मकवानपुर । मकवानपुरकाे हेटौंडामा दोस्रो राष्ट्रिय नवसर्जक उत्सव–२०८१ सुरु भएको छ । नवसर्जक साहित्य चौतारी नेपालको आयोजनामा शुक्रबारबाट सुरु उत्सव शनिबार (आज) सम्म चल्ने छ ।
देशका सातै प्रदेशबाट नवसर्जक सहभागी उत्सवमा शुक्रबार पहिलो दिन साहित्यका विभिन्न विधामा कार्यशाला गरिएकाे थियाे । उत्सव शुभारम्भकाे दिन नवसर्जकहरुले हेटौंडा उपमहनागरपालिका–११ स्थित शहीद स्मारकको भ्रमण गरेका थिए । उनीहरुले बागमती प्रदेशका पहिलाे मुख्यमन्त्री डोरमणि पौडेलसँग ‘शहीद स्मारककाे परिकल्पना, विकास र भावी याेजना’ विषयमा अन्तरसंवाद समेत गरेका छन् ।
यसैगरी हेटौडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालय परिसरमा सहित्यका विभिन्न ९ विधामा कार्यशाला आयोजना गरिएकाे थियाे । गजल लेखन, मुक्तक लेखन, लोकलय कविता लेखन, गद्य कविता लेखन, कथा लेखन, यात्रा संस्मरण, नाटक लेखन, हास्ययव्यङ्ग्य लेखन तथा चित्रकलाकाे कार्यशाला भएकाे आयोजकले जनाएकाे छ ।
गजलमा केशव समर्पण, मुक्तकमा विश्वनाथ सञ्जेल, लोकलय कवितामा पुरुषोत्तम आचार्य, गद्य कवितामा सुवास खनाल, कथामा निमेष निखिल, यात्रा संस्मरणमा रमेशमोहन अधिकारी, नाटकमा माधव पोखरेल, हास्ययव्यङ्ग्यमा राजकुमार लामिछाने र चित्रकलामा सूर्य सन्यासीले सहजीकरण गरेका थिए । उक्त कार्यशालाहरुमा विद्यालय तहका २ सय ७० जना विद्यार्थी सहभागी रहेकाे आयोजकले जनाएकाे छ ।
नजसर्जक उत्सवको दोस्रो दिन आज शनिबार भुटनदेवी माध्यमिक विद्यालय परिसरमै नवसर्जक साहित्य चौतारीको प्रथम केन्द्रीय अधिवेशन हुँदैछ । कार्यक्रममा स्रष्टा सम्मान, राष्ट्रव्यापी गजल प्रतियोगिता, गजल तथा नृत्य, बहत्, मुक्तक, कविता वाचन, पुस्तक प्रदर्शनी हुनेछ ।
यसैगरी नवप्रतिभा प्रवर्द्धनमा विद्यालय र स्थानीय सरकारकाे भूमिका विषयमा बहस कार्यक्रम समेत हुनेछ । बहसमा हेटौंडा उपमहानगरपालिका महिला तथा बालबालिका महाशाखा प्रमुख विष्णु कुमारी लामिछाने,श्रीराम दाहाल प्राध्यापक श्रमिक मावि, विनोद सुवेदी प्रिन्सिपल बालजागृति इंग्लिस स्कुल,पत्रकार सुरेश श्रेष्ठ सहभागी हुनेछन् । कार्यक्रमकाे अभिभावकत्व वडाध्यक्ष सिग्देल तथा सहजिकरण नवसर्जक साहित्य चौतारी नेपालकी सचिव कृतिका लौडारीले गर्नेछिन् ।
शुक्रबार नवसर्जक साहित्य चौतारी नेपालकी अध्यक्ष प्रसन्ना चौलागाईको अध्यक्षता तथा प्रा.डा. चुणामणि बन्धुको प्रमुख आतिथ्यमा उद्घाटन समारोह भएको थियो । कार्यक्रममा ४ नम्बर वडाध्यक्ष नवीन सिग्देललगायतकाे आतिथ्यता थियो ।

