मकवानपुर । मकवानपुर प्रहरीले जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित ३ जनालाई नियन्त्रणमा लिएकाे छ । हेटौंडा उपमहानगरपालिका १५ रातोमाटेस्थित प्रहरी चेकपोष्टबाट २ जना र हेटौंडा उपमहानगरपालिका १९ नेवारपानीबाट १ जनालाई लागूऔषध गाँजासहित नियन्त्रणमा लिएकाे हो ।
प्रहरीले शुक्रबार बिहान पूर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने हेटौंडा–१५, रातोमाटेबाट लागूऔषध गाँजा ५ किलोसहित दुई जनालाई नियन्त्रणमा लिएकाे हो । पर्सा जिल्लाको बहुदरमाई नगरपालिका ६ गमरीयाका ४७ वर्षीय हिरालाल साह र बाराको बस्तिपुरका ४८ वर्षीय धुरन शाहलाई उक्त परिणामकाे गाँजासहित नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
उनका अनुसार, शुक्रबार बिहान नारायघाटबाट वीरगंजतर्फ जाँदै गरेको बा.प्र.०३ –००१ ख २७५८ नम्बरको बसलाई जाँच गर्ने क्रममा उक्त बसमा सवार साहद्वयकाे साथबाट सो परिमाणको लागूऔषध बरामद भएपछि निजहरुलाई नियन्त्रणमा लिइएकाे हो ।
यसैगरी मकवानपुर प्रहरीले शुक्रबार नै हेटौंडा–१९ नेवारपानीबाट लागूऔषध गाँजाको धुलो ४१ किलो ३ सय ग्रामसहित १ जनालाई नियन्त्रणमा लिएकाे छ । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–११ का २७ वर्षीय नारायण साहलाई उक्त लागुऔषधसहित नियन्त्रणमा लिइएकाे प्रवक्ता कार्कीले बताए ।
शुक्रबार दिउँसाे मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको प्रदेश २–०३–००१ च २५२५ नम्बरकाे योद्धा पिकअप गाडी जाँच गर्दा लुकाई ल्याएको २ वटा बोराबाट उक्त गाँजा धुलो बरामद भएपछि गाडी चालक साहलाई नियन्त्रणमा लिएको हाे । प्रहरीले नियन्त्रणमा लिएका ३ नै जनामाथि आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

