मकवानपुर । “सत्यमोहन शहर यात्रा” कृतिको शनिबार हेटौंडामा परिचर्चा गरिएको छ । पत्रकार गिरीश गिरीले संस्कृति विद् सत्यमोहन जोशीको जिवनका संघर्ष, चुनौति, योगदान र उपलब्धीबारे लेखेकाे सत्यमोहन शहर यात्राकाे परिचर्चा गरिएकाे हाे ।
पुस्तकभित्र सत्यमोहन जोशीका विभिन्न कालखण्डका चाखलाग्दो भोगाईको साथै उहाँले भौगोलिक, सँस्कृतिक खास भाषा सम्वन्धी गर्नु भएकाे खाेज लगायत समेटिएर तयार पारिएको लेखक गिरीले बताए । ३ पटक मदन पुरस्कार प्राप्त गरेका जोशी सम्वन्धी पुस्तक उहाँकाे जिवनका भोगाईको माध्यमबाट नेपाली समाजको लामो आरोहअवरोह चियाउने आँखीझ्याल रहेको लेखक गिरीले बताए ।
संस्कृति विद् जोशी जिवितै रहदाँ पुस्तक प्रकाशन गरेर जिवित इतिहासको सम्मान गरेको बताइएको छ । संवादमा गिरीश गिरी र निमेष निखिल रहेर कृतिमाथि परिचर्चा गरिएको थियाे । सर्जक सञ्जाल मकवानपुरको आयोजनामा भएको पुस्तक परिचर्चा कार्यक्रमको सहजीकरण निमेष निखिलले गरेका थिए । बुकहिल पब्लिकेशन प्रा.लिले प्रकाशन गरेको सत्यमोहन पुस्तक गत महिना बजार आएकाे थियो ।
कार्यक्रममा कथाकार, नाटककार कुमार नगरकोटी, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, साहित्य संगम मकवानपुरका अध्यक्ष अनिता न्यौपाने लगायतले भनाइ राखेका थिए ।

