मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले शहीदहरुको संघर्ष र त्यागको मर्मलाई सदैव आत्मसात गर्नुपर्ने बताएका छन् । मंगलबार शहीद दिवसको सन्देश जारी गर्दै प्रदेश प्रमुख शर्माले नेपाल र नेपालीको उज्ज्वल भविष्यका लागि प्राण आहुती दिनुहुने वीर शहीदहरुलाई एक दिन मात्र सम्झिएर सपना साकार पार्न नसकिने बताए ।
‘शहीदहरुका सपना साकार पार्न र उहाँहरुले देखाउनुभएको मार्गमा हिड्नका लागि प्रण गर्ने दिनका रुपमा आजको दिनलाई सम्झनुपर्दछ’ प्रमुख शर्माले भने । सन्देशमा नेपालका वीर सपुतहरुले आफ्नो अमूल्य जीवन उत्सर्ग गरेको दिन उहाँहरुको बलिदानको सम्मानमा शहीद दिवस मनाउँदै आइएको उल्लेख गर्दै प्रमुख शर्माले हामीले प्राप्त गरेका उपलब्धिहरु वीर सपुतहरुकै बलिदानबाट सम्भव भएको बताएका छन् ।
‘राष्ट्र,राष्ट्रियता,स्वतन्त्रता,समानता,नागरिक हक अधिकारको रक्षा लगायतका न्यायपूर्ण आन्दोलनहरुमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने महान शहीदहरुप्रति भावपूर्ण श्रद्दाञ्जली अर्पण गर्दछु ।’ प्रमुख शर्माले सन्देश दिएका छन् ।

