मकवानपुर । महाकवि लक्ष्मीप्रसाद देवकोटा स्मृति साहित्य सम्मान–२०८१ माधव पोख्रेललाई प्रदान गरिएकाे छ । १० हजार रुपैया राशीकाे उक्त सम्मान बिहीबार मकवानपरे साहित्यकार पोखरेललाई प्रदान गरिएकाे हाे ।
साहित्य संगम मकवानपुर र युगप्रकाश क्लबले संयुक्त रुपमा प्रदान गरिदै आएकाे उक्त सम्मान महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीका अवसरमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ की वडाध्यक्ष जुना दाहालले पोख्रेललाई प्रदान गरिन् । हेटौँडा–४ निवासी पोख्रेल मातृभूमि साहित्य समाजका पूर्वअध्यक्ष हुन् । उनकाे नाटक ‘आकांक्षाको चिता’ (२०६९), कविता संग्रह ‘रित्तिएको गाउँ’ (२०७०) र नाटक ‘ऐनाभित्रको आकाश’ (२०७९) प्रकाशित छन् ।
नेपाली साहित्यको उन्नयन र श्रीवृद्धिमा उल्लेखनीय योगदान पुर्याउने स्रष्टालाई महाकवि लक्ष्मीप्रसाद देवकोटा स्मृति साहित्य सम्मान प्रदान गर्दै आएको संगम अध्यक्ष डीबी बर्तौलाले जानकारी दिए । बिहीबार हेटौडा ११ नवलपुरमा प्रभातफेरी, माल्यार्पण, कविता प्रतियाेगिता र स्रष्टा सम्मान कार्यक्रम गरी महाकवी देवकाेटाकाे ११६ औं जन्मजयन्ती मनाइएकाे हाे । साेही अवसरमा वडा अध्यक्ष जुना दाहाल लगायतले देवकाेटाकाे प्रतिमामा माल्यार्पण गरेका थिए ।
यसैगरी महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीकै अवसरमा आयोजिता मकवानपुर जिल्ला स्तरीय कविता प्रतियोगितामा उत्कृष्ट भएका सरोजप्रसाद शाह, कृष्णचन्द्र काफ्ले र कृष्मा लौडारीलाई जनही नगद ३ हजार रुपैयाँ र विप्लव आचार्यलाई नगद १ हजार प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो ।


