मकवानपुर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
निगम सञ्चालक समितिको बिहीबारको निर्णयले डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर एक रुपैयाँका दरले घटाइएको हाे । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ ।
इन्डियन आयल कर्पोरेसनले आज जारी गरेको नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा ०.२५ रुपैयाँ र डिजेलमा प्रतिलिटर १.०४ रुपैयाँ घटेर आएको थियो । यस्तै मट्टितेलमा २.२४ रुपैयाँ, हवाई इन्धनमा ३.२३ र एलपी ग्यासमा प्रतिसिलिन्डर ५५.७० रुपैयाँ बढेर आएको छ ।
मूल्य समायोजनसँगै पहिलो वर्ग चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जको लागि डिजेल प्रतिलिटर १४७ रुपैयाँ ५० पैसा, दोस्रो वर्ग सुर्खेत र दाङका लागि १४९ रुपैयाँ र तेस्रो वर्ग काठमाडौं, पोखरा र दिपायलका डिपोको लागि प्रतिलिटर १५० रुपैयाँ कायम भएको छ ।
परिवर्तन गरिएको नयाँ मूल्य शुक्रबार बिहानदेखि लागु हुने निगमले जनाएको छ ।

