मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकामा अनौपचारिक क्षेत्रका श्रमिकको सामाजिक सुरक्षा योजनाको शुभारम्भ गरिएकाे छ । देशकै पहिलो गाउँपलिकाको रुपमा भीमफेदीले योगदानमा आधारित सामजिक सुरक्षा योजनाको शुभारम्भ गरेको हो ।
भीफफेदी गाउँपालिकामा शनिबार आयोजना गरिएकाे कार्यक्रममा प्रतिनिधिसभा सभामुख देवराज घिमिरेले सामजिक सुरक्षा योजनाको शुभारम्भ गरेसँगै भीमफेदी अनौपचारिक क्षेत्रका श्रमिकहरुको सामाजिक सुरक्षा योजनाको औपचारिक शुभारम्भ गर्ने नेपालकै पहिलो गाउँपालिका भएकाे छ ।
योजनाको पहिलो चरणमा भीमफेदी गाउँपालिकामा सुचीकृत ९८ जना श्रमिक सहभागी रहेकाे बताइएकाे छ । सामाजिक सुरक्षा काेषामा सुचीकृत भएका श्रमिककाे तर्फबाट तलबकाे ११ प्रतिशत र त्यसमा स्थानीय तहले ९.३७ प्रतिशत जम्मा गर्नेछ । सामजिक सुरक्षा ऐन २०७४ मा अनौपचारिक क्षेत्रको मजदुरको न्युनतम तलब १० हजार ८ सय २० हुनु पर्ने व्यवस्था गरेकाे छ ।
सामाजिक सुरक्षा काेषमा आवद्ध भए पछि सरकार र श्रमिकको तर्फबाट मासिक २ हजार २ सय ४ रुपैया गाउँपालिकाले कोषमा जम्मा गर्नु पर्ने भएकाे छ । कोषमा आवद्द भएका मजदुरले वार्षिक १ लाख बराबरको उपचार खर्च, ७ लाखको दुर्घटना बिमा, सुत्केरी महिला श्रमिकले ९८ दिन बराबरको पारिश्रमिक र शिशु स्याहारको लागि नगद २५ हजार पाउनेछन् भने दुर्घटना भै अशक्त भएको अवस्थामा नियमित पेन्सन पाउनेछन् ।
गाउँपालिकाले सामाजिक सुरक्षा काेष कार्यान्वयन गर्न चालू आर्थिक वर्षमा १३ लाख रुपैयाँ बजेट बिनियोजन गरेको भीमफेदी गाउँपालिकका अध्यक्ष हिदम लामाले बताए । नागरिकको सामाजिक सुरक्षा सम्बन्धी संवैधानिक हकको संरक्षण गर्नु स्थानीय सरकारको पनि दायित्व भएकाेले गाउँपालिकाले पनि आफ्नो नागरिकको सामाजिक सुरक्षा सम्बन्धी संवैधानिक हकको संरक्षण गर्नका लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना प्रारम्भ गरेको छ उनले जानकारी दिए ।
सामाजिक सुरक्षा सम्बन्धी संवैधानिक हकलाई सुनिश्चित गर्नका लागि योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ ले औपचारिक र अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिलाई सामाजिक सुरक्षा योजनामा आवद्ध गराउन सक्ने व्यवस्था गरेको छ। लामाले ऐनकाे उक्त व्यवस्था कार्यान्वयन गर्न गाउँपालिकाभित्रका अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरुको योगदानमा आधारित सामाजिक सुरक्षा योजनालाई समावेश गरेको बताए ।
‘बचत गर्ने बानीमा विकास गरी सामाजिक सूरक्षाको प्रत्याभूति गर्न, सबै श्रमिकलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गराई उनीहरुको आर्थिक तथा सामाजिक जोखिमको न्यूनीकरण गर्न, सर्वव्यापी सामाजिक सुरक्षाको अवधारणालाई मूर्तरूप दिन तथा योगदानमा आधारित सामाजिक सुरक्षाको संवैधानिक हकलाई सुनिश्चित गर्नका लागि काेषमा आवद्धता गरिएकाे उनले बताए । चालु आर्थिक वर्षमा १ सय जना अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई कोषमा आवद्ध गराउने लक्ष्य रहेकाे उनले जानकारी दिए । अनौपचारिक क्षेत्रमा कार्य गर्ने श्रमिकहरुको सामाजिक सुरक्षा योजना सञ्चालन गर्न भिमफेदी गाउँपालिका र सामाजिक सुरक्षा कोष बिच गत श्रावण ३० गते सम्झौता भएकाे थियाे ।
गाउँपालिकाले अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिहरुलाई डकर्मी, सिकर्मी,लोड अनलोड, गिट्टी बालुवा चाल्ने, ढुंगा फुटाएर जिबिका चलाउने, गाडी चालक, सहचालक, अप्रेटर, कृषि श्रमिक, ज्यामी लगायत अन्य श्रमिक, तथा स्वरोजगार व्यक्तिहरु योजनामा सहभागी गराइएकाे गाउँपालिकाले जनाएकाे छ । काेष आवद्ध हुन पालिकाले गत कार्तिक २३ गते सूचना प्रकाशित गरेकाे थियाे ।
गाउँपालिका अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई सामाजिक सुरक्षा योजनामा आवद्ध गराउन सामाजिक सुरक्षा कोषसँग सम्झौता गर्ने नेपालकै दोस्रो गाउँपालिका र बागमती प्रदेशकै पहिलो गाउँपालिका हो । सामाजिक सुरक्षा कोषसँग सम्झौता गर्ने स्याङ्जाको फेदिगाँउ पहिलो गाउँपालिका हाे । सामाजिक सुरक्षा कोषमा आवद्ध भएपछी भीमफेदी गाउँपालिकामा कार्यरत अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरुले ढुक्क भएर काम गर्ने वातावरण बनेको बताएका छन् ।