मकवानपुर । महिलाहरूलाई आत्मनिर्भर बनाउँदै स्वरोजगारको मार्गमा अघि बढाउन ३९० घण्टाको आधारभूत ब्युटिपार्लर तालिम सुरू गरिएको छ।
बागमती प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गत प्रदेश प्राविधिक तथा व्यवसायिक शिक्षा तथा तालिम परिषद् (CTEVT) र हेटौँडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा तालिम सुरु गरिएको हो । स्थानीय महिलाहरूलाई सौन्दर्य व्यवसायमा नयाँ अवसरको लक्ष्यसाथ तालिम गरिएको मन्त्रालयले जनाएको छ ।
सूर्यमणि प्राविधिक शिक्षालय प्रा.लि.को आयोजनामा भएको कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका १९ वटै वडाबाट १३६ जना इच्छुक महिलामध्येबाट २० जना सहभागीहरू छनोट भएका छन्।
हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीना कुमारी लामाले तालिमको उद्घाटन गर्दै प्राकृतिक सौन्दर्य सामग्रीहरूको प्रयोगद्वारा सौन्दर्य व्यवसायलाई अझ व्यावसायिक बनाउन यो तालिम प्रभावकारी हुने विश्वास व्यक्त गरिन्।
“महिलाहरू आफ्नै ठाउँमा सीप सिकेर आत्मनिर्भर बनून् भन्ने हाम्रो चाहना हो,” प्रमुख लामाले भनिन्।
प्रदेश प्राविधिक तथा व्यवसायिक शिक्षा तथा तालिम परिषद् (CTEVT) का प्रमुख एवम् कार्यक्रमको विशिष्ट अतिथि शान्ति लामाले पनि महिलाहरूलाई आफ्नै ठाउँमा सीप सिकेर स्वरोजगार बन्ने अवसरलाई गुम्न नदिन आग्रह गरिन्।
तालिमका प्रशिक्षकहरू सुमित्रा मुडवरी र लक्ष्मी लामालगायले सौन्दर्य सेवा व्यवसायमा आवश्यक सीप र प्रविधिको प्रशिक्षण दिनेछन्। कार्यक्रम संयोजक मेनका श्रेष्ठले ६०/४० आर्थिक साझेदारीमा सञ्चालित यस तालिमले स्थानीय महिलाहरूलाई सीपमूलक उद्यमतर्फ उन्मुख गराउने बताइन्।
सूर्यमणि प्राविधिक शिक्षालयका प्रमुख श्याम कुमार अग्रवालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा हेटौँडा उपमहानगरपालिका उद्योग शाखा प्रमुख महेन्द्र चापागाई, हेटौंडा उपमहानगरपालिकाको गरिमा सिग्देलले सहित स्थानीय प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
स्वरोजगार र आत्मनिर्भरता निर्माणको मार्गमा अग्रसर भएको यो तालिम स्थानीय महिलाहरूका लागि उज्यालो भविष्यको आधारशिला बन्ने अपेक्षा गरिएको कार्यक्रम संयोजक श्रेष्ठले बताइन् ।
मकवानपुर । हेटौंडा उपमहानगरपालिकामा गठित परियोजना परामर्श समितिले माइती नेपाल मकवानपुरबाट सञ्चालित मावन बेचविखन रोकथाम परियोजना २०२४ को समिक्षा गरिएको छ ।
बेचविखनमा परेका वा बेचविखनको जोखिममा रहेका, विद्यालय छाडेर बसेका वा छाड्ने अवस्थाका जवरजस्ती श्रम गर्न बाध्य तथा यौन हिंसा तथा दुर्व्यवहारमा परेका महिला, किशोरीहरुलाई उद्धार गरी आवधिक आवासको सहयोग, सिपमुलक कार्यक्रम/ तालिम प्रदान गर्ने उद्दश्यका साथ सञ्चालित परियोजनाबाट एक वर्षमा अपेक्षित उपलब्धि हासिल समिक्षा गरिएको थियो ।
परामर्श समितिका संयोजक नगर प्रमुख मिना कुमारी लामाको अध्यक्षतामा बसेको बैठकले माइती नेपालको कार्यप्रगती प्रशंसनीय भएको निश्कर्ष निकालेको छ । लक्ष्यित वर्गका महिला, किशोरीहरुलाई उनीहरुको बौद्धिक क्षमतामा सबै खाले हिंसाको विरुद्धमा महिला अभियानकर्ताको रुपमा स्थापित हुन सहयोग गरेको, सरकारी तथा गैर सरसरकारी संस्था, महिला तथा बालबालिकाहरुसंग सम्बन्धित संस्थाहरु र संजालसँग सहकार्य र समन्वय गरी मानव बेचविखन र सबैखाले हिंसा विरुद्ध लड्न एक्वद्धता जाहेर गरेको माइती नेपाल मकवानपुर कार्यक्रम संयोजक माया तामाङले बताइन् ।
माइती नेपालले परियोजना सञ्चालनको क्रममा यसबीचमा १० किशोरी तथा महिलाहरुले सिलाई कटाइ सम्बन्धी एडभान्स तालिम प्रदान गरेको, १० जनाले नै सिलाई व्यवसाय संचालन सुरु गरेको बताइएको छ । यसैगरी माइती नेपालमा ४८ औं समुहमा तालिम प्राप्त गरेकी १ जना किशोरी एसईई पास भएपछि घरको आर्थिक अवस्था कमजोर भएर पढ्न नपाकोमा गृहको समन्वयमा इस्थर बेन्जामिन स्मृति संस्थासँग समन्वय गरेपछि निजलाई हाल कक्षा ११ मा भर्ना गरिदिएको छ ।
यसैगरी ९ हजार ४३५ जना विधार्थीहरु, समुदायले मानव बेचविखन तथा ओसारपसार विरुद्ध जानकारी पाएको, एडभान्स तालिम लिएको १ जना र बेशिक तालिम लिएको १ जना बहिनीहरुलाई यस गृहको समन्वयमा ओसीएमसीबाट जनही १ लाख बराबरको सिलाई सामाग्री प्रदान भएको थियो ।समिक्षामा माइती नेपाल मकवानपुर कार्यक्रम संयोजक तामाङले विभिन्न चुनौती समेत सामना गर्न परेको बताइन् । यौन हिंसा,घरेलु हिंसाको मुद्दाहरुमा बृद्धि, आन्तरिक मानव बेचविखनका क्रियाकलापमा बृद्धि, मुद्दाहरु होस्टायल हुने चुनौती, पिडक पक्षको धम्की, भारतीय तथा अन्य मुलुकबाट वैदेशिक रोजगारको लागि खाडी मुलुक तथा अन्य मुलुकमा गएर अलपत्र परेका महिलाहरुलाई उद्धार गर्न समस्या, साइबर अपराधको मुद्दाहरुमा बृद्धि, सामाजिक संजालको दुरुपयोग जस्ता चुनौती रहेको उनले बताइन् ।
हेटौंडा नगर प्रमुख लामाले माइती नेपालको कार्यशैली पारदर्शी भएकोले आगामी वर्षको लागि पनि परियोजना सञ्चालनको लागि स्वीकृत प्रदान गरेको बताइन् । यसैगरी उपमहानगरपालिका कार्यकारी अधिकृत भरत गौतमले गैससको सहकार्यले स्थानीय सरकारलाई होस्टेमा हैंसे गराउने बताए । बैठकमा उपमहानगरपालिकाका विभिन्न महाशाख प्रमुखहरु, जिल्लाका विभिन्न गैससका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
गत आर्थिक वर्षमा बोनो र चान्स स्वीसको आर्थिक सहयोगमा मावन बेचविखन रोकथाम परियोजना २०२४ परियोजना सञ्चालनमा थियो । माइती नेपालबाट आगामी वर्षको लागि Consolidated Actions Against Human Trafficking 2025 सञ्चालनको लागि उपमहानगरपालिकाले अनुमती प्रदान गरेको छ ।
मकवानपुर । नेपालमा सकारात्मक कानूनी व्यवस्था हुँदाहुँदै पनि कतिपय अवस्थामा पितृसत्तात्मक सोचका कारण समाजमा महिलामाथि विभिन्न हिंसा, अन्याय हुनु निन्दनीय भएको बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले बताउनु भएको छ ।
११५ औं श्रमिक महिला दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्नु हुँदै उहाँले यस्तो उल्लेख गर्नु भएकाे हो । “सबै महिला तथा बालिकाको लागि : अधिकार, समानता र सशक्तीकरण” भन्ने राष्ट्रिय तथा अन्तराष्ट्रिय नाराका साथ आज मार्च ८ का दिन विश्वभर मनाइँदै छ ।
महिलामाथी हुने असामान्य व्यवहारकाे अन्त्य गर्नमा आ-आफ्नो क्षत्रबाट सबैलाग्नु पर्ने उहाँले उल्लेख गर्नु भएको छ ।
दिवसको अवसरमा प्रदेश प्रमुख देवकोटाद्वारा प्रकाशित शुभकामना सन्देशमा भनिएको छ ‘बागमती प्रदेश, देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली नारीहरुमा सुख, शान्ति एवं समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।’
महिलाको हक अधिकारको सवाललाई नेपालको संविधानमा मौलिक हकका रूपमा व्यवस्था गरिएको छ । संवैधानिक व्यवस्था बमोजिम महिलाका अधिकार राज्यका विभिन्न निकायहरुमा अहिले कार्यान्वयन भइरहेका छन् ।
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाभित्र अधिकार सम्पन्न भएका महिलाहरु आफ्नो अधिकार स्वतन्त्रतापूर्वक उपभोग गरिरहेका छन् । यि सवाल संघीय राज्य व्यवस्थामा प्राप्त गरिएको महत्वपूर्ण उपलब्धी भएको उहाँले बताउनु भएको छ ।
‘देशवासी सम्पुर्ण नारीहरुको आर्थिक, सामाजिक, शैक्षिक, राजनीतिकलगायत समग्र विकासको आयाममा प्रगतिका लागि सम्पूर्णको समान सहभागिता तथा योगदान आवश्यक छ’ उहाँले भन्नु भएको छ । ‘दिवसले हामी सबैलाई नारी हकहितका पक्षमा लाग्दै उनीहरुको सशक्तीकरणमा दीगो, प्रभावकारी पहल तथा सहकार्यको लागि दरिलो पाइला अगाडी बढाइ राख्न प्रेरणा प्राप्त होस्’ उहाँले सन्देशमा भन्नु भएको छ ।
बालगृह सहयोगकाे लागि लगाइएको सप्ताहमा १३ लाख संकलन
Tags: No Comments
मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिकामा रहेकाे हाम्रो घर बालगृहमा लगाइएको सप्ताहमा १३ लाख २० हजार रकम संकलन भएको छ ।
हेटौंडा – ५ सिचाईं टोलस्थित ग्रामीण जीवनस्तर सुधार मञ्चले संचालन गरेकाे हाम्रो घर बालगृह दिगोपनाको लागि अक्षयकोष स्थापना गर्ने उद्देश्यले लगाइएको श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञमा १३ लाख २० हजार रकम संकलन भएको सोमबार पत्रकार भेटघाट मार्फत जानकारी दिइएकाे छ । मञ्च अध्यक्ष इन्दिरा डल्लाकोटीले सप्ताहमा संकलन रकमबाट ७ लाख ५० हजार पण्डितहरु लागि खर्च भएकाे बताइन् ।
यसैगरी २ लाख ५० हजार रुपैंया अन्य खर्च गरि १० लाख ३६ हजार खर्च भएको अध्यक्ष डल्लाकोटीले जनाकारी दिइन् । उनका अनुसार बालगृहकाे अक्षयकोषमा २ लाख ८३ हजार जम्मा भएको छ । पछिल्लो समय आर्थिक अभावका कारण बालगृह सञ्चालनमा समस्या आएपछि दिगोपनाको लागि धार्मिक अनुष्ठान आयोजना गरिएको उनले बताइन् ।
सप्ताह १ फागुनदेखि ९ फागुन सम्म संचालन गरिएकाे थियाे । ८ जना बालबालिका राखेर २०६५ सालदेखि सुरु गरिएको बालगृहमा हाल २७ जना बालबालिकाले आश्रय लिइरहेका बताइएकाे छ ।
मकवानपुर । सरकारले राष्ट्रिय खोप कार्यक्रम अन्तरगत सञ्चालन गरेको पाठेघरको मुखको क्यान्सरविरूद्धको एचपीभी खोप अभियानमा मकवानपुर जिल्लामा ९७ प्रतिशत किशोरीले खाेप लगाएका छन् । पाठेघरको मुखको क्यान्सर गराउने एचपीभी (ह्युमन प्यापिलोमा भाइरस) विरुद्धको खोप अभियानकाे रुपमा दिइएकाे हाे ।
२२ माघबाट सुरु अभियानकाे अन्तिम दिन ६ फागुनसम्म जिल्लाका १० वटै पालिकामा २० हजार १२३ जनाले खाेप लगाएका हुन् । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार जिल्लाका २० हजार ७८३ जना किशोरीहरुमा खाेप लगाउने लक्ष्य लिइएकाेमा २० हजार १२३ जनालाई उक्त खाेप लगाइएकाे हाे । अभियानका क्रममा ६ कक्षादेखि १० कक्षासम्म अध्ययनरत छात्रा र विद्यालयबाहिर रहेका १० देखि १४ वर्षका किशोरीलाई स्थानीय तहमा रहेका केन्द्रहरूमार्फत खोप प्रदान गरिएको हाे ।
जिल्लाकाे हेटौंडा उपमहानगरपालिकामा सुबै भन्दा बढी किशाेरीले खाेप लगाएका छन् । उपमहानगरमा ९ हजार २३८ जनालाई खाेप लगाउने लक्ष्य लिइएकेमा ९ हजार ११ जनालाई खाेप लगाइएकाे स्वास्थ्य कार्यालयका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिए । यो उपमहानगरमा लगाइएकाे खाेपकाे ९८ प्रतिशत हाे ।
यसैगरी थाहा नगरपालिकामा १ हजार ८८९ जना किशाेरी लक्षितमा १ हजार ८०५ जना अर्थात ९५ प्रतिशत, इन्द्र सरोवर गाउँपालिकामा ४८८ जनकाे लक्ष्य गरिएकाेमा ४ सय ५७ जना अर्थात ९५ प्रतिशत, भीमफेदीमा ८४४ जनाकाे लक्ष्यमा ७९५ अर्थात ९४ प्रतिशत, मकवानपुरगढी गाउँपालिकामा १ हजार ७३ जनाकाे लक्ष्यमा ९ सय ८५ जना अर्थात ९२ प्रतिशत, बकैयामा १ हजार ८५३ जनाकाे लक्ष्यमा १ हजार ७१० अर्थात ९२ प्रतिशत किशाेरीलाई उक्त खाेप लगाइएकाे घिमिरेले जानकारी दिए ।
उनका अनुसार बागमतीमा १ हजार ३३९ जनकाे लक्ष्यमा १ हजार २९५ जना अर्थात ९७ प्रतिशत, मनहरीमा २ हजार २६२ जनाकाे लक्ष्यमा २ हजार ५४ अर्थात ९१ प्रतिशत राक्सिराङमा ७ सय ९८ जनामा ७ सय ७३ अर्थात ९७ प्रतिशत, कैलाशमा १ हजार १ मा ९ सय ९३ अर्थात ९५ प्रतिशत किशाेरीमा खोप लगाइएकाे हाे । यसैगरी एमसीएच क्लिनिक मार्फत २ सय ६३ जना किशोरीलाई एचपीभी खाेप लगाइएकाे उनले बताए ।
हेटौंडा उपमहानगरपालिकालाई वितरण गरिएकाे खाेप डोज मध्ये १५ भायल खाेप ड्यामेज भएकाे तथा मकवानपुर गढीमा ४५ जना किशाेरीले गत वर्ष नै खाेप लगाइएकाे पाइएकाे उनले जानकारी दिए ।
बागमती प्रदेशमा २ लाख ५६ हजारले लगाए खाेप
बागमती प्रदेशका २ लाख ५६ हजार १९१ जना किशाेरीले खोप लगाएका छन् । अभियानकाे अन्तिम दिन ६ फागुनसम्म २ लाख ९८ हजार ९०५ जना किशोरीलाई खोप लगाउने लक्ष्य लिइएकाेमा प्रदेशमा ८६ प्रतिशतले मात्रै खोप लगाएका हुन् । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार प्रदेशका १३ जिल्लामध्ये लक्ष्यको सबैभन्दा बढी नुवाकोटमा सबै भन्दा बढी ९९.८३ प्रतिशत किशोरीहरुले खोप लगाएका छन् ।
यस्तै दोलखामा लक्षित किशोरीमध्ये ९९ प्रतिशतले खोप लगाएका छन् । रामेछापका ९८ प्रतिशत, सिन्धुपाल्चोकका ९७ प्रतिशत, सिन्धुली र काभ्रेका ९६ प्रतिशत किशोरीलाई खाेप लगाइएकाे छ । मन्त्रालयका अनुसार धादिङका ९५ प्रतिशत, मकवानपुरका ८८ प्रतिशत, चितवनका ८४ प्रतिशत, भक्तपुरका ८५ प्रतिशत, काठमाडौं र ललितपुरका ७९ प्रतिशत र सबैभन्दा कम रसुवाका ९६.१ प्रतिशत एचपिभी खोप लगाइएको हाे ।
संख्यात्मक हिसाबले काठमाडौंमा सबैभन्दा बढी किशाेरीलाई खाेप लगाइएकाे छ । काठमाडौंका १ लाख ११ हजार १०४ जनालाई खाेप लगाउने लक्ष्य राखिएकाेमा ८८ हजार १०८ जना किशोरीलाई खाेप लगाइएकाे मन्त्रालयले जनाएकाे छ । सबैभन्दा कम रसुवाका १ हजार ६८६ जनामा एक हजार ६२० जनालाई खाेप लगाइएकाे हाे । नुवाकोटमा ११ हजार १७८ जनालाई खोप लगाउने लक्ष्य लिइएकोमा ११ हजार १६० जना किशोरीहरुले खोप लगाएकाे मन्त्रालयले जनाएकाे छ ।
यसैगरी दोलखामा ६ हजार ५२० जना किशोरीलाई खोप लगाउने लक्ष्य राखिएकोमा ६ हजार ४८० जनाले खोप लगाएका हुन् । रामेछापका ७ हजार ७८ जना किशोरीलाई खोप लगाउने लक्ष्य राखिएकोमा ६ हजार ९५२, सिन्धुपाल्चोकका १० हजार ४६८ मध्ये १० हजार ११७ जना, सिन्धुलीका १४ हजार ६२२ मध्ये १४ हजार ८२ जनालाई एचपीभी खोप लगाइएको मन्त्रालयले जनाएको छ ।
यस्तै मन्त्रालयका अनुसार काभ्रेका १६ हजार ११३ जनामा १५ हजार ५१५, धादिङका १४ हजार ५७३ जनामा १३ हजार ८२४, मकवानपुरका २२ हजार ७१३ जनामा २० हजार ९३, चितवनका ३१ हजार ५७० जनामा २६ हजार ४४७, भक्तपुरका १९ हजार २९५ जनामा १६ हजार ३७६ ललितपुरका ३१ हजार ९८५ जनामा २५ हजार ११७ जना किशोरीले खोप लगाएका छन् ।
अभियानका क्रममा ६ कक्षादेखि १० कक्षासम्म अध्ययनरत छात्रा र विद्यालयबाहिर रहेका १० देखि १४ वर्षका किशोरीलाई स्थानीय तहमा रहेका केन्द्रहरूमार्फत खोप प्रदान गरिएको छ । खोप अभियान सञ्चालनका लागि प्रदेशमा ८ हजार ७३६ स्वयंसेवक र ४ हजार ३२४ जना कर्मचारी खटाइएको प्रदेशको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
