मकवानपुर । मनहरी गाउँपालिका वडा नं ८ का चन्द्र बहादुर बोटे एक साताकाे उपचारपछि घर फर्केका छन् । गत विहिबार सडकमा पैदल यात्रा गरिरहेका बोटेलाई मोटरसाइकलले ठक्कर दिएकाे थियाे । ठक्कर दिएकाे माेटरसाइकल फरार भयाे ।
उनलाई तत्काल एम्बुलेन्समा राखेर गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतिले अस्पताल पठाए । उनको निधार र ढाडमा गम्भीर चोट लागेका कारण आकस्मिक सेवाका लागि भरतपुरको एभरेस्ट अस्पताल पुर्याइयाे ।
टाउकोको शल्यक्रिया र अन्य उपचार गर्दा करीब १ लाख ३३ हजारको रसिद अस्पतालले थमायाे । बोटे आर्थिक रुपले विपन्न छन् । राज्यले दिने सामाजिक सुरक्षा भक्ताबाट गुजारा टार्दै आएका उनीहरुको थप आर्थिक जाेहाे राप्ती खोलामा माछा मार्दै विक्री गर्छन् । घरको मुख्य जिम्मेवार व्यक्ति नै घाइते भएर अस्पतालमा लडिरहँदा घरमा छाक टार्न नै मुस्किल भएको बेला अस्पतालको त्यो रसिदले बाेटे परिवारलाई समस्यामा पार्याे । आम्दानी स्राेत नै नभएपछी कसले ऋण पत्याउने ?
अस्पतालले बिन भुक्तानी नगरी डिस्चार्ज गर्न नमानेपछी मनहरी गाउँपालिका अध्यक्ष कालाखेतिले उनको उपचारमा लागेको खर्च व्यहोरेर उनलाई घरसम्म पुर्याइदिए । अध्यक्ष कालाखेतिले निर्वाचित भएदेखि नै आफुले पाउने सेवा सुविधा बापतको रकम कोष बनाएर बचत गर्दै आएका छन् । उनले मासिक रुपमा प्राप्त गर्ने रकम र अन्य स-साना बैठकबाट प्राप्त हुने भत्तालाई सोही कोषमा जम्मा गरि आवश्यक अनुसार विपन्न नागरिकको सेवा गर्दै आएकाे उनले बताए ।
उनले सोही कोषबाट ७० हजार र गाउँपालिकाबाट ५० हजार थप गरेर अस्पतालको रकम चुक्ता गरीदिएकाे बताए । उनले अस्पताल प्रशासनलाई पनि बाेटे समुदायकाे अवस्थाबारे जानकारी गराएपछि १० प्रतिशत छुट प्राप्त भएकाे थियाे ।
‘जनप्रतिनिधि भएकाे हिसाबले म उहाँहरुकाे अभिभावक हुँ याे मेराे जिम्मेवारी मैले पुरा गरे’ कालाखेतीले भने ।

