सफाइको लागि १४ जना सफाइ कर्मचारी नियुक्त गरेको छ । २०५० सालपछि सफाइ कर्मचारी नयाँ नियुक्त नगरीएको कारण बजारमा जनघनत्व बढेसँगै बढेको फोहोर संकलन १४ जनाले नै भ्याउनु पर्ने बाध्यता छ । २०५० सालताका ७४ जना कर्मचारी बजारक्षेत्रको सफाइ गर्दा आएका थिए । पुराना कर्मचारी अवकाश भएर गएपछि नयाँ भर्ना नगर्दा जनशत्तिको कमीले कामको बोझ बढेको छ ।
फोहोर संकलनमा जनशत्तिको अभाव एकातिर छ भने, व्यापारी तथा यात्रुहरुले जथाभावि फोहोर फाल्दाको समस्या अर्कोतिर छ । नगरपालिकाले फोहोर जथाभावि फाल्नेलाई कडाइ नगरेको कारण अपेक्षाकृत सफाई नभएको बताउँछन् सरसफाइन
निरीक्षक दीपक घिमिरे । नगरपालिकाको मात्रै निगरानी गरेर फोहोर उठाउने काममा चुनौतीपूर्ण भएको बताउँछन् घिमिरे । नगरपालिकाको नियम अनुसार सडकको फोहोर नगरपालिकाको सफाइ कर्मचारीले संकलन र व्यवस्थापन गर्ने हो, आवासको फोहोर व्यवस्थापनको जिम्मेवारी अर्कै संस्थाले ठेक्कामा लिएको छ । तर ठेकदार संस्थाले दैनिक फोहोर नउठाएपछि आवासको फोहोरपनि सडकमै फाल्ने गरेको सफाइ कर्मचारीहरुको गुनासो छ ।
“ठेकदारले फोहोर उठाएन भने, हाम्रो कर्मचारीले बढारेर छाडेको सडकमा आवासको फोहोर स्थानीय वासिन्दाले फाल्ने गर्दछन्, नगरपालिकाले पनि ठेकदारलाई कडाइ गरेको छैन” घिमिरेले भने । सफाइको ठेक्कापाएको संस्था, स्थानीय व्यापारी, पैदल यात्री, यातायात
व्यवसायी तथा यात्रुहरु सबैले सरसफाइमा इमान्दारीता प्रकट गर्नुपर्ने घिमिरे बताउँछन् । “सफाइको कुरा गर्दा जागिर खाएको भन्ने कुरा आउँछ, जागिरभन्दा पनि इमान्दारीताको कुरा ठुलो हो, आफ्नो घर पसल वरपर सफा राख्दा त आफैंलाई फाइदा छ नी” शारदा भन्छिन् ।
२० वर्ष अघिको तुलनामा हाल हेटौंडाको सडक सफाइ कर्मचारी संङ्ख्या एक तिहाइ मात्रै छन्, जनशक्ति घटेका छन् तर हेटौंडा बजारको क्षेत्र विस्तार भएको छ । संगै जनघनत्वको कारण फोहोर पनि बढी हुने गरेको छ । पहिलेको तुलनामा कामको भार थपिएको बताउँछिन् अर्की सफाइ कर्मचारी बालकुमारी देउला । वर्षाको समयमा झरी पर्दा समेत काममा आउनु पर्दा समस्या हुने गरेको शारदाले बताइन् । लक्ष्मी देउलाले पनि वि.स २०४८ सडकको फोहोर बढार्दै आएकी छिन् ।
“सफाइको नियम नगरपालिकाले कडाइका साथ लागु गनुपर्ने निरीक्षक घिमिरे बताउँछन् । “चिठ्ठी काटेर के हुन्छ र भन्दै फोहोर बाटोमा फाल्नेलाई नगरपालिकाले कडाइ गरोस्” घिमिरेले भने । हेटौंडा उपमहानगरपालिकाले बजारलाई हराभरा बनाउने लक्ष्यका साथ डिभाइडरमा फूल रोपेको छ। तर सफाइमा यथेष्ट ध्यान पु¥याएको छैन । “नगरपालिकाले रोपेको त्यै फूलको फेदमा जम्मा हुने फोहोरको डङ्गुरलाई व्यवस्थापन गर्न किन कडाइ गर्दैन ?” पैदलयात्री युवा सर्केस कार्कीले भने । “फूल मात्रै रोपेर शहरको आकर्षण बढ्दैन, फोहोर व्यवस्थापनको लागि डस्टविन वितरण तथा त्यसको व्यवस्थापन पक्ष पनि राम्रो चाहिन्छ ।”
स्थानीय युवा संकल्प घोरासाइनीले पनि सरसफाईमा दुरगामी लक्ष्यका साथ नगरपालिकाले काम गर्न नसकेको बताए । बसपार्क क्षेत्रमा समेत फोहोर संकलनको लागि डस्टबिन राख्न नसक्नुले फोहोर तथा प्रदुषण नियन्त्रणमा नगरपालिकाको चासो नै नभएको स्पष्ट देखिएको घोरासाइनीले बताए ।
हेटौंडाको फोहोर, व्यवस्थापनमा जटिल बन्दै
देशको राजधानी हेटौंडामा फोहोर व्यवस्थापन जटिल बन्दै आएको छ । २०७१ सालमा देशको सबैभन्दा सफा शहरको रुपमा पुरस्कृत भएर ५ लाख रुपियाँ पुरस्कार पाएको हेटौंडा शहर विस्तारै फोहोर बन्दै आएको छ ।

हाल हेटौंडाको फोहोर संकलन गरेर जम्मा गर्दै आइएको फोहोर व्यवस्थापनको विकल्प नखोजिने हो भने अबको ४/५ वर्षमा हेटौंडाको फोहोर व्यवस्थापन नगरकै समस्याको रुपमा आउने निश्चित भएको छ । काठमाडौंको फोहोर व्यवस्थापनको चुनौती दिनदिनै बढ्दै आएको बेला हेटौंडाको फोहोर व्यवस्थापन गरिदै आएको डम्पिङ्क साइड पनि भरिंदो छ ।
हेटौंडा १० सिसौघारीमा हाल संकलन गर्दै आइएको फोहोर दिनहुँ एस्काभेटर लगाएर खाँदै आइएको छ,तर यसको विकल्प भने खोजिएको छैन । डम्पिङ् साइडको नजिकै बसोबास गर्दै आएका स्थानीयहरु फोहोरको गन्धको कारण आजित छन् । नगरपालिकाले गन्ध फैलन नदिन समेत कुनै चासो नदिएको उनीहरु बताउँछन् ।
तत्कालीन हेटौंडा नगरपालिका र हालको हेटौंडा उपमहानगरपालिकाको फोहोरको परिमाण समेत दोब्बर छ, तर सफाई कर्मचारीको संङख्या आधाभन्दा कम छ । यसले गर्दा पनि हेटौंडा बजारमै समेत फोहोर संकलनमा चुनौती सुरु भएको छ । संकलन भएको फोहोर व्यवस्थापनमा समेत समस्या भएको हेटौंडा उपमहानगरपालिका वातावरण महाशाखाका सफाइ निरीक्षक दिपेन्द्र राज शर्माले बताए ।
हाल हेटौंडा १० को झण्डै २० विगाहा जग्गामा फोहोर थुपार्दै आइएको छ । नगरपालिकाले फोहोरलाई उत्पादनमै वर्गिकरण गर्ने र त्यसै अनुरुप व्यवस्थापन गर्ने गरी ७ वर्ष अघि बनाएको योजना योजनामै थन्किएको छ । अहिले पनि बजारमा प्रयाप्त डस्टबिनहरु पनि छैनन्, र घरैमा समेत फोहोर वर्गिकरण गरेर संकलन गर्ने काम भएको छैन ।
नगरपालिकाले कुहिने, नकुहिने र अस्पतालबाट निस्कने सुइ जस्ता फोहोरको स्रोतमै वर्गिकरण गरेर छुट्टाछुट्टै संकलन गर्ने नीति लिएको थियो । ७ वर्ष अघि यो अभियान सुरु गरेको भन्दै डस्टबिन समेत वितरण गरिएको थियो तर हाल कतै पनि यस्ता डस्टविन छैनन् ।
फोहोर व्यवस्थापनको लागि वैकल्पिक डम्पिङ साइडको खोजि र बजारको फोहोर संकलनबारे नीतिगत रुपमा तयारी हुँदै गरेको हेटौंडा उपमहानगरपालिका मेयर मिना कुमारी लामा बताउँछिन् । “बजारको फोहोर संकलन तथा व्यवस्थापनलाई व्यवस्थित बनाउन नगरपालिकाले हामीले योजना बनाउने तयारी थालेका छौ” उनले भनिन् “यति समयभित्र वा यहीँ बनाउने भन्ने छैन, तर हामी गर्छौ ।”
थाहामा फिल्म फेस्टिवल हुने
Tags: No Comments
मकवानपुर । मकवानपुरकाे थाहा नगरपालिकाको पर्यटन प्रबर्धन गर्ने उद्धेश्यका साथ नगरपालिकामा क्रियाशिल थाहा कला केन्द्रले पर्यटनका लागि फिल्म फेस्टिवल भन्ने नाराका साथ आगामी मंसिर ९ गतेदेखि १५ गतेसम्म थाहा फिल्म फेस्टिवल–२०२३ को आयोजना गर्ने भएकाे छ ।
महाेत्सव अन्तरगत चलचित्र, लघु चलचित्र, म्युजिक भिडियो, भ्लग छायांकनको स्थल विकास तथा प्रचार गर्ने, थाहा नगरपालिकाको मुख्य पर्यटकीय क्षेत्रहरुको पहिचान गरि फेस्टिबलमा चलचित्रकर्मीहरुबीच प्रचार गर्ने चलचित्र, लघु चलचित्र, म्युजिक भिडियो क्षेत्रका दिग्गज कलाकारहरुलाइ थाहाको बारेमा जानकारी गराउने उद्देशले महाेत्सव आयाेजना गर्न लागिएकाे हाे ।
कार्यक्रम अवधिभर थाहाको पर्यटकीय क्षेत्रको अवलोकन गर्ने थाहानगरको पर्यटन बढाउने तस्वीरहरु कार्यक्रम स्थलमा राखी अवलोकन गराइनेछ । यसैगरी चलचित्र, लघु चलचित्र, म्युजिक भिडियो, भ्लग तथा ईत्यादिका निर्माता, निर्देशक, कलाकार तथा निर्माण पक्षलाई थाहा नगरपालिकासङ्ग पारस्परिक गराउन प्रयास गर्ने आयाेजकले जनाएकाे छ ।
चलचित्र, लघु चलचित्र, म्युजिक भिडियाको निर्माता, निर्देशक तथा निर्माण समूहसंग विषेश अन्तरक्रिया गराइनेछ । मकवानपुर जिल्लामै पहिलो पटक फिल्म फेस्टिवलको आयोजना हुन लागिरहेकोले फेस्टिवलका विशेष आकर्षक हुने आयाेजककाे दाबि छ । फेसिटवलमा विभिन्न समूहबाट सहभागि भई आएका सामग्रीहरुबाट छानिएका डकुमेन्ट्रि, फिचर फिल्म र सर्ट फिल्महरुको प्रदर्शनी हुने बताइएकाे छ । कार्यक्रमको कुल लागत २७ लाख ८० हजार लाग्ने अनुमान गरिएको छ ।
मकवानपुर जिल्लाको उत्तरी क्षेत्रमा पर्ने साविक पहाडि गा.वि.सहरु दामन, पालुंग, बज्रबाराही, चित्लाङ्ग, टिष्टुङ र आग्राको सम्पूर्ण भुभाग मिलेर थाहा नगरपालिका बनेको छ । थाहा नगरपालिका पर्यटनको प्रचुर सम्भावना रहेको क्षेत्र हो । प्राकृतिक एवं भौगोलिक हिसाबले नै आकर्षक र मनमोहक रहेको यस क्षेत्रमा हाल पर्यटन प्रवद्धन गर्नका लागि नगरपालिका र विभिन्न निकायहरु विविध तवरबाट लागि परिरहेका छन् ।
यसकाे लागि थाह नगरपालिका र संस्कृृति, पर्यटन तथा सहकारी मन्त्रालय बागमती प्रदेशको प्रत्यक्ष सहभागिता रहेको छ । कला केन्द्रले आयोजना गर्न लागिरहेको फेस्टिवलले थाहा नगरपालिकाको पर्यटन प्रवर्धनमा थप टेवा पुग्नेमा आशा गरिएकाे छ ।
मकवानपुर । मकवानपुर जिल्लाकाे मकवानपुरगढी गाउँपालिकामा उत्पादित रैथाने कृषि सामग्रीहरुको हाट बजार काठमाडौं भएको छ ।
मकवानपुरगढीमा उत्पादन भएका रैथाने कृषि बालि तथा स्थानिय स्तरमा उत्पादन भएको बास, बेद, निगालो जस्ता सामग्रीहरुबाट बनेका हस्तकला सामग्रीहरुको शनिवार काठमाडौंको दरबारमार्गमा हाट बजार लागेको हो ।
प्रत्येक शनिबार ओरिएन्ट क्याफेमा लाग्ने हाटमा बिशेष गरि भर्खरै मात्र बजारीकरण भएको कालीखोला कोदो पिठोले विशेष आकर्षण गरेकाे छ । मकवानपुरगढीमा उत्पादित स्थानीय एवम् रैथानेबालीहरु र बाँसबाट निर्मित डस्टविन, क्रेट, फाइल ट्रेलगायतका हस्तकला सामाग्रीहरु समेतको प्रबर्द्धन गरिएको गाउँपालिका कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले बताए ।
कृषि सामाग्रीहरुको हाट मेलामा स्थानीय उत्पादनको प्रवर्द्धनसंगै किसानहरुलाई अझै बढी प्रेरित गर्न लक्ष्यले आफू स्वयम उपस्थित भएको गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङतानले बताए ।
जिल्लामा विभिन्न समयमा लाग्ने सबै प्रकारकाे मेला महाेत्सवहरुमा स्थानीय रैथाने बालिकाे प्रदर्शनि गरेपछी अहिले किसानहरुकाे समेत आकर्षण बढेका छ । हेंला गरेर लगाउनै छाडिएकाे काेदाे फापरहरु अहिले खाेजि खाेलि लगाउन थालेका छन् किसानहरुले । गत असार १५ गते धान दिवसकाे दिनमा समेत किसानले आफ्ना उत्पादनकाे प्रदर्शनी गरेका थिए ।
युवा जनशत्तिकाे अभावमा खेत बारी बाँझाे राख्ने र ग्रामीण बस्ति छाडेर शहरमा बसाेबास गर्नेहरु बढेपछी स्थानीयहरुकाे अन्नाबालीमा जंगली जनावरले दुख दिन थालेकाे छ ।
यद्यपि पाखाेबारीहरुमा रैथाने नगदे तथा अन्न लगाएर उब्जाउ गर्न सकेमा आम्दानी प्रसस्त हुने मकवानपुरगढी गाउँपालिका ३ फुलबारीकी गिता तामाङले बताइन् ।

मकवानपुर । मकवानपुर प्रहरीले जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित ३ जनालाई नियन्त्रणमा लिएकाे छ । हेटौंडा उपमहानगरपालिका १५ रातोमाटेस्थित प्रहरी चेकपोष्टबाट २ जना र हेटौंडा उपमहानगरपालिका १९ नेवारपानीबाट १ जनालाई लागूऔषध गाँजासहित नियन्त्रणमा लिएकाे हो ।
प्रहरीले शुक्रबार बिहान पूर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने हेटौंडा–१५, रातोमाटेबाट लागूऔषध गाँजा ५ किलोसहित दुई जनालाई नियन्त्रणमा लिएकाे हो । पर्सा जिल्लाको बहुदरमाई नगरपालिका ६ गमरीयाका ४७ वर्षीय हिरालाल साह र बाराको बस्तिपुरका ४८ वर्षीय धुरन शाहलाई उक्त परिणामकाे गाँजासहित नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
उनका अनुसार, शुक्रबार बिहान नारायघाटबाट वीरगंजतर्फ जाँदै गरेको बा.प्र.०३ –००१ ख २७५८ नम्बरको बसलाई जाँच गर्ने क्रममा उक्त बसमा सवार साहद्वयकाे साथबाट सो परिमाणको लागूऔषध बरामद भएपछि निजहरुलाई नियन्त्रणमा लिइएकाे हो ।
यसैगरी मकवानपुर प्रहरीले शुक्रबार नै हेटौंडा–१९ नेवारपानीबाट लागूऔषध गाँजाको धुलो ४१ किलो ३ सय ग्रामसहित १ जनालाई नियन्त्रणमा लिएकाे छ । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–११ का २७ वर्षीय नारायण साहलाई उक्त लागुऔषधसहित नियन्त्रणमा लिइएकाे प्रवक्ता कार्कीले बताए ।
शुक्रबार दिउँसाे मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको प्रदेश २–०३–००१ च २५२५ नम्बरकाे योद्धा पिकअप गाडी जाँच गर्दा लुकाई ल्याएको २ वटा बोराबाट उक्त गाँजा धुलो बरामद भएपछि गाडी चालक साहलाई नियन्त्रणमा लिएको हाे । प्रहरीले नियन्त्रणमा लिएका ३ नै जनामाथि आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
