मकवानपुर । हेटौंडामा ५ जना पत्रकार र १ जना छापाखानामा कार्यरत कर्मचारी पुरस्कृत भएका छन् । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले उनीहरुलाई नगद र प्रमाणपत्रसहित पुरस्कृत गरेका हुन् ।
स्टेट भिजन प्रा.लि.द्वारा संचालनमा रहेकाे तु खबर डटकमको ५ औँ वार्षिक उत्सवको अवसरमा शनिवार आयोजना गरिएकाे वार्षिक उत्सव एवम् पत्रकारिता पुरस्कार वितरण समारोहमा अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिकका सम्पादक अखण्ड भण्डारी नगद १५ हजार १ रुपैयाँ राशीको ‘जागरण तु खबर अग्रज पत्रकार पुरस्कार –२०७८ बाट सम्मानित भएका छन् । २०५१ सालदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील रहेर आम नागरिकको सूचित हुने अधिकारको निम्ति पुर्याएको योगदानको कदर गर्दै सम्पादक भण्डारीलाई मकवानपुर जागरण अभियानसँगको सहकार्यमा तु खबरले स्थापना गरेको ‘जागरण तु खबर अग्रज पत्रकार पुरस्कार २०७८’ प्रदान गरिएको हो ।
यस्तै पत्रकार ध्रुव लम्साल नगद १२ हजार १ राशीको ‘रुपचन्द्र विष्ट स्मृति पत्रकारिता पुरस्कार–२०७८ बाट सम्मानित भएका हुन् । २०५७ सालदेखि निरन्तर पत्रकारिता क्षेत्रमा क्रियाशील रहदै आएका लम्साल कला क्षेत्रमा कलम चलाउँछन् । पछिल्लाे समय उनी राजधानी दैनिकको अनलाइन संस्करण राजधानी डेल्ली डटकमका सम्पादक हुन् ।
यसैगरी नेपाल समाचारपत्रका मकवानपुर संवाददाता रोशन पराजुली नगद १० हजार १ रुपैयाँ राशीको ‘जागरण तु खबर समकालीन पत्रकार पुरस्कार–२०७८ बाट पुरस्कृत भएका हुन् । २०५२ सालदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील रहेका छन् पराजुली । उनले केही समय पत्रकारिता विषय अध्यापन समेत गरेका थिए । रेडियो मकवानपुरका समाचार प्रमुख राजन दाहाल (खुसराज) नगद १० हजार १ राशीको ‘तु खबर रेडियो पत्रकारिता पुरस्कार–२०७८ पुरस्कृत भएका छन् । २०४८ सालदेखि पत्रकारितामा निरन्तर रुपमा काम गर्दै आएका दाहाल हाल रेडियो पत्रकारितामा स्थापित छन् ।
यस्तै धादिङ्पोष्ट डटकमका सम्पादक नारायण शिलवाल नगद १० हजार १ राशीको तु खबर अनलाइन पत्रकारिता पुरस्कार–२०७८ बाट पुरस्कृत भएका हुन् । २०६२ सालदेखि पत्रकारितामा क्रियाशील भई हाल अनलाइन पत्रकारको रुपमा स्थापित छन् सिलवाल । यस्तै २०४० सालदेखि हेटाैडाका विभिन्न छापाखानामा छपाईको काम गर्दै आएका कर्मचारी सोमबहादुर विष्टलाई ५ हजार नगदसहित सम्मान गरिएकाे हाे ।

कार्यक्रममा तु खबरले वार्षिक उत्सवको अवसरमा प्रकाशन गरेको तु खबर स्मारिकाको पाँचौँ संस्करण विमोचन गरिएको थियो । प्रदेश प्रमुख शर्मा, बागमती प्रदेश भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्त प्रजा, नेकपा एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलकी मुख्य सचेतक मुनु सिग्देललगायतले उक्त पुस्तक विमोचन गरेका थिए ।
तु खबरका सम्पादक गिरिजा अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, नेकपा एमालेका अध्यक्ष एकलाल श्रेष्ठ, नेकपा माओवादी केन्द्र मकवानपुरका सचिव भीम पाख्रिन, पत्रकार महासंघ बागमती प्रदेश समितिका उपाध्यक्ष रुपेश दुलाल, मकवानपुर अध्यक्ष मणिराज गौतम, पूर्व अध्यक्षहरु, मकवानपुर जागरण अभियानका अध्यक्ष कृष्णराज कोइरालालगायत सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

