मकवानपुर । मकवानपुरकाे हेटौंडामा शनिबार (आज) बाट पाँचाैं हेटाैंडा उपमहानगरपालिका मेयर कप फुटबल प्रतियोगिता सुरु हुदैंछ । हेटौंडा उपमहानगरपालिका आयोजनामा हुने प्रतियाेगिता हेटौंडा – ५ स्थित पिप्ले क्याम्पा रंगशालामा हुनेछ ।
उद्घाटन खेलमा साविक विजेता हेटौंडा ४ नम्बर वडा र ११ नम्बर वडा भिड्ने छन् ।प्रतियोगितामा प्रथम र द्वितीय हुने टिमले क्रमशः २ लाख ५० हजार र २ लाख रुपैंया शिल्ड, मेडल, प्रमाण पत्र प्राप्त गर्नेछन् । यसैगरी सर्वोत्कृष्ट खेलाडीले १५ हजार रुपैंया हात पार्नेछ भने उत्कृष्ठ फरवार्ड, उत्कृष्ट गोलकिपर, उत्कृष्ट प्रतिरक्षक र उत्कृष्ट प्रशिक्षकले जनही १० हजार रुपैंया प्राप्त गर्ने आयोजकले जनाएकाे छ । यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचको लागि मायाको चिनो प्रदान गरिनेछ ।
प्रतियाेगितामा हेटौंडा उपमहानगरपालिकाका १९ वटै वडाकाे टिमले सहभागिता रहेकाे छ । १३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा उद्घाटन र फाइनलकाे दिन १/१ वटा खेल हुनेछ । यस्तै अन्य प्रत्येक दिन २ वटा खेल खेलाइने छ ।
वडाबाट सहभागी हुने टिमका खेलाडी सम्बन्धित वडाको स्थायी बासिन्दा हुनुपर्नेछ व्यवस्था आयोजकले गरेकाे छ । टिममा प्रत्येक वडाको तर्फबाट १८ जना खेलाडी, १ जना प्रशिक्षक, १ जना व्यवस्थापक र २ जना अफिसियल गरी २२ जना रहनेछन् ।
प्रतियाेगिता अन्तरराष्ट्रिय फुटबल महासंघ (फिफा) काे नियमानुसार खेलाइने बताइएकाे छ । फुटबल खेलको विकासमा सहयोग पुर्याउने उद्देश्यसहित हेटौंडा उपमहानगरपालिकाको लगानीमा नगर खेलकुद विकास समितिले प्रत्येक वर्ष यस प्रतियोगिताको आयोजना गर्दै आएको हो ।

