मकवानपुर । मानव बेचबिखन तथा ओसारपसार विरुद्ध यातायत व्यवसायि तथा होटल व्यवसायीसँग अन्तरक्रिया कायक्रम हेटौडामा गरिएको छ ।
माइती नेपाल मकवानपुरको आयोजनामा सो कार्यक्रम गरिएको हो ।
कार्यक्रममा माइती नेपाल मकवानपुर कार्यक्रम संयोजक माया तामाङले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणको सवालमा विद्यमान अवस्था बारे प्रशिक्षण दिनु भएको थियो ।
समय र प्रविधिको परिवर्तन भए पनि बेचविखनको अवस्था अझै पनि डरलाग्दो भएको तामाङले बताउनु भयो । अहिले पनि यौन व्यवसाय, घरेलु कामदार, श्रम शोषण, उत्तेजक नाच, होटल रेष्टुरेन्ट, मसाज पार्लर सर्कश मानव अंग खरिद विक्रिको लागि बेच विखन हुने गरेकोले सबै सरोकारवालाहरु एक जुट भएर मात्रै नियमन संभव भएको उनले बताइन् ।
बेचविखनमा परेकाहरुलाई उद्धारको क्रममा अझै पनि धेरै हण्डर खेप्नु परेको उहाँले बताउनु भयो । कोठीमा पीडितलाई भेट्न उद्दारकर्मी पटक पटक जानु पर्ने हुँदा खर्च धेरै लाग्ने, उद्दारकर्मीको पहिचान भएमा उदारकर्मीको ज्यानको जोखिम हुने, उद्दार गर्न लागेको कुरा समन्वय सहकार्य गर्नेबाट चुहावट हुन सक्ने र उद्दार गर्न जाँदा पीडितलाई अन्यत्र सार्न सक्ने, घटना घटेको देशमा झन्झटिलो कानुनी प्रकृया हुने, संरक्षण गृहमा पीडितलाई मनोसामाजिक परामर्शको अभाव हुने जस्ता समस्याले उद्धारमै कठिन हुने गरेको उहाँको भनाइ थियो ।
कार्यक्रममा सामुदायिक सेवा प्रहरी प्रमुख प्रदीप कंडेल, हेटौडा १० वडा सदस्य गोमा सुनार विभिन्न सामाजिक संस्थाहरुको प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो । माइती नेपालले आफ्नो वार्षिक कार्यक्रम अन्तरगत यस्ता सचेतनामूलक तालिक तथा विभिन्न गतिविधिहरु गर्दै आएको छ ।

