मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिकामा जारी अनुपम घलान स्मृति यु–१६ नगरस्तरीय फुटबल प्रतियोगिताकाे फाइनल समिकरण पुरा भएकाे छ ।
हेटौंडा नगर खेलकुद विकास समितिको आयोजनामा सञ्चालन भएकाे सेमीफाइनल चरणको खेलमा जीत निकाल्दै हेटौंडा–१५ र हेटौंडा–१८ फाइनलमा प्रवेशका हुन् । उक्त प्रतियोगिता अन्तर्गत शनिबार आज हेटौंडा–१५ र हेटौंडा–१८ बीच उपाधिका लागि भिडन्त हुने भएको छ ।
शुक्रबार भएको पहिलो सेमीफाइनल खेलमा हेटौंडा–८ लाई हेटौंडा–१५ ले २–० गोल अन्तरले पाखा लगाएकाे हाे । हेटौंडा–१५ को जीतमा रोहित डिम्डुङ्गले २ गोल गरे । उनले खेलको १२ औं मिनेटमा पहिलो गोल र ५१ औं मिनेटमा दोस्रो गोल गरेका हुन् । म्यान अफ द म्याच डिम्डुङ्ग नै घोषित भए ।
यस्तै, दोस्रो खेलमा हेटौंडा–९ लाई हेटौंडा–१८ ले २–१ गोल अन्तरले स्तब्ध पारेकाे हाे । हेटौंडा–९ को तर्फबाट पहिलो हाफको पहिलो मिनेटमा नै गोल गर्दै सञ्जिव कार्कीले अग्रता दिलाएका थिए । १–० गोलले पछि परेको हेटौंडा–१८ बाट अभिराज थापा मगरले खेलको ३६ औं मिनेटमा गोल गर्दै १–१ गोलको बराबरीमा ल्याएका थिए । खेलको ३९ औं मिनेटमा अभिराजले दोस्रो गोल गर्दै खेल २–१ को स्थितिमा पुर्याएका थिए । म्यान अफ द म्याच थापा नै घोषित भए ।
हेटौंडा उपमहानगरपालिकाकाे आर्थिक सहयोग तथा नगर खेलकुद विकास समितिकाे व्यवस्थापनमा ७ फागुनबाट हेटौंडा ५ स्थित पिप्ले क्याम्पा रंगशालामा प्रतियोगित भइरहेकाे छ । प्रतियोगितामा प्रथम हुने टिमले १ लाख रुपैया प्राप्त गर्ने छन् भने द्वितीय हुने टिमले ७० हजार रुपैया हात पार्ने छन् ।
यसैगरी विधागत रुपमा उत्कृष्ट तर्फ समेत पुरस्कारकाे व्यवस्था गरिएकाे छ । सर्वोत्कृष्ठ खेलाडी, उत्कृष्ठ फरवार्ड, उत्कृष्ठ किपर, उत्कृष्ठ प्रशिक्षक, उत्कृष्ट डिफेन्सले जनही ५/५ हजार रुपैंया प्राप्त गर्नेछन् । प्रतियाेगिता नक आउटका आधारमा खेलाइएकाे आयोजकले जनाएकाे छ । प्रतियोगितामा हेटौंडा उपमहानगरपालिका भित्रका वडाहरुबाट १२ टिमकाे सहभागिता रहेकाे थियाे ।

