मकवानपुर । मकवानपुर प्रहरीले खुद्रा सामानसहित चार वटा ट्रकलाई नियन्त्रणमा लिएको छ । सोमबार हेटौडा १५ रातोमाटेबाट खटिएको प्रहरी टोलीले बिल बिजक भन्दा बढी खुद्रा सामान ल्याएकाे पाइए पछि ट्रकहरुलाई नियन्त्रणमा लिएको हो ।
हेटौडा १५ रातोमाटेस्थित पुर्व–पश्चिम सडकखण्डबाट विरगञ्जबाट काठमाडाौतर्फ जादै गरेकाे ना ८ ख ४८४२ नम्वरको डब्बा गाडी, प्रदेश ३–०१–००५ ख ९८५१ नम्वरको ट्रक, ना ३ ख ५९५० नम्वरको ट्रक र विरगञ्जबाट बुटवलतर्फ जादै गरेकाे ना ४ ख ८७२७ नम्वरको ट्रकलाई नियन्त्रणमा लिएको मकवानपुरका प्रहरी नायव उपरिक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार विरगञ्जबाट आउँदै गरेको उक्त सवारी साधनबाट बिल बिजक भन्दा बढी खुद्रा सामान बरामद भएपछि नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका ट्रकहरुलाई राजस्व अनुसन्धान कार्यालय पथलैया पठाईएको मकवानपुर प्रहरीले जनाएकाे छ ।
मकवानपुर । बागमती प्रदेशकाे राजधानी हेटौंडामा अन्तर्राष्ट्रिय अपाङ्ग दिवस साताव्यापी कार्यक्रम सुरु भएको छ । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेशले सामाजिक विकास मन्त्रालय र हेटौंडा उपमहानगरपालिकासँगको सहकार्यमा ३२ औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवसमा विभिन्न कार्यक्रमको आयोजना गर्ने भएकाे छ ।
सोमबार हेटौडामा पत्रकारसँग भेटघाट गरी महासंघले साताव्यापी कार्यक्रम सुरु भएको जनाएको छ । ‘दीगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धताः अपांगता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धता’ भन्ने नाराको साथ दिवस मनाउन लागिएकाे हाे । दिवसको साताव्यापी कार्यक्रम मंसिर १७ गतेसम्म चल्ने महासंघ बागमती प्रदेश अध्यक्ष अश्विन लम्सालले बताए ।
सप्ताहव्यापी कार्यक्रममा अभिमुखीकरण, विचार गोष्ठीदेखि रक्तदानलगायतका ९ वटा कार्यक्रम हुने लम्सालले जानकारी दिए साेमबार पहिलो दिन पत्रकारसँग भेटघाट गरी सुरु भएको कार्यक्रम मंगलबार दोस्रो दिन हेटौंडाको बसपार्क र बुद्धचोकमा ब्यानर मार्फत प्रचार प्रसार गरिने छ । त्यस्तै अपाङ्गता अधिकारको सवालमा विद्यमान कानून कार्यान्वयनको अवस्था विषयमा रेडियो / टेलिभिजन सम्वाद, अपाङ्गता भएका व्यक्तिहरुको राजनैतिक अधिकारको सवालमा राजनैतिक दलहरूसँग विचार गोष्ठी, रक्तदान कार्यक्रम र ब्लड प्रेसर जाँच हुनेछ ।
त्यस्तै अपांगता भएका विद्यार्थीहरु बीच सिर्जनात्मक कार्यक्रम , युएनसीआरपीडी र एसडीजीको अन्तर सम्बन्ध विषयमा अभिमुखीकरण, दीप प्रज्वलन र डिसेम्बर ३ अर्थात अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको दिन र्याली सहित कोणसभा र पुरस्कार वितरण कार्यक्रम हुने छ भने अन्तिम दिन बागमती प्रदेश प्रमुख, मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीसमेतकाे उपस्थितिमा समापन गरिने कार्यक्रम तय गरिएको अध्यक्ष लम्सालले बताए ।
संयुक्त राष्ट्र संघले ३ डिसेम्बरलाई विश्व अपाङ्गता दिवस घाेषणा गरे अनुसार हरेक वर्ष विश्वभर अपाङ्गता दिवस मनाउँदै आएकाे छ । राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन अनुसार बागमती प्रदेशमा अपाङ्गता भएकाहरुकाे संख्या १ लाख २४ हजार १ सय जना रहेको छ ।
मकवानपुर । राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघ खोज्दै गएको टोलीले भेटेकाे शवकाे पहिचान भएकाे छ । उक्त शव चितवन राप्ति नगरपालिका १ दुबिचौर बस्ने १७ वर्षीय पुष्पराज तमाङकाे रहेकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ । मृतक बुबा ईन्द्र बहादुर तामाङले पाईन्ट र चप्पलको आधारमा शवकाे सनाखत गरेकाे प्रहरीले जनाएकाे छ ।
शुक्रबार बिहान मकवानपुरको मनहरी गाउँपालिका–६ राप्तीखोला र लोथरखोलाको दोभानमा चितवन राप्ती नगरपालिका–१, दुबीचौरका ४३ वर्षीय हरिप्रसाद पौडेललाई बाघले आक्रमण गर्दा मृत्यु भएको थियो । सेना र चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत सुनाचुरी रेञ्ज पोष्टबाट ४ वटा हात्ती प्रयोग गरी चितवन र पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा नरभक्षी बाघको खोजी गर्ने क्रममा राप्तीखोला र लोथरखोलाको दोभानमै शव भेटिएको थियाे ।
सेना र निकुञ्जका अधिकारीले नरभक्षी बाघलाई नियन्त्रणमा लिएका छन् । आइतबार राती बाघलाई नियन्त्रणमा लिएर वन्यजन्तु केन्द्र चितवन लगिएको प्रहरीले जानकारी दिएकाे छ ।
चितवन । लामो समयदेखि अलपत्र रहेकाे गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई नेपाल सरकारले राष्ट्रिय गौरवको आयोजनामा राखेर अघि बढाउने निर्णय गरे संगै निर्माणले गति लिने बताइएकाे बेला रंगशालाकाे सरसफाइ गरिएकाे छ ।
बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले सहकार्य गरी रंगशाला बनाउने निर्णय समेत गरेका छन् । सरकारका तीन वटै निकायले रंगशाला निर्माणमा चासो देखाएपछि अलपत्र परेको रंगशालामा सरसफाइ अभियान सुरु गरिएको हो ।
निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भरतपुर महानगरपालिकाले सरसफाइ अभियान सुरु गरेको हो । चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको जग्गामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला लामो समयदेखि अलपत्र हुँदा काँसघारीमा परिणत भएकाे छ ।
सरसफाइमा स्थानीय, विद्यार्थी, सामाजिक अभियन्ता, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र नगर प्रहरी लगायतको उपस्थिति रहेको थियो । सरसफाइ अभियनमा भरतपुर महानगरपालिकाकी नगर प्रमुख रेनु दाहालले रंगशालालाई सरकारले राष्ट्रिय गौरवको आयोजनामा राखेकाले अब रंगशाला बन्नेमा ढुक्क हुन सबैलाई आग्रह गरिन् ।
भरतपुर महानगरपालिकाका उपमेयर चित्रसेन अधिकारीले सरकारले राष्ट्रिय गौरवमा राखेपछि अब स्थानीय सरकार र स्थानीयहरुले पनि यसलाई आफ्नो सम्झेर सहयोग गर्नुपर्ने बताए । बागमती प्रदेश खेलकुद परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले निर्माण सँगसँगै सञ्चालनमा ल्याउने गरी काम गरिनु पर्ने बताए । उनले निर्माण पनि भइरहने विभिन्न खेलकुद प्रतियोगिता पनि भइरहने गरी काम अघि बढाउनुपर्ने बताए ।
३ अर्ब लागत अनुमानसहित जनस्तरबाटै सहयोग उठाएर निर्माण सम्पन्न गर्ने लक्ष्य लिएकाे धुर्मुस सुन्तली फाउण्डेशनले २०७५ सालमा क्रिकेट रंगशाला निर्माणको थालनी गरेको थियो । ५० करोडभन्दा बढी रकम खर्च भइसकेको, १८ करोड ऋण रहेको र थप सहयोग जुट्न नसकेको भन्दै धुर्मुस सुन्तली फाउण्डेशनले भरतपुर महानगरपालिकालाई रंगशालाको जिम्मेवारी सुम्पेर २०७८ पुसमा कामबाट हात झिक्यो । त्यसयता रंगशाला निर्माणको काम अघि बढ्न सकेको छैन ।
मकवानपुर । मकवानपुर प्रहरीले गाँजा फडानी गर्न टाेली खटाएकाे छ । मकवानपुरको कैलाश र राक्सिराङ गाउँपालिकामा लगाइएको गाँजा फडानी गर्न प्रहरी परिचालन गरिएको हाे ।
जिल्लाको बिकट कैलाश र राक्सिराङमा गाँजा फडानी गर्न १ सय प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरी निरिक्षकको कमाण्डमा कैलाश र राक्सिराङ गाउँपालिकामा ५०/५० जनाको प्रहरी टोलि खटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रवक्ता प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
मंसिर १० गते आइतबार खटाइएकामा २ जनाको ड्रोन टोली समेत रहेको बताइएको छ । गाँजा फँडानीको लागि कैलाश २ स्थित डाँडाखर्क वेस रहने गरी एक टाेली र राक्सिराङ ७ जुरेथुङ बेस रहने अर्काे टाेली परिचालन गरिएकाे प्रवक्ता भण्डारीले बताए ।
यस अघी गत असोजमा राक्सिराङ गाउँपालिकामा ९० जना तथा कैलाश गाउँपालिकाको विभिन्न वडामा ४० जना प्रहरी परिचालन गरी लागु औषध गाँजा फडानी गरेका प्रहरीले जनाएकाे छ ।
