मकवानपुर । साहित्य सङ्गम मकवानपुरको ३ सय ३९ औ साहित्य सन्ध्यामा मकवानपुरका दिवगंत साहित्याकार खेम बानियाँ स्मृति विशेष भएको छ । साहित्य सर्जकहरुकाे रचना वाचनका साथै साहित्य र जीवन बिषयक अन्तर सम्वाद समेत आयाेजना गरिएकाे छ ।
साहित्य सङ्गमका पूर्व कार्यसमिति सदस्य बानियाँको स्मृति कार्यक्रम गर्दै सुरु गरिएकाे सन्ध्यामा सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलले मकवानपुरमा सुत्र भित्र्याउने बाँनिया भएकाे बताए । नेपालमा ध्रुवचन्द्र गौतमले सूत्र कथाको सुरूवात गरे भने मकवानपुरमा सूत्रकथा भित्र्याउँदै पत्रकारिता,खेलकूद, लेखन, राजनीति बहुविधामा बानियाँ सक्रिय रहेको बताए । मकवानपुरका पहिलो गजल सर्जकका रूपमा समेत बानियाँ भएकाे बताउँदै उनकाे अल्पायु मै भएकाे स्वार्गाराेहणले मकवानपुरसहित समग्र साहित्यमा अपूरणीय क्षति भएको बताए ।
शनिबारकाे नियमित सन्ध्यामा बाल साहित्यकार अनुषुया खनाल, किशन पौडेल (लघुकथा), एस के निधन (सूत्रकथा ), स्वस्तिका बानियाँ, हरि पौड्याल, केशव समर्पण र जुम्लेली स्रष्ट्रा राजबहादुर बुढाले गजल सुनाएका थिए । यसैगरी स्वस्तिका दाहाल, राजकुमार चौधरी, रामहरि चौलागाईं, बैकुण्ट लामिछाने, सुवास सजल, राजकुमार लामिछाने, छवि अनित्य, मसान उपासकलगायतले कविता वाचन गरेका थिए ।

