मकवानपुर । नुवाकोट जिल्लाको लिखु गाउँपालिका–६ छहरेमा ट्रकमा माेटरसाइकल ठाेकिदाँ १ जनाको मृत्यु भएको छ भने अरु २ जना घाइते भएका छन् ।
टोखा–छहरे सडकमा बिहीबार भएको दुर्घटनामा तादी गाउँपालिका–३ का ३५ वर्षीय विनोद चौलागाईँको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएकाे छ । दुर्घटनामा तादी–३ का राजाराम श्रेष्ठ गम्भीर घाइते तथा लिखु ५ बस्ने १८ वर्षीय प्रशान्त गोतामे घाइते भएका छन् । दुवै जनाकाे ग्रिनसिटी अस्पताल काठमाडौंमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ ।
काठमाडौं–टोखा–छहरे सडक खण्डमा काठमाडौंबाट नुवाकाेटकाे खरानीटार तर्फ जाँदै गरेको बा ६२ प २८७९ नम्बरकाे मोटरसाइकल ढिकुरेबाट छहरे तर्फ आउँदै गरेको बा ५ ख ७०१६ नम्बरको आईचर ट्रकमा ठोकिदा भएकाे दुर्घटनामा माेटरसाइकलमा सवार चौलागाईं घाइते भएकाेमा उपचारको क्रममा ग्रिनसिटि अस्पतालमा मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएकाे छ । उक्त दुर्घटनामा माेटरसाइकल चालक श्रेष्ठ र पैदलयात्री गोतामे घाइते हुन् ।
मोटरसाइकले पैदल यात्री लिखु ५ बस्ने प्रेम बहादुर गोतामेको छोरा १८ को प्रशान्त गोतामेलाई ठक्कर दिंदा अनियन्त्रित हुन गई बा ५ ख ७०१६ नम्बरकाे ट्रकमा ठोकिएकाे थियाे । प्रदेश प्रहरीकाे अनुसार दुबै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको छ भने आईचर चालक नुवाकोट ककनी गाउँपालिका वडा नम्बर ५ डाडाँगाउ बस्ने ३२ वर्षीय शान्तसिहं लामालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय नुवाकाेटमा राखिएकाे छ ।

