- कुमारी वाइबा (प्रमुख हिमराइट्स मकवानपुर)
मानिसले मानिस भएकै हैसियतले प्राप्त गर्ने सवै अधिकारहरुलाई मानवअधिकार भनिन्छ । मानिस हुनुको हैसियतलाई सम्मानपूर्वक कायम गर्न मानवअधिकारको आवश्यकता पर्दछ । महिला पनि मानव भएको कारणले सवै मानवअधिकार महिलाका पनि अधिकार हुन् ।
महिलाका विशेष अवस्थाहरुलाई ध्यान दिदैं संयुक्तराष्टूसंघको महासभाले महिला विरुद्धका सवै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धि १८ डिसेम्बर १९७९ मा पारित गरी ३ सेप्टेम्बर १९८१ देखि लागू गरेको हो । नेपालले यस महासन्धिलाई २२ अप्रिल १९९१ मा अनुमोदन गरेको थियो । यस महासन्धिले महिलाविरुद्धको भेदभावको परिभाषा गरेको छ । परापूर्वकाल देखि नै नेपालमा महिलालाई दोस्रो दर्जाको नागरीकको रुपमा हेर्ने गरिएको पाइन्छ ।
महिला आर्थिकरुपमा पुरुषमा निर्भर हुनुपर्ने , घरायसी र बच्चा जन्माउने कार्यमा महिलाको महत्वपूर्ण भूमिका रहेपनि महिलाको कामलाई देशको ग्राहस्थ उत्पादनमा गणना नहुने, सम्पत्तिको अधिकारमा असमानता, पितृसत्तात्मक समाज , छोराले स्वर्ग तार्छ भन्ने मान्यता रहि आएको छ ।
सामाजिक कुप्रथाहरु जस्तै झुमा, देउकी, छाउपडी, कुमारी जस्ता प्रथाहरु प्रचलनमा रहेका छन् । दाइजो तथा तिलक, बालविवाह, मन्जुरी विना विवाह , बोक्सीको रुपमा महिलालाई आरोप लगाई जिउंदै जलाउंने ,दाइजो नल्याएको कारण कुटपीटदेखि मार्ने सम्म कार्यले समाजमा महिलाहरु चरम विभेदको शिकार भैरहेका छन् । महिला र पुरुष विच रहेको असमान शक्ति सम्बन्धका कारणले महिला माथि हिंसा हुने गर्दछ । यो लैगिंक विभेदको कारण र प्रतिफल हो ।
पितृसत्तात्मक मूल्य र मान्यतामा आधारित, असन्तुलित सामाजिक संचना, पुरुष प्रधानता र महिलाको सहायक भूमिका महिलामाथि हुने हिंसाका मूल स्रोत हुन । संयुक्त राष्टसंघको महासभाको परिभाषामा “सामाजिक लिङ्गको आधारमा गरिने सम्पूर्ण कार्यहरु जसबाट महिलालाई शारिरीक, मानसिक, सामाजिक हिंसा र यौनिक रुपमा आघात पुग्दछ र डर, धाक, धम्की, ओहोदा र हैसियतको प्रयोग गरी यस किसिमको आघात पुर्याउने काम गरिन्छ वा बलपूर्वक महिलाको स्वतन्त्रता हनन् गर्दै व्यक्तिगत र सामाजिक जिवनमा प्रभावित गर्दछ भने त्यस्ता सबै कार्यलाई महिला विरुद्धको हिंसा” भनिएको छ ।
हाम्रो देशमा महिलाहरुलाई आश्रितको रुपमा हेर्ने दृष्टिकोण विद्यमान छ । हिंसा विरुद्ध सैद्धान्तिक प्रतिवद्धता देखिन्छ । तर , आज पनि नेपाली महिला मानसिक वा शारीरिक हिंसाबाट पीडित हुनु परेको छ । महिला हिंसाको मूल कारण पितृसत्तांंत्मक सामाजिक संरचना महिलाहरुलाई सामाजिक , सांस्कृतिक र आर्थिक अधिकारबाट बन्चित गराउनु हो ।
लिंगका आधारमा गरिने महिला माथिको हिंसा भेदभावको एक रुप हो । यसले महिलाको मानवअधिकारको उलंघन गर्दछ । महिलाको अधिकार उपयोग गर्ने क्षमता तथा स्वतन्त्रतामा आघात पुर्याउछ । “बोक्सी ”का नाममा महिला माथि गरिने अमानवीय व्यवहार, दाइजो, घरेलु हिंसा, बलात्कार ,महिला बेचविखन, यौन शोषण, परम्परा र धर्मका नाममा गरिने हिंसाहरु महिला विरुद्ध हिंसाका स्वरुप हुन् ।
विशेषत गर्भ अवस्थामा लिङ्ग छनौट गरि छोरी भु्रणको गर्भपतन, गर्भवस्थामा कुटपटि, शारीरिक दुव्र्यवहार, बाल विवाह, यौन दुव्र्यवहार, जवरजस्ती यौनसम्बन्ध, हाडनाता करणी, कार्यस्थलमा यौन दुव्र्यबहार, वैवाहिक बलात्कार , दाइजो र सम्पतीको कारण हिंसा /हत्या , एकल महिला र वृद्ध महिलालाइ हेला , भेदभाव जस्ता हिंसाहरु हुने गरेको छ भने पुरुष मित्रहरुबाट मनोवैज्ञानिक दुव्र्यवहार ,डर त्रास आदि हिंसाहरु देहोरिएका देखिएका छन ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सन २०१८ देखि २०२० सम्मका नेपाल मानवअधिकार वर्ष पुस्तकहरुमा अभिलेल गरिएका महिला तथा बालिका विरुद्ध हिंसा सम्बन्धी तथ्यांकहरु अध्ययन गर्दा हत्या, बलात्कार, दुव्र्यवहार, पारिवारिक हिंसा, कुटपिट, बोक्सीको आरोप, दाइजो नल्याएको वा कम ल्याएको भन्दै गरिने हिंसा, बालविवाह, बहुविवाह, महिला बेचविखन तथा ओसारपसार तथा ओसारपसार प्रयास र अमानवीय व्यवहार जस्ता घटनामा ७ हजार ७ सय महिला, ३ हजार ८ सय ७३ जना बालिका, गरी १२ हजार १ सय ९५ जना पीडित भए ।
सन् २०१८मा २ हजार २ सय ९२ महिला र १ हजार १ सय ३६ बालिका गरी ३ हजार ८ सय १ जना , सन् २०१९ मा २ हजार ९ सय ७७ महिला ,र १ हजार ३ सय ३९ बालिका गरी ४ हजार ४ सय १५ जना रहेका थिए । साथै सन २०२०मा २ हजार २ सय २३ महिला र १ हजार ३ सय ९८ बालिका गरी ३ हजार ८ सय ७९ जना पीडित भएका छन भन्ने देखाएका छन् । सन २०१८ र सन् २०२० को तुलनामा सन् २०१९मा महिला तथा बालबालिका विरुद्धका घटना धेरै भएको देखिन्छ ।
वर्तमान परिस्थितीमा महिला तथा बालिकाहरुको विशेष अवस्थाहरुलाई ध्यान दिदैं संयुक्तराष्ट्र संघको महासभाले महिला विरुद्धका सवै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धिहरुले यस्ता व्यवहारिक पक्षलाइ पनि समेटिने हुनुपर्छ । परापूर्वकाल देखि नै नेपालमा महिलालाई दोस्रो दर्जाको नागरिकको रुपमा हेर्ने मान्यता पनि केही हट्दै गएको पाइन्छ । त्यसैले यस्ता जीवन भरि महिलाले भोग्दै आउंनुपर्ने समस्या र सम्झौता वीच जीउनु पर्ने जीवनको बारेमा पनि अब आउंने दिनहरुमा हरेक सभा सम्मेलनहरुमा छलफलका विषय बन्नु पर्छ । अनि मात्र महिला र बालिका दुवैले आफ्नो सम्झौतामा जीवन चलाउंछन र महिला पुरुषको विच एक सम्मानजनक वातावरण सृजना हुन्छ र महिला हिंसामा पनि कमी आउंछ भन्ने मेरो निष्कर्ष रहेको छ ।
स्रोत ः तथ्यांक साभार अनौपचारिक शिक्षा केन्द्र (इन्सेक) ले नेपालको संवैधानिक व्यवस्थामा आएको परिवर्तन पश्चात् सन् २०१८ देखि सन् २०२० सम्म) को नेपालका ७७ जिल्लामा गरिएको अध्ययनमा आधारित ।
कोठामै सिमित सेल्टरदाताको स्मृति सभा
Tags: No Comments
मकवानपुर । जसले गाउँ गाउँको कुना कन्दरासम्म कम्युनिस्ट विचार रोप्यो र संगठनलाई बलियो बनायो । जसले शंकटमा आफ्नो ज्यानको बाजि राखेर कम्युनिस्ट विचार बोक्यो र निर्धक्क भएर विचार पोख्न उत्प्रेरित गर्यो ।
जसले जीवनलाई पदभन्दा संगठन र सामाजिक हितको खातिर लगायो उस्को संझनामा आज मकवानपुरको केहि कम्युनिस्टहरूले सानो कोठामा सिमित व्यक्तिको उपस्थितिमा स्मृति सभा आयोजना गरेको छ । हो, नेकपा एमालेजनहरूले सेल्टरदाताको उपमा दिएर पार्टी आमाको रूपमा मान्दै आएको स्वर्गीय बालकुमारी थापाको दोस्रो स्मृति सभा पार्टी कार्यालयको सानो हलमा सिमित गरियो ।

तत्कालीन राजा वीरेन्द्रले २ जेठ २०३६ मा जनमतसंग्रह घोषणा गरेलगत्तै नेपाली कांग्रेसले प्रजातन्त्रको पक्षमा प्रचार थाल्यो । तत्कालीन नेकपा मालेले भने सक्रिय बहिष्कार गर्ने निर्णय गर्यो । जुन निर्णय थापाकै घरमा गरिएको थियो ।
मकवानपुरको हटिया, राजदेवीस्थित पार्टी सेल्टरमा नेकपा मालेका तत्कालीन महासचिव सीपी मैनालीसहित झलनाथ खनाल, माधवकुमार नेपाल, मोदनाथ प्रश्रित, मुकुन्द न्यौपाने, मदन भण्डारी, जीवराज आश्रित, प्रदीप नेपाल लगायत नेताहरू सहभागी केन्द्रीय कमिटी बैठकले यो निर्णय गरेको थियो ।
मकवानपुरकै पहिलो सेल्टरदाता थापाले २०३३ देखि २०४६ सालसम्म पार्टी कार्यालय जस्तै बनाइन् ।
३–४ वैशाख २०३७ मा त्यही घरमा भएको ‘अगुवा महिला कार्यकर्ता प्रथम राष्ट्रिय भेला’ ले अखिल नेपाल महिला (अनेम) संघ स्थापनाको निर्णय गरेको थियो । आज अनेमसंघ मकवानपुरको आयोजनामा भएको स्मृति सभामा पार्टीको सिमित व्यक्तिहरू मात्रै सहभागी थिए ।

अखिल नेपाल महिला संघ संस्थापक अध्यक्ष स्वर्गीय थापाको दोस्रो स्मृति सभा अध्यक्षता जिल्ला अध्यक्ष सुमित्रा काफ्ले विभिन्न व्यस्तताका बाबजुद सिमित रूपमा स्मृति सभा गर्न परेको बताइन् । कार्यक्रममा प्रमुख अतिथीको रूपमा उपस्तिथ पार्टी केन्द्रिय सदस्य तथा अनेमसंघ केन्द्रिय सचिवालय सदस्य जुनेली श्रेष्ठले थापाको जीवनसंघर्षबाट आफूहरूले धेरै सिकेको स्मरण गरिन ।
“दिदिको जीवनकालको घटना, संघर्ष सम्झदा र आज उहाँ हामीबिच भौतिक रूपमा हुनुहुन्न भन्न पनि गाह्रो हुन्छ” श्रेष्ठले अबरुद्ध गलापार्दै भनिन् “उहाँले सधै
पहाड जस्तो मृत्यु हुनुपर्छ भन्नुहुन्थ्यो, त्यो के भन्नुभको हामी बुझ्दैनथ्यौ,आज बुझ्ने भयौ,उहाँको मृत्युु पहाड जस्तै पनि भयो ।”
थापालाई नचिनेको कारण स्मृति सभामा महिलाको मात्रै उपस्थिति भएको उनको बुझाई छ । “उहाँ महिला मात्रै हुनुहुन्थेन, पार्टीको आमा हुनुहुन्थ्यो तर आज खै उहाँको सम्मानमा उपस्थिति ?” श्रेष्ठले प्रश्न गरिन् । स्मृति सभा थापाकै घरमा पुगेर, खचाखच उपस्थितिमा हुनुपर्नेमा त्यसो नभएको प्रति श्रेष्ठले आफैलाई पीडाबोध भएको बताइन् । अनेमसंघले थापाको योगदानको महत्त्व बुझाउन अब अनेमसंघले भूमिका खेल्नुपर्ने उनले बताइन् । “संगठनको नाता अन्य नाता जस्तो हैन मजबुत हुन्छ” श्रेष्ठले भनिन् ।
कार्यक्रममा पार्टी केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज रामेश्वर रानाले भूमिगत कालमा अति नै कष्टकर काम गरेर अखिल नेपाल महिला संघलाई स्थापित गर्दा थापाको योगदानको स्मरण गरे । “उहाँको विचार र दृष्टिकोणलाई हामीले फैलाउनु पर्छ” रानाले भने ।
यसैगरी बागमती प्रदेश पुर्व मुख्यमन्त्री तथा पार्टी केन्द्रिय सल्लाहकार सदस्य डोरमणी पौडेलले पुर्वजहरूले पार्टीमा गरेको मेहनतको कदर हुने संस्कारको बिकास गर्नुपर्ने बताए । “बर्षमा एक दिन मात्रै हैन,उहाँहरूको योगदानलाई हेरेर हामी अघि बढौ”पौडेलले भने ” बालकुमारी स्मृति प्रतिष्ठान स्थापना गर्ने कुरा किन पुरा भएन?” यस्तो काम गर्न सके सदा स्मरणीय बनाउने भएकोले यसतर्फ लाग्न पौडेलले आग्रह गरे ।

कार्यक्रम अनेमसंघ केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज पद्मा पौडेलले महिला भएकोले घरायसी आफ्नो जिम्मेवारी भ्याएर थापाले पार्टीको लागि गरेको काम हेरेर आजको पुस्तालाई उर्जा मिलेको बताइन् ।
मकवानपुरकै पहिलो सेल्टरको रूपमा रहेको थापाको घर हेटौंडा १७ मा पर्छ ।थापाले आफ्नाे घरलाई बिं स २०३३ देखि २०४६ सालसम्म पार्टी कार्यालय जस्तै बनाएको नेकपा केन्द्रिय सचिवालय सदस्य श्रेष्ठले बताइन् । मुटु रोगको समस्या झेल्दै आएकी थापाको २९ असार २०७७ सोमबारको दिन ७६ वर्षको उमेरमा निधन भएको थियो ।
मकवानपुर । महिला साहित्यकारहरुको संस्था आँचल साहित्य कला पुञ्जको अध्यक्षमा भावना सापकोटा चयन भएकी छिन् । आँचलमा सापकोटाको नेतृत्वमा ९ सदस्यीय समिति सर्वसम्मत चयन भएको हाे ।
शनिबार हेटौंडामा भएको आँचलकाे चाैथाे साधारण सभाले उपाध्यक्ष नीरा शर्मा, सचिव सविता तिमल्सिना, कोषाध्यक्षमा निर्मला ब्लोन र सहसचिवमा चण्डिका गौतम चयन गरेकाे हाे ।
यस्तै सदस्यमा भवानी तिमल्सिना, रजनी पौडेल, एलिजा पुडासैनी र ज्योत्सना श्रेष्ठ चयन भएका छन् । नवनिर्वाचित समितिले कार्यसमितिमा २ जनालाई मनोनित गरी ११ सदस्यीय समिति बनाउने नवनिर्वाचित अध्यक्ष भावना सापकोटाले जानकारी दिइन् । नव निर्वाचित समितिकाे कार्यकाल ३ वर्षकाे हुने छ ।
बालबालिकाको अवस्था सुधार्न स्थानीय सरकार जिम्मेवार हुनुपर्ने
Tags: No Comments
मकवानपुर । बालबालिकाहरुको विद्यमान अवस्थामा सुधार ल्याउन स्थानीय सरकार जिम्मेवार हुनुपर्ने बताइएको छ ।
संविधानले बालबालिकाको संरक्षण, उनीहरुको वृद्धि विकास तथा हितको लागि महत्वपूर्ण व्यवस्था गरेको भए पनि स्थानीय स्तरसम्म आइपुग्दा कार्यान्वय पक्ष फितलो भएको कारण बालबालिकाको विद्यामान अवस्थामा सुधार नआएको सरोकारवालाहरुले बताएका छन् ।
सिविन बाल हेल्प लाइन मकवानपुरले आयोजना गरेको बालश्रमको विद्यमान अवस्था, न्यूनीकरणका प्रयास, चुनौती र भावीकार्यदिशमा विषयक प्रदेश स्तरीय सरोकारवालसँग कार्यशाला गोष्ठीमा सहभागीहरुले यस्तो बताएका हुन् ।
बालमैत्री स्थानीय शासन लागु भएका स्थानीय तहहरुमा समेत बालमैत्री संरचनाहरु नभएको, बालमैत्री स्थानीय शासनको पूर्ण कार्यान्वयन नभएको, स्थानीय तहका जनप्रतिनिधिहरुले बालमैत्री अभियानमा सहकार्य गर्न राम्रो चासो नदिने गरेको बाल क्लबका प्रतिनिधिहरुले गुनासो गरेका छन् । बालबालिकाहरुको अवस्थामा सुधार ल्याउन स्थानीय तहको वडा सदस्य, वडा अध्यक्षदेखि नै जिम्मेवार बन्नु पर्ने उनीहरुले बताए ।
“हाम्रो सवालमा साथ दिनुभन्दा हाम्रो अभियानमा भाँचो हाल्ने काम सम्म भएका छन्” मकवानपुर जिल्ला मनहरी गाउँपालिका स्तरीय बाल क्लब सञ्जालका अध्यक्ष आशिस बुढाथोकीले भने ।
गाउँपालिका स्तरीय बालक्लब सन्जाल अध्यक्ष बुढाथोकीका अनुसार मनहरी गाउँपालिकामा ८८ वटा बाल क्लब संजाल छन् । जसको अगुवाइमा १०० भन्दा बढी बालबालिका रोकिएको उनले बताए । “विगतमा सबै जनप्रतिनिधिको साथ पाउन गाह्रो भयो, आशा छ अब हालै निर्वाचित भएर आउनु भएका जनप्रतिनिधिबाट साथ होला ।”
कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुर प्रमुख ललित घलानले सबैलाई कर्तव्यबोध गराउन ध्यान दिनुपर्ने बताए । जनप्रतिनिधिहरुलाई कर्तव्य बोध गराउनमा आफूले पनि निर्देशन गर्ने उनले बताए ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिका प्रमुख मिना लामाले महिला र बालबालिकाको क्षेत्रमा काम गर्न अझै धेरै बुझाउनु पर्ने अवस्था रहेको बताइन् । “जसरी भौतिक पूर्वाधारको क्षेत्रमा काम गर्न सबैको मत सहजै जुट्छ, बालबालिका महिलाको क्षेत्रमा काम गर्न त्यो सहमति जुटाउनै संघर्ष गर्नुपर्छ” उनले भनिन् ।
कार्यक्रममा सिविन नेपाल अध्यक्ष माधब प्रधानले संविधानमा भएको कुरालाई कार्यान्वयनमा ल्याउने स्थानीय तहबाटै रणनीति र कार्यनीति आवश्यक भएको बताए ।
कार्यक्रममा अधिवक्ता सागर भण्डारीले कानुनी चुनौती तथा विवादित बुँदाहरुको कारण बालबालिकाहरुको अवस्थामाथि सुधार ल्याउन समस्या भएको बताए । स्थानीय तहमा बालकल्याण अधिकारी नियुक्ति नहुंदा समस्या भएकोले तत्काल यस्तो पदपुर्ति हुनुपर्ने उनले बताए ।
बालबालिका सम्बन्धि स्थिति पत्र प्रकाशन गर्ने, सबै पालिकामा १०९८ संचालन गर्ने, सामूहिक लगानीमा अस्थायी गृह बनाएर, बैकल्पिक स्याहारको व्यवस्था गर्ने जस्ता विषयमा गोष्ठिमा सहभागी सरोकारवालाहरुले सुझाव दिएका थिए ।
बागमती प्रदेशको ८ स्थानीय तह र मकवानपुर जिल्लाको ३ स्थानीय तह हालसम्म बालमैत्री स्थानीय शासन लागु भएको घोषणा भैसकेको छ । सिविन नेपाल अध्यक्ष माधब प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुर जिल्लाको १० स्थानीय तहका प्रतिनिधिहरु, सामाजिक विकास मन्त्रालय, स्वास्थ मन्त्रालय, जिल्ला समन्वय समिति, बाल अधिकारको क्षेत्रमा कार्यरत गैरसरकारी संस्थाहरुको प्रतिनिधित्व रहेको थियो ।
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा पहिलो पटक प्रदेश स्तरीय महिला उद्यमी सम्मेलन तथा उपज प्रदर्शनी (मेला) आजबाट सुरू भएको छ ।
मेलाको उद्घाटन गर्दै बागमती प्रदेश मुख्यमन्त्री राजेन्द्र पाण्डेले स्थानीय तहको व्यवस्था पछि महिला सशक्तीकरण राम्रो भएकोले अब महिलाको आर्थिक हैसियत उठाउनु पर्ने बताए ।
हालै सम्पन्न स्थानीय तह निर्वाचनमा चुनावी गठबन्धनले महिलाको उपस्थिति घटेको भन्दै मुख्यमन्त्री पाण्डेले आर्थिक उपस्थितिलाई भने बलियो बनाउन सकिने बताए ।
“राजनीतिक तहमा महिलाको हैसियत बलियो छ, आर्थिक क्षेत्रमा पनि महिलाको हैसियत बलियो बनाउनु पर्छ, बागमती प्रदेशले महिलालाई आर्थिक रूपमा सशक्तीकरण गर्न कृषिमा आकर्षण बढाएका छ” उनले भने ।
कृषि उद्योगको विकास गर्न महिलालाई प्राथमिकता प्रोत्साहन गरेको बताउँदै मुख्यमन्त्री पाण्डेले महिलालाई कृषिमा दुध, जडिबुटी, औषधिको उत्पादन बढाउन लागि पर्न आग्रह गरे ।

“बागमतीको महिलालाई आर्थिक हैसियतमा उच्च बनाउन प्रदेश सरकार तयार छ यसैले हाम्रो प्रदेशमा उद्योगको विकास गर्न हामीले उद्योग मन्त्रालय छुट्टै व्यवस्था गरेछौँ” उनले भने ।
बागमती प्रदेश सरकार उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको आयोजना तथा नेपाल घरेलु तथा साना उद्योग महासंघ बागमती प्रदेश समिति तथा प्रदेश महिला उद्यमी समितिको समन्वयमा मेला आयोजना गरिएको हो ।
हेटौंडाको रोयल पार्टी प्यालेसमा महिलाले उत्पादन गरेको सबै प्रकारको उपजहरुलाई प्रदर्शनीमा राखिने नेपाल घरेलु तथा साना उद्योग महासंघ बागमती प्रदेश समिति कार्यवाहक अध्यक्ष तथा प्रदर्शनी कार्यक्रमका संयोजक तारानाथ चौलागाईले बताए ।
चौलागाईका अनुसार प्रदर्शनीमा कम्तिमा ५० वटा स्टलहरुमा महिलाले उत्पादन गरेको उपजहरु राखिएको छ । सम्मेलनमा सहभागीका रुपमा प्रदेशको १३ वटै जिल्लाबाट ७८ जना महिला उद्यामी प्रतिनिधिहरु, ३२ जना प्रदेश समिति तथा स्थानीय महिला उद्यमीहरु र २० जना आमन्त्रित महिला उद्यमीहरु रहने नेपाल घरेलु तथा साना उद्योग महासंघ बागमती प्रदेशका कार्यकारी निर्देशक शम्भुप्रसाद नेपालले बताए ।
मेलामा १३ जिल्लाका ३९ जना उद्यमीहरु उपज प्रदर्शनीमा सहभागी छन् । उनीहरुलाई उपज प्रदर्शनीको लागि निशुल्क स्टल उपलब्ध गराइने छ भने बस्ने र खाने व्यवस्था समेत आयोजकले नै व्यहोर्ने छ ।
प्रदेशको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठको अध्यक्षतामा मेलाको उद्घाटन गरिएको हो ।