सौराहा (चितवन) । ३ करोड बराबरको कारोवार गर्दै चितवन जिल्लाको सौराहामा जारी सौराहा फुड फेस्टिवल आज सकिएको छ ।
दैनिक ५ हजार पर्यटकले अवलोकन गरेको फेस्टिवलमा अनुमानित ६० लाख खर्च भएको आयाेजककाे भनाइ छ । कोराना महामारीपछि सौराहा सहित चितवनको पर्यटन पुरानै लयमा फर्किने क्रममा रहेको छ । यस्ता महाेत्सवले पर्यटकीय गतिविधि समेत बढाएकाे बताइएकाे छ ।
महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकार तथा दी एक्सिस ब्यान्डको साङ्गीतिक प्रस्तुति, स्थानीय जनजातिका खाना प्रदर्शनी तथा प्रतियोगिता, वेटर तथा वेट्रेसबीच प्रतियोगिता, प्रणय दिवस विशेष कार्यक्रम, डोरी तान्ने प्रतियोगिता, रेवान कप पालिकास्तरीय भलिबल प्रतियोगिता, अन्तरविद्यालय नृत्य प्रतियोगितालगायत गतिविधि कार्यक्रम गर्दै चितवनकाे साैराहामा भएकाे मेला सकिएकाे हाे।
रेस्टुरेन्ट एण्ड बार एसाेसिएशन नेपाल (रेवान) सौराहाले प्रणय दिवसको अवसरमा पर्यटकीय नगरी सौराहामा १८ औं सौराहा फूड फेस्टिबल आयोजना गरेको थियाे ।

महोत्सवमा खानाकाे विविध परिकारसँगै मनोरञ्जनलगायत कार्यक्रम भएको थियो । माघ २८ गतेबाट शुरु गरिएकाे महोत्सव ५ दिन सन्चालन भएको हो । खाना, सङ्गीत र संस्कृतिलाई सँगसँगै अगाडि बढाएर सौराहाको पर्यटनलाई पुरानै अवस्थामा फर्काउने गरी महोत्सव आयोजना गरिएको रेवान अध्यक्ष ध्रुब गिरीले बताए ।
“सौराहा फूड फेस्टिवलकोे आफ्नै गौरवमय ईतिहास छ” गिरीले भने हरेक वर्ष प्रणय दिवसको अवसरमा फूड फेस्टिवल आयोजना गरिदैं आईएको छ । सौराहाको पर्यटन विकास गर्ने, विभिन्न जातजातिका परम्परागत तथा स्थानीय, स्वदेशी, विदेशी खानाको प्रवर्द्धन गर्ने, स्थानीय कला, संस्कृति, भेषभूषाको जगेर्ना गर्दै पर्यटकीय गन्तव्यकारुपमा सौराहालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पहिचान गराउने, उज्यालो सौराहालाई निरन्तरता दिइने महोत्सवको लक्ष्य रहेको संयोजक सूर्यबहादुर रिमालले जानकारी दिए ।

