हटिया,मकवानपुर । मकवानपुरकाे हटियामा भएकाे एट ए (8A) साइड अन्डर १६ (Under 16) नकआउट फुटबल प्रतियोगिता २०८२ काे उपाधी ज्ञानज्योति युवा क्लबले हात पारेकाे छ ।
क्रियटिभ स्पोर्ट्स एण्ड डिजिटल एकेडमीद्वारा आयोजनामा आइतबार भएकाे फाइनलमा यात्रा फुटबल टिमलाई हराउँदै ज्ञानज्योती विजेता बनेकाे हाे । विजेता र उपविजेता टीम तथा खेलाडीले नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा हेटौडा उपमहानगरपालिकाका १७ र १६ नम्बर वडाका ५ वटा टिमकाे सहभागिता रहेकाे थियो । प्रतियोगितामा साविक हटियाका दाविले क्लब, ज्ञानज्योति युवा क्लब, रोड स्टार फुटबल टीम, फुटबल क्लब दबिले र यात्रा फुटबल टीम सहभागी भएका थिए ।
क्रियटिभ स्पोर्ट्स एण्ड डिजिटल एकेडेमी प्रमुख भोजराज पराजुलीले आयोजना एवम् व्यवस्थापन गरेकाे प्रतियोगिताको नगद पुरस्कार सौजन्य हेटौडा १७ हटिया दाविले घर भई रोमानियामा रहनु भएका सुन्दर रेग्मीले गरेका थिए ।
प्रतियोगितामा खेलाडीहरु अब्बल रहेका र निरन्तर अभ्यास गर्न र गराउन सकिएमा फुटबलमा धेरै अघि बढ्न सक्ने महसुस गरिएको पराजुलीले बताए । ‘सम्बन्धित निकायको ध्यान पुग्न सकेमा राम्रो नतिजा ल्याउन सक्नेछन्’ उनले भने । प्रतियोगितालाई निरन्तरता दिँदै वर्षको १ पटक अझ धेरै टीम सहभागी गराई प्रतियोगिता आयोजना गरी खेलाडी पहिचान गर्ने लक्ष राखिएको उनले जानकारी दिए ।
हेटौंडा उपमहानगरपालिका वडा नं १७ का अध्यक्ष उद्धब सत्यालको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा अखिल नेपाल फुटबल संघ मकवानपुर महासचिव छवि सुवेदी, अस्थायी प्रहरी चौकी हटियाका प्रमुख, ज्ञान ज्योती युवा क्लबका सुवास फुयाँल, समाजसेवी नारायण ढकाल, शम्भु पराजुली, होम नेपाली, दाविले टोल विकास समिति सचिव कृष्ण प्रसाद पराजुलीलगायत उपस्थित थिए ।
प्रतियोगिताकाे सहजिकरण मकवानपुरका एन्फा रेफ्री सन्तोष राईले गरेका थिए ।
मकवानपुर । नेकपा एमाले मकवानपुरको जिल्ला सचिवालय बैठकले आइतबार बिहान अध्यक्ष पदबाट राजीनामा घोषणा गरेका श्रीधर पोख्रेललाई पदमुक्त गर्ने निर्णय गरेको छ ।
सचिवालय बैठकले पोख्रेललाई पदमुक्त गर्दै कार्यवाहक अध्यक्षमा वर्तमान उपाध्यक्ष हिदम लामालाई जिम्मेवारी दिने निर्णय गरेको सचिव सीता विष्टले जानकारी दिइन् ।
निर्वाचनमा पार्टीको पराजय र नेतृत्वप्रति प्रश्न उठाउँदै ११औं अधिवेशनबाट निर्वाचित मकवानपुर अध्यक्ष पोख्रेलले आइतबार बिहान सामाजिक सञ्जाल फेसबुक मार्फत राजीनामा दिएका थिए ।
अध्यक्ष पोख्रेलको विगत ५ महिनादेखि पार्टीको नियमित काम र सम्पर्क रहेको अवस्थामा जिम्मेवारीबाट राजीनामा दिएको विषयप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
‘पार्टीको नियमित काम र गतिविधिमा सम्पर्क र सहभागिता नजनाई, पार्टीलाई कुनै जानकारी नगरी मौन बसेका अध्यक्ष पोख्रेलले निर्वाचन परिणामको विषयलाई लक्षित गरि राजिनामा दिइएको अभिव्यक्ति सार्वजनिक गरेको विषयलाई पार्टीले गम्भीरताका साथ लिएको र यसबाट पार्टी पंक्ति र सार्वजनिक रूपमा परेको भ्रमको पूर्णरूपमा खण्डन गर्दै श्रीधर पोखरेललाई पदबाट मुक्त गरिएको छ,’ पार्टीद्वारा सार्वजनिक विज्ञप्तिमा भनिएको छ ।
मकवानपुर । नेकपा एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलले पदबाट राजीनामा घोषणा गरेका छन् । पार्टीभित्रै आत्मसमीक्षा आवश्यक रहेको उल्लेख गर्दै पोखरेलले सामाजिक सञ्जाल फेसबुक मार्फत राजीनामा घोषणा गरेका हुन्।
गत बिहीबार भएकाे प्रतिनिधिसभा निर्वाचनकाे परिणामपछि उनले आजकै दिनदेखि लागू हुने गरी अध्यक्ष पदबाट राजीनामा दिएका हुन् । पोखरेलले राजिनामा घोषणा गर्दै सामाजिक संजालमा लेखेका छन् ‘नेकपा माले हुँदै एमालेको ४५ वर्ष लामो राजनीतिक यात्रामा अहिले पार्टीले भोग्नुपरेको परिणामको वास्तविक कारण पहिचान गर्नुपर्छ।’
पाेखरेलले फेसबुकमा लेखेका छन् ‘यो परिणामको वास्तविक कारण पहिचान गर्न नसकी गोलमटोल भाषामा मात्र व्यक्त हुने, ईर्ष्या र घमन्डपूर्ण प्रवृत्तिबाट समस्याको समाधान सम्भव हुँदैन। त्यसैले तलदेखि माथिसम्म सबैले आत्मसमीक्षा गरी आफ्नो–आफ्नो जिम्मेवारी ग्रहण गर्नुपर्ने आजको माग हो।’ उनले लेखेका छन्, ‘पार्टीलाई सही दिशामा अघि बढाउन पार्टी अध्यक्षदेखि महासचिव लगायत सबैले आफ्नो जिम्मेवारी स्वीकार गर्दै आत्मसमीक्षा गर्नुपर्छ, र आवश्यक परे जिम्मेवारी लिएर राजीनामा दिँदै पार्टी पुनर्गठनका लागि नेतृत्वका ले बाटो प्रशस्त गर्नु पर्दछ। आगामी दिनमा पार्टीलाई जीवित र सुदृढ राख्ने हो भने यस यथार्थलाई आत्मसात् गर्दै जिम्मेवारी लिनैपर्छ। यसै सन्दर्भमा, आजकै दिनदेखि लागू हुने गरी म आफ्नो अध्यक्ष पदबाट राजीनामा दिने घोषणा गर्दछु’ लेखेका छन् ।
यसैगरी उनले भनेका छन् ‘अब आउने युवाहरूलाई मेरो साथ र सहयोग पूर्ण रूपमा रहनेछ।’ अन्त्यमा उनले लेखेका छन् ’आशा छ, नयाँ युवा पुस्ताले यस पार्टीलाई सही दिशा र ढङ्गबाट अगाडि बढाउनुहुनेछ। आजसम्म तपाईंहरूबाट प्राप्त सहयोग, माया र सद्भावप्रति हृदयदेखि नै आभार व्यक्त गर्दछु। साथै जनमतको कदर गर्दै हाल प्रतिनिधि सभामा निर्वाचित सबैप्रति हार्दिक धन्यवाद तथा शुभकामना व्यक्त गर्दछु। धन्यवाद।’
पछिल्लो केही महिनादेखि पोखरेल पारिवारिक तथा विरामीका कारण पार्टी गतिविधिमा सहभागी भएका थिएनन् । एमालेकाे महाधिवेशनमा मकवानपुर क्षेत्र १ काे प्रतिनिधि छनौटमा समेत वारेस मार्फत दर्ता गराएका उनी पार्टी बैठकहरुमा समेत सहभागी हुने नगरेकाे बताइएकाे छ । उनले सामाजिक संजालमा राजिनामा दिएकाेमा प्रायःले सही निर्णय लेखे पनि केहीले पार्टीकाे बैठकबाट निर्णय गरी राजिनामा दिनु पर्ने सुझाएका छन् ।

मकवानपुर । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि मकवानपुर क्षेत्र नम्बर १ का उम्मेदवार रामेश्वर रानाले पार्टीको घोषणा पत्र र आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका छन् ।
प्रेस चौतारी मकवानपुरले आयोजना गरेको उम्मेदवारसंग पत्रकार भेटघाट कार्यक्रममा रानाले आफ्नो चुनावी एजेन्डा समेत सार्वजनिक गरेका थिए । पत्रकार सम्मेलनमा बोल्दै रानाले यसपटकको निर्वाचन सामान्य आवधिक प्रक्रिया मात्र नभई विशेष परिस्थितिले सिर्जना गरेको महत्वपूर्ण अवसर भएको उल्लेख गरे।
उनले राष्ट्रिय स्वाधीनताको रक्षा, लोकतन्त्र प्राप्ति, संघीय गणतान्त्रिक संविधानको कार्यान्वयन तथा विकास र समृद्धिका लागि नेकपा एमालेले विगतदेखि नै राष्ट्रिय स्तरमा महत्वपूर्ण भूमिका खेलेको दाबी गरे। मकवानपुर जिल्लाको विकास यात्रामा केन्द्र, प्रदेश र स्थानीय तहमा एमाले नेतृत्वले पुर्याएको योगदान जनताले प्रत्यक्ष अनुभूति गरिसकेको उनले बताए।
उम्मेदवार रानाले सडक सञ्जाल विस्तारदेखि स्वास्थ्य, शिक्षा, खानेपानी, कृषि, सिँचाइ, सहकारी, पर्यटन, तटबन्धन, सामाजिक सुरक्षा र गरिबी निवारणसम्मका क्षेत्रमा एमालेको सक्रियताले जिल्लाको समग्र विकासमा आधार तयार पारेको उल्लेख गरे। अहिलेको निर्वाचन देशलाई स्थिरता र समृद्धिको बाटोतर्फ अघि बढाउने कि अराजकता र अस्थिरतातर्फ धकेल्ने भन्ने विषयमा केन्द्रित भएको उनको भनाइ थियो।
उनले सामाजिक सञ्जालमार्फत भ्रामक सूचना फैलाएर युवालाई दिग्भ्रमित गर्ने प्रयास भइरहेको भन्दै यस्ता गतिविधिबाट मुलुकलाई संकटतर्फ लैजान खोजिएको आरोप लगाए। वर्तमान विषम परिस्थितिमा राष्ट्रप्रति समर्पित नेतृत्वको आवश्यकता औंल्याउँदै उनले मकवानपुरका मतदातालाई स्थायित्व र विकासको पक्षमा उभिन आग्रह गरे।
आफ्ना प्रतिबद्धताहरु सार्वजनिक गर्दै रानाले राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै वैदेशिक हस्तक्षेप अन्त्य गर्न, संविधानलाई व्यवहारमा कार्यान्वयन गर्दै लोकतन्त्रलाई थप सुदृढ बनाउन तथा देशमा शान्ति सुरक्षा सुनिश्चित गर्ने बताए। साथै भ्रष्टाचार र कुशासन अन्त्य गर्दै सुशासन स्थापना गर्ने, रोकिएका तथा अधुरा रहेका सडक, खानेपानी, सिँचाइ, विद्युत, स्वास्थ्य र शैक्षिक पूर्वाधार निर्माणका काम सम्पन्न गर्ने उनको प्रतिबद्धता रहेको छ।
उनले युवालाई प्राविधिक शिक्षा र सीपमूलक तालिममार्फत रोजगारीको अवसर सिर्जना गर्ने, कृषिलाई व्यवसायीकरण गर्दै खाद्यान्नमा आत्मनिर्भर बनाउने तथा हेटौंडा औद्योगिक क्षेत्रको विस्तारसँगै मयुरधाप नयाँ औद्योगिक क्षेत्रको विकासलाई गति दिने योजना पनि अघि सारे।
त्यस्तै भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पूर्जा उपलब्ध गराउने, पुराना बजारलाई आधुनिक बनाउने र ग्रामीण क्षेत्रमा नयाँ बजार विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे। स्वास्थ्य बीमा सेवालाई पुनः व्यवस्थित गर्दै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत हेटौंडा अस्पतालको सेवा सुविधा विस्तार गर्ने उनले बताए।
सामुदायिक विद्यालय र क्याम्पसको भौतिक पूर्वाधार सुधार गरी प्रविधिमैत्री शिक्षा सुनिश्चित गर्ने, जिल्लाका सबै जाति, जनजाति तथा समुदायको भाषा, कला र संस्कृतिको संरक्षण गर्ने तथा मकवानपुरलाई देशकै उत्कृष्ट पर्यटकीय केन्द्रको रुपमा विकास गर्ने योजना पनि उनले प्रस्तुत गरे।
मकवानपुर । मुक्तक मञ्च मकवानपुरले स्थापनाको चौथो वर्ष विशेष उत्सवका रूपमा मनाउने भएको छ। मञ्चले फागुन १६ गते शनिबार हेटौंडामा आयोजना गर्ने चौथो वार्षिकोत्सव, दोस्रो अधिवेशन र स्रष्टा सम्मान कार्यक्रममा ४ जनालाई नगदसहित सम्मान गर्ने भएको छ ।
मुक्तक मञ्च मकवानपुरले भैरहवाका डा. मुरारि पराजुलीलाई ‘हरिकृष्ण काफ्ले मुक्तक सम्मान’ बाट सम्मानित गरिने भएको छ । यस्तै काठमाडौ का सुनिल अधिकारी ‘तारा स्मृति मुक्तक सम्मान’ बाट तथा काठमाडौकै मदन नेपाल ‘बहादुरानन्द स्मृति मुक्तक सम्मान’बाट सम्मानित हुने भएका छन् । मकवानपुरका युवा स्रष्टा अनिस न्यौपाने ‘मनको आँखा’ लाई ‘इन्दिरादेवी स्मृति मुक्तक सम्मान’ बाट सम्मानित गरिने सचिव सुबास सजलले जानकारी दिए ।
उक्त सम्मानहरू क्रमशः अग्रज साहित्यकार आर.सी. रिजाल, मञ्चका संस्थापक उपाध्यक्ष किसन पौडेल, संस्थापक अध्यक्ष डी.बी. बर्तौला र प्रलेस मकवानपुरका निवर्तमान अध्यक्ष श्रीराम अधिकारीले गरेका हुन् । मञ्चले विगतका वर्षहरूदेखि नै मुक्तक विधामा निरन्तर साधनारत व्यक्तित्वहरूलाई सम्मान गर्दै आएको छ।
यसअघि बुटवलका रमेश समर्थन, मकवानपुरका देवराज खरेल, रौतहटका हरिकृष्ण काफ्ले, चितवनकी विमला अधिकारी देवकोटा, सिन्धुलीका लोकेन्द्र डहरे, पोखराका दीपक समिप, काठमाडौकी निलाञ्जला भारद्वाज तथा मकवानपुरका समर्पण न्यौपाने र विर्खे अन्जान एवं सिन्धुलीकी अस्मिता दाहाल मञ्चबाट सम्मानित भइसकेका सजलले जानकारी दिए ।
वार्षिकोत्सवसँगै मञ्चको दोस्रो अधिवेशनको विशेष सत्रमा संस्थाको आगामी कार्ययोजना, संगठनको वृहत्तर विस्तार र नयाँ नेतृत्व चयनका विषयमा छलफल हुने बताइएको छ । यसैगरी दोस्रो सत्रमै नेपाली मुक्तक संरचना परम्परा र प्रवृत्ति विषयमा विमर्श कार्यक्रम हुनेछ । उक्त विषयमा डा. मुरारि पराजुली, डा. विश्वनाथ सन्जेल र सुनिल अधिकारीले विमर्श गर्नेछन् भने साहित्यकार सानु खनालले सहजीकरण गर्नेछन् ।
सचिव सजलका अनुसार मुक्तकीय अभियानलाई अझ सशक्त, मर्यादित र संगठित बनाउने उद्देश्यका साथ कार्यक्रम आयोजना गर्न लागिएको हो ।