मकवानपुर । साहित्य सङ्गम मकवानपुरको ३ सय ३९ औ साहित्य सन्ध्यामा मकवानपुरका दिवगंत साहित्याकार खेम बानियाँ स्मृति विशेष भएको छ । साहित्य सर्जकहरुकाे रचना वाचनका साथै साहित्य र जीवन बिषयक अन्तर सम्वाद समेत आयाेजना गरिएकाे छ ।
साहित्य सङ्गमका पूर्व कार्यसमिति सदस्य बानियाँको स्मृति कार्यक्रम गर्दै सुरु गरिएकाे सन्ध्यामा सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलले मकवानपुरमा सुत्र भित्र्याउने बाँनिया भएकाे बताए । नेपालमा ध्रुवचन्द्र गौतमले सूत्र कथाको सुरूवात गरे भने मकवानपुरमा सूत्रकथा भित्र्याउँदै पत्रकारिता,खेलकूद, लेखन, राजनीति बहुविधामा बानियाँ सक्रिय रहेको बताए । मकवानपुरका पहिलो गजल सर्जकका रूपमा समेत बानियाँ भएकाे बताउँदै उनकाे अल्पायु मै भएकाे स्वार्गाराेहणले मकवानपुरसहित समग्र साहित्यमा अपूरणीय क्षति भएको बताए ।
शनिबारकाे नियमित सन्ध्यामा बाल साहित्यकार अनुषुया खनाल, किशन पौडेल (लघुकथा), एस के निधन (सूत्रकथा ), स्वस्तिका बानियाँ, हरि पौड्याल, केशव समर्पण र जुम्लेली स्रष्ट्रा राजबहादुर बुढाले गजल सुनाएका थिए । यसैगरी स्वस्तिका दाहाल, राजकुमार चौधरी, रामहरि चौलागाईं, बैकुण्ट लामिछाने, सुवास सजल, राजकुमार लामिछाने, छवि अनित्य, मसान उपासकलगायतले कविता वाचन गरेका थिए ।
सन्ध्याकाे अर्काे सत्रमा साहित्य र जीवन बिषयक अन्तर सम्वादमा साहित्यसेवी मुक्तिगोविन्द वैद्य र उमा मैनालीको सहभागिता रहेको थियो । सङ्गमका उपाध्यक्ष सानु खनालले सहजीकरण गर्नु भएको बहसमा वैद्यले गजल मञ्च मकवानपुरद्वारा हरेक महिना हुने गजल वाचन कार्यक्रममा गजलश्री घोषणा हुने कार्यक्रम नै पहिलो पटक आफूले सुनेको साहित्यिक कार्यक्रम भएको बताए । उक्त कार्यक्रममा गजलश्री घाेषणा गर्ने तर सम्मान स्वरुप प्रमाणपत्र समेत नदिएकाे भन्ने सुनेपछि सहयोग गरेर कार्यक्रमको निरन्तरतामा सहयाेग गरेका उनले बताए । साहित्य सङ्गम, मातृभूमि साहित्यिक समाज, गजल मञ्च, मुक्तक मञ्च, नवसर्जक साहित्य चौतारीसम्म पनि सहयोगदेखि जेसीस कर्ममा रहँदा मलंगवामा विद्यालय सञ्चालनसम्मका कार्यमा जोडिन पाएकोमा जीवन सफल भएको बताए ।
अन्तर सम्वादमा मैनालीले ध्रुवचन्द्र गौतमको अलिखितदेखि नयनराज पाण्डेको लूसम्म समाजकै कुरा आएको बताउँदै पछिल्लो समय डा. नवराज केसीको शुन्यको मूल्यसम्म आइपुग्दा आफूले विभिन्न कालखण्डका अनेकन समाज पढ्न पाएको बताए । उनले पढेका सयौं पुस्तकमध्ये राजेश्वर देवकोटाको उत्सर्ग प्रेमजस्ता पुस्तकहरू बुझ्न नसकेकोले बुझ्ने पुस्तक मात्रै पढ्ने गरेका बताइन् । पहिले काठमाडाैबाट पुस्तक मगाएर पढ्नुपर्ने बाध्यता रहेकोमा अहिले हेटौंडामै प्रकाशन हुने वित्तिकै उपलब्ध हुने हुँदा साहित्यमा रुची राख्ने र पठन संस्कृतिमा रमाउने पाठकलाई सहज भएको बताइन् ।
साहित्य र जीवनबीचको सम्बन्धबारे आनन्दानुभूतिका लागि श्रवण, पठन र मनन गर्ने गरेको र आफू बोल्नेभन्दा पनि अरूका रचना सुन्न ललायित हुने गरेकाे दुवै वक्ताले बताए । नवपुस्तालाई अध्ययनको दायरा फराकिलो पार्दै नेपालीसहित विभिन्न भाषाका पुस्तक अध्ययन गर्दै आफूमा निखारपन ल्याउन समेत उनीहरुले आग्रह गरे ।
कार्यक्रममा सङ्गमद्वारा संचालित पुष्पलाल स्मृति पुस्तकालयलाई साहित्यकार रमेश माेहन अधिकारीले विभिन्न लेखकमा पुस्तक समेत हस्तान्तरण गरेका थिए । वैद्य र मैनालीसहित ऋषिराम पोखरेललगायतलाई मायाको चिनो प्रदान गरिएको थियाे । सङ्गम अध्यक्ष डीबी बर्तौलाको सभाध्यक्षता भएकाे कार्यक्रममा सन्ध्यामा शैक्षिक व्यक्तित्व ऋषिराम पोख्रेल, ह्याग्रिव आचार्य, देबराज आचार्य, शान्ती प्रीयवन्दना लगायतकाे उपस्थिति रहेकाे थियाे ।
मकवानपुर । शहीद सप्ताह अन्तरगत मकवानपुरको हेटौंडामा भएको वक्तृत्वकलामा सपना बर्तौला प्रथम भएकी छिन् ।
मदन भण्डारी फाउन्डेसन मकवानपुरको ब्यबस्थापनमा शहीद स्मारक बिकास समितिले सहिद दिवसको अवसरमा शनिबार आयोजना गरेको वक्तृत्वकलामा हेटौंडा १९ की बर्तौला प्रथम भएकी हुन । यस्तै कार्यक्रममा हेटौंडा ५ कि आकाङ्क्षा निरौला द्वितीय, हेटौंडा ४ की दर्सना सापकोटा तृतीय भइन । हेटौंडा ९ की अभिप्सा पौडेलले सान्त्वना भइन ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना भइ उनीहरुले क्रमशः १० हजार, ७ हजार, ५ हजार र १ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । बक्त्तृवकलाका लागि १६ जनाले सहभागिता जनाएका थिए । घनश्याम घिमिरे, भावना सपकोटा र अमृत बर्तौलाको निर्णयकमा रहेका थिए ।
कार्यक्रममा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री तथा शहीद स्मारक बिकास समितिका अध्यक्ष डोरमणि पौडेलले शहीदका सपना साकार पार्न सबैको भूमिका अपरिहार्य रहने बताए । शहीद र जननेता भण्डारीले देखाएको बाटोमा हामी हिड्न जरुरी रहेको भन्दै उनले राजनीति निषेध भन्दा पनि गलत नेतृत्वलाई निषेध गर्नुपर्ने बताए ।
कार्यक्रमका सहभागीहरुलाई शनिबार नै प्रमाणपत्र वितरण गरिएको थियो भने बिजेताहरुलाई माघ १५ गते पुरस्कारसहित प्रमाणपत्र बितरण गरिने आयोजकले जानकारी दिएको छ ।
मकवानपुर । शहीद सप्ताह अन्तरगत हेटौडा ११ शहीद स्मारकमा रक्तदान कार्यक्रम गरिएकाे छ । सप्ताहकाे चौथाे दिन आयोजना गरिएकाे रक्तदानमा ३३ जना सहभागी भएका छन् ।
शहीद स्मारक बिकास समितिले सहिद दिवस सप्ताह ब्यापी कार्यक्रम गरि मनाउदैछ । शनिबार भएकाे रक्तदान कार्यक्रमबाट ३३ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक तथा नेपाल रेडक्रस सोसाइटी ११ नम्बरका सचिब अन्जन पौडेलले जानकारी दिए । शहीद सप्ताहकाे पहिलो दिन १० गते बुद्ध, मायादेवी, इन्द्र तथा ब्रम्हाको प्रतिमासहुतको पार्कको उद्घाटन गरिएको थियो । माघ ११ गते कृषि हस्तकला तथा पर्यटकीय वस्तुहरुको प्रबद्र्धन मेलाको शुभारम्भ, विविध सास्कृतिक कार्यक्रम तथा जेष्ठ नागरिक सम्मान कार्यक्रम गरिएकाे छ ।
यसैगरी माघ १२ गते वडा स्तरिय नृत्य प्रतियोगिता भएकाे थियाे । आइतबार माघ १४ गते वडा स्तरिय वक्तृत्वकला प्रतियोगिता, माघ १५ गते राष्ट्रिय कलाकारहरुको सास्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण र शिक्षक खुल्ला दौड प्रतियोगिता तथा माघ १६ गते प्रभातफेरी, शहीद प्रति सलामी, श्रीचन्द्र शर्मा स्मृति सम्मान पुरस्कार वितरण, प्रवचन तथा समापन कार्यक्रम हुने शहीद स्मारक बिकास समितिले जनाएकाे छ ।
भीमफेदी गाउँपालिकामा अनौपचारिक क्षेत्र श्रमिककाे सामाजिक सुरक्षा शुभारम्भ
Tags: No Comments
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकामा अनौपचारिक क्षेत्रका श्रमिकको सामाजिक सुरक्षा योजनाको शुभारम्भ गरिएकाे छ । देशकै पहिलो गाउँपलिकाको रुपमा भीमफेदीले योगदानमा आधारित सामजिक सुरक्षा योजनाको शुभारम्भ गरेको हो ।
भीफफेदी गाउँपालिकामा शनिबार आयोजना गरिएकाे कार्यक्रममा प्रतिनिधिसभा सभामुख देवराज घिमिरेले सामजिक सुरक्षा योजनाको शुभारम्भ गरेसँगै भीमफेदी अनौपचारिक क्षेत्रका श्रमिकहरुको सामाजिक सुरक्षा योजनाको औपचारिक शुभारम्भ गर्ने नेपालकै पहिलो गाउँपालिका भएकाे छ ।
योजनाको पहिलो चरणमा भीमफेदी गाउँपालिकामा सुचीकृत ९८ जना श्रमिक सहभागी रहेकाे बताइएकाे छ । सामाजिक सुरक्षा काेषामा सुचीकृत भएका श्रमिककाे तर्फबाट तलबकाे ११ प्रतिशत र त्यसमा स्थानीय तहले ९.३७ प्रतिशत जम्मा गर्नेछ । सामजिक सुरक्षा ऐन २०७४ मा अनौपचारिक क्षेत्रको मजदुरको न्युनतम तलब १० हजार ८ सय २० हुनु पर्ने व्यवस्था गरेकाे छ ।
मकवानपुर । मकवानपुरका विज्ञान शिक्षकहरुलाई विशिष्टिकरण तालिका तथा मूल्याङ्कनका विषयमा तालिम दिइएको छ ।
विज्ञान शिक्षक समाज मकवानपुरको आयोजनामा जिल्लाभरिका विज्ञान शिक्षकहरूलाई कक्षा १ देखि १० को विज्ञान विषयको विशिष्टिकरण तालिका तथा मूल्याङ्कनका विषयमा अभिमुखीकरण तालिम शुक्रबार हेटौंडामा दिइएको हो । तालिममा विज्ञान शिक्षक समाजका अध्यक्ष खेमराज लामिछानेले कक्षा १ देखि ३ सम्मको मूल्याङ्कन प्रक्रिया र विज्ञान शिक्षक समाजका सचिव सुवास खनालले कक्षा ४ देखि १०सम्मको मूल्याङ्कन तथा विशिष्टीकरण तालिकासम्बन्धी प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समितिका उप्रमुख सानुकाजी लुइँटेलले विज्ञान शिक्षक समाजको अँध्यारोलाई चिर्न र रुढीवाद हटाउन चेतना बाँढ्नसक्ने हुनुपर्ने बताए । कार्यक्रममा पत्रकार सुरेश श्रेष्ठले शिक्षकले चाहेमा समाज रुपान्तरणमा महत्वपूर्ण योगदान पुर्याउन सक्ने बताए ।
दुई सत्रमा सञ्चालित अभिमुखीकरण कार्यक्रममा जिल्लाका दशवटै स्थानीय तहका ६३ जना शिक्षकले सहभागिता जनाएका थिए । सहभागी तथा प्रशिक्षकलाई प्रमुख अतिथि तथा विशिष्ट अतिथिले प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रममा सहभागीका तर्फबाट नवोदय शिशु सदनकी अनुष्का श्रेष्ठ र विज्ञान शिक्षक रामकुमार ठाकुरले मन्तव्य राखेका थिए ।
समाजका अध्यक्ष खेमराज लामिछानेको अध्यक्षता, जिल्ला समन्वय समितिका उप्रमुख सानुकाजी लुइँटेल प्रमुख आतिथ्यता तथा शिक्षा विकास तथा समन्वय इकाई प्रमुख दिनानाथ गौतमको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा सिद्धार्थ माध्यमिक विद्यालयका प्राचार्य मोहनप्रसाद शर्मा र पेन्टागन एकेडेमीका सञ्चालक गोविन्द चौलागाईँको आतिथ्यता रहेको थियो ।
उद्घाटन सत्रको सहजीकरण विज्ञान शिक्षक समाजका जीवन तिमल्सिनाले गरेका थिए ।
