मकवानपुर । जिल्ला समन्वय समिति (जिसस) मकवानपुर प्रमुखमा ललित बहादुर घलान निर्वाचित भएका छन् । मकवानपुरका १० पालिकाका प्रमुख/अध्यक्ष र उपप्रमुख/उपाध्यक्ष २० जना मतदाता रहेकाेमा घलानले १७ मत प्राप्त गरी निर्विवाचित भएका हुन् ।
जिसस उपप्रमुखमा उम्मेदवारको मनाेनयन दर्ता गर्ने दिनमा नेपाली कांग्रेसका सानुकाजी लुईटेलकाे मात्र मनाेनयन परेकाेले उनी निर्विरोध निर्वाचित भएका थिए । पाँच दलीय गठबन्धनको बहुमत भएता पनि निर्वाचन प्रक्रियाबाट जिल्ला समन्वय समितिका पदाधिकारी निर्वाचित भएका हुन ।
जिसस प्रमुखमा निर्वाचित घलान गठबन्धन दलबाट उम्मेदवार थिए । नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेका घलान स्थानीय तह सदस्य निर्वाचन २०७९ मा हेटौडा उपमहानगरपालिका वडा नं. १२ मा वडा अध्यक्षमा निर्वाचित भएका थिए ।यसैगरी नेकपा एमालेबाट जिसस प्रमुखमा उम्मेदवारी दिएका इन्द्रसराेबर गाउँपालिकाका बुद्धिराम डिम्डुङले ३ मत प्राप्त गरेका छन् ।
९ सदस्यीय जिससमा दलित तथा अल्पसंख्यक सदस्यतर्फ नेकपा एकीकृत समाजवादीबाट सुनिता दर्नाल परियारले मात्रै उम्मेदवारी दर्ता गराएकी छिन् । उनी निर्विराेध निर्वाचित भएकी हुन् ।
जिससको सदस्यतर्फ गठबन्धनका उम्मेदवारहरु निर्वाचित भएका छन् । महिला सदस्यमा तारा ढुङ्गाना, विष्णुमाया थपलिया र सुमित्रा थिङले १७ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । उनीहरु नेपाली कांग्रेसबाट उम्मेदवार बनेका थिए । एमालेबाट उम्मेदवार बनेका बिना कुमारी थिङ लामाले ३ मत प्राप्त गरेकी छिन् ।
त्यस्तै, सदस्य तर्फमा खड्ग बहादुर पुलामी, सुवर्ण गोपाली र बिरेन्द्र कुमार लामा निर्वाचित भएका छन् । पुलामी र गोपालीले १७ मत प्राप्त गरेका छन् । उनीहरु माओवादी केन्द्रबाट उम्मेदवार बनेका थिए । नेकपा (एस)बाट उम्मेदवार बनेका लामाले १६ मत प्राप्त गरेका थिए । एमालेका उम्मेदवार तोयानाथ तिमल्सिनाले ३ मत प्राप्त गरेका छन् ।
मकवानपुर । आगामी आर्थिक वर्षको बजेट कार्यक्रममा बागमती प्रदेश सरकारले कृषिक्षेत्रको विकास तथा आत्मानिर्भरतालाई विशेष प्राथमिकता दिएको छ । प्रदेश सरकारले कृषि क्षेत्रको लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयको लागि ४ अर्ब ४९ करोड ३० लाख विनियोजन छुट्याएको छ ।
प्रदेश सरकारले कृषि तथा पशुपन्छी मन्त्रालयबाट कृषिमा आधुनिकीकरण, व्यवसायिकरण र यान्त्रीक रुपान्तरणको लक्ष्य लिएको छ । कृषिमा सीपयुक्त जनशक्ति र उद्यमशिलता विकास तथा रोजगारी र स्वरोजगारीका अवसरको सिर्जना गर्ने लक्ष्य लिइएको छ /
कृषि क्षेत्रलाई निर्वाहमुखी अवस्थाबाट आधुनिकीकरण, विशिष्टीकरण, यान्त्रिकरण, औद्योगिकीकरण र व्यावसायिकरण गरी रुपान्तरण गर्न र कृषि तथा पशुपन्छी पालनमा संलग्न किसान, व्यवसायी र सहकारीलाई प्रोत्साहन र बजारको पहुँच सहजीकरण गर्न जोड दिने योजनाहरु प्रदेश सरकारले अघि सारेको प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री शालिकाराम जमकट्टेले बताए ।
प्रदेश सरकारले कृषि तथा पशुपालनका क्षेत्रमा प्रदान गरिदै आएको अनुदानको प्रभावकारिता कम देखिएको भन्दै उत्पादनमा आधारित प्रोत्साहन बाहेकका सबै अनुदान खारेज गरेको छ । आगामी वर्षदेखि वास्तविक किसानलाई सहयोग पु¥याउने उद्देश्यले घुम्तीकोष स्थापना गरी समूह, नीजि तथा सहकारी लक्षित गरी कार्य प्रगतिको आधारमा र्निब्याजी बीउ पुँजी किस्ताबन्दीमा उपलब्ध गराउन ५० करोड विनियोजन गरेको छ ।
बीउ पुँजीको अन्तिम किस्ता प्रदान गर्दा उत्पादन परिमाणलाई आधार बनाईने र निश्चित वर्षपछि सो रकम फिर्ता गर्नुपर्ने गरी यथाशीघ्र कार्यविधि तर्जुमा गरिने प्रदेश सरकारले जनाएको छ।
अण्डा, माछा–मासु, आलु, प्याज, लसुन र अदुवालगायतका वस्तुहरूमा आत्मनिर्भर बनाउन उत्पादनमा आधारित प्रोत्साहन प्रदान गर्न ४४ करोड ५० लाख बजेट व्यवस्था गरेको प्रदेश सरकारले प्याज र लसुनको प्रवद्र्धनका लागि दश क्विन्टलभन्दा बढी उत्पादन गर्ने किसानलाई प्रति किलो एक रुपैयाँको दरले प्रोत्साहन दिने भएको छ ।
संघीय र स्थानीय तहसँगको समन्वयमा बाँझो एवं उपयोगविहीन खेतीयोग्य जमिन किसान, कृषक समुह र कृषि सहकारीलाई भाडामा उपलब्ध गराउने, संघीय सरकारबाट हस्तान्तरण भई आउने कृषि तथा पशु जोनलाई प्रभावकारी रुपले सञ्चालन गर्नको लागि प्रदेश सरकारले बजेट छुट्याएको छ ।
दुधको उत्पादनमा आगामी ३ वर्ष भित्र ३५ प्रतिशतले बृद्धि गर्न सम्भाव्यताका आधारमा डेरी एक्सेलेन्सी सेन्टर स्थापना गर्न सहकारी तथा नीजि क्षेत्रलाई प्रोत्साहन दिने कार्यक्रम ल्याइने भएको छ । प्रदेश सरकारले यस अघि दुध उत्पादनमा दिईदै आएको प्रति लिटर दुई रुपैया उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमलाईलाई भने आगामी वर्ष थप विस्तार गरिने जमकट्टेलले बताए । तर यस कार्यक्रमबाट वास्तविक किसान लाभान्वित भए नभएको सम्वन्धमा अनुगमन गर्न संयन्त्र बनाईने उनले बताए ।
उक्त प्रोत्साहन रकम किसानहरुको बैंक खातामा सोझै जम्मा हुने व्यवस्था मिलाईनेछ । दुध उत्पादन प्रवद्र्धन गर्ने कार्यक्रमको लागि प्रदेश सरकारले ३० करोड विनियोजन गरेको छ ।
यसैगरी कृषि क्षेत्रको विकासकै लागि हेटौंडामा निर्माणाधिन पाउडर प्लान्ट आगामी वर्षदेखि सञ्चालनमा ल्याउने गरी निर्माण कार्यलाई तिव्रता दिने भएको छ । यसैगरी काभ्रेपलाञ्चोक जिल्लामा मिनी पाउडर प्लान्ट स्थापनाको कार्य अगाडि बढाइने भएको छ ।
एकल महिलाद्धारा संचालित कृषि फर्म र कृषि उत्पादकमूलक कार्यक्रमलाई कामका आधारमा प्रोत्साहन दिईने, दलित किसानहरुलाई तरकारी, फलफूल, नगदे बालीमा आकर्षित गरी स्वआर्जन गर्ने अवस्था सिर्जना गरिने, बनकरिया, सुरेल, हायु, बोटे, माझी, जिरेल, थामी, चेपाङ र भुजेल जातिका किसानको जीवनस्तर उठाउन कृषि शिक्षा र बीउ पुँजी उपलब्ध गराउने जस्ता कार्यक्रम पनि आगामी वर्षको बजेटको प्राथमिकतामा परेका छन् ।
यसैगरी सिन्धुपाल्चोक जिल्लामा बाढीबाट प्रभावित किसान लक्षित गरी कृषि व्यवसाय पुनस्र्थापना गर्न ३ करोड र धादिङ जिल्लाको रुबी भ्याली गाउँपालिका सहितका मानव विकास सूचकाङ्कमा पछाडि परेका स्थानीय तहमा कृषि प्रवद्र्धन मार्फत किसानको आयआर्जन बृद्धि गर्न २ करोड विनियोजन गरेको छ ।
प्रदेशमा उत्पादन भएका तरकारीहरुको समर्थन मूल्य तोकी सहकारी तथा नीजि क्षेत्र मार्फत खरीद गर्न प्रोत्साहन गरिने भएको छ । साथै संघीय सरकार, सहकारी र नीजि क्षेत्रसँगको सहकार्यमा अन्य मुख्य बालीहरुको समर्थन मूल्यमा खरीद गर्ने व्यवस्था मिलाउन ७ करोड ४० लाख विनियोजन गरेको छ ।
किसानहरुको आत्मसम्मान सहितको पहिचान कायम गराउन व्यावसायिकताका आधारमा किसानहरूको वर्गीकरण गरी किसान परिचयपत्र वितरण शुरु गर्ने काम प्रदेश सरकारले आगामी आर्थिक वर्षबाट सुरु गर्ने भएको छ । यही वर्गीकरणका आधारमा प्रदेश सरकारबाट दिईने प्रोत्साहनलाई लक्षित वर्गमा पु-याईनेछ ।
यसैगरी माटो परीक्षण गर्ने कार्यलाई तीव्रता दिई माटो स्वस्थता प्रमाणपत्र उपलब्ध गराउने, माटोमा ह्रास हुदै गएको प्राङ्गारीक पदार्थको मात्रालाई वृद्धि गर्न प्राङ्गारिक मल र गड्यौला मलको प्रयोगलाई प्रोत्साहन गर्न प्रदेश सरकारले ५ करोड ७५ लाख विनियोजन गरेको छ ।
आगामी तीन वर्ष भित्र प्रदेशलाई धान, मकै, गहुँलगायत तरकारी र फलफूलको बीउमा आत्मनिर्भर बनाउन नीजि तथा सहकारी क्षेत्रसँगको साझेदारीमा चितवन, मकवानपुर, धादिङ र काभ्रे जिल्लामा बीउ उत्पादनको पकेट क्षेत्र स्थापना गरी बीज प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्न ५ करोड विनियोजन गरिएको छ ।
यसैगरी प्रदेशभित्र सम्भाव्यताका आधारमा रासायनिक मल कारखाना र कृषि औजार कारखाना स्थापना गर्ने प्रक्रिया अगाडि बढाईने, बीमा कम्पनीहरुसँगको सहकार्यमा बाली तथा पशु बीमा सेवालाई विस्तार गरिने, फलफूल तथा तरकारीको व्यावसायिक उत्पादन र भण्डारणलाई टेवा पु-याउन नीजि क्षेत्रसँगको साझेदारीमा शीतभण्डार स्थापना र सञ्चालन गरिने भएको छ ।
प्रदेश भित्र निर्माणाधिन दश वटा शीत भण्डार आगामी वर्षमा नै सम्पन्न गर्न ५ करोड विनियोजन गरेको छ । साथै मकवानपुरको थाहा नगरपालिकासँगको लागत साझेदारीमा पालुङमा निर्माण भएको शीत भण्डारका लागि आवश्यक यन्त्र उपकरण खरीद गर्न ३ करोड वजेट व्यवस्था गरेको छ ।
पाँच विगाहा वा पचास रोपनी भन्दा बढी जमिनमा तरकारी खेती गर्ने किसानको कृषि उपज भण्डारणको लागि कोल्ड च्याम्बर निर्माण गर्न सहयोग पु-याउने गरी बजेट व्यवस्था गरेको छ । खेती गरिएको क्षेत्रफलका आधारमा माग बमोजिमका आधुनिक यन्त्र उपकरण उपलव्ध गराउन ११ करोड २५ लाख विनियोजन गरेको छ ।
आगामी वर्षभित्र मकवानपुरमा निर्माणाधीन कृषि थोक बजार सञ्चालनमा ल्याउन १५ करोड विनियोजन गरेको छ । धादिङ जिल्लाको धार्के र काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुरमा शीत भण्डार सहितको कृषि बजार स्थापना गर्न बजेट व्यवस्था गरेको छ ।
पशुमा लाग्ने खोरेत, पिपिआर र रेबीज रोग उन्मुलन गर्न निःशुल्क खोप अभियान कार्यक्रम सञ्चालनका लागि ५ करोड व्यवस्था गरेको छ । पशु प्रजनन् सम्वन्धी काम गर्ने कार्यालयको संस्थागत सुदृढीकरण गरी उन्नत पशुपालनलाई प्रोत्साहित गर्ने प्रवन्ध गरेको छ ।
उच्च पहाडी र हिमाली भेगमा चौँरी र च्याङ्ग्र्रा पालनको प्रबद्र्धन गर्न पशु चिकित्सक सेवा सहितको नश्ल सुधार, आहार व्यवस्थापन, खर्क सुधार, तालिम लगायतका कार्यक्रमहरू सञ्चालन गर्न आवश्यक बजेट व्यवस्था गरेको छ ।
स्थानीय तहसँगको समन्वयमा हरेक वडामा कृषि प्राविधिकको व्यवस्था सहित ‘एक वडा एक पशु स्वास्थ्य क्लिनिक’ स्थापना गर्न १८ करोड २७ लाख विनियोजन गरेको छ ।
कृषिसँग सम्बन्धित विश्वविद्यालय र कृषि अनुसन्धान परिषद्सँग सहकार्य गरी कृषि सम्बन्धी अध्ययन अनुसन्धान, प्रविधि विकास र प्रसार मार्फत कृषि प्रणालीलाई प्रवद्र्धन र रुपान्तरण गर्न रकम विनियोजन गरेको छ ।
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि कुल ७० अर्ब ९३ करोड ९२ लाख बजेट विनियोजन गरेका हुन् । कूल विनियोजन मध्ये चालु तर्फ १९ अर्ब ०२ करोड ४१ लाख, पुँजीगत तर्फ ४१ अर्ब ५६ करोड २४ लाख, वित्तीय हस्तान्तरण तर्फ ८ अर्व ३५ करोड २७ लाख र वित्तीय व्यवस्था तर्फ २ अर्ब विनियोजन गरेको छ । कूल विनियोजन मध्ये चालु तर्फ २७ प्रतिशत, पुँजीगत तर्फ ५८.५८ प्रतिशत, वित्तीय हस्तान्तरण तर्फ ११.७७ प्रतिशत र वित्तीय व्यवस्था तर्फ २.८१ प्रतिशत रहेको छ ।
आगामी आर्थिक वर्षको खर्च व्यहोर्ने स्रोत मध्ये कर राजस्वबाट २६ अर्व ९७ करोड ११ लाख, अन्य राजस्वबाट ६ अर्व २२ करोड ४४ लाख, संघीय वित्तीय हस्तान्तरणबाट २१ अर्ब ६ करोड ८७ लाख र चालु आर्थिक वर्षको अनुमानित सञ्चित कोषको बचत र अन्य प्राप्तीबाट १६ अर्ब ६७ करोड ५० लाख व्यहोरिर्ने प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जम्कट्टेलले बताए ।
मकवानपुर । एकातिर मनसुन सुरु भएको छ । अर्कोतिर बजेट सिद्याउने चटारो सुरु भएको छ ।
स्थानीय तह शहिद स्मृती गोल्डकप वर्षाको कारण २ दिन स्थगीत हुँदा प्रतिदिन १ लाखभन्दा बढी अतिरीत्त खर्च भएको थियो । यो यथार्थ जानकारी हुँदा हुँदै मनसुनको मध्यमा राष्ट्रपति रनिङ शिल्डको तयारी भएको छ ।
हेटौंडा उपमहानगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड वृहत् खेलकुद प्रतियोगिता सञ्चालन हुने तयारी भएको हो । हेटौंडा उपमहानगरपालिकाको सहयोग तथा आधुनिक राष्ट्रिय माविको आयोजनामा असार ११ र १२ गते प्रतियोगिता हुन लागेको हो ।
हेटौंडा–४ स्थित हुप्रचौरमा हुने प्रतियोगितामा एथलेटिक्स, भलिबल, कराते, तेक्वान्दो, उसु र कबड्डी खेल सञ्चालन गरिनेछ ।
हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना लामाको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा उपमेयर राजेश बानियाँ, जिल्ला खेलकुद विकास समिति तथा नगर खेलकुद विकास समितिका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।
यसैगरी मकवानपुरको थाहा नगरपालिकामा असार ३ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ । जिल्लाको मकवानपुरगढी गाउँपालिकामा पनि असारको दोस्रो सातामा प्रतियोगिता गर्ने तयारी हुँदै गरेको बुझिएको छ । सबै नगर र गाउँपालिकाहरुमा यो खेल असारको झरीमै हुने भएको छ ।
प्रत्येक वर्ष स्थानीय तहले आफू अनुकुल समयमा यस प्रतियोगिता सञ्चालन गर्ने गरी सहमति हुँदा सबैजसो पालिकाले मनसुन सुरु भएपछि प्रतियोगित गर्ने गरेका छन् ।
जसले गर्दा खेलको प्रभावकारीता भन्दा बजेट सिद्याउने प्रतिष्पिर्धा हुने गरेको छ । यस प्रतियोगिताबाट छनौट भएका खेलाडीले जिल्लास्तरमा प्रतिस्पर्धा गर्ने अवसर पाउने छन् । हतार हतार मनसुनमा खेल हुँदा न विद्यालयहरुले आफ्नो तयारी गर्न भ्याउँछन्, न त आयोजकले खेलको प्रभावकारीतामा ख्यालगर्न सक्छ ।
“पालिकाले छुट्याएको बजेट फ्रिज नहोस् भन्ने हेतुले प्रतियोगिता गराउनै पर्ने बाध्यातालाई पन्छाउन गरिने यस्तो प्रतिस्पर्धाले स्थानीय तहमा खेलाडी उत्पादन हुन्छन् कि औपचारीता मात्रै पुरा हुन्छ ?” थाहा नगरका एक खेलप्रेमीले भने ।
माओवादीले दियो लक्ष्मीलाई धोकाः भन्छिन् अब “पार्टी प्रवृत्ति विरुद्ध लड्छु”
Tags: No Comments
मकवानपुर । नेकपा एकीकृत माओवादीले आफूलाई आश्वासन दिएर धोका दिएको भन्दै नेत्री लक्ष्मी माझी कृपाले पार्टी प्रवृत्ति विरुद्ध लड्ने घोषणा गरेकी छिन् ।
स्थानीय तह सदस्य निर्वाचन २०७९ को निर्वाचनमा मकवानपुरको बकैया गाउँपालिका अध्यक्षको उम्मेदवार बनेकी एकिकृत माओवादीकी नेत्री लक्ष्मी माझीलाई जिल्ला समन्वय समिति मकवानपुरको सभापति बनाउने सहमतिमा ब्याक गराइएको थियो । तर हिजो ३० जेठमा जिल्ला समन्वय समितिको उम्मेदवारी दिनबाट पनि पार्टीले आफूलाई रोकेको उनको गुनासो छ ।
बकैया गाउँपालिकाको अध्यक्षको उम्मेदवारी फिर्ता लिन र जिल्ला समन्वय समिति मकवानपुरको सभापति बनाउनको लागि पार्टीको जिल्ला, प्रदेश र केन्द्र तहका नेताहरुको सहमति थियो । तर एकाएक आफूलाई यो मौका पनि नदिएको भन्दै उनले पार्टी प्रवृत्ति सही नभएकोले आफू यस विरुद्ध लड्ने बताएकी छिन् ।
“पार्टीले जे जे गरेपनि हामीले हाम्रो पार्टी महान, हाम्रो पार्टी सही भन्दै हिडेकै हौं, सधै यस्ता गलत प्रवृतिलाई कसरी सही भनिराख्ने ? ” उनले सञ्चारकर्मीसँग भनिन् ।
सोमबार जिल्ला समन्वय समितिको सभापति चयनको लागि बसेको पार्टी बैठकमा समेत आफूलाई समर्थन गर्नेको बहुमत रहेको तर नाटकीय रुपमा अर्को व्यक्ति खडा गरिएको भन्दै उनले आक्रोस पोखिन् । “बैठकमा मेरो समर्थनमा बहुमत देखिएपछि, प्रदेशलाई सिफारीस ग-यौ भने, पछि प्रदेशको निर्णय भन्दै अर्को निर्णय सुनाइयो” उनले भनिन् “तर यो विषय प्रदेश कमिटीमा पुगेकै रहेनछ ।”
याे पनि पढ्नुहाेस्
जिसस मकवानपुरको निर्वाचनः आज उम्मेदवार बिरुद्ध दाबि विरोध
गाउँपालिका अध्यक्षबाट ब्याक हुनको लागि प्रदेशको सामाजिक विकास मन्त्री कुमारी मोक्तानले मन्त्रालयमै बोलाएर जिसस सभापति बनाउने सुनौलो सपना देखाएकी थिइन् । यसैगरी पार्टी केन्द्रीय स्तरको नेताले पनि घरैमा बोलाएर सम्झाए पछि लक्ष्मी पालिका अध्यक्षबाट ब्याक भएकी थिइन् । जिल्ला समन्वय सभापतिमा लक्ष्मीलाई ल्याउँदा अल्पसंख्यक जाति, महिला दुबैको प्रतिनिधित्वि हुने र यसको लागि गाउँपालिकाको कार्यपालिका सदस्यमा मनोनीत गरेर जिल्ला समन्वयमा ल्याउने बाटो तय गर्ने सहमति भएको थियो ।
यसै अनुसार उनी अध्यक्षबाट ब्याक भइन् र कार्य पालिका सदस्यमा मनोनीत पनि भइन् । तर जिसस सभापतिमा आउने बाटो बन्द गरिएपछि उनले आफूलाई विगतमा आश्वासन देखाएको तर अहिले अमानविय निर्णय गरेको भन्दै सामाजिक सञ्जालमा पनि हरियो घाँस देखाएर घाटी रेट्ने काम भएको भन्दैै गुनासो गरेकी छिन् ।

जिसस मकवानपुरको सभापतिको लागि पार्टीबाट सिफारीस भएका ललित घलानलाई बधाइ दिंदै उनले पार्टीको निर्णय प्रति खबरदारी गरेकी छिन् । उनले सामाजिक सञ्जाल फेस बुकमा लेखेकी छिन्: बधाई छ ललित दाई तपाईको भद्र शालिन र प्रभावशाली व्यक्तित्वप्रति मेरो कुनै गुनासो छैन । बिडम्बना मेरो पक्षमा बहुमत प्रदेश सदस्यहरुको राय र सुझाव हुदाहुदै निर्णय गर्न नसक्ने मकवानपुरको महान एवं गौरवशाली पार्टी नेकपा माओवादीप्रति भने नतमस्तक छु।
पार्टीमा योग्यता, क्षमता र बहुमतको कदर नभएको भन्दै उनले स्टाससमा व्यङ्ग्य गर्दै भनेकी छिन् : अल्पमतको सदर र बहुमतको बदर गर्ने अर्को महान नेकपा माओवादी प्रदेश कमिटीलाई पनि विशेष धन्यवाद ज्ञापन गर्दछु ।
माओवादी आन्दोलनले अल्पसंख्यक जनजाति, निरक्षर तथा महिला वर्गको पक्षका सवाललाई बेवास्ता गरेको उनको उल्लेख गरेकी छिन् । पार्टीलाई चाहिदा योग्य व्यक्ति, सामाजिक अभिभारा बोक्न अयोग्य भन्ने गलत बुझाइ रहेको प्रति उनले व्यङ्ग गरेकी छिन् “हामी कुनै बेला क्रान्तिको अब्बल लाल भरिया थियौ होला । अबको सामाजिक अभिभारा बोक्न योग्यता पुग्दैन ।”
९ पदका लागि १२ जनाको उम्मेदवारी, प्रमुख पदमा सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका ललितबहादुर घलानले मनोनयन दर्ता
मकवानपुर । जिल्ला समन्वय समिति ९जिसस० मकवानपुरको निर्वाचनका लागि उम्मेदवारले मनोनयन दर्ता सकिएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रमुख, उपप्रमुख र सदस्य पदका लागि १२ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । आज मनोनयन दर्ता गराएका उम्मेदवारमाथि दावी विरोधको समय रहेको मुख्य निर्वाचन अधिकृत डिल्लिरत्न श्रेष्ठले जानकारी दिए
९ सदस्यीय जिल्ला समन्वय समितिमा प्रमुख तथा उप-प्रमुख र ७ जना सदस्य रहने प्रावधान रहेको छ । प्रमुख पदमा सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका ललितबहादुर घलानले मनोनयन दर्ता गराएका छन् ।
घलान स्थानीय तह सदस्य निर्वाचन, २०७९ बाट हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ को वडा अध्यक्ष निर्वाचित भएका थिए । त्यस्तै प्रमुख पदमा नेकपा एमालेबाट इन्द्रसरोवर गाउँपालिकाका बुद्धिराम डिम्डुङले मनोनयन गराएका छन् । डिम्डुङ स्थानीय तह सदस्य निर्वाचन, २०७९ बाट इन्द्रसरोवर ३ को वडा सदस्यमा निर्वाचित भएका हुन् ।
उप–प्रमुख पदमा भने गठबन्धनको तर्फका नेपाली कांग्रेसबाट मनहरी गाउँपालिकाका सानुकाजी लुइँटेलले मनोनयन गराएका छन् । सो पदमा उनले मात्रै मनोनयन गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । लुइँटेल स्थानीय तह सदस्य निर्वाचन, २०७९ बाट मनहरी गाउँपालिका ३ को वडा सदस्यमा निर्वाचित भएका थिए ।
त्यस्तै जिसस सदस्यमा ३ जना महिला रहने प्रावधान भएकोमा ४ जनाले मनोनयन दर्ता गराए छन् । उक्त पदका लागि निर्वाचन हुने भएको छ । महिला सदस्य पदमा नेपाली कांग्रेसबाट क्रमशः तारा ढुंगाना, विष्णुमाया थपलिया, सुमित्रा थिङ र नेकपा एमालेकी बिनाकुमारी थिङ लामाले उम्मेदवारी दिएका हुन् ।
त्यस्तै दलित तथा अल्पसंख्यक सदस्यतर्फ नेकपा एकीकृत समाजवादीबाट सुनिता दर्नाल परियारले मात्रै उम्मेदवारी दर्ता गराएकी छिन् । अन्य खुल्ला सदस्यहरुमा नेकपा एकीकृत समाजवादीबाट विरेन्द्र कुमार लामा, नेकपा माओवादी केन्द्रका सुवर्ण गोपाली माओवादीकै खड्गबहादुर पुलामी र एमालेका तोयानाथ तिमल्सिनाले उम्मेदवारी दिएका हुन् । खुल्ला सदस्य ३ जना हुने व्यवस्था भएपनि ४ जनाको उम्मेदवारी परेकोले सो पदमा पनि निर्वाचन हुने भएको हो ।
आज उम्मेदवार विरुद्ध दाबि बिरोध तथा मनोनयन पत्रको जाँच र उजुरी परेमा त्यसउपर निर्णय गरिने, उम्मेदवारको नामावली प्रकाशन गर्ने, कसैले उम्मेदवारी फिर्ता लिन चाहेमा लिन सकिने र नलिएको अवस्थामा अन्तिम नामावली प्रकाशन हुनेछ । असार १ गते उम्मेदवारहरुलाई निर्वाचन चिन्ह प्रदान गरिने र २ गते मतदान हुने कार्यसूचि रहेको जनाइएको छ ।
मकवानपुरमा १ उपमहानगरपालिका, १ नगरापलिका र ८ वटा गाउँपालिका रहेका छन् । कानून अनुसार सबै पालिकाको प्रमुख र उपप्रमुख गरी कूल २० जनाले जिससको लागि मतदान गर्न पाउनेछन् । स्थानीय तह सदस्य निर्वाचन,२०७९ बाट निर्वाचित जनप्रतिनिधिहरु मध्ये पालिका प्रमुख र उप प्रमुखमा कांग्रेसको ९, माओवादी केन्द्रको ७, नेकपा एमालेको ३ र एकीकृत समाजवादीको १ जना मतदाता रहेका छन् ।