मकवानपुर । मकवानपुरको हेटौंडामा बसको ठक्करबाट एक जनाको मृत्युको छ । आइतबार राती पूर्व पश्चिम राजमार्ग अन्तरगत हेटौंडा उपमहानगरपालिका – ९ एचआईडी स्थित सडक खण्डमा बसको ठक्करबाट १ जनाको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।
पोखराबाट उदयपुर कटारीतर्फ जाँदै गरेको ना ७ ख ११०१ नम्बरको बसले पैदल यात्री पर्सा सखुवा पर्सौनी गाउँपालिका – ३ कटैया बस्ने ३६ वर्षीय परबेज अन्सारी ठक्कर दिदा घाइते भएका थिए । उनलाई उपचारको लागि हेटौडा अस्पताल ल्याइएकोमा उपचारको क्रममा सोमबार बिहान डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
बारा प्रहरीसंगको समन्वयमा आइतबार बिहान अम्लेखगंजबाट अन्सारीलाई ठक्कर दिने बसका चालक उदयपुर कटारी – २ बस्ने ३९ वर्षीय युवराज माझीलाई बस सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याईएको छ ।
मृतक अन्सारी ना ५ ख ८६६८ नम्बरको ट्रक धनी रहेको प्रहरीले जनाएको छ । उक्त ट्रक दुर्घटना भएको क्षेत्रमा बिग्रिएर मर्मतको लागि मिस्त्री बोलाई ट्रक मर्मत गरी मिस्त्री र सामान पुर्याउन पैदल जाने क्रममा बसको ठक्करबाट अन्सारीको मृत्यु भएको खुल्न आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्यामु अर्यालले जानकारी दिए ।

