मकवानपुर । सरकारले राष्ट्रिय खोप कार्यक्रम अन्तरगत सञ्चालन गरेको पाठेघरको मुखको क्यान्सरविरूद्धको एचपीभी खोप अभियानमा मकवानपुर जिल्लामा ९७ प्रतिशत किशोरीले खाेप लगाएका छन् । पाठेघरको मुखको क्यान्सर गराउने एचपीभी (ह्युमन प्यापिलोमा भाइरस) विरुद्धको खोप अभियानकाे रुपमा दिइएकाे हाे ।
२२ माघबाट सुरु अभियानकाे अन्तिम दिन ६ फागुनसम्म जिल्लाका १० वटै पालिकामा २० हजार १२३ जनाले खाेप लगाएका हुन् । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार जिल्लाका २० हजार ७८३ जना किशोरीहरुमा खाेप लगाउने लक्ष्य लिइएकाेमा २० हजार १२३ जनालाई उक्त खाेप लगाइएकाे हाे । अभियानका क्रममा ६ कक्षादेखि १० कक्षासम्म अध्ययनरत छात्रा र विद्यालयबाहिर रहेका १० देखि १४ वर्षका किशोरीलाई स्थानीय तहमा रहेका केन्द्रहरूमार्फत खोप प्रदान गरिएको हाे ।
जिल्लाकाे हेटौंडा उपमहानगरपालिकामा सुबै भन्दा बढी किशाेरीले खाेप लगाएका छन् । उपमहानगरमा ९ हजार २३८ जनालाई खाेप लगाउने लक्ष्य लिइएकेमा ९ हजार ११ जनालाई खाेप लगाइएकाे स्वास्थ्य कार्यालयका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिए । यो उपमहानगरमा लगाइएकाे खाेपकाे ९८ प्रतिशत हाे ।
यसैगरी थाहा नगरपालिकामा १ हजार ८८९ जना किशाेरी लक्षितमा १ हजार ८०५ जना अर्थात ९५ प्रतिशत, इन्द्र सरोवर गाउँपालिकामा ४८८ जनकाे लक्ष्य गरिएकाेमा ४ सय ५७ जना अर्थात ९५ प्रतिशत, भीमफेदीमा ८४४ जनाकाे लक्ष्यमा ७९५ अर्थात ९४ प्रतिशत, मकवानपुरगढी गाउँपालिकामा १ हजार ७३ जनाकाे लक्ष्यमा ९ सय ८५ जना अर्थात ९२ प्रतिशत, बकैयामा १ हजार ८५३ जनाकाे लक्ष्यमा १ हजार ७१० अर्थात ९२ प्रतिशत किशाेरीलाई उक्त खाेप लगाइएकाे घिमिरेले जानकारी दिए ।
उनका अनुसार बागमतीमा १ हजार ३३९ जनकाे लक्ष्यमा १ हजार २९५ जना अर्थात ९७ प्रतिशत, मनहरीमा २ हजार २६२ जनाकाे लक्ष्यमा २ हजार ५४ अर्थात ९१ प्रतिशत राक्सिराङमा ७ सय ९८ जनामा ७ सय ७३ अर्थात ९७ प्रतिशत, कैलाशमा १ हजार १ मा ९ सय ९३ अर्थात ९५ प्रतिशत किशाेरीमा खोप लगाइएकाे हाे । यसैगरी एमसीएच क्लिनिक मार्फत २ सय ६३ जना किशोरीलाई एचपीभी खाेप लगाइएकाे उनले बताए ।
हेटौंडा उपमहानगरपालिकालाई वितरण गरिएकाे खाेप डोज मध्ये १५ भायल खाेप ड्यामेज भएकाे तथा मकवानपुर गढीमा ४५ जना किशाेरीले गत वर्ष नै खाेप लगाइएकाे पाइएकाे उनले जानकारी दिए ।
बागमती प्रदेशमा २ लाख ५६ हजारले लगाए खाेप
बागमती प्रदेशका २ लाख ५६ हजार १९१ जना किशाेरीले खोप लगाएका छन् । अभियानकाे अन्तिम दिन ६ फागुनसम्म २ लाख ९८ हजार ९०५ जना किशोरीलाई खोप लगाउने लक्ष्य लिइएकाेमा प्रदेशमा ८६ प्रतिशतले मात्रै खोप लगाएका हुन् । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार प्रदेशका १३ जिल्लामध्ये लक्ष्यको सबैभन्दा बढी नुवाकोटमा सबै भन्दा बढी ९९.८३ प्रतिशत किशोरीहरुले खोप लगाएका छन् ।
यस्तै दोलखामा लक्षित किशोरीमध्ये ९९ प्रतिशतले खोप लगाएका छन् । रामेछापका ९८ प्रतिशत, सिन्धुपाल्चोकका ९७ प्रतिशत, सिन्धुली र काभ्रेका ९६ प्रतिशत किशोरीलाई खाेप लगाइएकाे छ । मन्त्रालयका अनुसार धादिङका ९५ प्रतिशत, मकवानपुरका ८८ प्रतिशत, चितवनका ८४ प्रतिशत, भक्तपुरका ८५ प्रतिशत, काठमाडौं र ललितपुरका ७९ प्रतिशत र सबैभन्दा कम रसुवाका ९६.१ प्रतिशत एचपिभी खोप लगाइएको हाे ।
संख्यात्मक हिसाबले काठमाडौंमा सबैभन्दा बढी किशाेरीलाई खाेप लगाइएकाे छ । काठमाडौंका १ लाख ११ हजार १०४ जनालाई खाेप लगाउने लक्ष्य राखिएकाेमा ८८ हजार १०८ जना किशोरीलाई खाेप लगाइएकाे मन्त्रालयले जनाएकाे छ । सबैभन्दा कम रसुवाका १ हजार ६८६ जनामा एक हजार ६२० जनालाई खाेप लगाइएकाे हाे । नुवाकोटमा ११ हजार १७८ जनालाई खोप लगाउने लक्ष्य लिइएकोमा ११ हजार १६० जना किशोरीहरुले खोप लगाएकाे मन्त्रालयले जनाएकाे छ ।
यसैगरी दोलखामा ६ हजार ५२० जना किशोरीलाई खोप लगाउने लक्ष्य राखिएकोमा ६ हजार ४८० जनाले खोप लगाएका हुन् । रामेछापका ७ हजार ७८ जना किशोरीलाई खोप लगाउने लक्ष्य राखिएकोमा ६ हजार ९५२, सिन्धुपाल्चोकका १० हजार ४६८ मध्ये १० हजार ११७ जना, सिन्धुलीका १४ हजार ६२२ मध्ये १४ हजार ८२ जनालाई एचपीभी खोप लगाइएको मन्त्रालयले जनाएको छ ।
यस्तै मन्त्रालयका अनुसार काभ्रेका १६ हजार ११३ जनामा १५ हजार ५१५, धादिङका १४ हजार ५७३ जनामा १३ हजार ८२४, मकवानपुरका २२ हजार ७१३ जनामा २० हजार ९३, चितवनका ३१ हजार ५७० जनामा २६ हजार ४४७, भक्तपुरका १९ हजार २९५ जनामा १६ हजार ३७६ ललितपुरका ३१ हजार ९८५ जनामा २५ हजार ११७ जना किशोरीले खोप लगाएका छन् ।
अभियानका क्रममा ६ कक्षादेखि १० कक्षासम्म अध्ययनरत छात्रा र विद्यालयबाहिर रहेका १० देखि १४ वर्षका किशोरीलाई स्थानीय तहमा रहेका केन्द्रहरूमार्फत खोप प्रदान गरिएको छ । खोप अभियान सञ्चालनका लागि प्रदेशमा ८ हजार ७३६ स्वयंसेवक र ४ हजार ३२४ जना कर्मचारी खटाइएको प्रदेशको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


