मकवानपुर । मकवानपुरकाे मनहरी गाउँपालिकाले कारागारलाई राइस स्टिमर सहयोग गरेको छ ।
गाउँपालिकाले मकवानपुरकाे भीमफेदी गाउँपालिकामा रहेकाे कारागारलाई राइस स्टिमर सहयोग गरेको हाे । गाउँपालिकाले कारागारमै पुगेर राइस स्टिमर हस्तान्तरण गरेको अध्यक्ष रञ्जन कालाखेतीले बताए । गाउँपालिकाले ३ लाख रुपैया बराबरको २ वटा मेसिन कारागारका निमित्त प्रमुख मदन लामालाई हस्तान्तरण गरेको हो ।
असोज ५ गते कार्यपालिका बैठकले कारागारमा रहेका कैदी–बन्दिहरुलाई खाना पकाउने स्टिमर खरिद गरि हस्तान्तरण गर्ने निर्णय गरेको थियो । मनहरी गाउँपालिकामा स्थायी/अस्थायी रुपमा बसोबास गर्ने सयौँको संख्यामा कैदी–बन्दिहरु लागू औषध ओसारपसारका कारण कारागारमा छन् । गरिबीका कारण भरियाका रुपमा प्रयोग भएका ती सर्वसाधारणको दायित्वबोध गरी सहयोग गरिएको अध्यक्ष कालाखेतीले बताए ।
हालसम्म हिटरको प्रयोगबाट खाना पकाउने व्यवस्था रहँदै आएको निमित्त कारागार प्रमुख लामाले जानकारी दिए । उनले भने ‘हिटरको प्रयोगले मासिक ४ देखि ५ लाख सम्मको विजुली खपत गर्दथ्यो तर उक्त स्टिमरले खाना पकाउन र विजुली खपतमा पनि सहयोग पुग्नेछ ।’ यसबाट एउटा मेसिनमा ४८ किलो चामल एकैपटक पकाउन मिल्ने भएकाले करिब २०० जनालाई खाना पकाउन सजिलो हुने भएको उनले बताए ।
२ वटा स्टिमर मेसिनले करिब ४०० जनाको खाना एक पटकमा पाक्ने जनाइएको छ । हाल कारागारमा १ हजार ६९ जना कैदी–बन्दिहरु छन् । ७ सय २६ जना कैदी र ३ सय ४३ जना थुनुवा रहेको उक्त कारागारमा अन्य स्थानीय तहले पनि यसैगरी सहयोग गरे सहज हुने कारागारका निमित्त प्रमुख लामा अपेक्षा सुनाए ।
खेलकुद तथा व्यापार महोत्सवः प्रमोदले नचाए हेटौंडेली दर्शक
Tags: No Comments
मकवानपुर । मकवानपुरकाे हेटौंडामा सञ्चालन भैरहेको खेलकुद तथा व्यापार महोत्सवमा सोमबार गायक प्रमोद खरेलले हेटौडेलीलाई नचाएका छन् । खरेलकाे सांगीतिक प्रस्तुति सुन्न हेटौडामा दर्शकहरुको भीड लागेको थियो ।
युवा पुस्ताले निकै रुचाएका गायक खरेलले महाेत्सवकाे आफ्ना करिब एक दर्जन गीत गाएका थिए । महोत्सवका दर्शकहरुले नाच्दै र गाउँदै उनलाई साथ दिएका थिए । सोमबार खरेलसंगै गायिका सहिमा श्रेष्ठ, गायक असिमकुमार कटुवाल र जादुगर बलराम सरकारको प्रश्तुती रहेको थियो । महोत्सवमा मंगलबार लोक गायक पशुपति शर्मा, लोक गायिका ज्योति मगरसहित मनोज गोर्खाली, ध्रुव विस्को, केको सिङ लगायतको प्रश्तुती रहने आयोजकले जनाएको छ ।
प्रत्येक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहँदै आएको महोत्सवमा दैनिक दर्शकको उपस्थिति बढ्दै गएकाे आयोजकले जनाएकाे छ । पुस १७ गतेसम्म सञ्चालन हुने महोत्सवमा २६० वटा विभिन्न स्टल रहेको छ । महोत्सवमा कृषि, पर्यटन, हस्तकला, अटो मोबाइलका साथै बाल उद्यान लगायत राखिएको छ । महोत्सवबाट खेलकुद विकास समितिलाई प्राप्त हुने रकमबाट वर्षभर खेलकुद प्रतियोगिता आयोजना गर्ने आयोजकले लक्ष्य राखेको छ । महोत्सवबाट मकवानपुर जिल्ला खेलकुद विकास समितिले करिब २५ लाख रुपैयाँ प्राप्त गर्ने बताइएकाे छ ।
बृहत् खेलकुद तथा व्यापार महोत्सवः राष्ट्रिय तेक्वान्दोमा ज्योति डोजाङ प्रथम
Tags: No Comments
मकवानपुर । बागमती प्रदेशकाे राजधानी हेटौंडामा जारी बृहत् खेलकुद तथा व्यापार महोत्सव अन्तर्गत सोमबार भएको राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा ज्योति तेक्वान्दो डोजाङ प्रथम भएको छ ।
१२ वटा तौल समूहमा भएको प्रतियोगितामा ज्योतिले ३ स्वर्ण, ३ रजत र ३ कास्य पदकसहित पहिलाे भएको हो । ३ स्वर्ण र एक काश्यसहित किरणचोक तेक्वान्दो डोजाङ द्वितीय भएको छ भने २ स्वर्ण, ४ रजत र एक काश्यसहित क्रियटिभ डोजाङ तृतीय भएको छ ।
पशुपति डोजाङले २ स्वर्ण, २ रजत र ३ कास्य पदक जितेको छ भने माउण्ट एभरेष्ट डोजाङले १ स्वर्ण र एक रजत जितेको छ । यस्तै टिसिएन डोजाङले एक स्वर्ण र एक रजत, जेनिथ डोजाङले ५ कास्य र ज्ञानोदय डोजाङले २ कास्य जितेको आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा मकवानपुरको ८ वटा डोजाङले सहभागिता जनाएका थिए ।
विजेता खेलाडीहरुलाई नेपाली कांग्रेस मकवानपुरका नेता आनन्दराम पराजुली, हेटौंडा उपमहानगरपालिका १ नम्बर वडा अध्यक्ष सविन न्यौपाने, ६ नम्बर वडा अध्यक्ष विष्णु दाहाल, ८ नम्बर वडा अध्यक्ष राम थापा, ९ नम्बर वडा अध्यक्ष शुकराम केसी, १० नम्बर वडा अध्यक्ष फुर्वादोर्जे लामा, मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बेष खड्की, पूर्व अध्यक्ष सानु लामा लगायतले पुरस्कार वितरण गरेका हुन् । महोत्सवमा दैनिक विभिन्न खेलकुद प्रतियोगिता सञ्चालन भैरहेको छ ।
महोत्सवमा राष्ट्रिय, प्रदेश तथा जिल्लास्तरीय गरी १३ वटा विधाका खेलमा स्पर्धा सैचालन हुनेछ । महोत्सव आयोजक समितिका संयोजक तथा मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष वेष खड्कीले खेलकुद क्षेत्रको विकासका लागि आयोजना भएको महोत्सवमा सबै क्षेत्रको सहयोग प्राप्त भैरहेको बताए ।
पर्सा । नेशनल मेडिकल कलेज विरगंजमा इण्डोमेट्रिओमाको सफल शल्यक्रिया गरिएकाे छ । मेडिकल कलेजमा एक १९ वर्षीय युवतीको डिम्बासयमा पलाएको सिस्ट दुरबिन प्रविधिबाट शल्यक्रिया गरी सफलतापूर्वक निकालिएको हाे ।
महिनाबारी गडबड भएर जम्मा भएर बनेको रगत र पानी जमेको सिस्ट (इण्डोमेट्रिओमा)लाई दुरबिन प्रविधि (ल्याप्रोस्कोपी) बाट निकालिएको कलेजले जनाएकाे छ ।
कलेजका चिकित्सक डा.प्रविण शाह, डा.रुवी श्रेष्ठ, रेजिडेन्ट डा.सरोज यादव, डा.स्नेहा श्रेष्ठको टीमले लामो समयदेखि इण्डोमेट्रिओमाबाट पीडित युवतीको उपचार गरेको हो । कलैया घर भएकी ती युवती लामो समयदेखि अनियमित महिनाबारी हुने तथा महिनाबारीका समयमा अत्याधिक पेट दुख्ने समस्याबाट पिडित थिइन् । उनी ५ महिना अगाडी नै नेशनल मेडिकल कलेजमा उपचारका लागि आएकी थिइन् । उनले काठमाडौंमा समेत गएर स्वास्थ्य जाँच गराउँदा अप्रेसन गर्न सल्लाह दिइएको थियो । त्यसपछि उनी नेशनल मेडिकल कलेजमै उपचार गरेकी हुन् ।
‘उहाँ ५ महिना अगाडी नै आउनु भएको थियो । विचमा काठमाडौं पनि जानुभयो । नेशनल मेडिकल कलेजमै ल्याप्रोस्कोपी विधिबाट अप्रेसन हुन्छ भनेपछि उहाँहरु यहीँ आउनु भयो, हामीले ३ वटा प्वाल पारेर ८.८ समीको सिस्ट निकाल्यौं ।’ शल्यक्रियामा संलग्न डा.प्रविण साहले बताए । अप्रेसनमा कलेजका एनेस्थेसियाका डा.असिम गौडेल, रेजिडेन्ट डा.मेलिना असप्रित तथा ओटी स्टाफ इब्राहिम अन्सारीले सहयोग गरेका थिए ।
कुनैपनि महिलाहरुमा अनियमित महिनाबारी छ, महिनाबारी हुँदा अत्याधिक पेट दुख्न भने डिम्बासयमा इण्डोमेट्रिओमाको जोखिम हुन्छ । ‘महिनाबारी हुँदा अत्याधिक पेट दुखिरहन्छ, महिनाबारी गडबड छ भने दुखाई कम गर्ने औषधीमात्र खाएर बस्नु हुँदैन । विशेषज्ञ डाक्टरलाई देखाउनु पर्छ ।’ अनियमित महिनाबारी हुने सय जना महिनाहरुमा १० प्रतिशतलाई इण्डोमेट्रोमाको जोखिम हुने डा. साहले बताए ।
स्त्री तथा प्रसुति सेवाका लागि अत्याधुनिक उपकरणसहित दक्ष चिकित्सकहरु रहेको नेशनल मेडिकल कलेजकी डाइरेक्टर नुसरत जहाँ अन्सारीले बताइन् । मधेश प्रदेसकै टर्सरी स्वास्थ्य संस्थाका रुपमा रहेको नेशनल मेडिकल कलेजले सर्वसुलभ शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ ।

