मकवानपुर / स्थानीय तहको निर्वाचन अब ४१ दिन मात्रै बाँकी छ । आगामी ३० वैशाखमा हुने निर्वाचनको लागि मकवानपुरलगायत देशै भर सत्तारुढ ५ दलीय गठबन्धन भएको समाचार बाहिरीएसँगै अर्को चिन्ताको विषय पनि चर्चामा आएको छ । त्यो हो महिला नेतृत्वको ।
राजनीतिमा महिला नेतृत्वलाई कानुनले अनिवार्य गरेको भएपनि गठबन्धनको कारण यो व्यवहारमा नदेखिने पक्का जस्तै भएको छ । यसअघि सबैजसो पार्टीले वडास्तरदेखि नै स्थानीय तहको प्रमुख उपप्रमुख पदसम्म नेतृत्व लगभग फाइनल गरेका थिए । तर तोकिएको मितिको निर्वाचनको लागी ४२ दिन बाँकी हुदा जुटेको गठबन्धनले महिला पछाडि पारीने देखिएको छ ।
निर्वाचनमा सत्ता गठबन्धन दलहरुले तालमेल गरेर जाने निर्णय भएसँगै यसको असर स्थानीय पालिकामा महिलाहरुको प्रतिनिधित्वमा पर्ने महिला अधिकारकर्मीहरुले आशंका गर्न थालेका छन् ।
दलहरुले छुट्टा–छुट्टै निर्वाचनमा जाँदा स्थानीय तह प्रमुख वा उपप्रमुखमध्ये एक पदमा अनिवार्य रुपमा महिला उम्मेदवार बनाउनुपर्ने हुन्छ। तर, गठबन्धन गर्दा उक्त व्यवस्था अनिवार्य छैन । यो अनिवार्यताको व्यवस्था आकर्षित नहुने भएकाले फरक–फरक दलबाट दुबै पदमा पुरुष नै उम्मेदवार बन्ने र जित्ने सम्भावना बढी देखिन्छ।
नेपाली कांग्रेस मकवानपुर जिल्ला सहसचिव इन्दीरा न्यौपानलेले गठबन्धनको बैठक सकिएलगतै सामाजिक सञ्जालमार्फत नै यो चिन्ता प्रकट गरेकी छिन् ।
“देशै भरि चुनावी तालमेल आवश्यकता र औचित्यको आधारमा गर्ने निर्णय गरिएको छ, निर्णय जे होला त्यो समयले बताउला तर, साँच्चै गठबन्धनको नाममा फेरि पनि देशै भरिको महिलाको सहभागिता सुन्य हुने त हैन ? उनले भनेकी छिन् “राज्यले दिएको स्थानीय तहको ५० प्रतिशत महिला सहभागिताको ग्यारेन्टी गरिएकोमा फेरि पनि गठबन्धनको नाममा महिलाको सहभागिता त शुन्य हुदैछ ।”
राज्यले दिएको अधिकारको हनन गरिएमा महिला मतदाताले भोट नै नहाल्ने स्थिति नआवस् भन्दै उनले सचेत पारेकी छिन् । “गठबन्धन हुँदा हामीले अघिल्लो स्थानीय चुनावमा यि सब पीडा भोगिसकेका छौ, त्यसैले अब फेरि पनि गलत निर्णय नहोस्” उनले भनिन् ।
गठबन्धनपछि महिलाको विजयी हैन उम्मेदवारी नै नहुने संभावना बढेको छ । नेकपा एमालेबाट टुक्रेको नेकपा एकिकृत समाजवादीमा पनि यही चिन्ता छ । एमालेबाट गत निर्वाचनमा प्रदेशको एक मात्रै उपमहानगरपालिका हेटौंडा उपमहानगरपालिकाको उपप्रमुख जितेकी मिना लामालाई यस पटक गठबन्धनले टिकट दिनेमा शंका छ ।
“गठबन्धनले केही आशंका चाही जन्माएको छ, तर हामीले निर्वाचन आयोग र आ–आफ्नो दललाई खबरदारी गर्नेछौ” नेकपा एकिकृत समाजवादी केन्द्रीय सदस्य तथा बागमती प्रदेश सभा सदस्य मुनु सिग्देलले भनिन् ।
गठबन्धन गर्दा पनि महिलालाई जित्ने स्थान दिन र लैड्डिक समानता कायम राख्नको लागि आफूहरुले पहल जारी राख्ने केन्द्रीय सदस्य सिग्देलले बताइन् ।
स्थानीय तहको प्रमुखमा महिलालाई प्राथमिकता दिने बहस भइरहेको बेला दलगत गठबन्धनको कारण उपप्रमुखमा पनि महिला नहुने हो कि भन्ने खतरा हो । “हाम्रो सरोकार प्रमुख पदमै उपस्थिति बढाउने हो, तर चुनौती उपप्रमुख पदमै अन्यथा हुने हो कि भन्ने आयो” सिग्देलले भनिन् ।
दलहरु ‘कमजोर’ बनेकाले पालिकामा महिलाको प्रतिनिधित्व कम हुने सम्भावना बढेको हो । दलहरुले आफूहरु कमजोर भएको आभाष गरेर आपसमा मिलेर लड्न खोज्नु दलको लागि फाइदा होला तर यसले महिलाको प्रतिनिधित्वको अधिकार ओझेलमा पर्छ । गठबन्धनले दुबै पदमा पुरुष हुने सम्भावना बढी हुन्छ । संविधानले तोके बमोजिमको लैंगिक प्रतिनिधित्व भत्किने संभावना प्रवल छ ।
अघिल्लो निर्वाचनमा मकवानपुरको थाहा नगरपालिकामा यस्तै गठबन्धनको कारण प्रमुख उपप्रमुख दुबै पदमा पुरुष विजयी भएको उदाहरण छ । हेटौंडा उपमहानगरपालिकामा पनि गठबन्धन तर्फको धेरै मत बदर भएपछि गठबन्धन पछाडी पर्दा दुबै पदमा एमालेका उम्मेदवारले जितेका थिए । जसले गर्दा लैड्डिक समानता कायम भएको थियो ।
यसपटक पनि गठबन्धन हुदा हेटौंडा उपमहानगरपालिकामा मेयर काँग्रेसले र उपमेयर नेकपा समाजवादीले पाउने तयारी भएको बुझिएको छ । गठबन्धन स्रोतका अनुसार गठबन्धनबाट काँग्रेसका उम्मेदरवार आनन्द पराजुलीले मेयरको टिकट पाउने छन् । यसैगरी उपमेयरमा समाजवादीबाट पनि पुरुषले टिकट पाउने चर्चा रहेको छ । समाजवादीले मेयर पदमा लड्न पाउने हो भने हाल बाहालवाला उपमेयर मिना लामाले मेयरमा टिकट पाउने पार्टी केन्द्रीय सदस्य सिग्देलले बताइन् ।
