सौराहा (चितवन) । ३ करोड बराबरको कारोवार गर्दै चितवन जिल्लाको सौराहामा जारी सौराहा फुड फेस्टिवल आज सकिएको छ ।
दैनिक ५ हजार पर्यटकले अवलोकन गरेको फेस्टिवलमा अनुमानित ६० लाख खर्च भएको आयाेजककाे भनाइ छ । कोराना महामारीपछि सौराहा सहित चितवनको पर्यटन पुरानै लयमा फर्किने क्रममा रहेको छ । यस्ता महाेत्सवले पर्यटकीय गतिविधि समेत बढाएकाे बताइएकाे छ ।
महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकार तथा दी एक्सिस ब्यान्डको साङ्गीतिक प्रस्तुति, स्थानीय जनजातिका खाना प्रदर्शनी तथा प्रतियोगिता, वेटर तथा वेट्रेसबीच प्रतियोगिता, प्रणय दिवस विशेष कार्यक्रम, डोरी तान्ने प्रतियोगिता, रेवान कप पालिकास्तरीय भलिबल प्रतियोगिता, अन्तरविद्यालय नृत्य प्रतियोगितालगायत गतिविधि कार्यक्रम गर्दै चितवनकाे साैराहामा भएकाे मेला सकिएकाे हाे।
रेस्टुरेन्ट एण्ड बार एसाेसिएशन नेपाल (रेवान) सौराहाले प्रणय दिवसको अवसरमा पर्यटकीय नगरी सौराहामा १८ औं सौराहा फूड फेस्टिबल आयोजना गरेको थियाे ।

महोत्सवमा खानाकाे विविध परिकारसँगै मनोरञ्जनलगायत कार्यक्रम भएको थियो । माघ २८ गतेबाट शुरु गरिएकाे महोत्सव ५ दिन सन्चालन भएको हो । खाना, सङ्गीत र संस्कृतिलाई सँगसँगै अगाडि बढाएर सौराहाको पर्यटनलाई पुरानै अवस्थामा फर्काउने गरी महोत्सव आयोजना गरिएको रेवान अध्यक्ष ध्रुब गिरीले बताए ।
“सौराहा फूड फेस्टिवलकोे आफ्नै गौरवमय ईतिहास छ” गिरीले भने हरेक वर्ष प्रणय दिवसको अवसरमा फूड फेस्टिवल आयोजना गरिदैं आईएको छ । सौराहाको पर्यटन विकास गर्ने, विभिन्न जातजातिका परम्परागत तथा स्थानीय, स्वदेशी, विदेशी खानाको प्रवर्द्धन गर्ने, स्थानीय कला, संस्कृति, भेषभूषाको जगेर्ना गर्दै पर्यटकीय गन्तव्यकारुपमा सौराहालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पहिचान गराउने, उज्यालो सौराहालाई निरन्तरता दिइने महोत्सवको लक्ष्य रहेको संयोजक सूर्यबहादुर रिमालले जानकारी दिए ।
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले ५५ औं स्थापना दिवस अवसरमा मकवानपुरका ५ पत्रकारलाई सम्मानित गरेकाे छ ।
उपमहानगरपालिकाले मकवानपुरका पत्रकारहरु सुनिता विष्ट, निसा गुरुङ, अमृत चिमरिया, गणेश दुलाल र भावना रिजाललाई सम्मान गरेकाे हाे । सञ्चार माध्यममा उपमहानगरका समाचारलाई प्राथमिकता दिएकोले भन्दै सम्मान गरिएको हाे । उपमहानगरले उत्कृष्ठ कृषक, उद्यमी, खेलाडी, करदाता, शिक्षक, पत्रकार, कलाकार, कर्मचारी, सामाजिक संघसस्था, स्वास्थ्य स्वयम सेवीका, टोलविकास संस्था, बाल समुह र जग्गादाताहरुलाई सम्मान गरिएको हो ।
कार्यक्रममा नेपाल सरकारका कृषि तथा पशुपंक्षि विकास मन्त्री बेदुराम भूषालले नेपालमा कृषिबाटै समृद्धि सम्भव रहेको बताए ।
कृषि र पशुपालनमा प्रविधिको प्रयोग आवश्यक भएको बताउँदै कृषिका लागि आवश्यक मल, बिउ, सिँचाइ सुविधाको समन्वय भएमा कृषि आर्थिक वृद्धिसँगै प्रगतिको प्रमुख आधार बन्ने उनले बताए । मन्त्री भुषालले पशुपालनको नेपालमा राम्रो सम्भावना रहेको बताउँदै भैंसीपालनबाट मासु र दुध दुवै पाउने भएकोले सरकारले यसक्षेत्रलाई प्राथमिकतामा राखेको बताए ।
हेटौँडा उपमहानगरपालिकाका नगरप्रमुख मीनाकुमारी लामाले उपमहानगरले समानुपातिका विकासमा जोड दिएको बताइन । कार्यक्रममा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ, प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाई, नेपाली कांग्रेस मकवाानपुरका सभापति बुद्ध लामा, नेकपा एमाले मकवानपुरका उपसचिव सीता विष्ट, नेकपा माओवादी केन्द्रका सागर बानियाँ, नेकपा एकीकृत समाजवादी अध्यक्ष विष्णुप्रसाद दाहाल, जनता समाजवादी पार्टीका सोमबहादुर घलान, नगरस्तरीय बाल सञ्जालका सचिव प्रकृति भण्डारीलगायतकाे उपस्थिति रहेकाे थियाे ।
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका हाँडीखोलामा कोल्डस्टोर निर्माण हुने भएको छ । मनहरी गाउँपालिकाकाे ६ करोडभन्दा बढी रकम लगानीमा कोल्डस्टोर निर्माण गर्न लागेको हो ।
तरकारी उत्पादनको लागि पकेट क्षेत्र मानिने हाडिखाेलामा गाउँपालिकाले बुधबार हिमालयन नमोवुद्ध जेभीसँग ६ करोड २८ लाख ४५ हजारमा कोल्डस्टोर निर्माण गर्ने सम्झौता गरेको छ ।
गत जेठ २ गते नै गाउँपालिकाले कोल्ड स्टोर निर्माणका लागि बोलपत्र आह्वान गरेको थियो । गाउँपालिकाको प्राविधिक मुल्याङ्कन अनुरुप कुल ७ करोड ५७ लाख ९६ हजार लागत अनुमान गरिएकोमा हिमालयन नवोवुद्ध जेभीसँग सबैभन्दा कम ६ करोँड २८ लाख ४५ हजारमा ठेक्का सम्झौता भएकाे थियाे । बोलपत्रमा दोस्रो नम्बरमा परेको कम्पनी हिमाल एमएम जेभीलेले ठेक्का सकार्ने कम्पनीविरुद्ध मुद्दा दायर गरेपछि तत्कालीन समयमा सम्झौताको काम हुन सकेको थिएन ।
गत माघ ५ गते अदालतले सो रिट निवेदन खारेज गरेपछि गाउँपालिकाले बुधबार कम्पनीसँग सम्झौता गरेको हो । २ वर्षभित्र काम सक्याउने गरी सम्झौतापत्रमा हस्ताक्षर भएको मनहरी ३ का वडाध्यक्ष अनन्तप्रकाश अर्यालले जानकारी दिए । मुद्दाका कारण सम्झौता नै ढिलाई भएको बताउँदै अर्यालले तोकिएको समयभित्रै काम सम्पन्न गर्न ठेकेदारलाई निर्देशन दिए ।
गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले हाँडीखोलामा कोल्ड स्टोर निर्माण गर्ने निर्वाचन अघिकै याेजना रहेकोमा त्यो पूरा हुन लागेको बताए । हाँडीखोलामा उत्पादन हुने तरकारी तथा बालीले उचित मूल्य नपाउँदा किसानहरु मर्कामा पर्ने गरेको बताउँदै अध्यक्ष कालाखेतीले कोल्ड स्टोर निर्माण पछि किसानले तरकारी तथा बाली भण्डारण गरी उचित समयमा बिक्री गरी राम्रो मूल्य पाउन सक्ने बताए ।
कोल्डस्टोर निर्माणको लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा ३ करोड २० लाख रुपैयाँ बिनियोजन गरेको छ । आगामी वर्ष थप बजेटको व्यवस्था गरी कोल्ड स्टोर निर्माण पूरा गर्ने गाउँपालिकाको योजना छ । मनहरी गाउँपालिका वडा नं ३ हाँडीखोलामा कोल्ड स्टोर निर्माण भएपछि त्यस क्षेत्रमा उत्पादित तरकारीको भण्डारण गर्ने र उचित मूल्य प्राप्त भएपछि मात्रै बिक्री गर्ने सुविधा किसानले पाउनेछन् ।