मकवानपुर । जिल्ला समन्वय समिति (जिसस) मकवानपुर प्रमुखमा ललित बहादुर घलान निर्वाचित भएका छन् । मकवानपुरका १० पालिकाका प्रमुख/अध्यक्ष र उपप्रमुख/उपाध्यक्ष २० जना मतदाता रहेकाेमा घलानले १७ मत प्राप्त गरी निर्विवाचित भएका हुन् ।
जिसस उपप्रमुखमा उम्मेदवारको मनाेनयन दर्ता गर्ने दिनमा नेपाली कांग्रेसका सानुकाजी लुईटेलकाे मात्र मनाेनयन परेकाेले उनी निर्विरोध निर्वाचित भएका थिए । पाँच दलीय गठबन्धनको बहुमत भएता पनि निर्वाचन प्रक्रियाबाट जिल्ला समन्वय समितिका पदाधिकारी निर्वाचित भएका हुन ।
जिसस प्रमुखमा निर्वाचित घलान गठबन्धन दलबाट उम्मेदवार थिए । नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेका घलान स्थानीय तह सदस्य निर्वाचन २०७९ मा हेटौडा उपमहानगरपालिका वडा नं. १२ मा वडा अध्यक्षमा निर्वाचित भएका थिए ।यसैगरी नेकपा एमालेबाट जिसस प्रमुखमा उम्मेदवारी दिएका इन्द्रसराेबर गाउँपालिकाका बुद्धिराम डिम्डुङले ३ मत प्राप्त गरेका छन् ।
९ सदस्यीय जिससमा दलित तथा अल्पसंख्यक सदस्यतर्फ नेकपा एकीकृत समाजवादीबाट सुनिता दर्नाल परियारले मात्रै उम्मेदवारी दर्ता गराएकी छिन् । उनी निर्विराेध निर्वाचित भएकी हुन् ।
जिससको सदस्यतर्फ गठबन्धनका उम्मेदवारहरु निर्वाचित भएका छन् । महिला सदस्यमा तारा ढुङ्गाना, विष्णुमाया थपलिया र सुमित्रा थिङले १७ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । उनीहरु नेपाली कांग्रेसबाट उम्मेदवार बनेका थिए । एमालेबाट उम्मेदवार बनेका बिना कुमारी थिङ लामाले ३ मत प्राप्त गरेकी छिन् ।
त्यस्तै, सदस्य तर्फमा खड्ग बहादुर पुलामी, सुवर्ण गोपाली र बिरेन्द्र कुमार लामा निर्वाचित भएका छन् । पुलामी र गोपालीले १७ मत प्राप्त गरेका छन् । उनीहरु माओवादी केन्द्रबाट उम्मेदवार बनेका थिए । नेकपा (एस)बाट उम्मेदवार बनेका लामाले १६ मत प्राप्त गरेका थिए । एमालेका उम्मेदवार तोयानाथ तिमल्सिनाले ३ मत प्राप्त गरेका छन् ।

