मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिकामा रहेकाे हाम्रो घर बालगृहमा लगाइएको सप्ताहमा १३ लाख २० हजार रकम संकलन भएको छ ।
हेटौंडा – ५ सिचाईं टोलस्थित ग्रामीण जीवनस्तर सुधार मञ्चले संचालन गरेकाे हाम्रो घर बालगृह दिगोपनाको लागि अक्षयकोष स्थापना गर्ने उद्देश्यले लगाइएको श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञमा १३ लाख २० हजार रकम संकलन भएको सोमबार पत्रकार भेटघाट मार्फत जानकारी दिइएकाे छ । मञ्च अध्यक्ष इन्दिरा डल्लाकोटीले सप्ताहमा संकलन रकमबाट ७ लाख ५० हजार पण्डितहरु लागि खर्च भएकाे बताइन् ।
यसैगरी २ लाख ५० हजार रुपैंया अन्य खर्च गरि १० लाख ३६ हजार खर्च भएको अध्यक्ष डल्लाकोटीले जनाकारी दिइन् । उनका अनुसार बालगृहकाे अक्षयकोषमा २ लाख ८३ हजार जम्मा भएको छ । पछिल्लो समय आर्थिक अभावका कारण बालगृह सञ्चालनमा समस्या आएपछि दिगोपनाको लागि धार्मिक अनुष्ठान आयोजना गरिएको उनले बताइन् ।
सप्ताह १ फागुनदेखि ९ फागुन सम्म संचालन गरिएकाे थियाे । ८ जना बालबालिका राखेर २०६५ सालदेखि सुरु गरिएको बालगृहमा हाल २७ जना बालबालिकाले आश्रय लिइरहेका बताइएकाे छ ।

