गैडाकाेट (नवलपरासी पूर्व) । मध्य नेपाल भएर बगेकाे नारायणी नदी । चितवन र नवलपरासी भएर बग्ने नारायणी नदीकाे नजिकै रहेकाे मौलाकालिका मन्दिर एक प्रसिद्ध माता कालिकाको हिन्दु मन्दिर हो । मन्दिर नवलपरासी जिल्लाको गैंडाकोटमा अवस्थित छ।
मौसम अनुकुल हुँदा चितवन, नवलपरासी र तनहुँका विभिन्न स्थानका दृश्यावलोकन गर्न समेत सकिने मौलाकालिका मन्दिर परिसर १ बैशाख २०८० बाट सञ्चालनमा आएको केबलकारले आन्तरिक धार्मिक पर्यटककाे चहलपहल बढेकाे छ । मौलाकालिकाको फेदीबाट छोटो दूरीको केबलकार चढेर मन्दिरसम्म पुग्नसक्ने भएपछि मन्दिरको दर्शनमा जाने भक्तजनलाई सहज भएको छ ।
केवलकारकाे संचालन हुनु पहिले सिढीकाे बाटो भएर भक्तजन तथा पर्यटक मन्दिर जाने गर्थे । यद्यपी अहिले पनि सिढीबाट हिडेर वा अटोमा समेत मौलाकालिका जाने सुविधा भक्तजनकाे लागि खुल्लै छ । पुजाआजा र दर्शनका अलाववा सहरको रमझम भन्दा केही पर प्राकृतिक दृश्यावलोकनमा रमाउन चाहनेका लागिसमेत मौलाकालिका आकर्षक गन्तव्य रहेकाे छ ।

यहाँबाट भरतपुर महानगरपालिका र गैंडाकाेट नगरपालिकाकाे सिमा भएर बगेकाे नारायणी नदी, नवलपरासी, चितवन, तनहुँ, गोर्खाका अग्ला डाँडा, भञ्ज्याङ, हिमशृङ्खलाका अवलोकन गर्न सकिन्छ । नेपालको उत्कृष्ट धार्मिक तीर्थस्थल देवघाटधाम, चितवनको समथर भूमि, राष्ट्रिय निकुञ्जको जङ्गल चुरे क्षेत्र समेत मन्दिर परिसरबाट आखाँ नअघाउन्जेल हेर्न सकिन्छ ।
देशकै पर्यटकीय गन्तव्यहरु मध्ये एक चितवन आउने पर्यटकका लागि समेत मौलाकालिका धार्मिक पर्यटकीय गन्तव्य बनेको छ । स्वदेशी एवं विदेशी पर्यटक पुग्ने चितवनका पर्यटकीय गन्तव्यसँगै मौलाकालिका केबलकारको सञ्चालनसँगै अर्को गन्तव्य थपिएको स्थानीय व्यवसायी लेखराम सापकाेटा बताउँछन् ।
नारायणी नदीको पुल पार गर्नेबित्तिकै आउने गैडाकाेट नगरपालिकाकाे प्रवेश विन्दुकाे दाँहिनेतर्फ दुई किलोमिटरमा मन्दिर फेदीको प्रवेशद्वार पुगिन्छ । त्यहाँबाट केबलकारको पाँच मिनेटको यात्रामा मन्दिर नजिकै पुग्न सकिन्छ । सिढीकाे बाटो जाने हाे भने करिब १ घण्टा उकालाे हिडेर जान सकिन्छ । मौलाकाली सामुदायिक वन र मौलाकालिका धार्मिक वनभित्र रमणीय हरियाली वातावरण छ । केबलकारबाट पनि यो प्राकृतिक दृश्यावलोकन गर्न सकिन्छ ।
मौलाकालिका मन्दिर पूर्वी नवलपुरको गैँडाकोटस्थित पूर्वपश्चिम राजमार्गको नारायणी–पुलबाट उत्तरतर्फ करिब चार किलोमिटर टाढा छ । समुद्र सतहदेखि पाँच सय ६१ मिटर उचाइमा पहाडी वनको धुरीमा मौलाकालिका मन्दिर अवस्थित छ । केबलकार सञ्चालन भएपछि त्यसकाे प्रत्यक्ष लाभ भरतपुर क्षेत्रको पर्यटन प्रवर्द्धनमा पुगेकाे देखिन्छ । सन् २०२४ लाई भरतपुर भ्रमण वर्ष मनाउँदै गरिएकाेले यो गन्तव्य महत्त्वपूर्ण रहेकाे छ ।

केबलकार सञ्चालनमा आएसँगै हिँडेरै जानुपर्ने बाध्यात्मक अवस्था नरहेकोले भक्तजनको सङ्ख्या समेत पछिल्लाे दिनमा बढेको बताउँछन् मौलाकालिका केवलकारका कर्मचारी भीम धिताल । केबलकार सञ्चालनमा आएपछि करिब २५ प्रतिशत भक्तजन तथा धार्मिक पर्यटक थपिएको उनी बताउँछन् । उनका अनुसार विगतका वर्षमा मौलाकालिकामा वार्षीक ५ लाख ५० हजार आउने गरेकामा केबलकार संचालन आएपछि त्यो संख्या बढ्दै गएकाे छ ।
स्थानीय बासिन्दा र निजी क्षेत्रको साझेदारीको नमूना परियोजनाका रुपमा केबलकार निर्माण भएकाे हाे । ‘यहाँ केबुलकार सञ्चालनमा आएपछि गैंडाकोट र नवलपरासी पूर्वलाई मात्रै नभई छिमेकी जिल्लालाई समेत पर्यटन, कृषि, व्यवसाय, होटल रेस्टुराँ, रोजगारीलगायतमा स्थानीयलाई फाइदा केबलकारका मेनेजर सुरज पौडेलले जानकारी दिए ।
केबलकार आयोजनामा ५१ प्रतिशत शेयर मुख्य लगानीकर्ता आइएमइ समूह र बाँकी ४९ प्रतिशत लगानी स्थानीयको रहको छ । केबलकारले स्थानीयसहित करिब चार सय व्यक्तिलाई रोजगारी दिएको पौडेलले बताए । मन्दिर नजिक रहेको हेलिप्याडमा केबलकारको टपस्टेशन निर्माण भएको छ भने मौलाकालिका फेदीमा रहेको धारापानीमा बटम स्टेशन निर्माण भएको छ ।
केबलकारले एकतर्फी लम्बाई १ हजार २ सय मिटर छ । यसका लागि छ वटा टावर निर्माण गरिएको छ । केबलकारमा १४ डब्बा रहेका छन् । १४ डब्बा मध्ये २ वटा मालसमान ओसारपसारकाे लागि र १२ डब्बा यात्रुकाे लागि रहेकाे छ । एउटा डब्बामा एक पटकमा आठ जना यात्रु अटाउने क्षमता छ । हरेक डब्बा एक स्टेशनबाट अर्को स्टेशन पुग्न पाँच मिनेट लाग्दछ । केबलकारबाट प्रतिदिन छ हजार यात्रु आवतजावत गराउन सकिने कम्पनीले जनाएकाे छ ।
नारायणगढमा कुनै व्यक्ति केही घण्टा अलमल गर्नु पर्ने भयाे वा रोकिनु पर्ने भयाे भने पनि उसले सिमित समयकाे सदुपयोग गर्दै मौलाकालिका पुगेर दर्शन र दृश्यावलोकन गरी फर्कन सक्छ । स्थानीय पर्यटन व्यवसायी यसलाई छोटो समयकै एक आकर्षक गन्तव्यका रुपमा लिने गर्छन् ।
मन्दिरमा १ हजार ८ सय ८२ खुड्किला चढेर समेत पुग्न सकिन्छ। वनै वनको बीचमा उकालो बाटो। बाटोको छेउछाउमा ढुंगा कुँदेर बनाइएका आकर्षक मूर्ति। चरा चुरुङ्गीको चिरविर आवाजमा रमाउँदै डाँडा चढ्नेहरूले थकान विर्सिएरै ती खुड्किला सजिलै पार गर्न गर्छन्, सक्छन् । मन्दिर नजिक डाँडामै पुग्नै लाग्दा घण्टको ध्वनिले मनै आनन्दित बनाउँछ। डाँडाको टुप्पोमा समथर भाग तथा फराकिलो आँगन रहेकाे आकर्षक मन्दिर हाे मौलाकालिका।

उत्तरपट्टी हिम शृंखला र त्रिशूली र कालीको संगम देवघाटधाम देखिन्छ। दक्षिणतर्फ सललल बग्दै गरेको नारायणी नदीको नागवेली चाल। त्यसको पारिपट्टीको नारायणघाट बजारसहित चितवनको समथर भूभागको मनोरम दृष्य। यसले डाँडा उक्लिँदा लागेको थकान क्षणभरमै बिर्साउँछ। अध्यात्म र आस्थाको केन्द्र हो, मौलाकालिका मन्दिरमा पुग्ने जो कोहीले स्वर्गको अनुभूति गर्न सक्छन् ।
ऐतिहासिक महत्वको यस मन्दिर चार सय ५० वर्ष पहिला सेन राज्यका पालामा निर्माण भएको मानिन्छ । डाँडाको टुप्पामा एउटा सानो मन्दिर रहेकाेमा कहिलेकाहीं स्थानीय आदिवासीले पूजाअर्चना गर्ने गरेकाेमा सोह्रौँ शताब्दीमा पाल्पाका राजा मणिमुकुन्द सेनले देवी कलिकाको नाममा ‘प्रतीक’ को प्रतीकात्मक प्रस्तुतिस्थल सिर्जना गरेपछि पर्वत (मौला पहाड) को नाम राखिएको किंवदन्ती रहेकाे पाइन्छ ।
सेन राज्यको पतनसँगै यो मन्दिर ओझेलमा परेको बताइन्छ । सेनवंशी राज्यकालपछि शक्ति स्वरुपा मौलाकालिका भगवतीमा बोटे, दराई, चेपाङ, मगर, कुमाल, गुरुङजस्ता आदिवासीले पालैपालो गरेर पूजापाठ गर्थे भनिन्छ। त्यहाँ धमिराले खाएको काठको मौलो र कालिका भगवतीको शिला पत्थर रहेकाे छ। आज पनि भक्तजनले तिनको पूजा गर्दै आएका छन् ।
पाल्पाका राजा मणिमुकुन्द सेनको राज्यकालमा तत्कालीन सैनिक टुकडीले आफ्नो गढी (ब्यारेक) मा मौलो गाडी कालिका भगवतीको शिला स्थापना गरेर पूजाअर्चना गर्दै आएको किंवदन्ती पाइन्छ। १६ औँ शताब्दीमा पाल्पा राजाले देवी कलिकाको नाममा “प्रतीक” को प्रतीकात्मक प्रस्तुति स्थल सिर्जना गरे पछि पर्वत (मौला पहाड) को नाम राखियको थियो । यो मानिन्छ, हिन्दू पौराणिक कथाअनुसार देवी काली वा कलिका माईलाई ऊर्जा, शक्ति र नयाँ शुरुवात को प्रतीक मानिन्छ ।

विसं १९९० सम्म त्यहाँ ठूलो सालको रुख थियो भन्ने कथन रहेको छ । रुख वरिपरि ढुङ्गाको पर्खाल थियो । खिया लागेर भष्म भइसकेका खुँद आकारका फलामका हतियार थिए । मौलाकालिका मन्दिरमा हरेक वर्ष नेपाल र छिमेकी मुलुक भारतबाट धार्मिक आस्था राख्ने हजारौँ भक्तजन पूजा गर्न आउने गरेका छन् ।
विसं २०३८ देखि संस्थागत पूजाअर्चनाका साथै जनसहभागितामा विकास निर्माण कार्य गरिँदै आएको र विसं २०५३ मा प्यागोडा शैलीमा ठूलो मन्दिर निर्माण भएपछि धार्मिक तथा अन्य पर्यटकको सङ्ख्या उल्लेखनीय रुपमा बढेको छ । मौलाकालिकालाई शक्ति स्वरुपाको रुपमा पुज्ने गरिन्छ। प्राकृतिक सौन्दर्यले भरिएको मौलाकालिका धार्मिक, साँस्कृतिक एवं पर्यटकीय दृष्टिकोणले आकर्षणको केन्द्र बनेको छ।
हिन्दू पौराणिक कथाअनुसार देवी काली वा कलिका माईलाई ऊर्जा, शक्ति र नयाँ कार्यको सुरुआतको प्रतीक मानेर पूजा गर्ने गरिएको छ । मौलाकालिका मन्दिरलाई स्थानीयस्तरमा धेरै पटक पुनःस्थापित गरि आधार क्षेत्र विस्तार गरिएको हाे । धार्मिक सेवा समिति बलि दिने कार्यलाई रोक लगाएको छ । यहाँ बलिको साटो नरिवल, फलफूल चढाउने संस्कार बढ्दै गएको छ । भगवतीको दर्शन गरी चरणमा परेर गरेको भाकलबाट मनोकाङ्क्षा पूरा हुने विश्वास समेत छ ।
यहाँ अतिथि सत्कार गृह, योग ध्यान कक्ष, हेलिप्याड, गणेश तथा कृष्ण मन्दिर, व्यवस्थित भोजनालय, गौशाला, धार्मिक पर्यटक विश्राम गृह छन्। मन्दिर परिसरमा रहेकाे गुरुकुलमा विद्यार्धीहरु अध्ययनरत छन्।





