मकवानपुर । मकवानपुरगढी गाउँपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त गाउँपालिकाको रुपमा घोषणा हुने भएकाे छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बागमतीले विहीवार मकवानपुरगढीलाई बालमैत्री स्थानीय शासनयुक्त गाउँपालिकाको रुपमा घोषणा गर्न अनुमति प्रदान गरेकाे छ । बागमती प्रदेशका प्रमुख सचिव मुकुन्द प्रसाद निरौलाले गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीलाई अनुमति पत्र प्रदान गरेका हुन् ।
अनुमति प्राप्त गरे पछी गाउँपालिका बालमैत्री स्थानीय शासनयुक्त घाेषणा हुने भएकाे हाे । गाउँपालिकाले मकवानपुरगढी–५, धादिङस्थित शारदा माध्यमिक विद्यालयको खेल मैदानमा १२ चैत शनिवार बालमैत्री स्थानीय तह घोषणा गर्ने भएकाे हाे । गाउँपालिकाबाट बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ अनुसार ५१ वटै सूचक पूरा गरेर बालमैत्री स्थानीय शासनयुक्त गाउँपालिका घोषणा अनुमतिका लागि जिल्ला समन्वय समिति मकवानपुरमा सिफारिस भएकाे थियाे । समितिले गाउँपालिका अनुमगन पश्चात घोषणा अनुमतिका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बागमतिमा सिफारिस गरेको हाे ।
गाउँपालिकाले ५ वटा मुख्य क्षेत्र(सूचक) भित्रका ५१ वटा सूचकहरु चरणबद्ध रुपमा पारेर पालिकालाई बालमैत्री घोषण गर्न लागिएको मकवानपुरगढी गाउँपालिका अध्यक्ष विदुर हुँमागाईंले जानकारी दिए । बाल बचाउँ, बाल विकास, बाल संरक्षण, बाल सहभागिता र संथागत विकास मुख्य सूचक रहेका छन् । उनले घोषणा कार्यक्रमलाई सफल पार्न विभिन्न समिति तथा उप–समिति गठन गरिएको र तयारी अन्तिम चरणमा पुगको बताए ।
पालिकाले बालमैत्री स्थानीय कार्यान्वयन तथा दिगोपनाको लागि वडास्तरको लगानी योजना र पाँच बर्षे रणनीतिक योजना बनाइएको छ । वडास्तरिय लगानी योजना अन्तर्गतको कार्यक्रमका लागि गाउँपालिकाले ३ करोड बजेट विनियोजन गरेको बताइएकाे छ । घोषणाका लागि सम्पूर्ण तयारी पूरा भएको गाउँपालिकाले जनाएकाे छ ।
गाउँपालिकालाई बालमैत्री घोषणाको पूर्व तयारी अनुरुप गत फागुन २७ गते शुक्रबार सबै वडाहरु बाल मैत्री घाेषणा गरिएकाे थियाे ।

