मानव बेचबिखन तथा ओसारपसार विरुद्ध अन्तरक्रिया
Tags: No Comments
मकवानपुर । मानव बेचबिखन तथा ओसारपसार विरुद्ध यातायत व्यवसायि तथा होटल व्यवसायीसँग अन्तरक्रिया कायक्रम हेटौडामा गरिएको छ ।
माइती नेपाल मकवानपुरको आयोजनामा सो कार्यक्रम गरिएको हो ।
कार्यक्रममा माइती नेपाल मकवानपुर कार्यक्रम संयोजक माया तामाङले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणको सवालमा विद्यमान अवस्था बारे प्रशिक्षण दिनु भएको थियो ।
समय र प्रविधिको परिवर्तन भए पनि बेचविखनको अवस्था अझै पनि डरलाग्दो भएको तामाङले बताउनु भयो । अहिले पनि यौन व्यवसाय, घरेलु कामदार, श्रम शोषण, उत्तेजक नाच, होटल रेष्टुरेन्ट, मसाज पार्लर सर्कश मानव अंग खरिद विक्रिको लागि बेच विखन हुने गरेकोले सबै सरोकारवालाहरु एक जुट भएर मात्रै नियमन संभव भएको उनले बताइन् ।
बेचविखनमा परेकाहरुलाई उद्धारको क्रममा अझै पनि धेरै हण्डर खेप्नु परेको उहाँले बताउनु भयो । कोठीमा पीडितलाई भेट्न उद्दारकर्मी पटक पटक जानु पर्ने हुँदा खर्च धेरै लाग्ने, उद्दारकर्मीको पहिचान भएमा उदारकर्मीको ज्यानको जोखिम हुने, उद्दार गर्न लागेको कुरा समन्वय सहकार्य गर्नेबाट चुहावट हुन सक्ने र उद्दार गर्न जाँदा पीडितलाई अन्यत्र सार्न सक्ने, घटना घटेको देशमा झन्झटिलो कानुनी प्रकृया हुने, संरक्षण गृहमा पीडितलाई मनोसामाजिक परामर्शको अभाव हुने जस्ता समस्याले उद्धारमै कठिन हुने गरेको उहाँको भनाइ थियो ।
कार्यक्रममा सामुदायिक सेवा प्रहरी प्रमुख प्रदीप कंडेल, हेटौडा १० वडा सदस्य गोमा सुनार विभिन्न सामाजिक संस्थाहरुको प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो । माइती नेपालले आफ्नो वार्षिक कार्यक्रम अन्तरगत यस्ता सचेतनामूलक तालिक तथा विभिन्न गतिविधिहरु गर्दै आएको छ ।
आमाको महिमागान गर्न असमर्थ छौँ
Tags: No Comments
आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन । आजको दिनलाई मातृसम्मान दिवस र मातृस्मृति दिवस भनेर पनि भनिन्छ ।
यसपालीको आमा सम्झिने औँसीमा धेरै नारीहरूलाई आमा बन्ने सौभाग्य प्राप्त भएको छ । कोही गर्भिणी भएर आमा बन्ने तरखरमा छन् । केहीलाई नातिनातिना जन्मेर पुस्ता बढेको गर्व भएको छ । त्यस्तै केहीलाई अनपेक्षितरूपमा मातृशोकको सामना गर्नुपरेको छ । फेरि कसैलाई भने आफू आमा भनेर गौरव गर्ने कुरा ( सन्तान ) को शोकको सामना पनि गर्नु परेको छ ।
जीवित आमाहरूलाई भेटेर आशिर्वाद लिएर दुःखसुखबारे विचार विमर्श गरी आमाको सहजताबारे विचार गरिन्छ भने कीर्तिशेष भैसकेका आमाहरूलाई सम्झना गरेर उहाँको स्मृति गरी आआफ्नो तर्फबाट सक्दो रूपमा मनसा वाचा कर्मणा सम्झिने कर्म गरिन्छ ।
आआफ्नो ल्याकत र योग्यता अनुसार हरेक व्यक्तिको आमालाई सम्झिने विभिन्न तरीका र दृष्टिकोण रहेका छन् जुन कुरा हामीले सामाजिक सञ्जालका विविध पक्षहरूमा देख्न सक्छौँ ।
आमालाई देवीको रूपमा वर्णन गरिएको कुरा दुर्गासप्तशतीको पाँचौँ अध्यायमा भएको …
या देवी सर्वभूतेषु मातृरूपेण संस्थिता ।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः ॥
श्लोकले प्रष्ट पारेकै छ । त्यसैगरी मनुस्मृतिमा पनि…..
उपाध्यायान् दशाचार्यः आचार्याणां शतं पिता ।
सहस्रं तु पितॄन् माता गौरवेणातिरिच्यते ॥
श्लोकका माध्यमले माताको महिमा पिताभन्दा हजार गुना ठूलो छ भन्ने कुरा बताइएको छ ।आमामा भएको ममत्व, वात्सल्य, शिशुमा स्तनपान गराउनसक्ने सामर्थ्य, सजिलैसित भाव बुझ्नसक्ने सामर्थ्य, तह लगाउन सक्ने सामर्थ्य, हाँसीहासी विना कुनै रोष सन्तानलाई हात लिन सक्ने सामर्थ्य आदि इत्यादि कुराले मातृमहिमा बखान धेरै गरिएको पाइन्छ ।
यसो भन्दैमा पिताको महिमा कम छ भन्न खोजेको कदापि हैन । पिताको साथ र सम्बन्धले नै माता माता बन्न योग्य हुन्छिन् त्यसमाथि पनि नौ महिनासम्मको गर्भावस्था, स्तनपान, पालनपोषण इत्यादि कुराले माताको महत्ता बढी भएको कुरा हामी स्वतः पनि अनुमान लगाउन सक्दछौँ ।
चाणक्यनीतिमा चाणक्यले….
राजपत्नी गुरोः पत्नी मित्रपत्नी तथैव च ।
पत्नीमाता स्वमाता च पञ्चैता मातरः स्मृताः ॥
श्लोकमार्फत् रानी, गुरुआमा, साथीकी श्रीमती, सासू र आफ्नी आमा समेत गरी पाँच आमा हुन्छन् । आफ्नी आमा र सासू आमालाई जस्तै राजमाता/रानी, गुरुआमा साथै मित्रकी पत्नीलाई पनि आमासमान व्यवहार गर्नुपर्ने कुरा भनेका छन् । शिशुको स्याहार सम्भार गर्ने हुनाले धाईआमा लाई पनि आमाको रूपमा आदर गर्नुपर्ने कुरा पनि छन् ।
त्यस्तै ब्रह्मवैवर्त्य पुराणमा
गुरुपत्नी राजपत्नी देवपत्नी तथा वधु: ।
पित्रो: श्वसा शिष्यपत्नी भृत्यपत्नी च मातुली ॥
पितृपत्नी भ्रातृपत्नी श्वशृश्च भगिनी सुता ।
गर्भधात्रीष्टदेवी च पुंसः षोडश मातरः ॥
गुरुपत्नी, राजपत्नी, देवपत्नी, पुत्रवधु, आमाकै दिदीबहिनी, पिता की दिदीबहिनी, शिष्यपत्नी, भृत्य पत्नी ( काम गर्न सघाउनेकी पत्नी ) , माइजु , पिता की पत्नी ( आफ्नी आमा, सौतेनीआमा), दाजुभाइका श्रीमती (भाउजु, बुहारी ), सासू , दिदी-बहिनी, छोरी , आफूलाई गर्भमा धारण गर्ने ( जन्मदिने आमा, आफ्नो कोखमा राखेर जन्माउने आमा ) तथा इष्टदेवी यी सोह्र थरी नारीहरूलाई हरेक व्यक्तिले आमाको रूपमा मनन गर्नुपर्ने कुरा बताइएको छ ।
त्यस्तै, सन्तान जतिसुकै नीच वा पतित भएपनि आमाहरू कहिले पनि कुमतिका हुँदैनन् भन्ने कुरा “देव्यापराधक्षमापनस्तोत्रम्” को “कुपुत्रो जायेत क्वचिदपि कुमाता न भवति ।” श्लोकको अंशले पनि प्रष्ट पारेको छ ।
आमा सबैभन्दा महत्वपूर्ण यसकारण हुनुहुन्छ कि आमालाई सन्तानले आमा भनेर बोलाउँदा जस्तोसुकै दुःख सुख, गाह्रो साँघुरो जेजस्तो परोस् सन्तानको खुसीका निमित्त जता पनि पुग्नुहुन्छ । आ…. होस् भन्नुहुन्न्न । आँ गर्दा अलङ्कार बुझ्नुहुन्छ । सन्तानको परिस्थिति बुझेर आफ्नो भाव व्यक्त गर्नुहुन्छ । सानोतिनो कुराहरूलाई हाँसेरै आ…. भनेर पचाइदिनुहुन्छ ।
सन्तान नजिक होस् या टाढा, जता भए पनि, तिनले कथंकदाचित् बेफुर्सदीमा कुरा गर्न नभ्याए पनि सञ्चो भएन कि भनेर बोली नसुनुञ्जेल अधैर्य रहने र आमा वा मम्मी जुनै सम्बोधन होस्…सुनेर तृप्त हुने महान् व्यक्ति हुनुहुन्छ । आमाको महिमा यसै भनेर कसैले भन्न सकेको छैन । मातृमहिमा अपरिमित छ ।
आफ्नो जन्मभूमि/देश/ राष्ट्रलाई पनि आमासरह मानिएको छ । त्यसैले त हामी नेपाल आमा भनेर गर्वले आफ्नो राष्ट्रको सम्मान गर्दछौँ । यसै कुरामा लक्षित रामायणमा रामले लक्ष्मणलाई भनेको श्लोक समाजमा व्यापकरूपमा चर्चित छ….
अपि स्वर्णमयी लङ्का न मे लक्ष्मण रोचते ।
जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसि ॥
आफ्नो आमासमान देश र आमाका बारेमा विभिन्न साहित्यकारहरूका कृति पनि निस्केका छन् । प्रा.डा. विष्णुराज आत्रेयको राष्ट्रप्रति लक्षित “धन्यो हिमवद्देशः ( संस्कृत भाषामा रचित राष्ट्रिय गीतिकाव्य), जन्मभूमिप्रति लक्षित “कपिलवस्तु” खण्डकाव्य नेपालीमा, सिङ्गीघाट ( अवधि भाषामा रचित जन्मजिल्ला एवं अञ्चलभित्रको प्रसिद्ध स्थानबारे महाकाव्य) जन्मदातृ आमाको महिमागानमा वर्णित “मातृमहिमा” खण्डकाव्य निस्केको छ ।
एकै व्यक्तिले संस्कृत, नेपाली र अवधि गरी तीन भाषामा काव्यको रचना गरेर राष्ट्र, जन्मेको ठाउँ र जन्मदिने आमाको नाममा पुस्तक (काव्य) निकाल्ने प्रा. डा. विष्णुराज आत्रेय लाटोसाथी नेपालकै पहिलो व्यक्ति हुनुभयो । नेपालको साहित्यिक क्षेत्रमा पहिलो स्थानमा र एक सफल उदाहरणीय व्यक्तित्वको रूपमा आफूलाई उभ्याउन सफल बनेर नेपाली साहित्य भण्डारको ओज बढाउन सहयोग गरेको छ ।
त्यस्तै साहित्यकार उपमा आचार्यले “मातृ वन्दना” र डा. ज्ञाननिष्ठ ज्ञवालीले “आमा” खण्डकाव्य निकाल्नुभएको छ । कवि गोपालप्रसाद रिमालको आमा कविताको महत्तोबारे सबैलाई सर्वविदितै छ । त्यस्तै प्रा.डा. अलका आत्रेयको आमामा समर्पित शार्दूलविक्रीडित छन्दको कविता “मौनव्रती वृक्ष र आमा” कोकिल स्वरकी छन्द गायिका सरु गुरागाईँको स्वरमा युट्युबमा प्रसारित सर्वाधिक चर्चित कविता एवं कवि प्रभा भट्टराई आचार्यको “आमा” कविताले साहित्यिक सञ्जाल तताएको कुरा प्रायः सबै साहित्यप्रेमीहरूलाई सर्वविदितै छ ।
त्यस्तै हालसालै छन्ददिवसका दिन कवि कल्पना भट्टराई अधिकारीद्वारा आमालाई समर्पित “आमा” खण्डकाव्य विमोचित भएको छ । हुनत, नेपाली साहित्यमा विभिन्न प्रसिद्ध ख्यातिप्राप्त सिद्धहस्त कविहरूले आमा र राष्ट्रका नाममा विभिन्न कविताहरू लेख्नुभएको छ । मैले यहाँ दृष्टान्तको रूपमा भन्नैपर्ने र मैले चिनेका र सुनेका कविहरूको नाममात्र व्यक्त गरेकी हूँ ।
साधारणतया कुनै पनि सन्तान वा कुनै पनि माता-पिता खराब हुँदैनन् । कताकति अपवादका रूपमा समय र परिस्थितिले कसैलाई कुसन्तान र कुमाता भनेर भनिएपनि कोख र दशधाराको महत्ताले जुनै आमा पनि सम्मानयोग्य छिन् भन्ने कुरा हामी सबैले स्वीकार्दै आएका छौँ । अहिलेको समय र परिस्थितिले कतिपय आमाहरूलाई आमाबुवाहरूलाई सन्तानबाट टाढिइनु परेको छ । कतिपयलाई बाध्यतावश वृद्धाश्रममा आश्रममा पनि बस्नुपरेको छ । यस्तो अवस्था सकेसम्म कसैलाई पनि नपरोस् । सकेसम्म हामी सबैले सक्दोरूपमा आफ्ना आमाबुवाहरूलाई यथोचित मानसम्मान र सत्कार गर्न सकौँ । हामी कसैका कारण हाम्री आमा र नेपाल आमाको आँखाबाट आँसु नझरोस्, झरे पनि खुसीको आँसु झरोस् ।
आज आमाको मुख हेर्ने दिनमा मात्र मातृसम्मान गर्ने कुरा सीमित नहोस् । जीवित छउञ्जेल हरेक सन्तानले आफ्ना आमाहरूलाई राम्रो सम्मान दिन सकौँ र दिवङ्गत भएपछि पनि स्मृतिमा गर्नुपर्ने कुराहरूको पालना गरी आफूलाई सुपुत्र र सुपुत्रीको रूपमा व्यक्त गर्न सफल बन्न सकौँ । नेपाल आमाको हितमा हुने कार्य गरी देशका सच्चा नागरिक बन्न सकौँ भन्दै सम्पूर्ण आमाहरूमा हार्दिक नमन गर्दै मेरो भर्खरै प्रकाशित “लाटोसाथी” स्मृतिकाव्यभित्रको अनुष्टुप् छन्दको चार लाइन कविता यहाँ प्रस्तुत गर्दै कलम बिसाउँछु…..
साक्षात् ईश्वर हुन् बाबु आमा मेरी महेश्वरी ।
छैन समर्थ मै गन्न महिमा के कसो भनी ॥
भक्तिले प्रेमले बात गरून् सन्तति श्वासमा ।
गर्वले कर्मले काम गरून् अन्तिम कर्ममा ॥
सदैव वन्दनीय र पूजनीय माता-महतारीहरूमा हार्दिक प्रणाम ।
‘मौनव्रती वृक्ष र आमा’ डा. अलका आत्रेय छन्द : शार्दूलबिक्रीडित वाचन : सरू गुरागाईँ
बुटवल, हाल कम्बोडिया
मकवानपुर । मकवानपुरकाे हेंटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष नवीन सिग्देलले विद्यालयबाटै व्यवसायिक शिक्षालाई प्राथमिकता दिनु पर्ने बताएका छन् । हेटौंडा – ४ स्थित भुटनदेवी माध्यमिक विद्यालयद्वारा विद्यार्थीहरूलाई व्यवसायिक सीप प्रदान गर्न आयाेजना गरिएकाे तालिमकाे उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
उक्त विद्यालय व्यवस्थापन समिति अध्यक्ष समेत रहेकाे सिग्देलले विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुकाे चाैतर्फी विकासकाे व्यसायिक सीप सम्बन्धि तालिम विद्यालयकाे आन्तरिक श्राेतबाट खर्च हुने गरिएकाे बताए । ‘विद्यालयले सैद्वान्तिक पढाईकाे अलावा विभिन्न अतिरिक्त क्रियाकलाप आयाेजना गर्दै आईरहेकाे छ’ उनले भने ‘फरक पहिचानसहित शिक्षाकाे गुणस्तर सुधार गर्दै माथि उठाउन हामी लागि परेका छौं ।’
कार्यक्रम हेयर कटिङ्ग तालिममा २०जना, बेसिक व्युटीपार्लरमा २० जना र बेसिक ईलेक्ट्रिसियनमा २० जना विद्यार्थी सहभागी रहेकाे प्रअ माधव दाहालले जानकारी दिए । विद्यालयले सैद्वान्तिक शिक्षासंगै, अतिरिक्त क्रियाकलाप र सीपमूलक कार्यक्रम नियमित रूपमा सञ्चालन गर्ने बार्षिक याेजना रहेकाे उनले बताए ।
कार्यक्रममा हेयर कटिङ्गका प्रशिक्षक किरण अधिकारी र ईलेक्ट्रिसियन प्रशिक्षक ज्ञानेन्द्र देवकाेटाले तालिमकाे महत्वबारे प्रकाश पारेका थिए । प्रअ दाहालकाे सभाध्यक्षतामा भएकाे उद्घाटन कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य राजेन्द्रकुमार बस्ताकाेटी, सहायक प्रअहरू बेदराज काेईराला, भरत पाेखरेल, शिक्षक प्रतिनिधि सूर्यप्रसाद घिमीरे, मावि तह संयाेजक संगीता उप्रेती, आधारभूत तह संयोजक श्याम बजगाईं, प्रावि संयाेजक मुकुन्द न्याैपाने लगायतकाे उपस्थिति थियाे ।
सकिँदै कार्ययोजनाको म्याद
मकवानपुर । घटना कः “विवाह गरेको १६ महिना भएको थियो । म त्यो बेला २३ वर्ष भर्खरै लागेको थिएँ । २०६० साल माघ महिनाको त्यो रात, ११ बजेको थियो, ४ महिनाकी छोरी च्यापेर ओछ्यानमा पल्टेको मात्रै थिएँ । श्रीमान् अघिल्लो दिनदेखी नै घरमा हुनुहुन्नथ्यो । अज्ञात समूहले अपहरण गर्यो रे भन्ने हल्ला टोलभरी थियो, मन बेस्सरी आत्तिरहेको थियो । ४ महिनाको बच्चा लिएर कता जानु, आत्तिएर मात्रै बसेको थिएँ । उजुरी गर्न पनि कहाँ जानु प्रहरीमा जाउँ माओवादीको डर, माओवादीमा जाउँ प्रहरीको ।
एक्कासी ढोकामा लात्ताले हानेको जस्तो आवाज के सुनेको थिएँ, ४/५ जना मेरो ओछ्यानमै आइपुगे । मलाई ओछ्यानबाटै थुतेर कतै लगियो । ४ दिनपछि थाहा भयो त्यो स्थान तत्कालिन गाविस भवन रहेछ । जुन मेरो घरभन्दा अन्दाजी ३ किलोमिटर पर थियो । मलाई त्यहाँको अध्यारो कोठामा थुनेर राखियो । दिन हो की रात मलाई थाहा भएन, एकदमै आत्तिएको थिएँ, छोरी कति रोइन् होला ? श्रीमान् कहाँ होलान् ? अब म त पक्कै बाँच्दिनँ होला, भन्ने लाग्यो । आवाज निकाल्न पाइदैनथ्यो, आँखा भने तेतिञ्जेल खुलै थियो ।
तर मलाई त्यहाँ ल्याउनेहरुले के लगाएका थिए, उनीहरु को थिए अध्याँरोको कारण मैले चिन्न सकिन, उनीहरु पनि आपसमा बोलिरहेका थिएनन् । अन्दाजी २ घण्टापछि अर्को महिलालाई उही शैलीमा उठाएर ल्याए, त्यही अन्धकार कोठामा थुनेर राखे, उनलाई कोठामा प्रवेश गराउनु अघि मेरो आँखामा पट्टी बाँधियो । उनले सानोसानो आवाज निकालेकी थिइन, मैले आवाजमा उ को हो चिन्न सकिन ? तर केटी मान्छे हो भन्ने प्रस्टै चिने । हामीलाई आपसमा बोल्न दिइएन । उनीहरु पनि खासखुस मात्रै बोलेको सुनियो, कत्ति प्रयास गर्दा पनि बोली चिन्न सकिएन ।
केहीबेर हामीमाथि शारीरिक हिंसा भएन, सामान्य अपशब्द बोलिरहेका थिए, कुटपिट पनि गरिएको थिएन । मलाई भने ४ महिनाकी छोरीको मायाले छाति चिरीएको थियो, दुध चुसाउन नपाउदाँ यसै धारा लागेर चोली भिजिरहेको थियो । सायद मध्यरात कटेको हुँदो हो, हामीमाथि पालैपालो १५ जनाजतिले यौन शोषण गरे । मन यसै शिथिल थियो, अब शरिर पनि पुरै शिथिल भयो, अब चाँही पक्का बाँच्दिन होला, श्रीमान्लाई पनि पक्कै यिनीहरुले नै मारे होलान्, छोरीको के हालत भो होला भन्ने भयो । जीवनको सबै आशाहरु पलपल मर्दै गए ।
घण्टौँसम्म लगातार यौन शोषण गरेपछि कतिबेला छोडे थाहा भएन, होस आउँदा पनि मेरो आँखामा पट्टी यथावत नै थियो । सायद अर्को महिलाको आखाँमा पनि पट्टी हुँदोहोला । त्यो रात हामी २ महिलामाथि दर्जनौँले बलात्कार गरे, तर ज्यूँदो बाँकी राखे । ज्यान बचेकोमा भने छोरी भेट्न पाउँछु कि भन्ने आशा पलायो । उज्यालोको किरण धर्तिमा छायो होला हामीले देख्न पाएनौ । तर जीवनको उद्वार हुन्छ कि भन्ने आशाको सानो किरण फिर्दै थियो, फेरि अर्को एक महिलालाई हामी दुई जना भएकै कोठामा ल्याइयो । त्यो रात यौन शोषणको पीडा उनले पनि खेपिन् । हामी २ जनाले त अघिल्लो रातबाटै खेपिरहेका थियौँ ।
तेस्रो रात मेरो नाम लिएर उनीहरुले भने “तेरो पोइलाई कोशीको गोहीले खाइसक्यो तँ पनि यही सड्ने हो” यो सुनेर म चिच्याउन खोजेँ तर आवाज निस्केन मुखबाट । श्रीमानको हत्या गरिएको आफूमाथि यौन शोषण भएको पीडा एकातिर छ, ४ महिने छोरी स्वास्थ्यमा समस्या हुने चिन्ताले झन् सताइरह्यो । गाविस भवनमा ३ रात ३ दिनसम्म राखेर कम्तिमा १५ जनाले हामी ३ जनालाई बलात्कार गरे, चुरोट सल्काएर शरिरको विभिन्न भागहरुमा झोसिदिए, त्यो पीडाले त अझैसम्म तर्साउँछ । हामी ३ जना थियौं । अरु २ जना बैनीहरु १८ र २० वर्षका रहेछन् । त्यो कुरा पछि मात्रै थाहा भयो । उनीहरु अविवाहित थिए, म छोरीको आमा ।
पीडामा केही मल्हम पट्टी लाग्छ कि भनेर २०७० सालमा अर्को बिहे गरेँ, तर नलाग्ने रहेछ मल्हम । आफूमाथि भएको शोषणको घटना भनेको पनि छैन । अहिलेको श्रीमानसँग राम्रै हुँदा पनि माओवादीले मारेको श्रीमानकाे याद आउँछ । झन् कहिले काहीँ ठाकठुक पर्दा पनि पहिलाको सँग त यस्तो परेको थिएन भनेर झन् यादले सताउने रहेछ ।
३ दिन ३ रात बिताएपछि हामी ३ जनालाई पालैपालो फरक फरक ठाउँमा लगेर रातको समयमा छोडियो । घरमा बसेको भेटिएमा, कतै उजुरी गरेमा फेरी यही घटना दोहोर्याउने धम्की थियो । ज्यान बच्यो, तर अब कहाँ बस्ने अर्को समस्या पर्यो । द्वन्द्व चरमको बेला थियो, कसले अपहरण गर्यो राज्यपक्ष वा विद्रोही पक्ष म त अन्योलमै थिएँ, कहाँ कसलाई उजुरी गर्नु ? बच्चा देवरलाई छोडेर टाढाको नाता पर्ने दिदीको घरमा शरण लिएर २१ दिन बसेँ । ती बैनीहरु कहाँ बसे थाहा भएन । माओवादीले श्रीमान् मारेको भन्ने खबर आयो, अनि थाहा भयो, म पनि माओवादीको शिकार भएको रहेछु । शान्ति सम्झौतापछि अरु दुई जना बैनीहरु जसले मसँगै यौन शोषण भोगे, उनीहरुलाई पनि चिनेँ ।
अहिले म द्वन्द्वमा श्रीमान् मारिएका परिवारको रुपमा चिनिन्छु तर मेरो पीडा त्यतिमा मात्रै सिमित छैन । जुन कुरा मैले भन्दै हिँड्ने कुरो पनि भएन । आफ्नो यो घटनाको बारेमा पहिलो पटक तपाईंसँग भन्दैछु । आजसम्म मैले कसैलाइ भनेको थिइँन । श्रीमानकाे नामको क्षतिपुर्ति त राज्यले दियो । शान्ति सम्झौतापछि बल्ल बाँच्न अलि सजिलो भयो । तर जीवन गुजार्न समस्या भो । जग्गा जमिन नहुनेलाई बाँच्न अझै कति समस्या छ ।
पीडामा केही मल्हम पट्टी लाग्छ कि भनेर २०७० सालमा अर्को बिहे गरेँ, तर नलाग्ने रहेछ मल्हम । आफूमाथि भएको शोषणको घटना भनेको पनि छैन । अहिलेको श्रीमानसँग राम्रै हुँदा पनि माओवादीले मारेको श्रीमानकाे याद आउँछ । झन् कहिले काहीँ ठाकठुक पर्दा पनि पहिलाको सँग त यस्तो परेको थिएन भनेर झन् यादले सताउने रहेछ ।
पढ्ने उमेरमा बाआमाले नै सुम्पेको व्यक्ति थिए उनी (पहिलो श्रीमान्) । मैले अर्को विवाह गरेपछि शहीद परिवार भन्ने परिचय पनि रहेन । शहीद परिवारले पाउने केही सेवासुविधा भए पनि नपाउने भएँ । आफैँले भोगेको कुरा त कहाँ गएर भन्नू र न्याय पाउनू ! हातखुट्टा केही भाँचिएको भए द्वन्द्व पीडित भइनेरहेछ । अध्यारो कोठामा राखेर हामी महिलामाथिको शोषण त कसले देख्ने ? कहाँ गएर भनेर न्याय खोज्नू र ? मसँगै पीडा भोग्ने ती दुई बहिनीहरुले त झन् केही राहत पनि पाएनन्, न्यायको कुरा त कता गएर खोजे होला र ?
यो थियो, २०६० साल माघमा पर्सा जिल्लामा भएको घटनाको पीडित महिलासँग २०८१ चैतको दोस्रो सातामा गरिएको कुराकानीको सार । (सम्बन्धित व्यक्तिको पहिचान गोप्य राखिएको) ।
झण्डै चार घण्टाको बसाइ र कुराकानीमा उनले पटक पटक राज्यले आफूहरुमाथि परिपूरणको केही काम नगरेको बताइन् । सरकारको सुराकी मानेर माओवादीले दुःख दिएको बताउने उनले शान्ति सम्झौतापछि २०७० फागुनमा माओवादी कार्यकर्तासँगै नै विवाह गरिन् । आगोले डामेको घाउँ आगोमै सेकाउने हिम्मत गरेको हुँ, उनी भन्छिन् “राज्यले त के गर्यो खै ! पार्टीले पनि बुहारी स्वीकार्नु बाहेक मलाई र म जस्ता दिदीबहिनीको लागि केही गरेन ।” बिहेपछि उनी मकवानपुर आएकी हुन् ।
“म श्रीमान खोज्दै मनहरीको सुनाचुरी ब्यारेक पुगेँ, ब्यारेकका सेनाले फोटो मागे’ उनी भन्छिन्, ‘मसँग उहाँको एउटै तस्वीर थियो, जुन सेनालाई दिएँ । तर सेनाले श्रीमान् त होइन मसँग भएको त्यै एउटा फोटो पनि फिर्ता गरेन ।” अब मनमायासँग कृष्णको चिनोको रूपमा नागरिकतामा टाँसिएको एकथान श्यामश्वेत फोटो छ, जुन समयसँगै रङहीन भइरहेको छ ।
घटना खः
श्रीमानकाे खोजीमा मनमाया २० वर्षदेखि
पर्खाइ अर्थात् प्रतिक्षाको पल कति पीडादायी हुन्छ, मकवानपुर जिल्ला मनहरी गाउँपालिका ७ रमनटारकी ७१ वर्षीया मनमाया तामाङलाई थाहा छ । उनी २० वर्षदेखि सेनाले लगेका श्रीमान् पर्खिरहेकी छिन् । एक मनले भन्छ, अब त कहाँ बाँकी हुनुहोला र? तर अर्को मन श्रीमान छैनन् भन्ने पटक्कै मान्दैन ।
७ चैत २०६१ मा घर नजिकैबाट हराएका मनमायाका ६० वर्षीय श्रीमान् कृष्ण तामाङको अझै पत्तो छैन । यसरी उनी बेपत्ता भएको यही चैत ७ गते २० वर्ष पुग्यो । कृष्ण जीवित छन् वा छैनन् थाहा छैन तर उनी श्रीमान् पर्खिरहेकी छिन् । सरकार ! मेरो लोग्नेको लास देखाइदेउ, कि सास, उनी भन्छिन्, “मैले मेरो लोग्ने कहाँ छ भनेको २० वर्ष भइसक्यो, कोही केही बोल्दैनन् !”
कृष्ण तामाङ धादिङ गजुरीबाट ५० को दशकको अन्तिमतिर मकवानपुरको रमनटारमा बसाइँ सरेर आएका थिए । त्यहाँ वन फाँडेर टहरा बनाए । ज्यालादारी र झारफुक गरेर परिवार पाल्दै आएका थिए । देशमा गृहयुद्ध चलिरहेकै समयमा एकदिन कामले गाउँतिर निस्किएका थिए । त्यसपछि फर्किन पाएनन् ।
५ मंसिर २०६३ मा शान्ति सम्झौतापछि युद्धबिराम भयो, देशमा शान्ति आयो भनियो तर यो मनमायाको मनमा कहिल्यै शान्ति आएको छैन । गाउँकै कबुलियती वन छेउको सडकबाट कृष्णलाई सेनाको गाडीमा हालेर लगेको त्यहाँ काम गर्ने सडक विभागका कर्मचारीले आफूलाई भनेको मनमाया सम्झिन्छिन् । “म श्रीमान खोज्दै मनहरीको सुनाचुरी ब्यारेक पुगेँ, ब्यारेकका सेनाले फोटो मागे’ उनी भन्छिन्, ‘मसँग उहाँको एउटै तस्वीर थियो, जुन सेनालाई दिएँ । तर सेनाले श्रीमान् त होइन मसँग भएको त्यै एउटा फोटो पनि फिर्ता गरेन ।” अब मनमायासँग कृष्णको चिनोको रूपमा नागरिकतामा टाँसिएको एकथान श्यामश्वेत फोटो छ, जुन समयसँगै रङहीन भइरहेको छ ।
पानी चुहिने छाप्रोमा पाँच बालबच्चा सहित बस्थे उनीहरु । त्यही छाप्रोमा बच्चा छोडेर मनमाया श्रीमान्को खोजीमा चितवनदेखि हेटौंडा वर्षौँ धाइन् । श्रीमान खोज्दै हिंडेको ८ महिनापछि छिमेकीले कृष्ण चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको बताए । मनमाया कसरा पनि पुगिन्, तर त्यहाँबाट पनि न जवाफ पाइन् न त मान्छे नै ।
घटना गः
१ मंसिर २०६० सालमा पर्सा जिल्लास्थित आफ्नै घरबाट पक्राउ परेका जगन्नाथ नेपालको दुई महिनापछि माघ २ गते हत्या भयो । द्वन्द्वको समयमा पटक पटक राज्यपक्षबाट गिरफ्तारीमा परेका जगन्नाथ १ मंसिरपछि घर फर्कन पाएनन् । माओवादी युद्धमा लागेको कारण उनलाई राज्यपक्षले गिरफ्तार गरेर हत्या गरेको पार्टीको दाबी छ ।
त्यसअघि जस्तै सुरक्षाकर्मीले गिरफ्तार गरे पनि सकुशल फर्कने गरेको उनी यसपटक पनि फर्किन्छन् भन्ने आशामा थिइन् जगन्नाथको श्रीमती विष्णुमाया नेपाल) । तर आशा सत्य भएन यसपटक । श्रीमानकाे हत्यापछि उहाँको घरसहित १३ वटा घरमा आगजनी गरियो । त्यो घटनापछि पर्सा जिल्लाबाट विस्थापित भएर परिवारै मकवानपुरको हेटौडा आयो ।
अहिले ६२ वर्षकी भइन्, विष्णुमाया । उनी त्यतिबेला ११ वर्ष र १५ वर्षका २ छोराहरु लिएर पर्साको सबै भौतिक सम्पत्ति छोडेर हेटौंडा आइन् । २०५२ सालदेखि माओवादीमा लागेका जगन्नाथ, पाँच पटक जेल परे । पछिल्लो पटक जेल पर्दा कहाँ कुन जेलमा छन् विष्णुमायालाई थाहै दिइएन । दुई महिनापछि पार्टीले राज्यपक्षबाट मारेको पुष्टि गर्यो ।
शान्ति सम्झौतापछि विष्णुमाया स्थानीय शान्ति समितिमा पनि बसिन् । पीडितको परिपुरणका कुराहरु खुब भए तर काम के भए थाहै भएन उनलाई । राज्यले महिला शान्ति सुरक्षा सम्बन्धी राष्ट्रसंघ सुरक्षा परिषदको कुराहरु ल्याउछ तर कार्यान्वयन गरेकै छैन, उनको भनाइ छ । देशमा म जस्ता हजारौं महिलाहरु छन्, सबैको बिजोक मेरो जस्तै होला, जुन पार्टीको भए पनि राज्यपक्ष वा विद्रोही पक्ष जेजे भए पनि समस्या सम्बोधन गर्नुपर्ने हो किन गरिँदैन ?” उनको प्रश्न छ । “शान्ति सम्झौतापछि मार्लान् कि भन्नुपरेन तर जीवन गुजार्न अझै समस्या छ, “राज्यले यसबारे गहिरो गरी समाधान खोजोस् ।”
विशेष गरी यौन शोषणको हकमा राज्यले चासो नै दिएको छैन, यौन शोषणलाई अपाङता नै मान्दैन, उसको पीडा झन् धेरै छ, झनै संवेदनशील छ, तर कुनै वर्गमा नै छैन । सुवेदीका अनुसार द्वन्द्वको समयमा घाइते भएका ५० जना हाल संघमा आवद्ध छन् । यौनहिंसा पीडितको हकअधिकारका लागि पनि संघले पनि केही गर्न सकेको छैन ।
शान्तिकालपछिको अशान्त मन
पढ्ने बेलामा युद्धमा हिँडेका महिलाहरु अहिलेको संरचना र समयमा फीट हुन समस्या छ । “पूर्व लडाकु होस् वा कुनै पनि घटनाका पीडितहरु शैक्षिक रुपमा पछाडि छन्, अहिलेको राज्य व्यवस्थाले विधागत विज्ञ जनशक्ति खोजि गर्छ अनि पीडितहरुको माग सम्बोधन हुन सक्दैन” जनक्रान्तिका घाइते अपाङ योद्धा संघको केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला अध्यक्ष कृष्ण सुवेदी भन्छन् “जो जो आर्मीमा गए, उनीहरुको एक प्रकारको व्यवस्थापन भयो, तर जो जो अयोग्य भए वा स्वेच्छिक अवकाश रोजे उनीहरुको जीवन निर्वाहमै समस्या छ, नाजुक छ ।” हात खुट्टा नभएकाहरुको बाँच्ने आधार निर्माण गर्न राज्यको ध्यान केन्द्रीत नभएको सुवेदीको गुनासो छ । “पार्टी वा संघसंस्थाले हेर्ने आफ्नो ठाउँमा छ, तर राज्यले ध्यान दिएको छैन” उनले भने ‘राज्य आफ्नो दायित्वबाट पन्छिएको छ ।’
विशेष गरी यौन शोषणको हकमा राज्यले चासो नै दिएको छैन, यौन शोषणलाई अपाङता नै मान्दैन, उसको पीडा झन् धेरै छ, झनै संवेदनशील छ, तर कुनै वर्गमा नै छैन । सुवेदीका अनुसार द्वन्द्वको समयमा घाइते भएका ५० जना हाल संघमा आवद्ध छन् । यौनहिंसा पीडितको हकअधिकारका लागि पनि संघले पनि केही गर्न सकेको छैन । “व्यक्तिगत सवाल भएकोले होला, संघमा यसबारे गुनासा, दाबि तथा उजुरी केही आएका छैनन” सुवेदीले भने “देखिने प्रकारको क्षतिको परिपुरणको लागि जस्तो यौन शोषणको सवाल सम्बोधन गर्न कठिन छ ।” यौन शोषणको सवाल सबैभन्दा पहिले सम्बोधन हुनु पर्ने सवाल हो भन्नेमा आफ्नो पनि मत रहेको उनले सुनाए ।
द्वन्द्वकालको समयलाई पत्रकारितामार्फत् प्रत्यक्ष रुपमा नियाल्दै आउनु भएको वरिष्ठ पत्रकार प्रताप विष्ट पनि द्वन्द्वको समयमा भएको घटनाहरुको पीडितलाई छुट्टै कोष बनाएर सम्बोधनको प्रयास नभएको बताउँछन् । “आफैं युद्धमा होमिएकाहरु केही राजनीतिमा सक्रिय छन्, पदमा पनि पुगेका छन्, तर परिवारको सदस्य गुमाएकाहरुको मनोबल उच्च बनाउने, पीडा भुलाउने काम भने भएको छैन” पत्रकार विष्टले भने “आफन्त गुमेको पीडालाई भुलाउने मनोपरार्शको पाटोमा काम भएको छैन, जसले गर्दा पीडितहरुलाई विगतले तर्साइरहेको छ ।” अझ त्यो समयमा यौनहिंसामा परेका महिलाहरुले त घटना लुकाउनु परेका कारण त्यो बेलाको दुखाइ बल्झिदा परिवारकै अगाडि ऐयाअत्था समेत भन्न पाउँदैनन् । स्वास्थ्य उपचार, मनोपरामर्श तथा न्यायको कुरा त झन् कता हो कता ?
अधुरा उपलब्धी अझै अधुरै
सरकारले द्वन्द्वकालका महिलामाथि भएका हिंसा, यातना तथा यौनहिंसा जस्ता घटनाका पीडितको न्यायका लागि केही प्रयास गरेको देखिए पनि प्रभावकारी कार्यन्वयन नगरिँदा पीडितहरु पीडामै छन् ।
विश्व राजनीति तथा सशस्त्र संघर्षमा महिलाले द्वन्द्वको समय र त्यस पश्चातको संक्रमणकालीन अवस्थामा विशेष गरी महिला र बालिका विभिन्न प्रकारका हिंसा, विभेद र जोखिममा पर्ने गरेको हुदाँ सो को सम्बोधन गर्न तथा शान्ति निर्माणको प्रक्रियामा उनीहरूको सहभागिताको प्रर्वद्धन गर्न संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्बाट ३१ अक्टोवर, सन् २००० मा प्रस्ताव नं १३२५ पारित गरिएको थियो ।
साथै द्वन्द्व र त्यस पश्चातको संक्रमणकालीन अवस्थामा लैङ्गिक तथा यौनजन्य हिंसाका घटनाहरूबाट प्रभावित महिला र बालिकाहरूको सुरक्षा र पीडितहरूको विशेष आवश्यकतालाई सम्बोधन गर्न संयुक्त राष्ट्रसंघ, सुरक्षा परिषद्बाट १९ जुन, २००८ मा प्रस्ताव नं १८२० पारित भएको थियो ।
यो प्रस्तावले विशेष गरी द्वन्द्वको समयमा महिला र बालबालिका माथि हुने यौनजन्य हिंसालाई रोकथाम गर्न, यौनजन्य हिंसामा शून्य सहनशिलता लागू गर्न र आम नागरिकहरूलाई यौन हिंसामा पर्न नदिन आवश्यक उपायहरू अपनाउने जस्ता विषयहरूमा जोड दिएको छ ।
नेपालको सन्दर्भमा पनि मुलुकको अग्रगामी लोकतान्त्रिक परिवर्तनका लागि भएका सबै जनआन्दोलन तथा सशस्त्र संघर्षमा महिलाले निर्वाह गरेका भूमिका महत्वपूर्ण हुँदाहुँदै पनि द्वन्द्वको समय र तत् पश्चातको संक्रमणकालीन अवस्थामा विशेष गरी महिला र बालबालिका विभिन्न प्रकारका हिंसा, विभेद र जोखिममा परेका छन् जसको अझै परिपूरण हुन सकेको छैन ।
सरकारले संयुक्त राष्ट्रसंघ, सुरक्षा परिषद्बाट पारित प्रस्ताव नं १३२५ र १८२० राष्ट्रिय कार्ययोजना (२०६७।६८– २०७१।२०७२) को पहिलो कार्ययोजना ल्यायो र केही काम पनि सुरु भए ।
पहिलो कार्ययोजनाको अधुरा उपलब्धीहरुलाई पुरा गर्न दोस्रो काययोजना कार्यान्वय कार्यविधि बनाइएको हो तर यसको पनि समय सिमा सकिँदासम्म कार्यान्वय पाटो साह्रै कमजोर देखिएको सरोकारवालाहरु बताउँछन् । दोस्रो कार्ययोजनामा खास गरी ४ वटा पाटो समावेश छन् । सहभागिता, सुरक्षा र रोकथाम, राहत तथा परिपूरण र क्षमता विकास, स्रोत व्यवस्थापन, अनुगमन तथा मूल्याड्ढन । यि ४ वटौ पाटो साह्रै कमजोर रहेको पत्रकार विष्ट बताउँछन् ।
आव २०७९।८० देखि आव २०८१।८२ सम्मका लागि दोस्रो राष्ट्रिय कार्ययोजना निर्माण गरी लागू गरिएको छ । नेपाल सरकार, गृह मन्त्रालयले “कार्ययोजनामा उल्लिखित विषयलाई सरकारको नीति तथा कार्यक्रममा आन्तरिकीकरण गरी क्रमशः कार्यान्वयन गरिनेछ” भनेको छ । तर २०८१ सकिनै लाग्दासम्म पनि यसको कार्यान्वयन पूर्ण रुपमा छैन ।
दोस्रो राष्ट्रिय कार्ययोजनाले नीति निर्माण, शान्ति स्थापना तथा विकास प्रक्रियामा महिलाको समतामूलक, समानुपातिक, समावेशी र अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने, महिला तथा बालिकामाथि हुने शारीरिक, मानसिक तथा यौनजन्य हिंसाबाट सुरक्षाको प्रत्याभूति गर्ने साथै त्यस्तो हिंसा हुन नदिन रोकथामका प्रभावकारी उपाय अवलम्बन गर्ने उद्देश्य राखेको थियो ।
द्वन्द्वकालमा हिंसाबाट पीडित महिला तथा बालिकाको राहत तथा परिपूरणको व्यवस्था गर्ने, राष्ट्रिय कार्ययोजना कार्यान्वयन गर्नका लागि सरोकारवाला निकायको क्षमता अभिवृद्धि गर्ने र आवश्यक स्रोत र साधन सुनिश्चित गरी अनुगमन तथा मूल्याङ्कन कार्यलाई प्रभावकारी बनाउने लक्ष्य राखेकोमा यौनशोषणको सवालमा सम्बोधन गर्नुपर्ने सवालका कामहरु अधुरा रहेको हिमराइट्स मकवानपुर प्रमुख कुमारी वाइबा बताउँछिन् ।
बाहिर भन्न समेत नसकिने यौनहिंसा पीडित महिलाहरुको न्यायलाई सम्बोधन गर्ने दोस्रो राष्ट्रिय कार्ययोजना कार्यान्वयन नै नभई समय सकिन लाग्यो । यसरी द्वन्द्वको समयमा यौनहिंसा भएका पीडित महिलाले न्याय र परिपुरणका लागि पर्खेर बस्नुपर्ने न्यायोचित नभएको हिमराइट्स मकवानपुर प्रमुख वाइबाले बताइन् ।
कार्ययोजनाको निर्देशक समेत रहेको बागमती प्रदेशको आन्तरीक मामिला तथा कानून मन्त्री सुरजचन्द्र लामिछाने कार्ययोजना कार्यान्वयको लागि प्रदेश सरकार लागिपरेको बताउँछन् । “हामीले प्रदेश स्तरीय समिति गठन गरेका छौ, चालु आर्थिक वर्षमा धेरै कम बजेट भएकोले देखिने गरी काम गर्न सकिएन” मन्त्री लामिछानेले भने “२०८२ मा यो कार्ययोजना कार्यान्वय अवधि सकिन्छ, तर केही महिना थप गरिन्छ भन्ने मैले बुझेको छु, अबको समयमा चाँही पहिलो र उच्च प्राथमिकतामा यो सवाललाई राख्ने प्रयत्न गर्नेछु ।”
मकवानपुर । संयुक्त राष्ट्र संघीय महिला महासन्धि समितिले नेपालकाे लागि जारि गरेकाे निष्कर्षमाथी टिप्पणी र याैन श्रममा संलग्न व्यक्तिहरुकाे अधिकारकाे सम्बन्धमा छलफल कार्यक्रम भएकाे छ ।
कार्यक्रम महिला कानून र विकासले गरेको हो । मन्चका निर्देशक सविन श्रेष्ठले स्वेच्छिक याैन पेशामा संलग्न व्यक्तिसंग सम्बन्धित कानुनी व्यवस्थाहरुकाे विश्लेषण तथा सुझाव सहितकाे कार्यपत्र प्रस्तुत गरेका थिए । जस्मा स्वेच्छिक याैन पेशालाई निरपराधिक कार्य मान्नु पर्ने, नेपालकाे संविधानले समेत जुनसुकै पेशा अंगाल्न माैलिक हककाे व्यवस्था गरेकाे र नेपालले संयुक्त राष्ट्र संघका २२ वटा मानवअधिकारसँग सम्बन्धित महासन्धिहरू त्या अन्तर्राष्ट्रिय श्रम संगठनका ११ वटा महासन्धिहरू अनुमोदन गरेको बताए।
नेपाल सन्धि ऐन, २०४७ अनुसार नेपालले अनुमोदन गरेको कुनै पनि महासन्धि नेपाल कानुन सरह लागू हुने र नेपाल पक्ष भएको महासन्धिसँग बाझिने नेपाली कानुन बाझिएको हदसम्म अमान्य हुने व्यवस्था गरेको छ । मानव बेचविखन र याैन श्रम फरक फरक विषय हाे, मुलकी अपराध संहिता, २०७४ मा कसैले वेश्यागमनकाे लागि प्रचार प्रसार गर्न नहुने तेस्ताे गरेमा तीन वर्ष कैद ३० हजार रुपैयासम्म जरिवानाकाे व्यवस्था रहेकाे श्रेष्ठले बताए ।
सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ मा याैन पेशामा संलग्न रहेकाे कारणले गर्दा व्यक्तिलाइ सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकारबाट वन्चित गर्न नमिल्ने व्यवस्था रहेकाे उनले बताए ।
जबरजस्ती करणी महलको १ नं. ले जबरजस्ती करणीको अपराधको परिभाषा गरेको र सोही महलको ३ नं. तथा ७ नं. ले सो अपराध गरेमा अपराधीले पाउने सजायको व्यवस्था गरेको छ । सो महलको ७ नं. अनुसार वेश्या स्वास्नीमानिसलाई उसको राजीखुशी विना बेमन्जुरीले जुनसुकै तरहसँग भए पनि जोरजुलुम गरी करणी गरेमा पाँच सय रुपैयाँसम्म जरिवाना वा एक वर्षसम्म कैद हुने र वेश्या बाहेकका अन्य महिलालाई जबरजस्ती करणी गरेको अवस्थामा भने सोही महलकै ३ नं अनुसार अपराधीलाई चौध वर्षमुनिको स्वास्नीमानिस भए छ वर्षदेखि दशवर्षसम्म र चौध वर्ष वा सो भन्दा माथिको स्वास्नीमानिस भए तीन वर्षदेखि पाँच वर्षसम्म कैद हुने प्रावधान रहेको छ ।
यसरी महिलाको अवस्थाअनुसार अपराधीलाई फरक फरक सजाय हुने अवस्था कानूनले गरेको देखिन्छ । एउटै अपराधमा आरोपित व्यक्तिलाई पीडितको व्यक्तित्व, पेशा, सामाजिक स्थिति वा कानूनी स्थितिको आधरमा फरक सजाय गर्न नमिल्ने उनले बताए । “कुनै पनि व्यक्तिमाथि अपराध भएको भए पनि अपराध एकै हो” उनको भने ।
संविधानको भावना र मर्म विपरित लागू भइरहेका कानूनी प्रावधान संविधानको धारा १३१ अनुसार संविधान प्रारम्भ भएको एक वर्षपछि बाझिएको हदसम्म स्वतः निस्क्रिय हुन्छन् । तापनि यो प्रावधान हालसम्म लागू भइरहेको हुनाले उक्त प्रावधानलाई सर्वोच्च अदालतको घोषणात्मक निर्णयको माध्यमद्वारा अमान्य र निस्क्रिय घोषणा गरीपाउ भन्ने समेत व्यहोराको रिट निवेदन दिनसकिने व्यवस्थापन छ ।
जबरजस्ती करणीको मूलतत्व जबरजस्ती डरधाक, धम्की र बल प्रयोग हो । जुनसुकै महिला उपर हुने जबरजस्ती करणीमा अपराधीको अपराधिक मनसाय र अपराधिक कार्य समान प्रकारको हुन्छ । समान प्रकारको कसूर गर्ने अपराधीलाई पीडितको चरित्र र पेशालाई आधार मानी कम र बढी सजाय गर्ने कानूनी व्यवस्थालाई संविधान एवं महिला तथा मानवअधिकार सम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय सन्धि महासन्धिहरूको भावना तथा न्यायका मान्य सिद्धान्तहरू समेतले भेदभावपूर्ण हुन्छ ।
तसर्थ मुलुकी ऐन जबरजस्ती करणीको ७ नं. को व्यवस्था महिला महिलाहरूबीच नै भेदभावकारी एवं असमान भएको हुँदा नेपाल अधिराज्यको संविधानको धारा १ को विपरित भई धारा ८८(१) बमोजिम अमान्य र बदर घोषित हुने ठहर्छ ।
कार्यक्रममा अधिवक्ता सागर पाठकले “नेपालमा याैन श्रम छाेड्न चाहनेकाे लागि संघीय, प्रादेशिक तथा स्थानीय तहमा कुनै पनि बैकल्पिक कार्ययाेजनाहरु नरहेको बताए ।
यौन पेशामा संलग्न व्यक्तिहरूको अधिकारहरू उचित रूपमा सुनिश्चित गर्न राज्य जवाफदेही हुनुपर्ने र यौन पेशामा आवद्धहरूलाई सामाजिक, राजनैतिक, नागरिक, आर्थिक र कानुनी अधिकारलाई पहुंच योग्य बनाउनु पर्ने पाठकले बताए ।
यौन पेशामा संलग्न रहेका महिलाहरूको अनुगमन र उनीहरूको शोषणबाट कानूनी सुरक्षा सुनिश्चित गर्ने एक बृहत नीति, कानूनी र नियमनकारी संरचना निर्माण गर्नुपर्ने उनले बताए । “यौन पेशामा संलग्न भएकै कारणले उनीहरूलाई अभियोजन नगरिने सुनिश्चितता हुनुपर्दछ” उनले भने ।
कार्यक्रममा महिला कानुन र विकास मन्च मकवानपुर संयाेजक अधिबक्ता ललिता श्रेष्ठले स्वेच्छिक याैन पेशालाई कानुनले पनि नराेकेकाे बताइन् । “याैन आवश्यकता पनि मानविय आवश्यकता हाे तर, हाम्राे समाजमा याैन श्रमिकलाई असभ्य रुपमा हेर्ने गरिएको छ” श्रेष्ठले भनिन् ।
याैन श्रमिक कहाँ सेवा लिन जाने पुरुष चाहिँ उच्च ओहाेदामा हुने तर याैन श्रमलाई भने अपराधिकरण मान्ने प्रवृत्ति रहेकाे बताउंदै श्रेष्ठले याैन श्रमकाे वैकल्पिक क्षेत्रकाे व्यवस्थापन गर्नुपर्ने बताइन् । कार्यक्रममा सम्बन्धित क्षेत्रका सरोकारवालाहरू, नागरिक समाजको उपस्थिति रहेको थियो ।