मकवानपुर । सञ्चार माध्ययमहरुले नागरिकहरुको सुसूचित हुने अधिकारको प्रर्वद्धन गरिरहेको बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले बताएका छन् ।
स्टेट भिजन प्रा.लि.द्वारा सञ्चालित तु खबर डटकमको ५ औं वार्षिक उत्सव तथा पत्रकारिता पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख शर्माले जिम्मेवार तथा सशक्त पत्रकारिता नै समाज परिवर्तनको सम्वाहक भएको उल्लेख गरे । ‘आगामी दिनमा थप सशक्त र जनताप्रति जवाफदेहीपूर्ण ढंगबाट सञ्चार क्षेत्र अघि बढ्नुपर्छ’ उनले भने ‘सत्यको सम्प्रेषण गर्न सकेको अवस्थामामात्रै पत्रकारिता क्षेत्रले सफलता प्राप्त गरेको मानिन्छ ।’
कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको अतिरिक्त देश र जनतालाई अदम्य शाहस भएको स्वाभिमानयुक्त पत्रकारिता आवश्यक भएको शर्माले बताए । विभिन्न कालखण्डमा शासकहरुबाट पत्रकारिता क्षेत्रलाई दबाउन भएका प्रयासहरु बिफल पार्दै निडरतापूर्वक अघि बढेको पत्रकारिता क्षेत्रकै बलमा मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित भएकोमा यसको रक्षाका निम्ति पनि पत्रकारहरु उत्तिकै जिम्मेवार हुनुपर्ने उनले बताए ।
पत्रकारिता क्षेत्रले समाजमा विद्यमान, कुरीति, कुसंस्कृति, अन्धविश्वास र राजनीतिक क्षेत्रमा रहेका ययास्थितिवादीहरुको विपक्षमा उभिएर जनताको हक र हितको पक्षमा इमान्दार भएर काम गर्नुपर्ने बताए । मोफसलबाट सञ्चालित सञ्चार माध्ययमले यो स्तरको अनुकरणीय कार्य गरेको भन्दै प्रशंसा समेत उनले गरे । उनले तु खबर स्मारिकामा दृष्टिकोण, सूचना, विचार, मनोरञ्जन तथा अभिप्रेरणा प्रवाहित गर्ने सामग्री समावेश भएको बताउँदै आगामी दिनमा निरन्तर सफलताको कामना गरे ।
तु खबरका सम्पादक गिरिजा अधिकारीको सभाध्यक्षतामा वार्षिक उत्सव तथा पत्रकारिता पुरस्कार वितरण कार्यक्रम भएकाे हाे ।

