आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन । आजको दिनलाई मातृसम्मान दिवस र मातृस्मृति दिवस भनेर पनि भनिन्छ ।
यसपालीको आमा सम्झिने औँसीमा धेरै नारीहरूलाई आमा बन्ने सौभाग्य प्राप्त भएको छ । कोही गर्भिणी भएर आमा बन्ने तरखरमा छन् । केहीलाई नातिनातिना जन्मेर पुस्ता बढेको गर्व भएको छ । त्यस्तै केहीलाई अनपेक्षितरूपमा मातृशोकको सामना गर्नुपरेको छ । फेरि कसैलाई भने आफू आमा भनेर गौरव गर्ने कुरा ( सन्तान ) को शोकको सामना पनि गर्नु परेको छ ।
जीवित आमाहरूलाई भेटेर आशिर्वाद लिएर दुःखसुखबारे विचार विमर्श गरी आमाको सहजताबारे विचार गरिन्छ भने कीर्तिशेष भैसकेका आमाहरूलाई सम्झना गरेर उहाँको स्मृति गरी आआफ्नो तर्फबाट सक्दो रूपमा मनसा वाचा कर्मणा सम्झिने कर्म गरिन्छ ।
आआफ्नो ल्याकत र योग्यता अनुसार हरेक व्यक्तिको आमालाई सम्झिने विभिन्न तरीका र दृष्टिकोण रहेका छन् जुन कुरा हामीले सामाजिक सञ्जालका विविध पक्षहरूमा देख्न सक्छौँ ।
आमालाई देवीको रूपमा वर्णन गरिएको कुरा दुर्गासप्तशतीको पाँचौँ अध्यायमा भएको …
या देवी सर्वभूतेषु मातृरूपेण संस्थिता ।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः ॥
श्लोकले प्रष्ट पारेकै छ । त्यसैगरी मनुस्मृतिमा पनि…..
उपाध्यायान् दशाचार्यः आचार्याणां शतं पिता ।
सहस्रं तु पितॄन् माता गौरवेणातिरिच्यते ॥
श्लोकका माध्यमले माताको महिमा पिताभन्दा हजार गुना ठूलो छ भन्ने कुरा बताइएको छ ।आमामा भएको ममत्व, वात्सल्य, शिशुमा स्तनपान गराउनसक्ने सामर्थ्य, सजिलैसित भाव बुझ्नसक्ने सामर्थ्य, तह लगाउन सक्ने सामर्थ्य, हाँसीहासी विना कुनै रोष सन्तानलाई हात लिन सक्ने सामर्थ्य आदि इत्यादि कुराले मातृमहिमा बखान धेरै गरिएको पाइन्छ ।
यसो भन्दैमा पिताको महिमा कम छ भन्न खोजेको कदापि हैन । पिताको साथ र सम्बन्धले नै माता माता बन्न योग्य हुन्छिन् त्यसमाथि पनि नौ महिनासम्मको गर्भावस्था, स्तनपान, पालनपोषण इत्यादि कुराले माताको महत्ता बढी भएको कुरा हामी स्वतः पनि अनुमान लगाउन सक्दछौँ ।
चाणक्यनीतिमा चाणक्यले….
राजपत्नी गुरोः पत्नी मित्रपत्नी तथैव च ।
पत्नीमाता स्वमाता च पञ्चैता मातरः स्मृताः ॥
श्लोकमार्फत् रानी, गुरुआमा, साथीकी श्रीमती, सासू र आफ्नी आमा समेत गरी पाँच आमा हुन्छन् । आफ्नी आमा र सासू आमालाई जस्तै राजमाता/रानी, गुरुआमा साथै मित्रकी पत्नीलाई पनि आमासमान व्यवहार गर्नुपर्ने कुरा भनेका छन् । शिशुको स्याहार सम्भार गर्ने हुनाले धाईआमा लाई पनि आमाको रूपमा आदर गर्नुपर्ने कुरा पनि छन् ।
त्यस्तै ब्रह्मवैवर्त्य पुराणमा
गुरुपत्नी राजपत्नी देवपत्नी तथा वधु: ।
पित्रो: श्वसा शिष्यपत्नी भृत्यपत्नी च मातुली ॥
पितृपत्नी भ्रातृपत्नी श्वशृश्च भगिनी सुता ।
गर्भधात्रीष्टदेवी च पुंसः षोडश मातरः ॥
गुरुपत्नी, राजपत्नी, देवपत्नी, पुत्रवधु, आमाकै दिदीबहिनी, पिता की दिदीबहिनी, शिष्यपत्नी, भृत्य पत्नी ( काम गर्न सघाउनेकी पत्नी ) , माइजु , पिता की पत्नी ( आफ्नी आमा, सौतेनीआमा), दाजुभाइका श्रीमती (भाउजु, बुहारी ), सासू , दिदी-बहिनी, छोरी , आफूलाई गर्भमा धारण गर्ने ( जन्मदिने आमा, आफ्नो कोखमा राखेर जन्माउने आमा ) तथा इष्टदेवी यी सोह्र थरी नारीहरूलाई हरेक व्यक्तिले आमाको रूपमा मनन गर्नुपर्ने कुरा बताइएको छ ।
त्यस्तै, सन्तान जतिसुकै नीच वा पतित भएपनि आमाहरू कहिले पनि कुमतिका हुँदैनन् भन्ने कुरा “देव्यापराधक्षमापनस्तोत्रम्” को “कुपुत्रो जायेत क्वचिदपि कुमाता न भवति ।” श्लोकको अंशले पनि प्रष्ट पारेको छ ।
आमा सबैभन्दा महत्वपूर्ण यसकारण हुनुहुन्छ कि आमालाई सन्तानले आमा भनेर बोलाउँदा जस्तोसुकै दुःख सुख, गाह्रो साँघुरो जेजस्तो परोस् सन्तानको खुसीका निमित्त जता पनि पुग्नुहुन्छ । आ…. होस् भन्नुहुन्न्न । आँ गर्दा अलङ्कार बुझ्नुहुन्छ । सन्तानको परिस्थिति बुझेर आफ्नो भाव व्यक्त गर्नुहुन्छ । सानोतिनो कुराहरूलाई हाँसेरै आ…. भनेर पचाइदिनुहुन्छ ।
सन्तान नजिक होस् या टाढा, जता भए पनि, तिनले कथंकदाचित् बेफुर्सदीमा कुरा गर्न नभ्याए पनि सञ्चो भएन कि भनेर बोली नसुनुञ्जेल अधैर्य रहने र आमा वा मम्मी जुनै सम्बोधन होस्…सुनेर तृप्त हुने महान् व्यक्ति हुनुहुन्छ । आमाको महिमा यसै भनेर कसैले भन्न सकेको छैन । मातृमहिमा अपरिमित छ ।
आफ्नो जन्मभूमि/देश/ राष्ट्रलाई पनि आमासरह मानिएको छ । त्यसैले त हामी नेपाल आमा भनेर गर्वले आफ्नो राष्ट्रको सम्मान गर्दछौँ । यसै कुरामा लक्षित रामायणमा रामले लक्ष्मणलाई भनेको श्लोक समाजमा व्यापकरूपमा चर्चित छ….
अपि स्वर्णमयी लङ्का न मे लक्ष्मण रोचते ।
जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसि ॥
आफ्नो आमासमान देश र आमाका बारेमा विभिन्न साहित्यकारहरूका कृति पनि निस्केका छन् । प्रा.डा. विष्णुराज आत्रेयको राष्ट्रप्रति लक्षित “धन्यो हिमवद्देशः ( संस्कृत भाषामा रचित राष्ट्रिय गीतिकाव्य), जन्मभूमिप्रति लक्षित “कपिलवस्तु” खण्डकाव्य नेपालीमा, सिङ्गीघाट ( अवधि भाषामा रचित जन्मजिल्ला एवं अञ्चलभित्रको प्रसिद्ध स्थानबारे महाकाव्य) जन्मदातृ आमाको महिमागानमा वर्णित “मातृमहिमा” खण्डकाव्य निस्केको छ ।
एकै व्यक्तिले संस्कृत, नेपाली र अवधि गरी तीन भाषामा काव्यको रचना गरेर राष्ट्र, जन्मेको ठाउँ र जन्मदिने आमाको नाममा पुस्तक (काव्य) निकाल्ने प्रा. डा. विष्णुराज आत्रेय लाटोसाथी नेपालकै पहिलो व्यक्ति हुनुभयो । नेपालको साहित्यिक क्षेत्रमा पहिलो स्थानमा र एक सफल उदाहरणीय व्यक्तित्वको रूपमा आफूलाई उभ्याउन सफल बनेर नेपाली साहित्य भण्डारको ओज बढाउन सहयोग गरेको छ ।
त्यस्तै साहित्यकार उपमा आचार्यले “मातृ वन्दना” र डा. ज्ञाननिष्ठ ज्ञवालीले “आमा” खण्डकाव्य निकाल्नुभएको छ । कवि गोपालप्रसाद रिमालको आमा कविताको महत्तोबारे सबैलाई सर्वविदितै छ । त्यस्तै प्रा.डा. अलका आत्रेयको आमामा समर्पित शार्दूलविक्रीडित छन्दको कविता “मौनव्रती वृक्ष र आमा” कोकिल स्वरकी छन्द गायिका सरु गुरागाईँको स्वरमा युट्युबमा प्रसारित सर्वाधिक चर्चित कविता एवं कवि प्रभा भट्टराई आचार्यको “आमा” कविताले साहित्यिक सञ्जाल तताएको कुरा प्रायः सबै साहित्यप्रेमीहरूलाई सर्वविदितै छ ।
त्यस्तै हालसालै छन्ददिवसका दिन कवि कल्पना भट्टराई अधिकारीद्वारा आमालाई समर्पित “आमा” खण्डकाव्य विमोचित भएको छ । हुनत, नेपाली साहित्यमा विभिन्न प्रसिद्ध ख्यातिप्राप्त सिद्धहस्त कविहरूले आमा र राष्ट्रका नाममा विभिन्न कविताहरू लेख्नुभएको छ । मैले यहाँ दृष्टान्तको रूपमा भन्नैपर्ने र मैले चिनेका र सुनेका कविहरूको नाममात्र व्यक्त गरेकी हूँ ।
साधारणतया कुनै पनि सन्तान वा कुनै पनि माता-पिता खराब हुँदैनन् । कताकति अपवादका रूपमा समय र परिस्थितिले कसैलाई कुसन्तान र कुमाता भनेर भनिएपनि कोख र दशधाराको महत्ताले जुनै आमा पनि सम्मानयोग्य छिन् भन्ने कुरा हामी सबैले स्वीकार्दै आएका छौँ । अहिलेको समय र परिस्थितिले कतिपय आमाहरूलाई आमाबुवाहरूलाई सन्तानबाट टाढिइनु परेको छ । कतिपयलाई बाध्यतावश वृद्धाश्रममा आश्रममा पनि बस्नुपरेको छ । यस्तो अवस्था सकेसम्म कसैलाई पनि नपरोस् । सकेसम्म हामी सबैले सक्दोरूपमा आफ्ना आमाबुवाहरूलाई यथोचित मानसम्मान र सत्कार गर्न सकौँ । हामी कसैका कारण हाम्री आमा र नेपाल आमाको आँखाबाट आँसु नझरोस्, झरे पनि खुसीको आँसु झरोस् ।
आज आमाको मुख हेर्ने दिनमा मात्र मातृसम्मान गर्ने कुरा सीमित नहोस् । जीवित छउञ्जेल हरेक सन्तानले आफ्ना आमाहरूलाई राम्रो सम्मान दिन सकौँ र दिवङ्गत भएपछि पनि स्मृतिमा गर्नुपर्ने कुराहरूको पालना गरी आफूलाई सुपुत्र र सुपुत्रीको रूपमा व्यक्त गर्न सफल बन्न सकौँ । नेपाल आमाको हितमा हुने कार्य गरी देशका सच्चा नागरिक बन्न सकौँ भन्दै सम्पूर्ण आमाहरूमा हार्दिक नमन गर्दै मेरो भर्खरै प्रकाशित “लाटोसाथी” स्मृतिकाव्यभित्रको अनुष्टुप् छन्दको चार लाइन कविता यहाँ प्रस्तुत गर्दै कलम बिसाउँछु…..
साक्षात् ईश्वर हुन् बाबु आमा मेरी महेश्वरी ।
छैन समर्थ मै गन्न महिमा के कसो भनी ॥
भक्तिले प्रेमले बात गरून् सन्तति श्वासमा ।
गर्वले कर्मले काम गरून् अन्तिम कर्ममा ॥
सदैव वन्दनीय र पूजनीय माता-महतारीहरूमा हार्दिक प्रणाम ।
‘मौनव्रती वृक्ष र आमा’ डा. अलका आत्रेय छन्द : शार्दूलबिक्रीडित वाचन : सरू गुरागाईँ
बुटवल, हाल कम्बोडिया

