मकवानपुर। बागमती प्रदेशको प्रदेश मामिला समितिद्वारा लागूऔषध पुनर्स्थापना केन्द्र र लागूऔषध ओसारपसार हुने मुख्य क्षेत्रको अनुगमन गरिएको छ ।
लागूऔषधका कारण समाजमा बढ्दै गएको समस्या, यसको न्यूनीकरणमा सहयोगकाे उद्देश्यले प्रदेश मामिला समितिले हेटौंडा उपमहानगरपालिका वडा नम्बर–९ मा सञ्चालनमा रहेको सियान पुनर्स्थापना केन्द्र र भारतबाट लागूऔषध मकवानपुर भित्रने र मकवानपुरबाट भारत तर्फ लैजाने रातोमाटे क्षेत्रको अनुगमन गरेको हो । बागमती प्रदेशको प्रदेश मामिला समितिका सभापति छिरिङ दोर्जे लामाको नेतृत्वमा सियानले सञ्चालन गरेको महिला लागूऔषध प्रयोगकर्ताहरुको पुनर्स्थापना केन्द्र र पुरुष लागूऔषध प्रयोगकर्तालाई राखिएको पुनर्स्थापना केन्द्रमा अनुगमन गरिएको थियो । त्यसैगरी लागूऔषध ओसारपसारकाे नाका रातोमाटे क्षेत्रमा अनुगमन गरिएको हाे ।
सभापति लामाले लागूऔषधकाे लतमा परेपछि समाजमा पुनर्स्थापना हुन आफैं चनाखो हुनुपर्ने बताए । ‘सरकारले कारागार बनाएको तर लागूऔषध प्रयोगकर्ताहरुलाई राख्ने पुनर्स्थापना केन्द्र बनाएको छैन’ उनले भने ‘मकवानपुर जिल्लामा लागूऔषध भित्रने र बाहिरीनेक्रम बढ्दो रहेकाेले न्यूनीकरण आवश्यक छ ।’ लागूऔषध नियन्त्रणकाे लागि प्रहरी परिचालन भइरहे पनि त्यो मात्रै पर्याप्त नभएकाे उनले बताए ।
प्रदेश मामिला समिति सदस्य तथा सांसद प्रभात तामाङले साथिसंगतका कारण लागूऔषध ओसारपसार तथा सेवन गर्ने गरिएको बताए । ‘यसकाे प्रयोग तथा ओसारपसारमा संलग्न हुनबाट छुट्कारा लिएर समाजमा पुनर्स्थापना हुन जरुरी रहेको छ’ उनले भने । लागूऔषधमा फसेकै कारण परिवार र समाजमा समेत असर पुगेकाेले सबै सजक र सचेत हुनु पर्ने उनले बताए ।
प्रदेश मामिला समिति सदस्य तथा सांसद कुमारी तामाङले अहिलेका युवापुस्ता लागूऔषधकाे दलदलमा फस्नु ठुलो समस्या रहेकाेले सरकार र सरोकारवाला निकायले बेलैमा ध्यान पुर्याउन आवश्यक रहेकाे बताइन् । बागमती प्रदेशमा लागूऔषध न्यूनीकरणका लागि कार्यक्रम ल्याउन पहल गर्ने उनले बताइन् । ‘पुनर्स्थापना केन्द्रमा रहेका युवाका लागि सिप सिक्ने अवसर दिनुपर्छ’ उनले भनिन् ।
प्रदेश मामिला समितिका सदस्य तथा सांसद उर्मिला सुनुवारले जीवन अमुल्य रहेकाले लागूऔषध ओसार पसार गर्ने र सेवन गर्ने कार्य सवै युवा टाढै रहनु पर्ने बताइन् । समाजमा पुनर्स्थापना भएपछि उदाहरणीय काम गरेकाे देखाउन समेत गर्न उनले सुझाव दिइन् । कार्यक्रममा प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रीका सल्लाहकार रिकेश महर्जनले लागूऔषधले भयावह रुप लिएकोले नियन्त्रणका लागि प्रहरीसँगै सबै क्षेत्रको उत्तिकै सहयोग आवश्यक रहेको बताए ।
सियान पुनर्स्थापना केन्द्रका सञ्चालक सौजन डिसीले पुनर्स्थापना केन्द्रमा सिप सिकाउन तथा अन्य सहयोग सरकारी निकायबाट हुनु पर्ने आवश्यक रहेकाे बताए । महिला पुनर्स्थापना केन्द्र र पुरुष पुनर्स्थापना केन्द्रमा पुनर्स्थापित भएपछि धेरै युवाहरुले पुनर्जीवन समेत पाएको उनले जानकारी दिए । प्रहरी चौकी राटोमाटेका असइ सागर लुङवाले रातोमाटे नाका भएर धेरै लागूऔषध भित्रने र बाहिरिने भएकाले नियन्त्रणका लागि आफंहरु अहोरात्र खटिइरहेको जानकारी दिए ।

