मकवानपुर । सर्लाहीमा जारी छैठौं संस्करणको राजर्षी जनक गोल्डकप प्रतियोगितामा मकवानपुरको पिप्ले युवा क्लब फाइनल प्रवेश गरेको छ । विहीबार भएको पहिलो सेमीफाइनल खेलमा आयोजक बागमती युवा क्लबलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले स्तब्ध पार्दै पिप्ले फाइनलमा प्रवेश गरेको हो ।
खेलकाे निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमामा धकेलिएको थियो । पेनाल्टीमा पिप्लेका ४ जना खेलाडीले गोल गरेका थिए । यसैगरी बागमती युवा क्बलका २ खेलाडीले मात्रै गोल गरेका थिए । बागमतीकाे एक पेनाल्टी पोष्ट बाहिर प्रहार भएकाे थियाे । पिप्लेका गोलरक्षक अनिष देउलाले एक बल बचाउ गरेसँगै पिप्लेले फाइनल यात्रा तय गरेको हो । पिप्लेका गोलकिपर देउला म्यान अफ द म्याच चयन हुँदै १० हजार रुपैयाँ नगद प्राप्त गरेका छन् ।
खेलाडीको मिहिनेतका कारण फाइनल यात्रा तय गर्न सफल भएको पिप्ले युवा क्लबका प्रशिक्षक सुविन घिमिरेको भनाइ छ । प्रशिक्षक घिमिरेले लगातार दोस्रो पटक उपाधि उचाल्ने लक्ष्य नजिक पुगेको बताए ।
प्रतियोेगिताको फाइनल खेल आइतबार हुनेछ । यसअघि पिप्ले युवा क्लब ‘ए’ डिभिजन हिमालय शेर्पालाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो । प्रतियोगिताको विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख ५ सय पुरस्कार प्राप्त गर्नेछन् ।

