मकवानपुर । आज सोमबार देशका बागमती, कोशी, मधेश, गण्डकी र कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ।
सोमबार राति कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको केही स्थानहरूमा साथै लुम्बिनी प्रदेशका पुर्वी भूभागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ/हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले चोरीको ५ वटा माेटरसाइकल र मास्टर साँचाे सहित ६ जनालाई नियन्त्रणमा लिएकाे छ । विभिन्न मितिमा चोरी भएका मोटरसाइकलहरुको खोजतलास गर्ने एवं चोरी नियन्त्रण गर्ने क्रममा नियन्त्रणमा लिएका व्यत्तिहरुलाई प्रहरीले आइतबार सार्वजनिक गरेकाे हाे ।
२ जेठमा मकवानपुरकाे हेटाैडा उपमहानगरपािलका १६ बाट वडा १५ बस्ने बर्ष २० को मिलन पाख्रिन, वडा १६ बस्ने बर्ष ३० को रत्न बहादुर गोलेलाई बा.प्र.०२-०३ प २१९६ नं. को माेटरसाइकल सहित नियन्त्रणमा लिएकाे हाे ।
उक्त नम्वर प्लेट राखेको मोटरसाइकल चाेरीकाे भएकाेले प्रहरीले नियन्त्रणमा लिएकाे थियाे । उक्त मोटरसाइकल मकवानपुर जिल्ला बकैया गांउपालिका वडा नं. ८ बस्ने बर्ष १९ को संजिव भोलनले बिक्री गरेको थियाे । प्रहरीले संजिव भोलनलाई साेधपुछ गर्ने क्रममा भोलनको साथबाट पनि चाेरीकै माेटरसाइकल फेला पारेकाे थियाे । संजिवकाे साथबाट बागमती प्रदेश ०२-०४१ प ३९०८ नं. प्लेट भएको २२० सि.सि.को चोरीको मोटरसाइकल फेला पारीएकाे प्रहरीले जनाएकाे छ ।
अनुसन्धान गर्ने क्रममा मोटरसाइकलहरु मकवानपुर बकैया गांउपालिका वडा नं. ८ बस्ने बर्ष ३३ को रमेश लोप्चन र ईन्द्रसरोबर गांउपालिका वडा नं. ५ बस्ने बर्ष २९ को सुवाश बोम्जनले दिएको भनिएकाे थियाे ।
साथै संजिव भोलनको साथबाट फेला परेको मोटरसाइकलको सम्पुर्ण पार्टपुर्जाहरु हेटाैडा १९ बस्ने अशोक स्याङतानलाई बिक्रि गरेको पाइएकाे थियाे । प्रहरीले अशोक स्याङतानले प्रयोग गर्ने ना २० प ७७६८ नं. को मोटरसाइकलमा उक्त पार्टपुर्जाहरु राखि स्वरुप परिवर्तन गरेको भन्ने जानकारी पाएकाे थियाे ।
मिलन पाख्रिन, रत्न बहादुर गोले, संजिव भोलन,रमेश लोप्चन र अशोक स्याङतान समेतलाई पक्राउ गरी चोरी मुद्धामा जिल्ला अदालत मकवानपुरबाट ८ दिनको म्याद अनुमति लिई अनुसन्धान जारी राखेकाे छ । प्रहरीले अन्य चोरी भई आएका बा.प्र.०२-०३८ प ७५८१ नं.को NS र बा.प्र.०२-०३३ प ६०२० नं.Duke मोटरसाइकल समेत कार्यालयमा ल्याई अनुसन्धान कार्य भइरहेकाे डिएसपी लक्ष्मी भण्डारीले बताए ।
मकवानपुर । बागमती प्रदेश सभाको लागि नयाँ भवन निमाणार्थ शिलान्यास गरिएको ३ वर्ष ६ महिना वित्यो । तर, अझै निर्माण जारी छ । पछिल्लो टेण्डरको म्याद अझै २ महिना बाँकी छ । यसपछि फर्निचरलगायतको लागि अर्को टेण्डर खोल्नै बाँकी छ ।
१८ महिनामा सम्पन्न गर्नको लागि सम्झौता गरेको निर्माण कम्पनीले ३ वर्ष समय गुजारेपछि भवन निर्माणको समय दोब्बर हुने भएको हो । भौतिक निर्माणको पाटोमा काम गर्नमा सम्झौता गरेको अर्घाखाँची–सगुन–पारामौउत जोइन्ट भेन्चरले झण्डै १५ महिना समय बढी गुजारेको थियो ।
यो कम्पनीले प्रदेशको प्रदेश सभा सचिवालय निर्माणको लागि ४ करोड ९४ लाख ९ हजार ९ रुपैयाँमा ठेक्का सम्झौता गरी निर्माण पाटो जिम्मा लिएको थियो । वि.स २०७७ मङ्सिर १० गते प्रदेश सभा सचिवालय निर्माणको लागि तत्कालिन सभामुख सानुकुमार श्रेष्ठले भवनको शिलान्यास गरेका थिए। १८ महिनाभित्र अर्थात २०७९ जेठ ९ गते काम सम्पन्न गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता भएकोमा पटक पटक गरी पछिल्लो पटक २०८० जेठ ३० गतेसम्म म्याद थपिएको थियो तर कम्पनीले २०८० भदौपछि मात्रै काम सकेको बताइएको छ ।
बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय शहरी विकास तथा भवन कार्यालय मकवानपुरका अनुसार अहिले हलभित्र साउण्ड प्रुफ सिस्टम, टायल्स, मार्वल, विद्युतीकरणलगायतको कामको लागि ३ करोड ९ लाख ५७ हजार १५३ रुपैयाँमा हेटौंडा ११ को सिउँडी निर्माण सेवासँग सम्झौता गरिएको छ । २०८० फागुन २३ गते सम्झौता भए अनुसार हाल फिल्डमा काम जारी रहेको कार्यालयका सब इञ्जिनियर कृष्ण साहले बताए ।
यो भवन निर्माणको लागि हालसम्म कुल ८ करोड ३ लाख ६७ हजार लगानी भइसकेको बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय शहरी विकास तथा भवन कार्यालय मकवानपुरका सूचना अधिकारी टेकनाथ काफ्लेले बताए ।
बागमती प्रदेश सभाको सचिवालय हाल तत्कालिन क्षेत्रीय शिक्षा निर्देशनालयको भवनमा सञ्चालन भइरहेको छ । अहिले भवनको भित्रीपाटोमा मार्बल विछ्याउने काम भइरहेको छ ।
हाल प्रदेश सभा सचिवालय तत्कालिन मध्यमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालयको साँघुरो भवनमा सञ्चालन हुँदै आएको छ । जहाँ ११० सदस्यीय प्रदेश सांसदहरु सबै उपस्थित हुँदा कुर्सी अटाउन नै हम्मेहम्मे पर्छ । यही साँघुरो बैठक कक्षबाट प्रदेश सभाले पहिलो कार्यकाल पूरा गर्यो। भौतिक मन्त्रालय अन्तर्गतको शहरी विकास तथा भवन कार्यालयले ठेक्का प्रक्रिया अघि बढाएकोमा हालसम्म उक्त भवन निर्माणको काम सम्पन्न हुन नसकेको हो।
२५० जना क्षमताको निर्माणाधीन बागमती प्रदेश सभा हल तोकिएको समयमा काम सम्पन्न गरेर २०८० वैशाखबाटै नयाँ भवनमा प्रदेश सभा सञ्चालन गर्ने लक्ष्य लिइएको थियो ।
यता, संसद हल नबन्दा बैठक सञ्चालन गर्न कठिन भैरहेको प्रदेश सभा सचिवालयले जनाएको छ । नयाँ भवन बन्नको लागि समय लाग्ने देखिएपछि पुरानो भवनमा मर्मत सुधारको नाममा लाखौं खर्च भइरहेको छ ।
हाल प्रयोगमा रहेको भवन पुरानो संरचनामा बनेको हुनाले यो अपाङ्गमैत्री समेत छैन । हाल रहेका ११० मध्ये १ सांसाद ह्वील चियर प्रयोगकर्ता भएको थाहा पाएपछि राताराता मर्मत गरेर र्याम राखिएको भएपनि रोस्ट्रममा जान सहज नभएको भन्दै सांसद लक्ष्मी घिमिरेले अपाङ्ग मैत्री संरचना नभएसम्म आफू रोस्ट्रममा नै नजाने भनेर सरकारको ध्यानाकर्षण गराउँदै आएकी छिन् ।
रामेछाप जिल्लाबाट समानुपातिक संसदमा निर्वाचित भएकी राप्रपाकी सांसद लक्ष्मी घिमिरेले नीति निर्माण गर्ने तहमै अपाङ्मैत्री संरचनाप्रति चासो नहुनुमा दुख प्रकट गर्दै आएकी छिन् । अहिले बन्दै गरेको भवन भने अपाङ्तमैत्री छ ।
मर्मतको लागि लाखौ खर्च
मकवानपुर । प्रदेश सभाको नयाँ भवन निर्माण सम्पन्न नभएपछि हाल रहेको कार्यालयमा मर्मतको नाममा लाखौं खर्च भएको छ । अघिल्लो कार्याकाल बिताएका सांसदहरुलाई बिदाइ गरेपछि नयाँ सांसदको स्वागतताका सचिवालय हल पुरै नयाँ जस्तै रुप दिइएको थियो । त्यतिबेला अनावश्यक मर्मत कार्यमा १० लाख बढी खर्च गरिएको थियो ।
फेरि हालमा सभामुख भुवनकुमार पाठकले आफ्नो कर्यकक्ष मर्मत सुधारको नाममा झण्डै १० लाख रुपैया लाख खर्च गरेका छन् । प्रदेश सभाको दोस्रो सभामुखका रूपमा गत पुसमा निर्वाचित भएका पाठकले आफ्नो कार्यकक्षलाई अत्याधुनिक रुपमा मर्मत गर्न लगाए । फर्निचर, कार्पेट, वाल फिनिसिङदेखि गलैँचासम्म सुधारको नाममा उक्त खर्च भएको सचिवालयले जनाएको छ । सचिवालय भवनमा संरचना निर्माण तथा मर्मतसुधार शीर्षकको बजेटबाट ९ लाख ८८ हजार ११ सय रुपैयाँमा आर.बी.एस. कन्ट्रक्सनलाई ठेक्का दिइएको थियो। जसमा पुराना संरचना पुरै हटाएर नयाँ डेकोरेसन बनाएइको छ ।
यसैगरी आवासमा ४४ लाख खर्च भएको छ । पाठकले हेटौँडा–१०, राप्तीरोडमा रहेको सरकारी आवास मर्मतका लागि पनि झण्डै ४५ लाख रुपैयाँमा ठेक्का दिइसकेका छन् । कम्पाउन्ड वाल निर्माण, रंगरोगन तथा भित्री सजावट गर्न ४४ लाख ६२ हजार ३० रुपैयाँमा ठेक्का लगाएर काम सुरु भइसकेको बागमती प्रदेश सभा सचिवालयले जनाएको छ । आवास मर्मत पनि सचिवालय सभा भवनमा संरचना निर्माण तथा मर्मत सुधार शीर्षकको बजेटबाट भइरहेको हो ।
मकवानपुर । मनहरी गाउँपालिका वडा नं ८ का चन्द्र बहादुर बोटे एक साताकाे उपचारपछि घर फर्केका छन् । गत विहिबार सडकमा पैदल यात्रा गरिरहेका बोटेलाई मोटरसाइकलले ठक्कर दिएकाे थियाे । ठक्कर दिएकाे माेटरसाइकल फरार भयाे ।
उनलाई तत्काल एम्बुलेन्समा राखेर गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतिले अस्पताल पठाए । उनको निधार र ढाडमा गम्भीर चोट लागेका कारण आकस्मिक सेवाका लागि भरतपुरको एभरेस्ट अस्पताल पुर्याइयाे ।
टाउकोको शल्यक्रिया र अन्य उपचार गर्दा करीब १ लाख ३३ हजारको रसिद अस्पतालले थमायाे । बोटे आर्थिक रुपले विपन्न छन् । राज्यले दिने सामाजिक सुरक्षा भक्ताबाट गुजारा टार्दै आएका उनीहरुको थप आर्थिक जाेहाे राप्ती खोलामा माछा मार्दै विक्री गर्छन् । घरको मुख्य जिम्मेवार व्यक्ति नै घाइते भएर अस्पतालमा लडिरहँदा घरमा छाक टार्न नै मुस्किल भएको बेला अस्पतालको त्यो रसिदले बाेटे परिवारलाई समस्यामा पार्याे । आम्दानी स्राेत नै नभएपछी कसले ऋण पत्याउने ?
अस्पतालले बिन भुक्तानी नगरी डिस्चार्ज गर्न नमानेपछी मनहरी गाउँपालिका अध्यक्ष कालाखेतिले उनको उपचारमा लागेको खर्च व्यहोरेर उनलाई घरसम्म पुर्याइदिए । अध्यक्ष कालाखेतिले निर्वाचित भएदेखि नै आफुले पाउने सेवा सुविधा बापतको रकम कोष बनाएर बचत गर्दै आएका छन् । उनले मासिक रुपमा प्राप्त गर्ने रकम र अन्य स-साना बैठकबाट प्राप्त हुने भत्तालाई सोही कोषमा जम्मा गरि आवश्यक अनुसार विपन्न नागरिकको सेवा गर्दै आएकाे उनले बताए ।
उनले सोही कोषबाट ७० हजार र गाउँपालिकाबाट ५० हजार थप गरेर अस्पतालको रकम चुक्ता गरीदिएकाे बताए । उनले अस्पताल प्रशासनलाई पनि बाेटे समुदायकाे अवस्थाबारे जानकारी गराएपछि १० प्रतिशत छुट प्राप्त भएकाे थियाे ।
‘जनप्रतिनिधि भएकाे हिसाबले म उहाँहरुकाे अभिभावक हुँ याे मेराे जिम्मेवारी मैले पुरा गरे’ कालाखेतीले भने ।
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका १२ चौतारास्थित कान्तिलोकपथ सडकखण्डमा कार भीरबाट खसेर दुर्घटना हुँदा घाइते भएका २ जनाकाे मृत्यु भएकाे मकवानपुर प्रहरीले जनाएकाे छ ।
प्रहरीका अनुसार घटनामा घाइते भएका रौतहट मौलापुर नगरपालिका ६ बस्ने १७ वर्षीय विबेक शाह, मकवानपुर भिमफेदी गाउँपालिका ८ बस्ने ६५ वर्षीय प्रेम बहादुर ब्लोनकाे मृत्यु भएकाे हाे । उनीहरुकाे हेटाैंडा स्थित सहकारी अस्पतालमा ज्यान गएकाे हाे ।
उक्त दुर्घटनामा ३ जना घाइते भएका थिए । दुर्घटनामा घाइते भएका कार चालक बारा निजगढ नगरपालिका ६ बस्ने ३० वर्षीय सन्दिप शाहकाे हेटाैंडाकाे सहकारी अस्पतालमा उपचार भइरहेकाे र अवस्था गम्भिर रहेकाे बताइएकाे छ ।
ललितपुरबाट हेटौंडा आउँदै गरेको ग ३ च ९४७५ नम्बरको कार शनिबार बिहान सडकबाट अन्दाजी ५०० मिटर तल खसेको थियाे ।