मकवानपुर । आज माघ १६ गते शहीद दिवस । देश र जनताका लागि वलिदान दिने शहीदहरूको सम्मानमा विभिन्न कार्यक्रम गरी देशभर दिवस मनाइँदैछ । शहीद दिवस देशका लागि प्राण आहुति दिने शहीदहरूको सम्झना गरिने दिन हो। नेपालमा माघ १६ गते हरेक वर्ष शहीद दिवस मनाइन्छ। राणा शासन बिरूद्ध लडेका शहीद भएका सम्झनामा शहीद दिवस मनाउन थालिएको हो।
मकवानपुरकाे हेटौडामा शहीद सप्ताह अन्तरगत आज मंगलबार प्रभातफेरी, शहीद प्रति सलामी तथा श्रीचन्द्र शर्मा स्मृति सम्मान पुरस्कार वितरण, प्रवचनलगायतका कार्यक्रम हुने सहिद स्मारक बिकास समितिले जनाएकाे छ ।
वि.सं. १९९७ माघ १० गते निरंकुश राणा शासनविरुद्धमा नेपाल प्रजापरिषद् स्थापना गरी जनतालाई आफ्नो हक र अधिकारका लागि अग्रसर गराउने शुक्रराज शास्त्रीलाई टेकुस्थित खरीको रूखमा झुन्ड्याएर हत्या गरिएको थियो । सोही वर्ष माघ १३ गते सिफलमा धर्मभक्तलाई झुन्ड्याइएको थियो भने माघ १५ गते दशरथ चन्द र गंगालाललाई शोभा भगवतीमा गोली हानी हत्या गरिएको थियो । नेपालको पहिलो शहीद भने लखन थापालाई मानिन्छ ।
पछिल्लोसमय दुर्घटनामा ज्यान गुमाएका व्यक्तिलाई दबाबका कारण शहीद घोषणा गर्ने प्रचलन बढ्दै गएकाे छ । यसले वास्तविक शहीद प्रति सम्मान नभएकाे र शहीदले देखाएकाे बाटो विराइएकाे गुनासा बढ्न थालेको छ । शहीदलाई प्रत्येक वर्ष माघ १६ गते १ दिन मात्रै सम्झने गरिएकोले सपना पूरा गर्ने गरी काम नभएको गुनासो यस दिन प्रशस्तै सुनिन्छ ।
सरकारले शहीद दिवस विशेष कार्यक्रमसहित मनाउने घोषणा गरेकाे भएपनि यो वर्ष सार्वजनिक विदा भने दिएको छैन । शहीद दिवसको अवसरमा विगत सार्वजनिक बिदा दिने गरिएकाे थियाे । २०८१ सालदेखि भने शहीद दिवसको दिन सार्वजनिक बिदा दिने निर्णय यसअघि नै गरिसकेकाे छ ।

