मकवानपुर । मकवानपुरकाे हेटौंडामा आइतबारबाट पालिकास्तरीय महिला भलिबल प्रतियोगिता सुरु भएकाे छ । प्रतियोगिताको हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले उद्घाटन गरे ।
केशबलाल श्रेष्ट स्मृती केन्द्रीय प्रतिष्ठान हेटौंडाकाे आयोजनामा सुरु प्रतियाेगिता ६ जेठसम्म सञ्चालन हुनेछ । मकवानपुर जिल्ला भलिबल संघकाे सहआयोजना तथा हेटौंडा उपमहानगरपालिकाको प्रमुख सहयोगमा सञ्चालन भएकाे प्रतियोगिता अन्तरगत आइतबार ४ खेल भएका छन् । लिगकम नकआउटको आधारमा सञ्चालित प्रतियोगितामा हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका तथा बकैया र भीमफेदी गाउँपालिकाले विजय यात्रा सुरु गरेको छ ।
हेटौंडा उपमहानगरपालिकाले ईन्द्रसरोवर गाउँपालिकालाई २५–१७ र २५–९ काे साेझो सेटमा हरायो । यस्तै बकैयाले बागमतीलाई २५–१४ र २५–१२ को सोझो सेटमा हराउँदा भीमफेदीले मकवानपुरगढी गाउँपालिकालाई २५–१५ र २५–१८ को सेटमा हरायो । यस्तै थाहा नगरपालिकाले भीमफेदी गाउँपालिकालाई २५–१४ र २५–२१ को सेटमा पराजित गरेकाे जिल्ला भलिवल संघ मकवानपुर अध्यक्ष बसन्त कुमार सिटौलाले जानकारी दिए ।
प्रतियोगितामा मकवानपुरका १० मध्ये ७ वटा पालिकाको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले १ लाख तथा उपविजेताले ८० हजार प्राप्त गर्नेछन् । यसैगरी सेमिफाइनल प्रवेश गर्ने अर्को २ टिमले ३०/३० हजार रुपैयाँ प्राप्त गर्ने सिटौलाले बताए । उनका अनुसार प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ७ हजार र अन्य विधागत उत्कृष्टले जनही नगद ४ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्ने छन् । महिला भलिबल खेलाडीको पहिचान एवम् खेल क्षेत्रको विकासका लागि प्रतियाेगिता आयोजना गरिएकाे उनले जानकारी दिए ।

