मकवानपुर । मकवानपुरकाे हेटौंडामा आइतबारबाट पालिकास्तरीय महिला भलिबल प्रतियोगिता सुरु भएकाे छ । प्रतियोगिताको हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले उद्घाटन गरे ।
केशबलाल श्रेष्ट स्मृती केन्द्रीय प्रतिष्ठान हेटौंडाकाे आयोजनामा सुरु प्रतियाेगिता ६ जेठसम्म सञ्चालन हुनेछ । मकवानपुर जिल्ला भलिबल संघकाे सहआयोजना तथा हेटौंडा उपमहानगरपालिकाको प्रमुख सहयोगमा सञ्चालन भएकाे प्रतियोगिता अन्तरगत आइतबार ४ खेल भएका छन् । लिगकम नकआउटको आधारमा सञ्चालित प्रतियोगितामा हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका तथा बकैया र भीमफेदी गाउँपालिकाले विजय यात्रा सुरु गरेको छ ।
हेटौंडा उपमहानगरपालिकाले ईन्द्रसरोवर गाउँपालिकालाई २५–१७ र २५–९ काे साेझो सेटमा हरायो । यस्तै बकैयाले बागमतीलाई २५–१४ र २५–१२ को सोझो सेटमा हराउँदा भीमफेदीले मकवानपुरगढी गाउँपालिकालाई २५–१५ र २५–१८ को सेटमा हरायो । यस्तै थाहा नगरपालिकाले भीमफेदी गाउँपालिकालाई २५–१४ र २५–२१ को सेटमा पराजित गरेकाे जिल्ला भलिवल संघ मकवानपुर अध्यक्ष बसन्त कुमार सिटौलाले जानकारी दिए ।
प्रतियोगितामा मकवानपुरका १० मध्ये ७ वटा पालिकाको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले १ लाख तथा उपविजेताले ८० हजार प्राप्त गर्नेछन् । यसैगरी सेमिफाइनल प्रवेश गर्ने अर्को २ टिमले ३०/३० हजार रुपैयाँ प्राप्त गर्ने सिटौलाले बताए । उनका अनुसार प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ७ हजार र अन्य विधागत उत्कृष्टले जनही नगद ४ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्ने छन् । महिला भलिबल खेलाडीको पहिचान एवम् खेल क्षेत्रको विकासका लागि प्रतियाेगिता आयोजना गरिएकाे उनले जानकारी दिए ।
मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका -५ स्थित पिप्लेक्याम्पा रंगशालामा सुरु पाचौं मेयर कप फुटबल प्रतियोगिता–२०८२ मा वडा नम्बर ११ ले विजयी सुरुवात गरेकाे छ ।
शनिबार भएकाे प्रतियोगिताको उद्घाटन खेलमा हेटौंडा–११ ले डिफेन्डिङ च्याम्पियन हेटौंडा–४ लाई ३–० गोलअन्तरले पराजित गरेको छ । विजयी टोलीको तर्फबाट पवन राई, सम्बन्ध डिम्डुङ र मनोज घलानले एक/एक गोल गरेका थिए । उत्कृष्ट खेल प्रर्दशन गरेका हेटौंडा–११ का पवन राई खेलको म्यान अफ दी म्याच घोषित हुदैं नगद २ हजार सहित शिल्ड प्राप्त गरे ।
आइतबारकाे पहिलाे खेल दिउँसो १ बजे वडा नम्बर ३ र १३ बिच तथा दोस्राे खेल दिउँसो ३ बजे वडा नम्बर ९ र १६ बिच हुनेछ । नगर खेलकुद विकास समितिकाे आयोजनामा भएकाे प्रतियोगितामा प्रथम र द्वितीय हुने टिमले क्रमशः २ लाख ५० हजार र २ लाख रुपैंया शिल्ड, मेडल, प्रमाण पत्र प्राप्त गर्नेछन् ।
यसैगरी सर्वोत्कृष्ट खेलाडीले १५ हजार रुपैंया हात पार्नेछ भने उत्कृष्ठ फरवार्ड, उत्कृष्ट गोलकिपर, उत्कृष्ट प्रतिरक्षक र उत्कृष्ट प्रशिक्षकले जनही १० हजार रुपैंया प्राप्त गर्ने आयोजकले जनाएकाे छ । यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचको लागि मायाको चिनो प्रदान गरिनेछ । हेटौंडाको १९ वटै वडाको सहभागिता रहेको प्रतियोगितामा १३ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा उद्घाटन र फाइनल बाहेक प्रत्येक दिन २ वटा खेल हुनेछ ।
फुटबल खेलको विकासमा सहयोग पु¥याउने उद्देश्यसहित हेटौंडा उपमहानगरपालिकाको लगानीमा नगर खेलकुद विकास समितिले प्रत्येक वर्ष यस प्रतियोगिताको आयोजना गर्दै आएको हो । नगर खेलकुद विकास समितिकाे आयोजनामा भएकाे प्रतियाेगिता समितिका रविन्द्र घिमिरेको सभाध्यक्षतामा भएको थियाे भने उद्घाटन हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले गरेका थिए ।
मकवानपुर । मकवानपुरकाे हेटौंडामा शनिबार (आज) बाट पाँचाैं हेटाैंडा उपमहानगरपालिका मेयर कप फुटबल प्रतियोगिता सुरु हुदैंछ । हेटौंडा उपमहानगरपालिका आयोजनामा हुने प्रतियाेगिता हेटौंडा – ५ स्थित पिप्ले क्याम्पा रंगशालामा हुनेछ ।
उद्घाटन खेलमा साविक विजेता हेटौंडा ४ नम्बर वडा र ११ नम्बर वडा भिड्ने छन् ।प्रतियोगितामा प्रथम र द्वितीय हुने टिमले क्रमशः २ लाख ५० हजार र २ लाख रुपैंया शिल्ड, मेडल, प्रमाण पत्र प्राप्त गर्नेछन् । यसैगरी सर्वोत्कृष्ट खेलाडीले १५ हजार रुपैंया हात पार्नेछ भने उत्कृष्ठ फरवार्ड, उत्कृष्ट गोलकिपर, उत्कृष्ट प्रतिरक्षक र उत्कृष्ट प्रशिक्षकले जनही १० हजार रुपैंया प्राप्त गर्ने आयोजकले जनाएकाे छ । यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचको लागि मायाको चिनो प्रदान गरिनेछ ।
प्रतियाेगितामा हेटौंडा उपमहानगरपालिकाका १९ वटै वडाकाे टिमले सहभागिता रहेकाे छ । १३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा उद्घाटन र फाइनलकाे दिन १/१ वटा खेल हुनेछ । यस्तै अन्य प्रत्येक दिन २ वटा खेल खेलाइने छ ।
वडाबाट सहभागी हुने टिमका खेलाडी सम्बन्धित वडाको स्थायी बासिन्दा हुनुपर्नेछ व्यवस्था आयोजकले गरेकाे छ । टिममा प्रत्येक वडाको तर्फबाट १८ जना खेलाडी, १ जना प्रशिक्षक, १ जना व्यवस्थापक र २ जना अफिसियल गरी २२ जना रहनेछन् ।
प्रतियाेगिता अन्तरराष्ट्रिय फुटबल महासंघ (फिफा) काे नियमानुसार खेलाइने बताइएकाे छ । फुटबल खेलको विकासमा सहयोग पुर्याउने उद्देश्यसहित हेटौंडा उपमहानगरपालिकाको लगानीमा नगर खेलकुद विकास समितिले प्रत्येक वर्ष यस प्रतियोगिताको आयोजना गर्दै आएको हो ।
मकवानपुर । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा समक्ष महालेखापरीक्षकको कार्यालयका नायब महालेखापरीक्षक ताराप्रसाद पाण्डेले वार्षिक प्रतिवेदन पेश गरेका छन् ।
नेपालको संविधानको धारा २९४ को उपधारा (३) र लेखा परीक्षण ऐन, २०७५ को दफा १९ को उपदफा (४) बमोजिम महालेखापरीक्षकको कार्यालयबाट आर्थिक वर्ष २०८०/०८१ को आर्थिक कारोबारको लेखापरीक्षण गरी तयार गरिएको बागमती प्रदेशको “सातौं वार्षिक प्रतिवेदन, २०८२” पेश गरेका हुन् ।
नेपालको संविधानको धारा २४१ र लेखापरीक्षण ऐन, २०७५ मा संघ, प्रदेश र स्थानीय तहका सबै सरकारी कार्यालय, पूर्ण स्वामित्व भएका संगठित संस्था वा निकायको लेखा कानुनवमोजिम नियमितता, मितव्ययिता, कार्यदक्षता, प्रभावकारिता र औचित्यसमेतको विचार गरी महालेखापरीक्षकवाट लेखापरीक्षण हुने व्यवस्था छ ।
प्रतिवेदनमा एकीकृत वित्तीय विवरणमा राय, लेखापरीक्षण गरिएका निकायको विवरण, लेखापरीक्षणमा देखिएका बेरुजुको स्थिति, लेखापरीक्षणबाट देखिएका प्रमुख व्यहोराको सारांश, लेखापरीक्षण प्रतिवेदन कार्यान्वयनको स्थिति र भविष्यमा गर्नुपर्ने सुधार समावेश गरिएको महालेखापरीक्षकको कार्यालयका नायब महालेखापरीक्षक पाण्डेले बताए ।
यस वर्ष सूचकका आधारमा जोखिम विश्लेषण गरी निकायहरूलाई उच्च र न्यून जोखिममा वर्गीकरण गरिएको पाण्डेले बताए। उनका अनुसार उच्च जोखिमयुक्त निकायको विस्तृतरूपमा स्थलगत र न्यून जोखिमयुक्त निकायको प्रमाणित वित्तीय प्रतिवेदन र आन्तरिक लेखापरीक्षण प्रतिवेदनका आधारमा लेखापरीक्षण गरिएको छ ।
यो वर्ष प्रदेश सभा, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित प्रदेश सरकारका मन्त्रालय र मातहतका सरकारी कार्यालय तथा समिति र अन्य संस्थासमेत २१४ निकायको ८२ अर्ब ८२ करोड ३५ ताख ८१ हजारको लेखापरीक्षण सम्पन्न भई ८५ करोड १७ लाख ८२ हजार बेरुजु कायम भएको छ पाण्डेले बताए । कुल लेखापरीक्षण अंकको तुलनामा बेरुजु १.० ३ प्रतिशत रहेको छ ।
मकवानपुर। आगामी ४ जेठ आइतबार हेटौंडामा बागमती प्रदेश स्पोर्टस अवार्ड हुने भएको छ । बागमती प्रदेश सरकार युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा अर्वाड कार्यक्रम गरिने बिहीबार पत्रकार भेटघाटमार्फत जानकारी गराइएको हो ।
पत्रकार भेटघाटमा प्रदेशका पुर्व तथा वर्तमान खेलाडी, प्रशिक्षक र पत्रकारलाई सम्मान गर्ने उदेश्यका साथ प्रदेश स्पोर्टस अवार्ड गर्न लागिएकाे युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन जानकारी दिए । राष्ट्रिय/अन्तर्राष्ट्रिय स्तरमा सफलता प्राप्त गरेका पूर्व र वर्तमान खेलाडी जसले प्रदेश र सिङ्गो राष्ट्रको गरिमा बढाउन महत्वपूर्ण योगदान पुयाएका छन्, त्यस्ता खेलाडीलाई प्रोत्साहन स्वरुप पुरस्कार प्रदान गरिने उनले बताए ।
खेल क्षेत्रमा प्रवेश गरेका युवा नयाँ खेलाडीलाई खेलकुदमा आवद्ध हुन हौसला र प्रेरणास्वरुप अर्वाड प्रदान गरिने उनले जानकारी दिए । बागमती प्रदेश स्पोर्टस अवार्डमा वर्षका उत्कृष्ट खेलाडी, महिला, पुरुष, युवा, प्रशिक्षक, लाइभ टाइम एचिभमेन्ट, बागमती खेलकुदको शान, लोकप्रिय खेलाडी, र उत्कृष्ट पत्रकारसमेत गरी ८ विधामा १२ जनालाई अर्वाड प्रदान गरिन लागिएको बताइएकाे छ ।
मन्त्रालयले खेलाडी र पत्रकारलाई नगद पुरस्कार सहित सम्मान गर्ने जनाएकाे छ । उत्कृष्ट खेलाडी महिला पुरुष, लाइभ टाइम एचिभमेन्ट, बागमती खेलकुदको शान र प्रशिक्षकलाई जनही १ लाखको पुरस्कार प्रदान गरिनेछ भने बाँकीलाई जनही ५० हजार रुपैँया सहित अवार्ड दिइने आयोजकले जनाएको छ । प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले पहिलोपटक आयोजना गर्न लागेको अवार्ड कार्यक्रममा साँस्कृतिक प्रस्तुतिहरु समेत रहने छ ।
कार्यक्रम सहजीकरणका लागि दीपक श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय प्राविधिक उप-समिति गठन गरिएको छ । उपसमिति सदस्यहरूमा तेक्वान्दोका पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक प्रेमबहादुर भण्डारी र खेलकुद पत्रकार प्रकाश तिमल्सिना रहेका छन् । अर्वाडका लागि खेलाडी छनौट गर्दा यसअघि पुर्याएको योगदान, खेल क्षेत्रमा परेको प्रभाव र नयाँ पुस्तालाई प्रेरणा लगायतका कुरालाई ध्यानमा राखेर गरिनेछ । साथै खेलकुदको प्रचारप्रसारमा सक्रिय भूमिका खेलेर योगदान पुर्याएका एक जना पत्रकारलाई सम्मान गरिने बताइएको छ ।
आइतवार हेटौंडा-४ स्थित हुप्राचौरमा प्रदेश मुख्यमन्त्री बहादुर सिंह लामाको प्रमुख आतिथ्यतामा अवार्ड कार्यक्रम हुनेछ । साथै मन्त्रालयले युथ समिट भने केहि सातापछि आयोजना गर्ने पत्रकार भेटघाटमा जानकारी दिइएकाे छ ।