मकवानपुर । नेकपा एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलले पदबाट राजीनामा घोषणा गरेका छन् । पार्टीभित्रै आत्मसमीक्षा आवश्यक रहेको उल्लेख गर्दै पोखरेलले सामाजिक सञ्जाल फेसबुक मार्फत राजीनामा घोषणा गरेका हुन्।
गत बिहीबार भएकाे प्रतिनिधिसभा निर्वाचनकाे परिणामपछि उनले आजकै दिनदेखि लागू हुने गरी अध्यक्ष पदबाट राजीनामा दिएका हुन् । पोखरेलले राजिनामा घोषणा गर्दै सामाजिक संजालमा लेखेका छन् ‘नेकपा माले हुँदै एमालेको ४५ वर्ष लामो राजनीतिक यात्रामा अहिले पार्टीले भोग्नुपरेको परिणामको वास्तविक कारण पहिचान गर्नुपर्छ।’
पाेखरेलले फेसबुकमा लेखेका छन् ‘यो परिणामको वास्तविक कारण पहिचान गर्न नसकी गोलमटोल भाषामा मात्र व्यक्त हुने, ईर्ष्या र घमन्डपूर्ण प्रवृत्तिबाट समस्याको समाधान सम्भव हुँदैन। त्यसैले तलदेखि माथिसम्म सबैले आत्मसमीक्षा गरी आफ्नो–आफ्नो जिम्मेवारी ग्रहण गर्नुपर्ने आजको माग हो।’ उनले लेखेका छन्, ‘पार्टीलाई सही दिशामा अघि बढाउन पार्टी अध्यक्षदेखि महासचिव लगायत सबैले आफ्नो जिम्मेवारी स्वीकार गर्दै आत्मसमीक्षा गर्नुपर्छ, र आवश्यक परे जिम्मेवारी लिएर राजीनामा दिँदै पार्टी पुनर्गठनका लागि नेतृत्वका ले बाटो प्रशस्त गर्नु पर्दछ। आगामी दिनमा पार्टीलाई जीवित र सुदृढ राख्ने हो भने यस यथार्थलाई आत्मसात् गर्दै जिम्मेवारी लिनैपर्छ। यसै सन्दर्भमा, आजकै दिनदेखि लागू हुने गरी म आफ्नो अध्यक्ष पदबाट राजीनामा दिने घोषणा गर्दछु’ लेखेका छन् ।
यसैगरी उनले भनेका छन् ‘अब आउने युवाहरूलाई मेरो साथ र सहयोग पूर्ण रूपमा रहनेछ।’ अन्त्यमा उनले लेखेका छन् ’आशा छ, नयाँ युवा पुस्ताले यस पार्टीलाई सही दिशा र ढङ्गबाट अगाडि बढाउनुहुनेछ। आजसम्म तपाईंहरूबाट प्राप्त सहयोग, माया र सद्भावप्रति हृदयदेखि नै आभार व्यक्त गर्दछु। साथै जनमतको कदर गर्दै हाल प्रतिनिधि सभामा निर्वाचित सबैप्रति हार्दिक धन्यवाद तथा शुभकामना व्यक्त गर्दछु। धन्यवाद।’
पछिल्लो केही महिनादेखि पोखरेल पारिवारिक तथा विरामीका कारण पार्टी गतिविधिमा सहभागी भएका थिएनन् । एमालेकाे महाधिवेशनमा मकवानपुर क्षेत्र १ काे प्रतिनिधि छनौटमा समेत वारेस मार्फत दर्ता गराएका उनी पार्टी बैठकहरुमा समेत सहभागी हुने नगरेकाे बताइएकाे छ । उनले सामाजिक संजालमा राजिनामा दिएकाेमा प्रायःले सही निर्णय लेखे पनि केहीले पार्टीकाे बैठकबाट निर्णय गरी राजिनामा दिनु पर्ने सुझाएका छन् ।


