मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका -५ स्थित पिप्लेक्याम्पा रंगशालामा सुरु पाचौं मेयर कप फुटबल प्रतियोगिता–२०८२ मा वडा नम्बर ११ ले विजयी सुरुवात गरेकाे छ ।
शनिबार भएकाे प्रतियोगिताको उद्घाटन खेलमा हेटौंडा–११ ले डिफेन्डिङ च्याम्पियन हेटौंडा–४ लाई ३–० गोलअन्तरले पराजित गरेको छ । विजयी टोलीको तर्फबाट पवन राई, सम्बन्ध डिम्डुङ र मनोज घलानले एक/एक गोल गरेका थिए । उत्कृष्ट खेल प्रर्दशन गरेका हेटौंडा–११ का पवन राई खेलको म्यान अफ दी म्याच घोषित हुदैं नगद २ हजार सहित शिल्ड प्राप्त गरे ।
आइतबारकाे पहिलाे खेल दिउँसो १ बजे वडा नम्बर ३ र १३ बिच तथा दोस्राे खेल दिउँसो ३ बजे वडा नम्बर ९ र १६ बिच हुनेछ । नगर खेलकुद विकास समितिकाे आयोजनामा भएकाे प्रतियोगितामा प्रथम र द्वितीय हुने टिमले क्रमशः २ लाख ५० हजार र २ लाख रुपैंया शिल्ड, मेडल, प्रमाण पत्र प्राप्त गर्नेछन् ।
यसैगरी सर्वोत्कृष्ट खेलाडीले १५ हजार रुपैंया हात पार्नेछ भने उत्कृष्ठ फरवार्ड, उत्कृष्ट गोलकिपर, उत्कृष्ट प्रतिरक्षक र उत्कृष्ट प्रशिक्षकले जनही १० हजार रुपैंया प्राप्त गर्ने आयोजकले जनाएकाे छ । यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचको लागि मायाको चिनो प्रदान गरिनेछ । हेटौंडाको १९ वटै वडाको सहभागिता रहेको प्रतियोगितामा १३ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा उद्घाटन र फाइनल बाहेक प्रत्येक दिन २ वटा खेल हुनेछ ।
फुटबल खेलको विकासमा सहयोग पु¥याउने उद्देश्यसहित हेटौंडा उपमहानगरपालिकाको लगानीमा नगर खेलकुद विकास समितिले प्रत्येक वर्ष यस प्रतियोगिताको आयोजना गर्दै आएको हो । नगर खेलकुद विकास समितिकाे आयोजनामा भएकाे प्रतियाेगिता समितिका रविन्द्र घिमिरेको सभाध्यक्षतामा भएको थियाे भने उद्घाटन हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले गरेका थिए ।

