रोटे पिङ जसलाई ठाँउ विशेष अनुसार चर्खे पिङ,पिर्के पिङ तथा रंगते पिङ पनि भनिन्छ । यो एक प्रकारको नेपाली चलन चल्तिमा रहेको संस्कृति हो भने एक किसिमको मनोरञ्जनको समेत साधन हो । रोटे पिङ विशेषगरि दशै,तिहारमा बनाइने गरिन्छ। रोटे पिङ हेर्दा अत्यन्तै सुन्दर र कलात्मक देखिने गर्छ। त्यससँगै यसको वनोट र संरचना पनि उत्तिकै रोचक तथा जटिल हुने गर्छ। यो पिङको मुख्य आकार वर्ग जस्तै हुने गर्दछ। खम्बा रोटे पिङको मुुख्य आडको भाग हो । आवश्यक अनुसार विभिन्न प्रकारको रोटे पिङमा २ वा ३ वटा खम्बाको प्रयोग गर्ने गरिन्छ । मानिसले घुमाएर चलाईने यो पिङ अहिले प्रायः लोप हुँदै गएकाे छ । पहिलेकाे पुस्ताले सिकाएर गएकाे यो प्रविधि अहिलेकाे पुस्तालाई सिकाउनु बुझाउनु जरुरी छ । तस्विर: आरपी गुरागाईं/सहीखबर
मकवानपुर । आज तिहारको भाइटीका । दिदीबहिनीले आफ्ना दाजुभाइलाई परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाउँदैछन् ।
भाइटिकाको शुभ साइत बिहान ११:३७ मिनेटमा उत्तम रहेको पन्चाङ्ग निर्णायक समितिले जनाएको छ । आजको दिनलाई यमद्वितीया पनि भनिन्छ । दिदीबहिनीले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै टीका लगाइदिने गरिन्छ ।
दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ । तिहारमा सप्तरङ्गी टीका लगाउने भनिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ्ग रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँचवटा उल्लेख गरिएको धर्मशास्त्रविद् बताउछन् ।
भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नपर्ने जनाइएको छ । आज लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवता, नवग्रहको समेत पूजाआराधना गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री वा गोदावरीलगायत फूलका माला लगाइदिने गरिन्छ ।
यसवर्ष भाइटीका लगाइदिने पूर्व र लगाइमाग्ने पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ । यसो गरेमा वृश्चिक राशिमा रहेका उत्तरका चन्द्रमा दाहिने पर्नेछन् । शुभ कर्ममा चन्द्रमालाई अघि वा दाहिने पार्नुपर्ने शास्त्रीय नियम छ ।
मकवानपुर । नुवाकोट जिल्लाको लिखु गाउँपालिका–६ छहरेमा ट्रकमा माेटरसाइकल ठाेकिदाँ १ जनाको मृत्यु भएको छ भने अरु २ जना घाइते भएका छन् ।
टोखा–छहरे सडकमा बिहीबार भएको दुर्घटनामा तादी गाउँपालिका–३ का ३५ वर्षीय विनोद चौलागाईँको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएकाे छ । दुर्घटनामा तादी–३ का राजाराम श्रेष्ठ गम्भीर घाइते तथा लिखु ५ बस्ने १८ वर्षीय प्रशान्त गोतामे घाइते भएका छन् । दुवै जनाकाे ग्रिनसिटी अस्पताल काठमाडौंमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ ।
काठमाडौं–टोखा–छहरे सडक खण्डमा काठमाडौंबाट नुवाकाेटकाे खरानीटार तर्फ जाँदै गरेको बा ६२ प २८७९ नम्बरकाे मोटरसाइकल ढिकुरेबाट छहरे तर्फ आउँदै गरेको बा ५ ख ७०१६ नम्बरको आईचर ट्रकमा ठोकिदा भएकाे दुर्घटनामा माेटरसाइकलमा सवार चौलागाईं घाइते भएकाेमा उपचारको क्रममा ग्रिनसिटि अस्पतालमा मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएकाे छ । उक्त दुर्घटनामा माेटरसाइकल चालक श्रेष्ठ र पैदलयात्री गोतामे घाइते हुन् ।
मोटरसाइकले पैदल यात्री लिखु ५ बस्ने प्रेम बहादुर गोतामेको छोरा १८ को प्रशान्त गोतामेलाई ठक्कर दिंदा अनियन्त्रित हुन गई बा ५ ख ७०१६ नम्बरकाे ट्रकमा ठोकिएकाे थियाे । प्रदेश प्रहरीकाे अनुसार दुबै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको छ भने आईचर चालक नुवाकोट ककनी गाउँपालिका वडा नम्बर ५ डाडाँगाउ बस्ने ३२ वर्षीय शान्तसिहं लामालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय नुवाकाेटमा राखिएकाे छ ।
मकवानपुर । देशभर पश्चिमी वायुको प्रभाव रहेकाे छ भने पहाडी भूभागमा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागहरूमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
महाशाखाका अनुसार शुक्रबार दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेश पहाडी भूभागका थोरै तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको समेत सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
शुक्रबार राति देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएकाे छ ।
कोशी,बागमती,गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
मकवानपुर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
निगम सञ्चालक समितिको बिहीबारको निर्णयले डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर एक रुपैयाँका दरले घटाइएको हाे । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ ।
इन्डियन आयल कर्पोरेसनले आज जारी गरेको नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा ०.२५ रुपैयाँ र डिजेलमा प्रतिलिटर १.०४ रुपैयाँ घटेर आएको थियो । यस्तै मट्टितेलमा २.२४ रुपैयाँ, हवाई इन्धनमा ३.२३ र एलपी ग्यासमा प्रतिसिलिन्डर ५५.७० रुपैयाँ बढेर आएको छ ।
मूल्य समायोजनसँगै पहिलो वर्ग चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जको लागि डिजेल प्रतिलिटर १४७ रुपैयाँ ५० पैसा, दोस्रो वर्ग सुर्खेत र दाङका लागि १४९ रुपैयाँ र तेस्रो वर्ग काठमाडौं, पोखरा र दिपायलका डिपोको लागि प्रतिलिटर १५० रुपैयाँ कायम भएको छ ।
परिवर्तन गरिएको नयाँ मूल्य शुक्रबार बिहानदेखि लागु हुने निगमले जनाएको छ ।