मकवानपुर । मकवानपुर जिल्ला हेटौंडा–८ कमानेकी आसमाया देउला हरेक दिन विहान साँढे ३ बजे उठ्छिन् । विहान उठेपछि उनको पहिलो काम सडक बढार्ने हो । साँढे ३ बजेबाट सारा बजार क्षेत्रको सडक बढारेपछि उनी ८ वा ९ बजे घर पुग्छीन् । अनि सुरु हुन्छ उनको घरको सरफसफाई ।
आफू बस्ने घरभन्दा पहिले सडकको सरसफाइमा लाग्ने आसमायाले विगत २९ वर्षदेखि यही काम गर्दै आएकी छिन् । झाडु लिएर सडक बढार्न निस्कने आसमायालाई आफ्नो घरभन्दा प्रिय लाग्छ सफा सडक । “विहान उठेर आफ्नो घरको कोठा र आँगनभन्दा पहिले सडक बढार्छु” आसमायाले भनिन् “आफूले पसिना बगाएको ठाउँको माया लाग्न नि ।” यसैबाट उनको रोजिरोटी चलेको छ ।
छोरो अटो चलाउँछ, परिवारको अरु आम्दानीको स्रोत छैन । सडकको फोहोर सफा गर्ने काममा केही पीडा संगालेकी छिन् उनले । चाडपर्वको समयमा घरमा पाहुना हुन्छन्, आफू बिदा पाइदैन, काममा निस्कनै पर्छ, चाडपर्वको बेलामा शहरमा झन् धेरै फोहोर हुन्छ ।
सडकमा सबैप्रकारको फोहोरहरु भेटिन्छन्, फोहोरमा काम गर्नुपर्दा स्वास्थ्यमा समेत असर पर्ने गरेको बताउँछिन् ३४ वर्षिया अञ्जना देउला । अञ्जना देउला पनि विगत २० वर्षदेखि हेटौंडा बजारको सफाइ कार्यमा लागिरहेकी छिन् । जनशक्तिको अभावमा सफाईको काम असिमित समय हुँदा भने उनीहरुलाई समस्या छ ।
“१० दिन वा २ हप्ताको बिचमा रुघाखोकी, ज्वारोले सताउने गर्छ” अञ्जना भन्छिन् “बिरामी हुँदा पनि औषधि खाने, काममा आउने हो ।” सफाइ कर्मचारी कम भएको कारण बिदा नपाइने उनले बताइन् ।
“हामीले सकि नसकि सफा गरेर अघि बढेको सडकमा पछि फर्केर हेदा व्यापारीहरुले फोहोर थुपारीसक्छन्,यो देख्दा चाँही दिक्क लाग्छ” अर्की सफाइ कर्मचारी शारदा देउलाले भनिन् । आफ्नो जीवनको उर्जावान समय सडक बढारेरै बिताएका उनीहरु आफूले सफा गरेको ठाउँमा अरुले फ्यात्त फोहोर फालिदिंदा धेरै नराम्रो लाग्ने बताउँछन् उनीहरु ।
सबैले आफ्नै मेरो घर आँगन, पिडी जस्तै मानेर सडकलाई सफा राखिदिए बजारको रुप नै अर्कै हुने बताउँछिन् अञ्जना । हेटौंडा ८ कमानेकै शारदा माया देउला पनि वि.स २०५० सालदेखि सफाईको काम गर्दै आउकी छिन् ।
हेटौंडा उपमहानगरपालिकाले बजार क्षेत्रमा सफाइको लागि १४ जना सफाइ कर्मचारी नियुक्त गरेको छ । २०५० सालपछि सफाइ कर्मचारी नयाँ नियुक्त नगरीएको कारण बजारमा जनघनत्व बढेसँगै बढेको फोहोर संकलन १४ जनाले नै भ्याउनु पर्ने बाध्यता छ । २०५० सालताका ७४ जना कर्मचारी बजारक्षेत्रको सफाइ गर्दा आएका थिए । पुराना कर्मचारी अवकाश भएर गएपछि नयाँ भर्ना नगर्दा जनशत्तिको कमीले कामको बोझ बढेको छ ।
फोहोर संकलनमा जनशत्तिको अभाव एकातिर छ भने, व्यापारी तथा यात्रुहरुले जथाभावि फोहोर फाल्दाको समस्या अर्कोतिर छ । नगरपालिकाले फोहोर जथाभावि फाल्नेलाई कडाइ नगरेको कारण अपेक्षाकृत सफाई नभएको बताउँछन् सरसफाइन
निरीक्षक दीपक घिमिरे । नगरपालिकाको मात्रै निगरानी गरेर फोहोर उठाउने काममा चुनौतीपूर्ण भएको बताउँछन् घिमिरे । नगरपालिकाको नियम अनुसार सडकको फोहोर नगरपालिकाको सफाइ कर्मचारीले संकलन र व्यवस्थापन गर्ने हो, आवासको फोहोर व्यवस्थापनको जिम्मेवारी अर्कै संस्थाले ठेक्कामा लिएको छ । तर ठेकदार संस्थाले दैनिक फोहोर नउठाएपछि आवासको फोहोरपनि सडकमै फाल्ने गरेको सफाइ कर्मचारीहरुको गुनासो छ ।
“ठेकदारले फोहोर उठाएन भने, हाम्रो कर्मचारीले बढारेर छाडेको सडकमा आवासको फोहोर स्थानीय वासिन्दाले फाल्ने गर्दछन्, नगरपालिकाले पनि ठेकदारलाई कडाइ गरेको छैन” घिमिरेले भने । सफाइको ठेक्कापाएको संस्था, स्थानीय व्यापारी, पैदल यात्री, यातायात
व्यवसायी तथा यात्रुहरु सबैले सरसफाइमा इमान्दारीता प्रकट गर्नुपर्ने घिमिरे बताउँछन् । “सफाइको कुरा गर्दा जागिर खाएको भन्ने कुरा आउँछ, जागिरभन्दा पनि इमान्दारीताको कुरा ठुलो हो, आफ्नो घर पसल वरपर सफा राख्दा त आफैंलाई फाइदा छ नी” शारदा भन्छिन् ।
२० वर्ष अघिको तुलनामा हाल हेटौंडाको सडक सफाइ कर्मचारी संङ्ख्या एक तिहाइ मात्रै छन्, जनशक्ति घटेका छन् तर हेटौंडा बजारको क्षेत्र विस्तार भएको छ । संगै जनघनत्वको कारण फोहोर पनि बढी हुने गरेको छ । पहिलेको तुलनामा कामको भार थपिएको बताउँछिन् अर्की सफाइ कर्मचारी बालकुमारी देउला । वर्षाको समयमा झरी पर्दा समेत काममा आउनु पर्दा समस्या हुने गरेको शारदाले बताइन् । लक्ष्मी देउलाले पनि वि.स २०४८ सडकको फोहोर बढार्दै आएकी छिन् ।
“सफाइको नियम नगरपालिकाले कडाइका साथ लागु गनुपर्ने निरीक्षक घिमिरे बताउँछन् । “चिठ्ठी काटेर के हुन्छ र भन्दै फोहोर बाटोमा फाल्नेलाई नगरपालिकाले कडाइ गरोस्” घिमिरेले भने । हेटौंडा उपमहानगरपालिकाले बजारलाई हराभरा बनाउने लक्ष्यका साथ डिभाइडरमा फूल रोपेको छ। तर सफाइमा यथेष्ट ध्यान पु¥याएको छैन । “नगरपालिकाले रोपेको त्यै फूलको फेदमा जम्मा हुने फोहोरको डङ्गुरलाई व्यवस्थापन गर्न किन कडाइ गर्दैन ?” पैदलयात्री युवा सर्केस कार्कीले भने । “फूल मात्रै रोपेर शहरको आकर्षण बढ्दैन, फोहोर व्यवस्थापनको लागि डस्टविन वितरण तथा त्यसको व्यवस्थापन पक्ष पनि राम्रो चाहिन्छ ।”
स्थानीय युवा संकल्प घोरासाइनीले पनि सरसफाईमा दुरगामी लक्ष्यका साथ नगरपालिकाले काम गर्न नसकेको बताए । बसपार्क क्षेत्रमा समेत फोहोर संकलनको लागि डस्टबिन राख्न नसक्नुले फोहोर तथा प्रदुषण नियन्त्रणमा नगरपालिकाको चासो नै नभएको स्पष्ट देखिएको घोरासाइनीले बताए ।
हेटौंडाको फोहोर, व्यवस्थापनमा जटिल बन्दै
देशको राजधानी हेटौंडामा फोहोर व्यवस्थापन जटिल बन्दै आएको छ । २०७१ सालमा देशको सबैभन्दा सफा शहरको रुपमा पुरस्कृत भएर ५ लाख रुपियाँ पुरस्कार पाएको हेटौंडा शहर विस्तारै फोहोर बन्दै आएको छ ।

हाल हेटौंडाको फोहोर संकलन गरेर जम्मा गर्दै आइएको फोहोर व्यवस्थापनको विकल्प नखोजिने हो भने अबको ४/५ वर्षमा हेटौंडाको फोहोर व्यवस्थापन नगरकै समस्याको रुपमा आउने निश्चित भएको छ । काठमाडौंको फोहोर व्यवस्थापनको चुनौती दिनदिनै बढ्दै आएको बेला हेटौंडाको फोहोर व्यवस्थापन गरिदै आएको डम्पिङ्क साइड पनि भरिंदो छ ।
हेटौंडा १० सिसौघारीमा हाल संकलन गर्दै आइएको फोहोर दिनहुँ एस्काभेटर लगाएर खाँदै आइएको छ,तर यसको विकल्प भने खोजिएको छैन । डम्पिङ् साइडको नजिकै बसोबास गर्दै आएका स्थानीयहरु फोहोरको गन्धको कारण आजित छन् । नगरपालिकाले गन्ध फैलन नदिन समेत कुनै चासो नदिएको उनीहरु बताउँछन् ।
तत्कालीन हेटौंडा नगरपालिका र हालको हेटौंडा उपमहानगरपालिकाको फोहोरको परिमाण समेत दोब्बर छ, तर सफाई कर्मचारीको संङख्या आधाभन्दा कम छ । यसले गर्दा पनि हेटौंडा बजारमै समेत फोहोर संकलनमा चुनौती सुरु भएको छ । संकलन भएको फोहोर व्यवस्थापनमा समेत समस्या भएको हेटौंडा उपमहानगरपालिका वातावरण महाशाखाका सफाइ निरीक्षक दिपेन्द्र राज शर्माले बताए ।
हाल हेटौंडा १० को झण्डै २० विगाहा जग्गामा फोहोर थुपार्दै आइएको छ । नगरपालिकाले फोहोरलाई उत्पादनमै वर्गिकरण गर्ने र त्यसै अनुरुप व्यवस्थापन गर्ने गरी ७ वर्ष अघि बनाएको योजना योजनामै थन्किएको छ । अहिले पनि बजारमा प्रयाप्त डस्टबिनहरु पनि छैनन्, र घरैमा समेत फोहोर वर्गिकरण गरेर संकलन गर्ने काम भएको छैन ।
नगरपालिकाले कुहिने, नकुहिने र अस्पतालबाट निस्कने सुइ जस्ता फोहोरको स्रोतमै वर्गिकरण गरेर छुट्टाछुट्टै संकलन गर्ने नीति लिएको थियो । ७ वर्ष अघि यो अभियान सुरु गरेको भन्दै डस्टबिन समेत वितरण गरिएको थियो तर हाल कतै पनि यस्ता डस्टविन छैनन् ।
फोहोर व्यवस्थापनको लागि वैकल्पिक डम्पिङ साइडको खोजि र बजारको फोहोर संकलनबारे नीतिगत रुपमा तयारी हुँदै गरेको हेटौंडा उपमहानगरपालिका मेयर मिना कुमारी लामा बताउँछिन् । “बजारको फोहोर संकलन तथा व्यवस्थापनलाई व्यवस्थित बनाउन नगरपालिकाले हामीले योजना बनाउने तयारी थालेका छौ” उनले भनिन् “यति समयभित्र वा यहीँ बनाउने भन्ने छैन, तर हामी गर्छौ ।”

