मकवानपुर/ यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको चुनौतीलाई समाजले अस्वीकार गरेको गुनासो गरिएको छ । परिवारले हुर्काइको क्रममा, समाजले सामाजिकीकरणको सवालमा, स्कुलले शिक्षा आर्जनको समयमा यौनिक तथा लैङ्कि अल्पसंख्यकहरुमाथि विभेद गरिरहेको उनीहरुले बताएका हुन् ।
“संविधानले प्रदान गरेको अधिकार पनि कार्यान्वयनमा छैन”, यौनिक तथा लैङ्गिक अल्पसंख्यक महासंघको उपाध्यक्ष भूमिका श्रेष्ठले भनिन् “पाइलै पिच्छे विभेद र तिरस्कार सहेर पनि हामी संघर्ष गरिरहेका छौ ।” अमेरीकी सरकारबाट विश्वको साहसी महिलाहरुको सूचिमा सुचिकृत भइ हालै सम्मानित भएकी भूमिका श्रेष्ठले हेटौंडामा आयोजित एक कार्यक्रममा भनिन् “संघर्ष गर्न नडराएकै कारण आज हाम्रो समाज विस्तारै परिवर्तन हुदै आएको आभाष गर्दछौं ।”
आफ्नो पहिचान बताएपछि विभिन्न प्रकारको विभेद खप्नु परेको उनले बताइन् । नेपाल सरकार जनसेवा श्री पाँचौबाट पनि २०७८ द्वारा विभूषित भएकी श्रेष्ठले यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुलाई संविधानतः प्रदत्त अधिकारको उपभोगमा समेत समस्या भएको बताइन् । आफ्नो इच्छा चाहाना भन्दा फरक तरीकाले बाँच्न बाध्य रहेको उनले गुनासो गरिन् ।

“स्कुलको पाठ्यक्रममा पनि विभेदीत शब्दावली छन्, बाटो घर परिवार स्कुल सबैतिर हेपिएर बाँचेका छौ, अवार्ड पाउँदा एकदम खुसि भएँ, विगतको दिन सम्झिएँ’ पुरस्कृत हुँदाको अनुभव स्मरण गर्दै उनले भनिन् ‘नीतिगत रूपमा र कानुनी रूपमा सुधार आवश्यक छ, सामाजिक न्याय संबिधानले दिएको छ, हामीलाई छैन, समानताको हक छ, हामीले पाएकै छैनौ, अवार्डले जिम्मेवारी बोध गराएको छ ।” हाम्रो समाजमा महिला र पुरूष बाहेक पनि मान्छे छ भन्ने समुदायलाई बुझाउन बाँकी रहेको उनले बताइन् ।
पहिचानको आधारमा नागरिकता दिन अझै पनि मेडिकल प्रमाण माग्ने गरेको, वैवाहिक सम्बन्ध बसाउन हक संविधानले दिए पनि व्यवहारमा नभएको उनले बताइन् ।
लैङ्गिक तथा यौनिक अल्पसंख्यकहरुको चुनौती र समाधानका उपायबारे हेटौंडामा भएको कार्यशालामा श्रेष्ठले यस्तो बताएकी हुन् । कार्यक्रममा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायकी मनिषा ढाकालले यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुले भोग्दै आएको समस्याबारे कार्यपत्र प्रस्तुत गरेकी थिइन् । यसैगरी निल हिरा समाज अध्यक्ष पिंकी गुरुङले सामाजिक, बहिस्कार, शिक्षा आर्जनमा असहजता, यौन दुव्र्यवहारका बाबजुत पनि आफूहरु निरन्तर संर्घषमा लागिरहेको बताइन् ।
प्रदेश सरकारले यौनिक तथा लैङ्गिक अल्पसंख्यक मैत्री नीति बनाएर कार्यान्वयमा ल्याउनु पर्ने र यसको लागि आफूहरुले सहकार्य गर्न तत्पर रहेको गुरुङले बताइन् ।
कार्यक्रममा सामाजिक विकास मन्त्रालय बागमती प्रदेश, महिला तथा बालबालिका महाशाखा प्रमुख गोपालप्रसाद कंडेलले नीति निमार्ण तहमा संलग्नहरुलाई यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायको चुनौतीबारे जानकारी गराउन र यौनिक तथा लैङ्गिक अल्पसंख्यक मैत्री नीति बनाउन सहकार्य गर्न आफूले समन्वय गर्ने बताए । यसैगरी सामाजिक विकास मन्त्रालय महिला बालबालिका महाशाखाकी चन्दकुमारी व्यान्जनकार जिल्लाका सञ्चारकर्मीहरु तथा सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।

