मकवानपुर / स्थानीय तहको निर्वाचन अब ४१ दिन मात्रै बाँकी छ । आगामी ३० वैशाखमा हुने निर्वाचनको लागि मकवानपुरलगायत देशै भर सत्तारुढ ५ दलीय गठबन्धन भएको समाचार बाहिरीएसँगै अर्को चिन्ताको विषय पनि चर्चामा आएको छ । त्यो हो महिला नेतृत्वको ।
राजनीतिमा महिला नेतृत्वलाई कानुनले अनिवार्य गरेको भएपनि गठबन्धनको कारण यो व्यवहारमा नदेखिने पक्का जस्तै भएको छ । यसअघि सबैजसो पार्टीले वडास्तरदेखि नै स्थानीय तहको प्रमुख उपप्रमुख पदसम्म नेतृत्व लगभग फाइनल गरेका थिए । तर तोकिएको मितिको निर्वाचनको लागी ४२ दिन बाँकी हुदा जुटेको गठबन्धनले महिला पछाडि पारीने देखिएको छ ।
निर्वाचनमा सत्ता गठबन्धन दलहरुले तालमेल गरेर जाने निर्णय भएसँगै यसको असर स्थानीय पालिकामा महिलाहरुको प्रतिनिधित्वमा पर्ने महिला अधिकारकर्मीहरुले आशंका गर्न थालेका छन् ।
दलहरुले छुट्टा–छुट्टै निर्वाचनमा जाँदा स्थानीय तह प्रमुख वा उपप्रमुखमध्ये एक पदमा अनिवार्य रुपमा महिला उम्मेदवार बनाउनुपर्ने हुन्छ। तर, गठबन्धन गर्दा उक्त व्यवस्था अनिवार्य छैन । यो अनिवार्यताको व्यवस्था आकर्षित नहुने भएकाले फरक–फरक दलबाट दुबै पदमा पुरुष नै उम्मेदवार बन्ने र जित्ने सम्भावना बढी देखिन्छ।
नेपाली कांग्रेस मकवानपुर जिल्ला सहसचिव इन्दीरा न्यौपानलेले गठबन्धनको बैठक सकिएलगतै सामाजिक सञ्जालमार्फत नै यो चिन्ता प्रकट गरेकी छिन् ।
“देशै भरि चुनावी तालमेल आवश्यकता र औचित्यको आधारमा गर्ने निर्णय गरिएको छ, निर्णय जे होला त्यो समयले बताउला तर, साँच्चै गठबन्धनको नाममा फेरि पनि देशै भरिको महिलाको सहभागिता सुन्य हुने त हैन ? उनले भनेकी छिन् “राज्यले दिएको स्थानीय तहको ५० प्रतिशत महिला सहभागिताको ग्यारेन्टी गरिएकोमा फेरि पनि गठबन्धनको नाममा महिलाको सहभागिता त शुन्य हुदैछ ।”
राज्यले दिएको अधिकारको हनन गरिएमा महिला मतदाताले भोट नै नहाल्ने स्थिति नआवस् भन्दै उनले सचेत पारेकी छिन् । “गठबन्धन हुँदा हामीले अघिल्लो स्थानीय चुनावमा यि सब पीडा भोगिसकेका छौ, त्यसैले अब फेरि पनि गलत निर्णय नहोस्” उनले भनिन् ।
गठबन्धनपछि महिलाको विजयी हैन उम्मेदवारी नै नहुने संभावना बढेको छ । नेकपा एमालेबाट टुक्रेको नेकपा एकिकृत समाजवादीमा पनि यही चिन्ता छ । एमालेबाट गत निर्वाचनमा प्रदेशको एक मात्रै उपमहानगरपालिका हेटौंडा उपमहानगरपालिकाको उपप्रमुख जितेकी मिना लामालाई यस पटक गठबन्धनले टिकट दिनेमा शंका छ ।
“गठबन्धनले केही आशंका चाही जन्माएको छ, तर हामीले निर्वाचन आयोग र आ–आफ्नो दललाई खबरदारी गर्नेछौ” नेकपा एकिकृत समाजवादी केन्द्रीय सदस्य तथा बागमती प्रदेश सभा सदस्य मुनु सिग्देलले भनिन् ।
गठबन्धन गर्दा पनि महिलालाई जित्ने स्थान दिन र लैड्डिक समानता कायम राख्नको लागि आफूहरुले पहल जारी राख्ने केन्द्रीय सदस्य सिग्देलले बताइन् ।
स्थानीय तहको प्रमुखमा महिलालाई प्राथमिकता दिने बहस भइरहेको बेला दलगत गठबन्धनको कारण उपप्रमुखमा पनि महिला नहुने हो कि भन्ने खतरा हो । “हाम्रो सरोकार प्रमुख पदमै उपस्थिति बढाउने हो, तर चुनौती उपप्रमुख पदमै अन्यथा हुने हो कि भन्ने आयो” सिग्देलले भनिन् ।
दलहरु ‘कमजोर’ बनेकाले पालिकामा महिलाको प्रतिनिधित्व कम हुने सम्भावना बढेको हो । दलहरुले आफूहरु कमजोर भएको आभाष गरेर आपसमा मिलेर लड्न खोज्नु दलको लागि फाइदा होला तर यसले महिलाको प्रतिनिधित्वको अधिकार ओझेलमा पर्छ । गठबन्धनले दुबै पदमा पुरुष हुने सम्भावना बढी हुन्छ । संविधानले तोके बमोजिमको लैंगिक प्रतिनिधित्व भत्किने संभावना प्रवल छ ।
अघिल्लो निर्वाचनमा मकवानपुरको थाहा नगरपालिकामा यस्तै गठबन्धनको कारण प्रमुख उपप्रमुख दुबै पदमा पुरुष विजयी भएको उदाहरण छ । हेटौंडा उपमहानगरपालिकामा पनि गठबन्धन तर्फको धेरै मत बदर भएपछि गठबन्धन पछाडी पर्दा दुबै पदमा एमालेका उम्मेदवारले जितेका थिए । जसले गर्दा लैड्डिक समानता कायम भएको थियो ।
यसपटक पनि गठबन्धन हुदा हेटौंडा उपमहानगरपालिकामा मेयर काँग्रेसले र उपमेयर नेकपा समाजवादीले पाउने तयारी भएको बुझिएको छ । गठबन्धन स्रोतका अनुसार गठबन्धनबाट काँग्रेसका उम्मेदरवार आनन्द पराजुलीले मेयरको टिकट पाउने छन् । यसैगरी उपमेयरमा समाजवादीबाट पनि पुरुषले टिकट पाउने चर्चा रहेको छ । समाजवादीले मेयर पदमा लड्न पाउने हो भने हाल बाहालवाला उपमेयर मिना लामाले मेयरमा टिकट पाउने पार्टी केन्द्रीय सदस्य सिग्देलले बताइन् ।
काठमाडाैं । संचारिका समुह नेपालको अध्यक्षमा बिमला तुम्खेवा निर्वाचित भएकी छिन् । चैत ११ गते शुक्रबार भएकाे संचारिकाकाे २५ औ साधारण सभा तथा ८ औ महाधिवेशनबाट अध्यक्ष तुम्खेवासहित १३ सदस्यीय नेतृत्व चयन भएकाे हाे ।
संचारिकाकाे महाधिवेशनबाट उपाध्यक्ष पबित्रा सुनार, महासचिव बसन्ती बास्तोला, सचिव दुर्गा कार्की, कोषाध्यक्ष उर्वशी बस्नेत निर्वाचित भएका छन् । यसैगरी सदस्यमा सलोजा दहाल, सजना तामाङ, पर्वता चौधरी, नुनुता राई, मन्जिमा ढकाल, लोग्सरी कुँवर, राधा खनाल पबित्रा मुडबरी चयन भएका छन् ।
मकवानपुर । मकवानपुरगढी गाउँपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त गाउँपालिकाको रुपमा घोषणा हुने भएकाे छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बागमतीले विहीवार मकवानपुरगढीलाई बालमैत्री स्थानीय शासनयुक्त गाउँपालिकाको रुपमा घोषणा गर्न अनुमति प्रदान गरेकाे छ । बागमती प्रदेशका प्रमुख सचिव मुकुन्द प्रसाद निरौलाले गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीलाई अनुमति पत्र प्रदान गरेका हुन् ।
अनुमति प्राप्त गरे पछी गाउँपालिका बालमैत्री स्थानीय शासनयुक्त घाेषणा हुने भएकाे हाे । गाउँपालिकाले मकवानपुरगढी–५, धादिङस्थित शारदा माध्यमिक विद्यालयको खेल मैदानमा १२ चैत शनिवार बालमैत्री स्थानीय तह घोषणा गर्ने भएकाे हाे । गाउँपालिकाबाट बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ अनुसार ५१ वटै सूचक पूरा गरेर बालमैत्री स्थानीय शासनयुक्त गाउँपालिका घोषणा अनुमतिका लागि जिल्ला समन्वय समिति मकवानपुरमा सिफारिस भएकाे थियाे । समितिले गाउँपालिका अनुमगन पश्चात घोषणा अनुमतिका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बागमतिमा सिफारिस गरेको हाे ।
गाउँपालिकाले ५ वटा मुख्य क्षेत्र(सूचक) भित्रका ५१ वटा सूचकहरु चरणबद्ध रुपमा पारेर पालिकालाई बालमैत्री घोषण गर्न लागिएको मकवानपुरगढी गाउँपालिका अध्यक्ष विदुर हुँमागाईंले जानकारी दिए । बाल बचाउँ, बाल विकास, बाल संरक्षण, बाल सहभागिता र संथागत विकास मुख्य सूचक रहेका छन् । उनले घोषणा कार्यक्रमलाई सफल पार्न विभिन्न समिति तथा उप–समिति गठन गरिएको र तयारी अन्तिम चरणमा पुगको बताए ।
पालिकाले बालमैत्री स्थानीय कार्यान्वयन तथा दिगोपनाको लागि वडास्तरको लगानी योजना र पाँच बर्षे रणनीतिक योजना बनाइएको छ । वडास्तरिय लगानी योजना अन्तर्गतको कार्यक्रमका लागि गाउँपालिकाले ३ करोड बजेट विनियोजन गरेको बताइएकाे छ । घोषणाका लागि सम्पूर्ण तयारी पूरा भएको गाउँपालिकाले जनाएकाे छ ।
गाउँपालिकालाई बालमैत्री घोषणाको पूर्व तयारी अनुरुप गत फागुन २७ गते शुक्रबार सबै वडाहरु बाल मैत्री घाेषणा गरिएकाे थियाे ।
मकवानपुर/ यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको चुनौतीलाई समाजले अस्वीकार गरेको गुनासो गरिएको छ । परिवारले हुर्काइको क्रममा, समाजले सामाजिकीकरणको सवालमा, स्कुलले शिक्षा आर्जनको समयमा यौनिक तथा लैङ्कि अल्पसंख्यकहरुमाथि विभेद गरिरहेको उनीहरुले बताएका हुन् ।
“संविधानले प्रदान गरेको अधिकार पनि कार्यान्वयनमा छैन”, यौनिक तथा लैङ्गिक अल्पसंख्यक महासंघको उपाध्यक्ष भूमिका श्रेष्ठले भनिन् “पाइलै पिच्छे विभेद र तिरस्कार सहेर पनि हामी संघर्ष गरिरहेका छौ ।” अमेरीकी सरकारबाट विश्वको साहसी महिलाहरुको सूचिमा सुचिकृत भइ हालै सम्मानित भएकी भूमिका श्रेष्ठले हेटौंडामा आयोजित एक कार्यक्रममा भनिन् “संघर्ष गर्न नडराएकै कारण आज हाम्रो समाज विस्तारै परिवर्तन हुदै आएको आभाष गर्दछौं ।”
आफ्नो पहिचान बताएपछि विभिन्न प्रकारको विभेद खप्नु परेको उनले बताइन् । नेपाल सरकार जनसेवा श्री पाँचौबाट पनि २०७८ द्वारा विभूषित भएकी श्रेष्ठले यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुलाई संविधानतः प्रदत्त अधिकारको उपभोगमा समेत समस्या भएको बताइन् । आफ्नो इच्छा चाहाना भन्दा फरक तरीकाले बाँच्न बाध्य रहेको उनले गुनासो गरिन् ।

“स्कुलको पाठ्यक्रममा पनि विभेदीत शब्दावली छन्, बाटो घर परिवार स्कुल सबैतिर हेपिएर बाँचेका छौ, अवार्ड पाउँदा एकदम खुसि भएँ, विगतको दिन सम्झिएँ’ पुरस्कृत हुँदाको अनुभव स्मरण गर्दै उनले भनिन् ‘नीतिगत रूपमा र कानुनी रूपमा सुधार आवश्यक छ, सामाजिक न्याय संबिधानले दिएको छ, हामीलाई छैन, समानताको हक छ, हामीले पाएकै छैनौ, अवार्डले जिम्मेवारी बोध गराएको छ ।” हाम्रो समाजमा महिला र पुरूष बाहेक पनि मान्छे छ भन्ने समुदायलाई बुझाउन बाँकी रहेको उनले बताइन् ।
पहिचानको आधारमा नागरिकता दिन अझै पनि मेडिकल प्रमाण माग्ने गरेको, वैवाहिक सम्बन्ध बसाउन हक संविधानले दिए पनि व्यवहारमा नभएको उनले बताइन् ।
लैङ्गिक तथा यौनिक अल्पसंख्यकहरुको चुनौती र समाधानका उपायबारे हेटौंडामा भएको कार्यशालामा श्रेष्ठले यस्तो बताएकी हुन् । कार्यक्रममा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायकी मनिषा ढाकालले यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुले भोग्दै आएको समस्याबारे कार्यपत्र प्रस्तुत गरेकी थिइन् । यसैगरी निल हिरा समाज अध्यक्ष पिंकी गुरुङले सामाजिक, बहिस्कार, शिक्षा आर्जनमा असहजता, यौन दुव्र्यवहारका बाबजुत पनि आफूहरु निरन्तर संर्घषमा लागिरहेको बताइन् ।
प्रदेश सरकारले यौनिक तथा लैङ्गिक अल्पसंख्यक मैत्री नीति बनाएर कार्यान्वयमा ल्याउनु पर्ने र यसको लागि आफूहरुले सहकार्य गर्न तत्पर रहेको गुरुङले बताइन् ।
कार्यक्रममा सामाजिक विकास मन्त्रालय बागमती प्रदेश, महिला तथा बालबालिका महाशाखा प्रमुख गोपालप्रसाद कंडेलले नीति निमार्ण तहमा संलग्नहरुलाई यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायको चुनौतीबारे जानकारी गराउन र यौनिक तथा लैङ्गिक अल्पसंख्यक मैत्री नीति बनाउन सहकार्य गर्न आफूले समन्वय गर्ने बताए । यसैगरी सामाजिक विकास मन्त्रालय महिला बालबालिका महाशाखाकी चन्दकुमारी व्यान्जनकार जिल्लाका सञ्चारकर्मीहरु तथा सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।
मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका सबै वडाहरु बालमैत्री घोषणा गरिएको छ । गाउँपालिकालाई बालमैत्री घोषणाको पूर्व तयारी अनुरुप शुक्रबार सबै वडाहरु बाल मैत्री घाेषणा गरिएकाे हाे । आगामी चैत्र १२ गते बालमैत्री स्थानीय शासन घोषणा गरिने तयारीमा रहेको गाउँपालिकाले ८ वटै वडामा विभिन्न कार्यक्रम गरि बालमैत्री वडा घोषणा गरेको हो ।
वडा नम्बर १ मा वडा अध्यक्ष आइतसिं लोको अध्यक्षता भएको कार्यक्रममा पालिका कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरी, बालमैत्री कार्यक्रम संयोजक रामप्रसाद दाहाल, वडा सदस्यहरु, कार्यपालिका सदस्य, वडाका कर्मचारी, राजनितिक दलका प्रमुख, विभिन्न सामाजिक संघ संस्थाहरु वन, सहकारी, टोलविकास, विद्यालयका शिक्षक शिक्षिकाहरुको उपस्थिती भई सामुहिक प्रतिवद्धता गर्न लगाई वडालाई बालमैत्री घोषणा गरेका थिए । कार्यक्रममा रानीसेरा माविका प्रअ सुन्दर सिं लोको नेतृत्वमा शान्तिपूर्ण बालमैत्री ¥याली सहित विद्यार्थीहरुको सहभागिाता रहेको थियो ।
त्यसैगरि वडा नम्बर २ लाई वडा अध्यक्ष बखान सिं पाख्रीनको अध्यक्षता तथा पालिका उपाध्यक्ष हर्कमाया रुम्बाको प्रमुख अतिथ्यतामा वडालाई बालश्रम निकृष्ट र बालविवाह मुक्त वडा भन्दै बालमैत्री वडा घोषणा गरिएको छ । कार्यक्रममा कार्यपालिका सदस्य, वडाका कर्मचारी, राजनितिक दलका प्रमुख, विभिन्न सामाजिक संघ संस्थाहरु वन, सहकारी, टोलविकास, विद्यालयका शिक्षक शिक्षिकाहरुलाई सामुहिक प्रतिवद्धता गर्न लगाई वडालाई बालमैत्री घोषणा गरेका थिए ।
वडा नम्बर ३ मा वडा अध्यक्ष भागवत घिमिरेको अध्यक्षता तथा पालिका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनी, वडा सदस्य, कार्यपालिका सदस्य, वडाका कर्मचारी, राजनितिक दलका प्रमुख, विभिन्न सामाजिक संघ संस्थाहरु वन, सहकारी, टोलविकास, विद्यालयका शिक्षक शिक्षिकाहरुलाई सामुहिक प्रतिवद्धता गर्न लगाई वडालाई बालमैत्री घोषणा गरिएको थियो ।
वडा नम्बर ४ मा वडा अध्यक्ष रामप्रसाद तिमल्सिनाको अध्यक्षता तथा पालिका महिला तथा बालबालिका शाखा प्रमुख मन्दिरा थापा, वडा सदस्यहरु कार्यपालिका सदस्य, वडाका कर्मचारी, राजनितिक दलका प्रमुख, विभिन्न सामाजिक संघ संस्थाहरु वन, सहकारी, टोलविकास, विद्यालयका शिक्षक शिक्षिकाहरुलाई सामुहिक प्रतिवद्धता गर्न लगाई वडालाई बालमैत्री घोषणा गरिएको थियो ।
गाउँपलिकाको अध्यक्ष विदुर हुमागाईको प्रमुख अतिथ्यतामा तथा वडा नम्बर ५ को अध्यक्ष जीत बहादुर घिमिरेको सभाध्यक्षतामा ५ नम्बर वडालाई बाल मैत्री घोषणा गरेका छन् । पञ्चेबाजा सहित धादिङ बजारलाई परिक्रमा गर्दै बालमैत्री सम्बन्धी विभिन्न नारा लगाइएको थियो ।
पालिका अध्यक्ष हुमागाईले वडा सदस्य, कार्यपालिका सदस्य, वडाका कर्मचारी, राजनितिक दलका प्रमुख, विभिन्न सामाजिक संघ संस्थाहरु वन, सहकारी, टोलविकास, विद्यालयका शिक्षक शिक्षिकाहरुलाई सामुहिक प्रतिवद्धता गर्न लगाई वडालाई बालमैत्री घोषणा गरेका थिए । साथै प्रतिवद्धता स्वरुप सामूहिक हस्ताक्षर गरि वडामा बाल विवाह मुक्त र बाल श्रम निकृष्ट वडा घोषणा गरेका थिए ।
यसैगरि वडा नम्बर ६ का वडा अध्यक्ष टिका प्रसाद दाहालको अध्यक्षतामा भएको कार्यक्रममा पालिका स्वास्थ्य शाखा प्रमुख ध्रुवप्रसाद लामिछाने, वडा सदस्य, कार्यपालिका सदस्य, वडाका कर्मचारी, राजनितिक दलका प्रमुख, विभिन्न सामाजिक संघ संस्थाहरु वन, सहकारी, टोलविकास, विद्यालयका शिक्षक शिक्षिकाहरुलाई सामुहिक प्रतिवद्धता गर्न लगाई वडालाई बालमैत्री घोषणा गरेका थिए ।
वडा नम्बर ७ का वडा अध्यक्ष सुर्य बहादुर रुम्बाको अध्यक्षतामा भएको कार्यक्रममा पालिकाका शिक्षा शाखा प्रमुख राम घलान, वडा सदस्य, कार्यपालिका सदस्य, वडाका कर्मचारी, राजनितिक दलका प्रमुख, विभिन्न सामाजिक संघ संस्थाहरु वन, सहकारी, टोलविकास, विद्यालयका शिक्षक शिक्षिकाहरुलाई सामुहिक प्रतिवद्धता गर्न लगाई वडालाई बालमैत्री घोषणा गरिएको थियो ।
त्यस्तै वडा नम्बर ८ का अध्यक्ष कुमार घिसिङको अध्यक्षतामा भएको कार्यक्रममा पालिकाका कर्मचारी प्रशासन शाखा प्रमुख सुर्य बहादुर गुरुङ, वडा सदस्य कार्यपालिका सदस्य, वडाका कर्मचारी, राजनितिक दलका प्रमुख, विभिन्न सामाजिक संघ संस्थाहरु वन, सहकारी, टोलविकास, विद्यालयका शिक्षक शिक्षिकाहरुलाई सामुहिक प्रतिवद्धता गर्न लगाई वडालाई बालमैत्री घोषणा गरेका थिए ।
सबैवडामा विभिन्न बालमैत्री सम्बन्धी नारा लगाएर, खैजेडी, गीत प्रस्तुत, नृत्य प्रदर्शन गरि वडा घोषणा गरिएको छ । बालमैत्री गाउँपालिका घोषणाको लागि पुग्नुपर्ने सुचकहरु सतप्रतिशत पुगिसकेकाले वडा घोषणा गरिएको बालमैत्री कार्यक्रम संयोजक रामप्रसाद दाहालले बताए ।
वडालाई बाल विवाह मुक्त, निकृष्ट बालश्रम मुक्त वडा घोषणा भएकाले वडालाई बालमैत्री घोषणा गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीले बताए । ‘शुक्रबार सबै वडा बालमैत्री घोषणा भएकाले सबै सुचकहरुकाे जिल्ला समन्वय समिति र बागमती प्रदेश सरकारबाट अनुगमन, मुल्यांकन हुनेछ‘ पुडासैनीले भने – ‘चैत १२ गते शनिबार बृहत कार्यक्रमको आयोजना गरि गाउँपालिकालाई बालमैत्री स्थानीय शासन घोषणा गरिने छ ।
बालमैत्री वडा घाेषणाकाे लागि गाउँपालिकाले प्रत्येक वडामा बालमैत्री सहजकर्ता राखी काम गरेकाे थियाे । २०७८ मंसिरमा घोषणा गर्न तयारी रहदाँ रहदैँ कोरोना भाइरस संक्रमणका कारण हुन सकेकाे थिएन । गाउँपालिकाले बालमैत्री स्थानीय शासन घोषणा निर्देशिका २०७८ अनुसार ५१ वटा सुचकका आधारमा काम गरेको थियो । ५१ वटा सुचकहरुमा बाँच्न पाउने अधिकारमा १४ वटा, संरक्षणको अधिकारमा १० वटा, विकासको अधिकारमा ६ वटा, सहभागिताको अधिकारमा ६ वटा र संस्थागत सुचकमा १५ वटा रहेका छन् ।
मकवानपुरगढी बालमैत्री घोषणा गर्ने नेपालको गाउँपालिका मध्ये चौथो, बागमती प्रदेशमा तेस्रो र मकवानपुर जिल्लामा पनि तेस्रो गाउँपालिका रहेको संयोजक दाहालले बताए । उनले बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ अनुसार भने नेपालकै दोस्रो गाउँपालिकाको रुपमा मकवानपुरगढी रहेको बताए । बालमैत्री घोषणा गर्ने पहिलो गाउँपालिका पाल्पा जिल्लाको रम्भा गाउँपालिका रहेको छ ।