बालिकालाई दुर्व्यवहार गर्ने शिक्षक माथि कारबाहीकाे माग
Tags: No Comments
मकवानपुर । मकवानपुरगढीमा रहेकाे शारदा माध्यमिक विद्यालयकाे बालिकालाई यौनजन्य दुर्व्यवहार गर्ने शिक्षकलाई कारवाहीकाे माग गरिएकाे छ । उक्त घटना प्रति ध्यानाकर्षण भएकाे जनाउँदै अनेरास्ववियु मकवानपुरगढी गाउँपालिका कमिटीले घटनामा संलग्नलाई कारवाहीकाे माग गरेकाे हाे ।
बालमैत्री स्थानीय शासन घोषणा भएको गाउँपालिकाकै बालबालिका बिद्यालयमा नै असुरक्षित भएको प्रती सरोकारवालाहरूको ध्यानाकर्षण भएको छ ।
विद्यालयमा कक्षा ८ मा अध्ययनरत बालिकामाथि यौनजन्य दुर्व्यवहारमा संलग्न भएका शिक्षक चन्द्रलाल महर्जनलाई तत्काल सार्वजनिक गरी कानुनी कारवाही हुनुपर्ने उसले माग गरेकाे छ ।
माघ १५ गते कमिटी सचिव पुष्कर घिमिरेद्वारा जारी विज्ञप्तीमा घटना लाई ढाकछोप गर्ने उदेश्यले मिलाउने प्रयास भएकोले दोषी शिक्षक महर्जन उपर तत्काल कानुनी प्रक्रिया अन्तर्गत कारवाहीको लागि जोडदार माग गर्दछौ भनिएकाे छ । अन्यथा अनेरास्ववियु आन्दोलनमा उत्रिने समेत चेतावनी दिइएकाे छ ।
अनेरास्ववियूले आफ्नो स्थापना कालदेखि नै शैक्षिक क्षेत्रमा भएका विकृति, विसंगति, अनियमितता तथा भ्रष्टाचारका विरुद्ध आवाज उठाउँदै जनजीविका र गुणस्तरीय एवम् सर्वसुलभ शिक्षा प्राप्तिका लागि निरन्तर रुपमा दबाव, सुझाव र आवश्यक नीति कार्यान्वयनका लागि सरोकारवाला निकायलाई खबरदारी गर्दै आएको छ समेत विज्ञप्तीमा भनिएकाे छ ।

मकवानपुर । आज माघ १६ गते शहीद दिवस । देश र जनताका लागि वलिदान दिने शहीदहरूको सम्मानमा विभिन्न कार्यक्रम गरी देशभर दिवस मनाइँदैछ । शहीद दिवस देशका लागि प्राण आहुति दिने शहीदहरूको सम्झना गरिने दिन हो। नेपालमा माघ १६ गते हरेक वर्ष शहीद दिवस मनाइन्छ। राणा शासन बिरूद्ध लडेका शहीद भएका सम्झनामा शहीद दिवस मनाउन थालिएको हो।
मकवानपुरकाे हेटौडामा शहीद सप्ताह अन्तरगत आज मंगलबार प्रभातफेरी, शहीद प्रति सलामी तथा श्रीचन्द्र शर्मा स्मृति सम्मान पुरस्कार वितरण, प्रवचनलगायतका कार्यक्रम हुने सहिद स्मारक बिकास समितिले जनाएकाे छ ।
वि.सं. १९९७ माघ १० गते निरंकुश राणा शासनविरुद्धमा नेपाल प्रजापरिषद् स्थापना गरी जनतालाई आफ्नो हक र अधिकारका लागि अग्रसर गराउने शुक्रराज शास्त्रीलाई टेकुस्थित खरीको रूखमा झुन्ड्याएर हत्या गरिएको थियो । सोही वर्ष माघ १३ गते सिफलमा धर्मभक्तलाई झुन्ड्याइएको थियो भने माघ १५ गते दशरथ चन्द र गंगालाललाई शोभा भगवतीमा गोली हानी हत्या गरिएको थियो । नेपालको पहिलो शहीद भने लखन थापालाई मानिन्छ ।
पछिल्लोसमय दुर्घटनामा ज्यान गुमाएका व्यक्तिलाई दबाबका कारण शहीद घोषणा गर्ने प्रचलन बढ्दै गएकाे छ । यसले वास्तविक शहीद प्रति सम्मान नभएकाे र शहीदले देखाएकाे बाटो विराइएकाे गुनासा बढ्न थालेको छ । शहीदलाई प्रत्येक वर्ष माघ १६ गते १ दिन मात्रै सम्झने गरिएकोले सपना पूरा गर्ने गरी काम नभएको गुनासो यस दिन प्रशस्तै सुनिन्छ ।
सरकारले शहीद दिवस विशेष कार्यक्रमसहित मनाउने घोषणा गरेकाे भएपनि यो वर्ष सार्वजनिक विदा भने दिएको छैन । शहीद दिवसको अवसरमा विगत सार्वजनिक बिदा दिने गरिएकाे थियाे । २०८१ सालदेखि भने शहीद दिवसको दिन सार्वजनिक बिदा दिने निर्णय यसअघि नै गरिसकेकाे छ ।
मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले शहीदहरुको संघर्ष र त्यागको मर्मलाई सदैव आत्मसात गर्नुपर्ने बताएका छन् । मंगलबार शहीद दिवसको सन्देश जारी गर्दै प्रदेश प्रमुख शर्माले नेपाल र नेपालीको उज्ज्वल भविष्यका लागि प्राण आहुती दिनुहुने वीर शहीदहरुलाई एक दिन मात्र सम्झिएर सपना साकार पार्न नसकिने बताए ।
‘शहीदहरुका सपना साकार पार्न र उहाँहरुले देखाउनुभएको मार्गमा हिड्नका लागि प्रण गर्ने दिनका रुपमा आजको दिनलाई सम्झनुपर्दछ’ प्रमुख शर्माले भने । सन्देशमा नेपालका वीर सपुतहरुले आफ्नो अमूल्य जीवन उत्सर्ग गरेको दिन उहाँहरुको बलिदानको सम्मानमा शहीद दिवस मनाउँदै आइएको उल्लेख गर्दै प्रमुख शर्माले हामीले प्राप्त गरेका उपलब्धिहरु वीर सपुतहरुकै बलिदानबाट सम्भव भएको बताएका छन् ।
‘राष्ट्र,राष्ट्रियता,स्वतन्त्रता,समानता,नागरिक हक अधिकारको रक्षा लगायतका न्यायपूर्ण आन्दोलनहरुमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने महान शहीदहरुप्रति भावपूर्ण श्रद्दाञ्जली अर्पण गर्दछु ।’ प्रमुख शर्माले सन्देश दिएका छन् ।
मकवानपुर । मकवानपुरकाे हेटौंडामा टिपरको ठक्करबाट १ जनाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१७ गैरीगाउँमा टिपरको ठक्करबाट मकवानपुरगढी धमिले घर भई हेटौंडा–१७ दाविले बस्ने २५ बर्षीय हरि पनेरूको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएकाे छ ।
सोमबार साँझ चौघडाबाट मकवानपुरगढीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ख ७९०३ नम्बरको टिपरले विपरित दिशाबाट आउँदै गरेको ना २६ प ४४२५ नम्बरको मोटरसाइकललाई कान्तिलोकपथ सडकखण्ड अन्तर्गत हेटौंडा १ ७, गौरीगाउँमा ठक्कर दिएको थियो । टिपरको ठक्करबाट मोटरसाइकल चालक पनेरुको घटनास्थलमै मृत्यु भएको हो ।
प्रहरीका अनुसार दुर्घटनामा घाइते उनकाे श्रीमती २२ वर्षीय अर्चना ढकाल घाइते भएकोमा हेटौँडा अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । टिफर चालक हेटौडा १९ नेवारपानी बस्ने ३३ वर्षीय राधाकृष्ण रेग्मीलाई मकवानपुर प्रहरीले नियन्त्रण लिएकाे छ ।
मकवानपुर । मकवानपुरकाे हेटौंडामा गिजर प्रयोग गरी नुहाउने क्रममा १ जनाकाे मृत्यु भएकाे छ । हेटौडा उपमहानगरपालिका वडा नम्बर ९ लामसुरेका २१ वर्षीय युनेश काफ्लेकाे ग्यास गिजर प्रयोेग गरी नुहाउने क्रममा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएकाे छ ।
सोमबार दिउँसो नुहाउन गएका उनी लामो समय बाथरुमबाट ननिस्किएपछि परिवारका सदस्यले बाथरुमको ढोका फोडेका थिए । प्रहरीका अनुसार बाथरुममा ग्यास गिजर प्रयोेग गरी नुहाउने क्रममा उनी वेहाेश भएकाे पाइएकाे थियाे । अचेत अवस्थामा युनेशलाई उपचाचरकाे लागि हेटौंडाकाे मकवानपुर सामुदायिक अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषित गरेकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएकाे छ ।
