मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकामा १५ शैयाको अस्पताल १५ जना जेष्ठ नागरिकबाट गरिएको छ । विहीबार फरक तरिकाले गाउँपालिकाले आफ्नो पालिकामा निर्माण हुन लागेको १५ शैयाको अस्पतालको शिलान्यास गरेको हो । गाउँपालिका भित्रका ७० वर्ष माथि उमेर समूहका १५ जना जेष्ठ नागरिकद्वारा संयुक्त शिलान्यास गर्दै पृथ्वी चन्द अस्पताल निर्माण कार्यको सुरुवात गरेको छ ।
भीमफेदी–६ मा बन्न लागेको अस्पतालको लागत १२ करोड ६१ लाख ९२ हजार ७५७ रुपैयाँ ३६ पैसा रहेको छ । मिनि ट्रमा सेन्टरको विकास गर्ने उद्देश्यले निर्माण हुन लागेको उक्त अस्पताल २०८१ फागुन १५ गतेसम्ममा सम्पन्न हुने गरी ठेक्का सम्झौता भएकाे छ ।
गाउँपालिकाका अध्यक्ष हिदम लामाले आफ्नो कार्य अविधिमा स्वास्थ्य क्षेत्रमा उल्लेखिनिय कामहरु भएको बताए । ‘गाउँपालिकाको सबै वडाहरुमा स्वास्थ्य भवन निर्माणको कामहरु भईरहेको छ’ उनले भने–‘स्थानीय सरकार गठन भएपछी गाउँपालिकामा भौतिक क्षेत्रको विकास,आर्थिक,सामाजिक सुरक्षा क्षेत्रको विकास भएकाे छ।’
अध्यक्ष लामाले सरकारको स्वास्थ्य मन्त्रालय,नेपाल हेल्थ सेक्टर सर्पोट प्रोगाम र पुरातत्व विभागको सहयोग र गाउँपालिको कर्मचारीहरुको साथ र सहयोगमा स्वास्थ्य भवन निर्माणको शिलान्यास भएको बताए । उनले समाजमा ठूलाबडाले शिलान्यास गर्दा राम्रो हुन्छ भन्ने सोच रहेको भन्दै त्यसलाई चिर्न जेष्ठ नागरिकहरुको हातबाट शिलान्यास गरेको बताए ।
उनले पछिल्लो समयमा जेष्ठ नागरिकहरुलाई वृद्धाआश्रममा लैजाने प्रवृति गलत भएको भन्दै जेष्ठ नागरिकहरुलाई घर परिवार,समाज,स्थानीय तह र सरकारले सम्मान गर्नुपर्ने बताए । अध्यक्ष लामाले अस्पतालको शिलान्यास गर्ने १५ जना जेष्ठ नागरिकहरुलाई अस्पतालबाट आजीवन ओपिडी सेवा निशुल्क हुने समेत घोषणा गरे ।

शिलान्याश कार्यक्रममा निर्माण कम्पनी रबिना नवसिर्जनशिल जेभीका प्रतिनिधि बिक्रम चौलागाईले अस्पताल निर्माण कार्य समयमै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे । यसैगरि कार्यक्रममा गाउँपालिकाका इन्जिनियर सुन्दर बर्तौलाले स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड अनुसारनै सेवा, सुविधा सम्पन्न अस्पताल भवन निर्माण गर्न लागेको बताए । उनले ३ वटा ब्लकमा निर्माण हुन लागेको अस्पतालमा लिफ्ट सिस्टमसहित भूकम्प प्रतिरोधि, बालमैत्री, अपाङ्गमैत्री भवनमा प्रयोगशाला, एक्सरे, शल्यक्रिया र इमर्जेन्सी सेवा उपलब्ध रहने बताए ।
यसैगरि,कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भागवती पुडासैनीले गाउँपालिकाले विकास निर्माणका कामहरु गर्दै आएको बताईन् । उनले जिल्ला समन्वय समितिले गाउँपालिकाको प्रशासनिक भवन निर्माण लगाएत विभिन्न सहयोग गरेको बताउँदै आउँदो दिनहरुमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाईन् ।
कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष पार्वती राना,प्रमुख प्रशासकीय अधिकृत भिमलाल महर्जन,वडा अध्यक्षहरु,वडा सदस्यहरु,गाउँपालिकाका कर्मचारी,राजनीतिक दलहरुका प्रतिनिधि तथा स्थानीयहरुको उपस्थिति रहेको थियो ।

